कथा : छोक्रा

~डा. टीकाराम पोखरेल~

डान्सबार अर्थात् नाच्ने ठाउँ। झालकझिलिक र मालाकमिलिक रङ्गीबिरङ्गी लाइटहरू। कृत्रिम इन्द्रेणी रङ्गहरू। उसका लागि जीवनका तरङ्गहरू। आज पनि यतै फुल्छन् सधैं झैं उसका अर्धजवानीहरू। मुडमा छ आज पनि ऊ। यसरी प्रवेश गर्दैछ मानौं कि ऊ कुनै युद्ध जित्न त्यहाँ प्रवेश गरेको हो। टकटकटक……। घण्टाघरको घडीको सुइले सात देखाएको छ। दिवाजीवनले विश्राम लिएपछि रात्रिजीवनले स्वागत गरिरहेको छ। आज पनि ऊ त्यही टेबलमा गएर बस्यो, जुन स्टेजको सबैभन्दा नजिकको टेबल हो। चारैतिर दृष्टि घुमायो। चारैतिरको अर्थ चार दिशा हेरेको होइन। कसैलाई खोज्दैछन् उसका आँखाहरूले। आँखाले मात्र के भनौं उसको सम्पूर्ण शरीरले। आँखा त माध्यम मात्र बनेका छन् यतिबेला। उसले कसलाई खोजेको हो भन्ने उसलाई मात्र होइन सबैलाई थाहा छ। किनभने ऊ त्यहाँको नियमित ग्राहक भैसकेको छ। गेस्टको उपमा पाएको छ उसले। हो ऊ मनितालाई खोज्दैछ।

‘एकछिन बस्दै गर्नुस् न दाइ। मनिता भित्र मेकअप रुममा छ, आउँदै छे।’ एउटीले अलि टर्रो र व्यंग्यात्मक स्वरमा भनी।

उसलाई बस्दै गर्नुस् भनेर सल्लाह दिने केटीलाई थाहा थियो उसले मनिताबाहेक अरुतिर आँखा लगाउँदैन। ग्राहक आएकोमा थोरै खुसी भए पनि मनिताभन्दा अरूप्रति आँखा नलगाएकोमा त्यो केटीमा मनिताप्रति ईष्र्या थियो अनि ऊप्रति हेय।

बार मालिकलाई पनि थाहा थियो, आगन्तुक राम्रो दूध दिने गाई हो र यसलाई दुहुने खुबी मनितासँग मात्र छ। ग्वाला र गाईको मिलनमा बार मालिक हौसिनु स्वाभाविक नै थियो। बार मालिकको मुहारमा खुसी देखियो। काउन्टरमा बसेको बार मालिकले आफूलाई अलि एटेन्सन गराएजस्तो गर्‍यो। एक किसिमको खुसी थियो उसको मुहारमा तर गाई आइपुग्दा पनि ग्वाला अन्तै अल्मलिएकोमा अलिकति असन्तुष्टि पनि।

‘ए मनितालाई छिटो बोला।’ आफ्नो असन्तुष्टिलाई चिर्दै बार मालिकले कुनै वेटरलाई आदेश दियो।

बार मालिकको आदेश पालना गर्दै एउटी मनितालाई बोलाउन गई। उसले टेबलमा बसेर मेनु हेरेजस्तो गर्‍यो। यद्यपि उसलाई मेनु हेर्नु थिएन। सधैं देखेको मेनु उसलाई कण्ठ भैसक्नुपर्ने हो तर ध्यान दिएर हेरेको भए पो कण्ठ हुनु। उसलाई मनिताको रूप, जिउ, डाल र नखरा भने कण्ठ थियो। तैपनि मनिताको रिक्तता छल्न उसले मेनु हेरेको अभिनय गर्‍यो। छटपटी भयो उसलाई। खोजिरह्यो उसको अर्धजवानीले मनितालाई। आँखा मेनुमा मन मनितामा।

छटपटाहटलाई चिर्दै एकैछिनमा मनिता देखा परी, क्याटवाक शैलीमा। उसको अनुहारमा मुस्कान थपियो। अन्धकार पछिको उज्यालो। तरङ्गति भयो शरीर। प्रफुल्लित भए उसका आँखाहरू। पानी परेपछिको आकाश खुलेझैं फुरुङ्ग भयो मन।

‘कति ढिलो गरेको ?’ उसले मनितासँग गुनासो पोखेझैं गर्‍यो।

‘हजुरकै लागि राम्री हुँदै थिएँ नि।’ मनिताले पनि नखरा पार्दै भनी।

ऊ दङ्ग पर्‍यो।

मनिता अरूभन्दा भिन्न छे। भिन्न यस अर्थमा कि ऊ धक नमानी आफ्नो सेतो नितम्ब देखाइदिन्छे। सधैं अर्धनग्न भइदिन्छे। उद्दण्ड मेकअप गरिदिन्छे। हरेक पुरुष नजिक बसेर नखरा पारिदिन्छे। पुरुष शरीरलाई तरङ्गति र मनलाई उथलपुथल पार्नसक्ने जादुगरी छ मनितामा। त्यसैले त त्यो बारमा मनिताको चल्ती छ। बारमा आउने हरेक ग्राहकका लागि मानौं ऊ सेलिब्रेटी नै हो।

मनिता अर्थात् गाउँकी मीना। गाउँबाट सहर पसी। ठाउँ परिवर्तन गरी, नाम परिवर्तन गरी काम परिवर्तन गरी। काम मात्र होइन नाम पनि बिक्छ सहरमा अहिले अर्थात् मीना बिक्दैन मनिता बिक्छ। उसका पाखुरा बिक्दैनन्, नितम्ब बिक्छन्। ऊ बिक्दिन उसका नखरा बिक्छन्। ऊ बुझ्ने भैसकेकी छे यस्ता कुराहरू। हिजो उसलाई कसले गन्थ्यो ? तर अहिले ऊ हरेक साँझ धेरैकी स्वप्न सुन्दरी बन्न सफल छे। सबैकी स्वप्न सुन्दरी बन्ने कला छ उसमा।

उसको विश्वास छ मनिताप्रति। मनिता उसलाई आफ्नै लाग्छे घरकी स्वास्नीभन्दा नजिक। घरकी स्वास्नीको पातिव्रत्यमा ऊ शंका गर्न सक्छ तर मनिताको उसप्रतिको समर्पणमा शंका गर्दैन। उसलाई लाग्छ, मनिता नखरा पार्छे उसकै खुसीका लागि, मस्किन्छे उसैको खुसीका लागि। पुठ्ठा देखाउँछेे उसैले हेरोस् भनेर। नितम्ब हल्लाउँछे उसैका लागि। समर्पित छे उसैप्रति। बारमा आउने कसैलाई आँखा लगाउँदिन ऊ। हरदम उसकै दिलमा बस्छे, उसैलाई दिलमा राख्छे। मानौं उसले नितम्ब देखाउँदा, पुठ्ठा हल्लाउँदा र नखरा पार्दा बारका अरू ग्राहकले आँखा चिम्लन्छन्। विचरालाई के थाहा उसले स्टेजमा नाच्ने नाच सबै ग्राहकका लागि हो, उसका नितम्ब सबैले हेरेका छन्। उसका वक्षस्थल सबैका साझा हुन्। उसले धेरैलाई दुहेकी छे। यद्यपि उसको मीठो भ्रम, मनिता उसकी हो केवल उसकी। यही भ्रममा उसको रङ्गीन जिन्दगीका पानाहरू पल्टिरहेका छन्।

मनिता टेबलमा रक्सी मात्र बाँड्दिन भ्रम पनि बाँड्छे। नामजस्तै मनकारी छे। सबैको मन राखिदिन्छे ऊ। सबैलाई उत्तिकै बाँड्छे नितम्ब। बढी हेर्न सक्नु त हेर्नेको खुबी पनि हो। सबैलाई आफ्नो जस्तो अनुभूति गराइदिनु पनि खुबी हो उसको।

खुबी देखाउन ऊ पनि के कम ? सोमरसले उसको शरीर जतिजति सिञ्चित हुँदै जान्छ ऊ मनितामाथि उतिउति खुबी देखाउन थाल्छ। स्टेप बाइ स्टेप। सुरुमा गफ, विस्तारै मनितामाथि धाप, बिस्तारै किस, अर्को स्टेप …..।  अर्धअन्धकार वा अर्धउज्यालो पृष्ठभूमिमा बढ्दै गयो उसको गतिविधि। जितेजस्तो भयो उसलाई। मनिता फूल बनी ऊ भमरा बन्यो, चुस्न थाल्यो मनितालाई, सोमरसका प्यालाहरूसँगै। मनिताले नखरा पारी। मनिताको नखरासँगै उसको अर्धजवानीमा नसा चढ्यो। टेबलमा सोमरसका बोतलहरू एकपछि अर्को थपिँदै गए।

ऊ जति तरङ्गति हुँदै गयो उति टेबलमा नयाँ-नयाँ आइटम थपिँदै गए। उता काउन्टरमा बिलको रकम पनि थपिँदै गयो। अर्डर गर्ने ऊ होइन मनिता थिई। ऊ त मात्र ‘नो प्रोब्लम, एज यु लाइक’ मा सीमित थियो। स्कच हि्वस्की, चिकेनचिल्ली, मिक्स जुस, … स्पेशल, …. आदि आदि।

‘जाऊ मनिता जाऊ, म तिम्रो मायाको भोको छु।’ उसले मनितालाई स्टेजतिर देखाउँदै भन्यो।

मनिता स्टेजमा चढेर आफ्नो कला देखाउन थाली। ऊ अझ उत्तेजित भयो, बसेको ठाउँबाट जुरुक्क उठ्यो। पर्सबाट केही नोट निकालेर पहिले पैसालाई किस गर्‍यो अनि बर्सायो स्टेजमा मनितामाथि। आधा होसमा आधा बेहोसमा।

पैसा स्टेजमा बर्सियो। रमिते अर्थात् अन्य ग्राहकहरूले ताली बजाए अनि अर्धहोसमै उसले भन्यो-‘अरे मनु Û तिमी मेरी दिलकी रानी, मेरी धड्कन, क्या चीज छौ तिमी।’ स्टेजमा पैसा बर्साउन पाउँदा उसलाई आफू विश्वविजेता भएझैं लाग्यो। विजयीभावमा निकै रवाफका साथ ऊ फेरि आफ्नै टेबलमा पुग्यो।

देखाउने, मस्किने, हल्लाउने सब कला सकेर मनिता स्टेजबाट तल झरी र फेरि उसैसँग आएर बसी। धिपधिपे लाइटको अर्धउज्यालोमा उसले मनितालाई अंगालो हाल्यो। मानौं बारमा अरू कोही छैनन्। मनिता अफ्ठ्यारो मानेजस्तो अलिकति पर सरी। फेरि नजिकै गई अनि उनीहरूबीच कुन्नि के-के मन्त्रणा भयो। कानेखुसी। उसले हतार-हतार बिल माग्यो, तिर्‍योे। मनिता र ऊ दुवै उठे।

एकैछिनमा सामान्य ग्राहकलाई प्रवेश निषेध लेखिएको कोठामा प्रवेश भयो दुवैको। कोठा बन्द। एउटा बन्द कोठामा एउटा फूल र अर्को भमरा मात्र। मनिता पूर्ण फक्रिएको फूल बनी। ऊ झन नसालु भमरा बन्यो। फूलले भमरालाई र भमराले फूललाई नङ्ग्याउँदै गए। जवानीको रस चुस्यो भमराले। रस छोडिदिई फूलले। एकैछिनमा भमरो आफैं पनि रित्तियो।

चुस्ने पालो अब मनिताको थियो। मनिता भमराझैं बनी। पैसा राख्ने पर्समा हात पुर्‍याई मनिताले। ‘चाहेजति निकाल यार।’ उसले भन्यो। पर्समा ५ सय छोडेर अरु सबै निकाली र पर्स फर्काई मनिताले। भनी-‘ट्याक्सी चढेर घर जान ५ सय छोडिदिएकी छु।’ रित्तो पर्स लिँदै ऊ फिस्स हाँस्यो। न हारेको हाँसो न जितेको हाँसो। मात्र रित्तिएको हाँसो।

भमरो बनेर कोठाभित्र पसेको ऊ रस बोकेर होइन उखुको रस निकालेपछिको छोक्राजस्तो भएर बाहिर निस्कियो अर्थात् रित्तो भयो ऊ। रित्तिएपछि घरको सम्झना आयो। घर त के बेडको सम्झना आयो। अन्धकार निस्तब्ध रात। सोमरसले छोडेको थिएन। ट्याक्सी चढेर घर पुग्यो। हतारिँदै गेट ढक्ढक्यायो। स्वास्नीले ढोका खोली।

घरभित्र पस्नेबित्तिकै एकछिन टक्क अडियो। शत्रुझैं गरी स्वास्नीलाई हेर्‍यो। मानौं उसका लागि ‘भिलेन’ हो स्वास्नी।

उता जवानीमा प्रवेश गरिरहेकी मनितालाई सम्झियो। यता स्वास्नीलाई हेर्‍यो, जवानीबाट ओरालो लागिरहेकी। स्वास्नी देख्दै रिस उठ्यो।

मनमनै भन्यो-‘छोक्राजस्ती छ साला, भमरालाई छोक्राको के काम फूल पो त।’ तर रस चुस्न खोज्दा मनिताबाट आफैं चुसिएर छोक्रा भएको थाहा थिएन उसलाई।

पति परमेश्वरको करामतबाट बेखबर स्वास्नीले पतिपरमेश्वर थाकेर आएको मानी। ‘खाना पस्किऊँ ?’ स्वास्नीले मायालु स्वरमा सोधी।

‘तैं खा। म खान्न। मैले पार्टीमै खाएँ।’ उसले टर्रो जवाफ दियो।

ऊ सरासर बेडरुममा गयो। लगाएका कपडा खोल्दै यत्रतत्र फाल्यो र बेडमा पल्टियो। फेरि उही मनितालाई सम्भिmयो। उसकी स्वप्नसुन्दरी मनिता।

बेडमा पल्टेर मनमनै भन्न थाल्यो-‘स्वास्नी हुनु त मनिताजस्ती पो त। यस्ती झुत्रीको फेला परियो साला।’ स्वास्नीलाई गाली गर्‍यो। अनि आफैंले आफैंलाई धिक्कार्‍यो।

बेडको एक छेउमा रहेको सिरानी तानेर अंगालो हाल्यो मनितालाई झैं। मानौं त्यही उसकी मनिता हो। फेरि मनिताको कल्पनामा डुब्न थाल्यो। फेरि मनमनै भन्यो-‘धुस्नु बनाएँ आज त साला मनितालाई पनि। छोक्रा भैहोली साला।’ ऊ सिरानीसँग उत्तेजित हुँदै थियो। मनिता भने त्यतिबेला अर्कैको अंगालोमा थिई। फेरि अरू कसैलाई छोक्रा बनाउँदै थिई ऊ।

(स्रोत : कान्तिपुर – नारी मासिक)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.