कथा : सुधीन

~दिलिप पौड्याल~

” तपाइको बिषयमा जम्मा दुइ जना मात्र पास छन्। अरु चालिसजना फेल। तपाइले के पढाउनु भयो बिद्यार्थीहरुलाई ?” प्रिन्सिपल झक्कु सुबेदी ठुलो ठुलो स्वरले प्रश्न सोधिरहेका थिए। सुधीन ट्वाल्ल परेर प्रिन्सिपलको अनुहार हेरिरहेको थियो। “मलाई अरु हैन रिजल्ट चाहिन्छ, रिजल्ट। फाइनलमा सबै बिधार्थी उतिर्ण हुनु पर्छ।”

सुधीन एकछिन के जबाफ दिने अलमलमा पर्यो। हिजो कापी जाच्ने बेला नसोचेका पनि होइन उसले एकदुई नम्बर बोनस थपेर पास गराउन। तर कापी सबै रित्तै थियो। लेखेकाहरुले पनि एउटा वाक्य सम्म सुध्ध नलेखेको देखेर उसले जस्ताको तस्तै नम्बर दियो। दुइजना मात्र पास भए। गल्ति आखिर उसको ठहरियो।

“बिधार्थीहरुले लेखेकै छैनन् कसरि पास गराउने तपाई आफै भन्नुस सर ?” बिनम्र स्वरले सोध्यो उसले।

“तपाइको काम के हो ? के पढाउनुहुन्छ तिनीहरुलाई ? तपाईलाई ति बिद्यार्थीहरु पास गराउनको लागी जागिर दिएको हुँ मैले, फेल गराउन हैन। यस्तै पारा हो भने मैले स्कुल बन्द गरे हुन्छ। तपाईलाई एक मौका दिन्छु थप कक्षा लिएर भएपनि बिद्यार्थीहरु पास गराउन पर्यो। अहिले गएर आफ्नो काममा लागिहाल्नुस।”

सुधीन केहि नबोली प्रिन्सिपलको कोठाबाट बाहिरिन्छ। स्टाफ कोठामा आज कसैको पनि अनुहार खुसि छैन। सबै जना चक डस्टर समातेर हतार हतार दौडिरहेका छन्। उ पनि चक डस्टर समातेर बाहिर निस्कन्छ। उसलाई कक्षा भित्र छिर्न मन छैन। एघार मा हुदा सम्म अलि शान्त हुन्थ्यो उनको कक्षा तर बाह्रमा पुगेपछि उसले पढाएको कसैले पनि सुन्दैनन। बिद्यार्थीहरु पनि लद्दु छन्। राम्रो नम्बर ल्याउनेहरु सेक्सन – ए र बि मा छन्। बल्ल बल्ल पास भएकाहरु र गाउँ गाउँ को सरकारी स्कुलबाट आएकाहरु सबै सेक्सन -सी मा। अंग्रेजी मठ्यै आउदैन उनीहरुलाई।अंग्रेजी टिचर हो सुधीन। त्यसमाथि बयालीस बयालीस जना छन् कोठामा। तेही भएर पनि उसले पढाएको कसैले बुझ्दैनन्।

“सरको कलास छैन अहिले ?” प्रमिला म्याडमले दाइने हत्केलोमाथि देब्रे हत्केलोले प्याट प्याट हानेर चकको धुलो झार्दै सोध्छिन। उसलाई आज उनको सुन्दरताको तारिफ गर्न मन छैन। ” छ ‘ जादैछु ” यति भनेर उ सरासर कक्षाकोठातिर लाग्छ।

“एकछिन ढिलो भएकोले कक्षामा हल्ला बढी थियो। उसले डेस्कमाथि जोडसंग डस्टर ठोकेर सबैको ध्यानाकर्षण गर्छ। अझै पनि हल्ला रोकिएको थिएन। बोर्डमा सरासर हिजो पढाएको च्याप्टरको प्रश्न उत्तर लेख्दिन्छ र चुपचाप सार्न लगाउछ। सबैले चुपचाप सार्न थाल्छन। हल्ला पनि अलि कम हुदै जान्छ।

बोर्डमा लेखेको सारिसकेपछि एकजनाले भन्छ “सर एउटा जोक भन्नुस न। ” त्यसपछि सबैजना ” जोक.… जोक भन्दै चिच्यौछन। उसलाई आज जोक भन्ने मुड छैन।

” सबैले घोकेर आउनु लेखाएको जति। भोलि म सोध्नेछु। अबदेखि तिमीहरुलाई जोक हैन जोताई हुन्छ। “

यसरि सुधीन सर कहिले पनि रिसाउदैनथ्यो बिद्यार्थीहरु संग। आज यसरि रिसाएको देखेर सबैजना ट्वाल्ल परेर हेर्छन। तेश्रो घन्टी बज्नासाथ उ कलासबाट निस्कन्छ। दस मिनेटमा अर्को स्कुलमा क्लास छ उसको। बाइक स्टार्ट गरेर त्यहाबाट बाहिरिन्छ हतार हतार । चोकमा नपुग्दै एक हुल युवा युबती प्लेकार्ड बोकेर बाटो पुरै ढाकेर हिडेका हुन्छन। मोटरसाइकल गल्लितिर बाट हुइकाएर लन्डन ब्रिज हाइस्कुल पुग्छ। स्कुलको गेट भित्र पस्दा नपस्दै प्रिन्सिपलले आफ्नो अफिस डाकेको जानकारी दिन्छ स्कुल सहयोगी राजेन्द्र दाइँले।

सुधीनले मुबाइल निकालेर टाइम हेर्छ। उसको कलास पाँच मिनेट ढिलो पो भैसकेको थियो। ऊ सरासर प्रिन्सिपलको कोठामा जान्छ। ” तपाइको क्लास सुरु हुने बेला यहि हो ? अस्ति पनि ढिलो आउनुभएको थियो रे। तपाइँ दस ठाउँ पढाउनुस मलाइ मतलब भएन। मेरो क्लास डिस्टर्ब हुन भएन” बस्न पनि नभन्दै कड्के प्रिन्सिपल चुन्नालाल।

” सर बाटोमा महिलाबादीहरुको जुलुस रैछ त्यसैले ढिलो भयो। अबदेखि टाइममा आउछु ” , सुधीन आफ्नो मजबुरी बिनम्रताको साथ बताउछ।

“हाम्रो देशमा जुलुस सुलुस सधै हुन्छ। के मैले स्कुल बन्द गर्ने ? अर्कोकुरा तपाइले होम्वोर्क चेक गर्नुहुन्न रे। अबिभाबकहरुले कम्प्लेन गरेका छन। तपाईलाई एक मौका दिन्छु। अहिलेलाई जानुस, भोलिदेखि समयमा स्कुल आउनुहोला। होम्वोर्क चेक गर्नुस। स्कुलमा भ्याउनुहुन्न भने घरमा लेर जानुस,” पावरवाला चस्माको फ्रेम माथिबाट हेर्दै आदेश फर्माइस गर्छन चुन्नालाल।

सुधीन लडाई हारेर फर्केको सिपाइ झैँ निन्याउरो मुख लागाउदै निस्कन्छ। कलासमा बिद्यार्थीहरुलाई लेख्ने काम दिन्छ र डेस्कको छेउमा उदेक मानेर बस्छ। जागर नलाई नलाई केहि बिद्यार्थीहरुको होम्वोर्क चेक गर्छ। उसलाई कुन कुन बिद्यार्थीहरुको अभिबाकले होमवर्क फलो अप गर्छन भन्ने पनि थाहा छ। उनीहरुको होमेवोर्क प्राय: चेक गर्छ ऊ।

स्कुलमा तिन पिरियड पढाएर किर्तिपुरको कोठातिर लाग्छ सुधीन। बिहानदेखि भोक भोकै त्यसमाथि प्रिन्सिपलको हेपाहा बोलि टाउकोमा घुमिरहेको थियो। कोठामा पुगेर खाटमा पल्टिन्छ। एकछिन भएपनि निदाउन खोज्छ तर निन्द्रा पर्दैन। साँझपख उठेर चोकतिर जान्छ। हरिहर, बिनोद , सुर्य ,प्रलाद लगाएत उसले नचिनेका दुइतिन जना संग चोकको पत्रिका पसल अगाडी उभिएर गफ गर्छन।

“साला पचास ठाउँ अप्लाई गरिसके मुजी कसैले बोलाउन्न यार। बाउले घर बोलाएकै बोलाइ छन्। गाउमा के मुख देखाउन जानु, बरु बिदेशतिर जाने उपाय खोज्दै छु हौ केटाहरु म त “, बिनोदले चुरोटको धुवा आकासतिर फुक्दै भन्छ।

“यहा जागिर गरेर ज्यान पाल्न गारो छ। बोर्डिंग स्कुलमा पढाएर बस्नु भन्दा त कतार गए जितिन्छ केटा हो”, सुर्यले कान्तिपुर पत्रिकाबाट आँखा नहटाई भन्छ।

“तेरो त मालामाल होला हैन बिहान प्लस टु , दिउसो स्कुल। मलाई पनि खोज्दे न यार जागिर “, प्रलादले सुधीनतिर फर्केर भन्छ। सुधीन केहि नबोली कुरा सुनिमात्र रहन्छ।

“मैले त क्यानाडाको फास्ट ट्रयाकबाट पी आर अपलाई गर्ने सोच्दै छु यार केटा हो। मास्टरको जागिरले त आफु पालिन गारो छ अरु कुरो छोड “, सुर्यले सुर्य चुरोटको धुवा फाल्दै भन्छ। सबैले अलि चनाखो भएर हेर्छन उसलाई।

“कहाँबाट अपलाई गर्न लाइस हँ हाम्लाई नि बता यार “, हरिहरले तत्कालै सोध्छ।

” तिमीहरु पनि इन्ट्रेस्टेड हो भने भोलि सबै जाउ बुज्न लाई। मैले चिनेको कन्सल्टेन्सी छ। मेरो दाइको साथीको हो। “

त्यसपछि सबैले एक एक मुठा साग किन्छन र आ आफ्नो कोठातिर लाग्छन। कोठामा पुगेर सुधीन सुर्यले गरेको क्यानाडाको पी आरको बारेमा गम्भीर भएर सोच्न थाल्छ । अहिलेसम्म कहिले पनि बिदेश जानी कुरो सोचेको सम्म थिएन उसले।श्रीमतीले अस्ट्रेलिया आप्लाइ गर्छु भन्दा उसैले भो भनेको थियो केहि महिना अघि । अब फेरी कसरि क्यानाडाको कुरा गर्ने उनिसंग। सुधिन सोचमग्न भयो। मनमनै सोच्यो ,’ अब बुढीको पनि डिग्री सकियो। पी आर मा दुवै जना क्यानाडा जान पाए प्रिन्सिपलको हेपाइ सहन पनि पर्थेन। दुइ जना गएपछि पैसो पनि त मनग्य कमाइन्छ होला। बरु पैसो चै कति पो लाग्ने हो? भोलि जसरि भएपनि बुझ्न जान्छु सुर्यसंग।”

मनमनै क्यानाडाको कल्पना गर्दै सुत्यो। सधै बुढीलाई फोन गर्थ्यो ऊ तर आज फोन गर्न पनि बिर्सेछ। निदाउनै लाग्दा उसको फोनको घन्टी बज्यो। बुढीसंग केहीबेर कुरा गर्यो तर क्यनाडाको कुरो गरेन। सोच्यो ‘भोलि बुझेर मात्र गर्नुपर्ला।’

बिहान जागर नलाई नलाई उठ्यो। पढाउन जाने मन पटकै थिएन तर पनि झोला भिरेर लाग्यो ट्यार- टुर्र हर्न बजाउदै किर्तिपुरको ओरालो।

त्यो दिन स्टाफ कोठामा धेरै बेर बसेन। सामान्य ‘हाय ‘हेलो’ बाहेक केहि बोलेन ऊ कसैसंग। घन्टी बजेपछि सरासर कक्षामा गयो। नोट लेखायो। सबै जना खुसि भए नोट दिएकोमा। उसले पनि सोच्यो जता जता जस्तो ताल उस्तै नाच ठिक। किन टाउको दुखाउनु फोकटमा चिच्याएर। कलेज सकेर स्कुल गयो। स्कुल पनि ठिक समयमै पुग्यो। सरासर आफ्नो पिरियड पढायो, होम्वोर्क दियो। उसले आज गित गाएन कलासमा। जोक पनि सुनाएना। बिधार्थिले सोचे सरको आज घरमा झगडा परेजस्तो छ।

स्कुलबाट निस्केपछि ऊ सरासर गयो बागबजार। सुर्यलाई फोन गर्यो। उनीहरु अघि नै त्यहाँ पुगेका रहेछन। ऊ पनि गयो खोज्दै।

सुबास राई छालाको कालो घुम्ने कुर्चीमा बसेर केटाहरुलाई गफ दिदै थियो। रातो बर्णको, मेडियम हाइट, सेतो सर्टमा हल्का गुलाबी रंगको टाई बानेको, छोटो कपालमा जेल ठोकेर निधार माथिको रौ ठाडो पारेको सुबास निकै रहरलाग्दो देखिएको थियो। त्यो भन्दा रहरलाग्दो उसको गफ गर्ने इस्टाईल थियो। साच्चि नै क्यानाडा बसेर सबै थोक जानेको जस्तो कुरा गर्दथ्यो।

” टिचिंगको एक्सपेरियन्स लेटर तयार गर। सर्टिफिकेटहरु सबै नोटरी गरेर राख। आयल्सको तयारि गर। पैसो सुरुमा अप्लाइ गर्दा एक एक लाख बुझाउनु पर्छ। फाइल नम्बर निक्लेपछि अरु बाकि म मिलाएर गर्दी हाल्छु”, सुबासले ढुक्क साथ भन्यो।

सुधिन, हरिहर र सुर्यले प्रोसेस सुरु गरिहाल्ने सल्लाह गरेर निस्के। अरुले भने पछि डिसिजन गर्ने भन्दै बाहिरिए।

सुधीन कोठामा पुगेर सबभन्दा पहिला बुढीलाइ फोन गरेर सल्लाह गर्छ। डिग्री सकेर घरमा सासु ससुरा संग बस्दा कहिले निस्कन पाइएला भनेर कुरेर बसेकी सबिनालाई के खोज्छस कानो आँखो भनेजस्तो भयो। उसले तुरुन्त अप्लाई गर्न सुझाई।

“हजुरलाई फुर्सद मिल्दैन भने बाबा आमा संग सल्लाह गरेर मलाई बोलाउनुस। सबै डकुमेन्टहरु तयार गर्न मा सहयोग गर्छु,” सबिना स्फूर्तिकासाथ सल्लाह दिन्छे।

“अहिलेलाई म आयल्सको तयारी गर्दै गर्छु। आबस्यक पर्यो म बोलाउला नि काली। लभ यु। गुड नाइट। “

“गुड नाइट…. आफु चै नि , खुब गोरे भएजस्तो “, मायाको लोली मिलाउदै भनि उसलेपनि।

सुधीन पढाउने कुरामा अलि कम र डकुमेन्ट को तयारीमा बढी समय दिन थाल्यो। “फाइनलको रिजल्ट निस्कने बेलासम्म त पुगिन्छ हिउ सोर्न, केटा केटिहरु पास हुन् कि फेल बालै भएन। साला कत्रो प्लस टु को स्केल दे जस्तो पास हुन पर्यो सबै। गदा लाई नुहाएर गाइ हुन्छ कोइ ,” मनमनै भुन्भुनायो।

पर्सिपल्ट एस एल सी देखिका सबै सर्टिफिकेटहरु बोकेर नोटोरि गर्न तिलकसिंह ठकुरीको ल फर्ममा गयो। तिलकसिंहले कागत पत्रहरु पल्टाई पल्टाई हेरे र टेबलबाट क्याल्कुलेटर निकालेर ट्याक ट्याक नम्बर थिच्न थाले। “यो सबैको दस हजार हुन्छ। पैसा तिर्नुस र यो सबै यहि छोड्नुस। मैले सकेपछि तपाईलाई खबर गर्छु “, उनले निर्धक्क भएर भने।

“मिलाउन मिल्दैन सर अलि अलि “, सुधीनले सोध्छ।

“कहाँ तेस्तो हुन्छ। खासाको माल जस्तो। ट्रांस्क्रिपटहरुको अझ महँगो हुन्छ, मैले सबैको एउटा रेट लाइदेको छु ,” उनले चस्मा हातमा लिएर सानो कपडाले लेन्स पुस्दै बताए।

“हस, सर म संग सबै पैसो छैन, भोलि आउछु ” भन्दै सुधीन निस्कन्छ त्यहाबाट। बागबजारको भित्रि बाटो हुदै पुरानो बसपार्क रेग्मी मम पशलभित्र पस्छ। एक प्लेट बफ मम अर्डर गर्छ। “साला जिन्दगि पैसो बिना केहि हुदैन। मुजी दुइ चारवटा अक्षर ट्रांस्लेट गरेको दस दस हजार। मैनाभरी पढाएर दुइ हजार बच्दैन।” ऊ कपाकप मम खान्छ र फेरी निस्कन्छ डिल्लीबजारतिर।

बिजुलीको तारको जगल्टा भिरेका साइनबोर्डहरुमा आँखा डुलाउदै पिपलबोटसम्म पुग्छ। के खोज्दै हिड्यो त्यो पनि भुल्यो त्यहाँ सम्म पुग्दा। कतिबेला वोन वे मा पसेछ त्यो पनि ट्राफिक पुलिसले समातेपछि मात्र होस् पायो।

-लाइसेन्स निकाल।

-किन निकाल्ने?

-साँचो निकाल।

-तेरो बाउको हो ?

-मुजी ठुलो हुन्छस ?

-भए त के गर्छस।

-वोन वे मा छिर्चस अनि आफै साढे पल्टिनछस। हेल्मेट निकाल।

-तेरो ससुराले किन्देको हो र अर्डर गर्छस। बाटो तेरो बाउको हो?

-साप यो मुजी निकै ठन्किदो रछ जाक्दिम लयर खोरमा।

-भो भो एक सय निकाल र गैहाल यहाँबाट -अर्को फुली लाउने पुलिसले आदेस फर्माइस गर्यो।

सुधिरले पकेटमा हाथ हालेर दस को नोट निकाल्छ र इ ले यत्ति हो, पैसो खान पल्केका मुजीहरु “, कसेको मुठी पुलिस को नाकै निर पुर्याउछ।

-छोड्नी र भनेको यो ठन्केको मुजी लाई ?

-के गर्छस? अठ्याएर बस्छस। जा जा तेस्लाई समात। गतिलो मुर्गा फसे जस्तो छ। यो मुजीलाई छोड्दे।” फुली लाउनेले आदेस दियो।

कहिले रिस नउठ्ने कुल सुधीन आज ट्राफिक पुलिस संग निकै जोर्कातोर गर्यो। उसले मनमनै सोच्यो ” साला सोझो देखे सबैले हेप्प्दा रचन। आज आँट गरेको अलि अलि पैसो बच्यो। पैसो खानलाई वोन वे बनाउछ साला चोरहरुले।हिजो सम्म त टु वे थियो।”

फरक्क फर्केर किर्तिपुरतिर उकालो लाग्यो। कोठामा पुगेपछि फेरी निस्क्यो चोकतिर चुची खानलाई अर्थात् चुरोट र चिया। भत्केपाटी जाने गल्लि को दायाँपट्टि नेवार्निको चुची पसल छ त्यहि पस्यो। राम्रो संग कान सुन्दिन नेवारनीले तर जवानी तप्प चुइएला जस्तो छ अंग अंगमा। टोलभरिका साँढेहरु कतिबेला चुइन्छ र चाटौला जस्तो गरि झुम्मेका हुन्छन। त्यहि भेट भयो सुर्य र हरिहरसंग। ” आज चुची मात्रै हैन तुम्बा तानौ है साथि हो। भोलि शनिबार हलो जोत्नु छैन कसैलाई”, सुर्यले प्रस्ताप गर्यो।

सबैले सहमति जनाए।

-साउनि तुम्बा छ ?

-केछ ?

-तुम्बा छ तुम्बा ?

-गुम्बा पनि यहाँ हुन्छ ट। ऊ टेटा दक्षिणकाली जाने बाटो टिर होला नि।

-“हैन तुम्बा क्या तुम्बा ऊ त्यस्तो चुस्ने पाइपसंगको,” सुर्यले अर्को टेबलमा तान्दै गरेको इसारा गरेर देखायो।

– “ए! ट्यो टुम्बा भनेको। टेसो भन्न पर्डैन अघिनै। “

अर्को टेबलमा राल काडेर बसेका एक हुल साँढेहरु गलल हाँसे। बाहिरबाट एउटा लुते कुकुर भित्र छिर्यो र तिनै साँढेहरुको गोडामुनी बसेर जिब्रोतानेर रयाल काड़यो। म म को बाफिलो भाँडोतिर आँखा लायो । सबैको आँखा ति भट्टीवाली नेवार्निको पोटिलो पुठोमा गाडिएका थिए। देखेनन कसैले त्यो लुते ग्राहकलाई।

“अन्त कतै छैन गोप्य ठाँउ? त्यो जिनिस त गोप्य रुपमा खानी होला नि”, सुधिनले सुर्यलाइ भन्यो।

“छोड ति आदर्शका कुरा। मान्छेहरुले यहाँ घूस त हाकाहाकी खान्छन, जाबो कोदोको जुस लुकेर खान पर्ने। के अर्कै विचार छ ?”

“छोड विचार सिचारका कुरा। बरु तिमीले नोटरी गर्यौ त ?”

” ए ए त्यो रतन कुर्मी थेन हाम्रो ब्याचको, हो त्यसको दाईको ल फर्म छ कालिमाटीमा। उसैले गर्दिन्छु भनेको छ मिलाएर। मैले हिजो नै सबै डकुमेन्ट छोडेको छु। बरु तिमिपनि जाउ भोलि। मेरो नाम लिनु नि। “

साउनिले दुइओटा सिल्टिको जगमा तुम्बा लेर आई र उनीहरुको टेबलमा राख्दी।एक प्लेट सेकुव पनि मगाए। तुम्बाको तालमा भबिस्यको राम्रै रेखा कोरे गफको लयमा।

भोलिपल्ट सुधीनले घरमा फोन गर्यो र बाबालाई सबै कुरा बतायो। उसले बुहारीलाई केहि दिनको लागि काठमान्डू पठाईदिन पनि अनुरोध गर्यो। सुधीनको बाबा गाउको सामान्य किशान थिए। उनलाई बिदेश जाने कुराले खुसि नै लाग्यो किनकि बिदेस गएर छोराले पैसो कमाउला , अरुहरुले जस्तै उसले पनि तराइमा घर घडेरी जोडला, दुखका दिन हराउलान भन्ने लगेको थियो।

सबिना अर्को हप्ता काठमाडौँ पुगी। डकुमेन्ट तयारि गर्नेमा लागे दुबैजना। विभिन्न सरकारी कार्यालयहरु तथा बैंकहरु धाउन थाले। बल्खुमा ओरिजिनल सर्टिफिकेट निकाल्दा झन्डै हात हाला हाल भएन त्यहाँको कर्मचारी संग। आज गयो, भोलि आइज भन्छ। भोलि गयो पर्सिलाई भन्छ। अफिस खुल्छ ,कर्मचारी छैन, कर्मचारी आउछ फाइल छैन। हाकिमको ढोका ओरिपरि बिचौलियाहरुको झुण्ड बिहान देखि बेलुकासम्म। पासपोर्टको लागि सिफारिस लिन गाँउ गयो, सचिब सदरमुकाम हुन्छ। सचिब खोज्दै सदरमुकाम गयो, सचिवको लेटर प्याड र छाप गाउमै हुन्छ। कर्मचारीको रुखो बोलि, काममा ढिला सुस्ती, तिर्नुपर्ने शर्विस शुल्कको कुनै निस्चित मापदण्ड नभएको, कर्मचारीको लाहापर्बाहिले गर्दा डबल डबल शुल्क तिरेर काम गराउनु पर्ने झंजटले गर्दा ऊ झन्डै डिप्रेसनको शिकार बन्न पुगेन। बल्ल तल्ल ऋण गरेर बिस लाख बैक ब्यालेन्स देखायो त्यो पनि झन्डै दुइ दुइ वर्षसम्म महंगो ब्याज तिरेर।

छ महिनाको प्रोसेस दुइ बर्ष लम्बियो। अन्तत ऊ क्यानाडा पुग्यो। आकाशबाट काठमान्डूको धमिलो क्षितिज हेर्यो। मन धमिलो भयो। काठमान्डूलाइ गार्ड गरेर सदियौ देखि खडा पहाडहरुतिर आँखा डुलायो। मन धमिलियो। अघिपछि हेर्यो। युद्ध अपराध गरेका कैदीहरु जस्तै थुप्रै थिए जहाजभित्र। निस्प्राण थियो यात्रा। जहाज निरन्तर उडिरह्यो बादलमाथिको आकाशमा। ऊ कहाँ सक्थ्योर जहाज संगै संगै उड़नलाई, केवल उसको शरीर उडीरहेको थियो। ऊ त उतै कतै खेल्ने चौतारी, खोला, पाखा र पखेरातिरै अल्मलिएको थियो। आफ्नै बाबा, आमा, दाइ, भाईबैनी र साथीभाईहरु संग संगै । बेला बेला झस्किन्थ्यो र नयाँ दुनियाको कल्पनामा हराउथ्यो। सुरुसुरुमा रोमान्चक लागेपनि लगातारको उडानले गर्दा यात्रा कठिन बन्दै थियो।

बाइस घन्टाको लामो यात्रा पश्च्यात सुधीन र सबिना क्यालगरी एयरपोर्ट झरे। उनिहरुसंगै यात्रा गरिरहेका थिए सुर्य र बिनिता। उनिहरुसंग पाँचबर्षे छोरा पनि संगै थियो। होचो होचो कदको थियो सुर्य। नर्थफेसको डाउन ज्याकेट त्यसमाथि ऊनको कानेटोपी लगाएको ऊ साचिनै मंगल ग्रहबाट आएको जस्तो देखिन्थ्यो। हातमा दुइ दुइ वोटा लगेज समातेका उनीहरु जता जता आफु अगाडीका मान्छेहरु जान्छन उतै उतै जान्थे। प्रतेकपल्ट एयरपोर्ट छिर्ने बेला सबै थोक टोकरीमा राखेर मटल डिटेक्टर भित्रबाट छिर्न पर्थ्यो। टि टि गरेर रातो बत्ति बोल्यो भने माओबादी युद्धको बेला पुलिसले सर्च गरेजस्तै तलदेखि माथिसम्म प्याट डाउन गर्थ्यो। त्यो ठाँउ क्रस गरेपछि युद्ध जितेजसरी भित्र पस्थे, लाइनमा ठिङ्ग उभिन्थे र कान टाँठा पार्दै चलाख पुर्बक काउन्टरतिर हेर्थे। अंग्रेजीको मास्टर सुधीन अंग्रेजी हल्ला मात्र सुन्थ्यो तर केहि बुझ्दैनथ्यो।

“नेक्स पिलिज “, बुढी बुढी गोरी आइमाईले सुधीनतिर आखाँ लाउदै बोलाइ। सुधीन काउन्टरतिर बढ्यो। पछि पछि गई सबिना।

“क्यान आइ सी योर पासपोर्ट प्लिज !” मुसुक्क हास्दै भनि उसले।

“यस माई पासपोर्ट हेयर” भन्दै पासपोर्ट र इम्मिग्रेशनको फर्म टेबलमाथि राक्यो।”

गोरिले पासपोर्ट ओल्टाईपल्टाई हेरी र “कति पैसो ल्याएको छ ? कति डलर ? कति ड्राफ्ट ? कति सामान ? के के सामान? कहाँ बस्ने ? सबै कुरोको निधिखुधि पारि। उसले बुझेन भने झर्को नमानि दोहोर्याइ तेहर्याई सोध्थी। सुधीन नबुझेर बेला बेला बिचरो मुख लाउदै सविनाको मुखतिर हेर्दथ्यो। कनी कनी भएपनि उत्तर दिए दुबैले।

“वेलकम टु क्यानाडा”, फेरीपनि मुसुक्क हाँस्दै भनि गोरिले र ल्याण्डिङ्ग पेपर हातमा दिई। त्यसपछि उनीहरुलाई क्यालगरी देखि एडमन्टन जोड्ने फलाइट सम्म आफैले हिडेर बाटो देखाई उसले।

बाहिर लगेज कलेक्सन गर्ने ठाउँमा सुजन र बिनोध उनीहरुलाई पिकअप गर्न आइपुगेका थिए। दुई बर्ष अघि क्यानाडा छिरेका उनीहरुको छाला अलि चम्किलो र रातो देखिन्थ्यो। एकपल्ट जोडसंङ्ग हात मिलाए र दुइ पल्ट सम्म झड्कारे काम्रेड शैलीमा। सुजन र बिनोदले उनीहरुको लगेज समाते र बाहिर निस्के। पहिलो पल्ट -२२ डिग्री सेल्सियस को जाडोले स्वागत गर्यो गाला चिमोटेर। फटाफट छिरे गाडीभित्र र गफ गर्दै बिनोदले हुइकायो गाडी र पछि पछि सुजन।

तातो थियो गाडी भित्र। बाहिर सेतै थियो, धुलो आयोडिन नुन छरेजस्तो जताततै। गाडीमा सानो इस्क्रिन झुल्डियको थियो अगाडी सिसामा। तेही सानो स्क्रीन मा रोडको नक्सा थियो भने एउटा महिलाले यता र उता भन्दै बाटो बताउदै थिई।’यो जी पी एस हो। यसको फलो गरेपछि हराइदैन। नत्रभने यति धेरै बाटाहरु छन् कि बाटो बिरिन बेर लाग्दैन। यो भयो भने नयाँ ठाउँ जहापनि जान सकिन्छ,” बिनोदले भन्यो।

सुधिनका जोडीहरु झ्यालबाट बाहिर हेर्दै रनभुल्ल परेका थिए। “कति धेरै बाटा हुन् , कति फराकिला। गाडीहरु पनि सबै एकनासले कुदिरहेका,” मनमनै भनि सबिनाले। त्यो रात उनीहरुलाई खासै निन्द्रा लागेन किन भने नेपाल र क्यानाडाको समयमा बाह्र घण्टा जतिको फरक थियो। यसैलाई जेट ल्याग भनिदो रैछ, सुधीनले बल्ल यसको अर्थ बुझेको थियो। राति सम्म उनीहरुले गफ गरेर बसे। बिगतका रमाइला कुराहरु गरेर हाँसे। भोलिपल्ट विनोदका बुढा बुढी बिहानै काममा निस्के। सुधीनका जोडी दिनभरी सुते। बेला बेला झ्याल बाट बाहिर हेर्थे। जताततै हिऊ। खासै बाटोमा मान्छेहरु नहिड्ने। उनीहरुलाई रमाइलो नरमाइलो के लाग्यो थाहा पाएनन्। उनीहरु सुन्यमा थिए। सुधीनलाइ छिटो छिटो उठेर स्कुल जानु थिएन। के गर्ने कसो गर्ने यो नया ठाउँमा उ अन्योलमा थियो ऊ। सबिना भने दिनभरी जसो निधाईरही।

बेलुका राति भएपछी बिनोधको जोडी आए हातभरी प्लास्टिकको झोलामा सामान बोकेर। ” ग्रोसरी गरेर आउदा ढिलो भयो। सोरी यार, ” बिनोदले सुधिनलाई भन्यो।

भोलि पल्ट उनीहरु आफ्नै कोठामा सरे। एक कोठाको यो अपार्टमेन्ट बिनोधले उनीहरुको लागि बुक गरेको थियो।

“हेर यहाँ गाडी आफ्नो नहुदासम्म धेरै गाह्रो हुन्छ। सधै गाडी चढेर सम्भव हुदैन यो चिसो ठाँउमा। तिमि पनि गाडी सिकेर छिटै लाइसेन्स निकान्न पर्छ। भोलि मेरो रातको काम छ। दिउसो यताउति गर्नुपर्छ। सिन अप्लाई गरौला पहिला। त्यसपछि ग्रोसरी गर्न पर्यो। बैंकमा खाता खोल्न पर्यो। त्यसपछि मात्र काम खोज्न थाल्नु पर्छ। यस्तै हो आतिनु पर्दैन”, बिनोधले कुटिल हासो हास्दै भन्छ।

भोलिपल्ट बाक्लो हिउ परिरहेको थियो। करिब एघार बजेतिर बिनोद आयो उनीहरुलाई लिन। खासाको नर्थफेसको जाकेट लगाएर दुवै बुढा बुढी निस्के बिनोधसंग बाहिर। बाहिर गाडीमा पुग्ने बेलामा सबिना हिउमा चिप्लेर गर्लम्म ढली। दाइने कुइनो कालो आइसमा ठोक्कियो। लाजमान्दै उठी। “ओहो, यो जुत्ताले त हुदैन है भाउजु। स्नो बुट किन्न पर्छ। नेपाल जस्तो हैन। यहाँ त पाँच पाँच महिना हिउ पर्छ। ज्यान जोगाउनु पर्छ है ज्यान”,बिनोधले उसको जुत्ता हेर्दै भन्छ।

अफिसियल काम सकेर ग्रोसरि गर्नलाई होलसेल क्लबतिर लाग्छन। दाल , चामल , नुन , तेल , मसला, चिनी, तरकारी फलफुल , बाथरुम को लागि पर्दा , क्लिनिंग सामानहरु किन्छन। मन लाएको सामान उठाउदै हाल्दै गर्दा पैसोको खासै याद भएन दुबैलाई। बिल तिरे $२४८. ०० क्यानेडियन डलर। झट्ट सम्झे नेपाली मूल्य २००००। सोचे मन मनले कहिले सम्म चलिंन्छ नेपलबाट ल्याको पैसोले। उल्टो आउदा ल्याको ऋण छ दस लाख तिर्नलाई। ” हैन बिनोद , काम चै के पाइन्छ हँ यहाँ ?

“काम खोज्नु पर्छ। अलिकति समय लाग्छ पाइन्छ। सबैले पाएका छन त तिमिले नपाउने कुरो हुदैन। राम्रो काम नपाउदा सम्म भाडा पनि माझ्नु पर्छ है”, हाँस्दै भन्छ बिनोदले।

“तैले चै के गरिस नि आउनासाथ ?”

“सबवे रेस्टुरेन्टमा काम गरेको, दुइ दिन पनि टिक्न सकिन। त्यपछि सुनिलले ग्यास स्टेसनमा सजिलो हुन्छ भन्यो। अप्लाइ गरे अनलाइन, बोलायो। त्यो चिसोमा बाहिर गैरहन पर्ने ग्यास भर्न धन्न ज्यान गएन यार।”

“ग्यास त सिलिन्डरमा बेच्ने होइन र भन्या ?”

” कहाँ सिलिन्डरको ग्यास भनेको हो यार। ग्यास भनेको पेट्रोल र डिजेल हो। सुरुमा त मा पनि झुक्केको थिए तर अहिले त बानिपर्यो”, बिनोधले हास्दै भन्यो।

“घनश्याम र कमल पनि त यहि छन् भन्ने सुनेको थिए , कता छन् उनीहरु ?”

” खै पहिले त सबै डाउन टाउन मै थिए। पछि घर किनेर कता कता गएका छन् खासै सम्पर्क पनि हुदैन। सुरु सुरु मा सबैले फोन गर्नी गर्थे आफुले पनि गरिन्थ्यो। बिस्तारै बिस्तारै सबै बिजी हुन थाले। फोन सम्पर्क पनि हुन छोड्यो। “

” ए ए केटाहरु घर किनी पो सके। खै आफुले त जागिर पाउने नै कहिले हो यार। “

“आएको दुइ दिन भएको छैन के को भुट भुटी हो भन्या अहिल्यै। म त दुइ महिना कामै नगरी बस्या हो।”

“ल ल मलाई गाइड गर है यार तेरै भरमा आएको हु मा यहाँ “, सुधिनले भन्यो।

पन्द्र दिन पछि एउटा ग्यास कम्पनिले सुधीनलाई जागिर दियो। वेस्ट एडमन्टन को एउटा पम्पमा काम पायो उसले। पहिलो दिन घरमा गुगल म्याप हेर्यो। कागतमा बस नम्बर र लोकेसन नोट गर्यो र हिड्यो बस स्टपतिर। नेपालको जस्तो खलासीले ठाउको नाम चिच्यौला भन्ने सोचेको थियो। तर गाडी आयो, मान्छेहरु चढे। तर ऊ गाडी चढेन। फेरी कुर्यो पन्द्र मिनेट जति र बल्ल गाडी आयो। ऊ हतार हतार गाडी चड्यो। पाँच डलरको नोट निकालेर चालकतिर हात बढायो।

” चेञ्ज प्लिज ” चालकले उसलाई हेर्द्दै भन्यो।

” आइ हयाव नो चेन्ज “, विनोदले उसलाई पुन पैसो दिदै भन्यो। उसले नयाँ मान्छे हो भन्ने थाहा पाएछ क्यार उसलाई गएर सिट मा बस्न आग्रह गर्यो, पैसो नलिई। “होएन यु राइड द बस नेक्स टाइम, पिलिज क्यारी द चेञ्ज”, उसले भन्यो।

बसमा जम्मा जम्मी पाँच सात जना जति मात्रै प्यासेन्जर थिए। पछाडिको सिटमा गएर बस्यो। बसभित्र सुनसान थियो। प्रतेक स्टेसनमा मान्छेहरु चढ्थे र ओर्लन्थे तर कोहि कसैसंग बोल्दैनथे। उ पनि चुपचाप झयालबाट बाहिर हेर्दै बस्यो। कतिबेला आउछ उ झर्ने स्टेसन केहि पनि मेसो पाएन उसले। एक स्टप अगाडी गैससकेपछि बल्ल थाहा पायो र झर्यो। कता जाने मेसो पाएन। जता हेर्यो उस्तै थियो। सबै बाटाहरु उस्तै थिये। उताबाट आउदै गरेको एकजना काले लाइ सोध्यो र हिडेर पांच मिनेटमा ग्यास स्टप सम्म पुग्यो। ऊ दस मिनेट जति ढिलो भैसकेको थियो। एउटा कालीले सोधी ,” आर यु हियर फर द शिफ्ट ?”

“एस” उसले भन्यो।

“यु आर अलरेडी लेट। नेक्ट टाइम, बि ओन टाइम। आदरवैज आइ ह्याव टु सेन्ड यु होम। “

काममा गएको पहिलो दिन नै उसलाई नमिठो लाग्यो त्यो घिन्लाग्दी कालीको बचन। उ स्कुल ढिला जादा प्रिन्सिपल झक्कुले हपारेको सम्झ्यो। ” साला जता गएपनि कोइ न कोइको बचन सहनै पर्नी।” मन खिन्न भयो उसको। केहि बोलेन। दिनभरी कालीले जे जे भनि तेही तेही गर्यो। नोजल उठाएर तेल गाडीमा हाल्न सिक्यो। गाडीको सिसा पुछ्न सिक्यो। लुनि र टुनी चिन्यो। कस्टमरले ‘असम’ भन्दा नक्कली भएपनि हास्न सिक्यो। ग्यास स्टेशनमा सानो क्याबिन थियो। त्यसभित्र बल्ल बल्ल अटेका थिए दुइजना, ठुला ठुला म्याकशिकन फर्सी जात्रा चाक भएकी काली र ऊ। खाली भएको बेला कालीले के के सोधी राक्थी। उसले बुझी नबुझी जबाफ दिन्थ्यो।

दुइ चार दिन सम्म उ तेही काली संगै काम गर्यो। अर्को हप्तापछि एक्लै काम गर्न थाल्यो। ग्यास स्टेशनमा ग्यास मात्र हाल्नि होइन अरु पनि थुप्रै काम गर्न पर्दथ्यो। पप, चिप्स, चुरोट , गाइको सुकुटी, चुइगम, लाइटर बेच्न पर्दथ्यो। चुरोटपनि थरि थरिका। सबै उस्तै देखिने तर साइज फरक, स्वाद फरक। हैरान हुन्थ्यो ऊ। पैसो फिर्ता गर्यो , गन्यो, खल्टो भित्रको भाँडोमा खसाल्यो। कसै कसैले त गाडी पुछ्न लागाउथे अघि देखि पछि सम्म। कसै कसैले एक दुइ डलर टिप्स दिन्थे। नेपालिमा कन्भर्ट गर्थ्यो र मनमनै सोच्थ्यो कि महिनाभरिमा नेपालि पचास हजार जति त टिप्स हुदोरैछ भन्दै मक्ख पर्थ्यो। सधैभरि एकै शिफ्टमा काम गर्न पाइदैनथ्यो। ऊ कहिले बिहानको शिफ्ट त कहिले बेलुकाको गर्दथ्यो। एक्लै काम गर्दा स्वतन्त्र थियो ऊ तर काम को लोड धेरै हुन्थ्यो। जति धेरै ड्यास बेच्यो उति धेरै बोनस पाउने चान्स हुन्थ्यो। तेही बोनस को लोवले गर्दा पनि उसले सकुन्जेलसम्म काम गर्यो।

एकदिन एउटा क्यारेबियन मान्छे चुरोट किन्नको लागि पसलमा आयो। बिनोदले उसलाई चुरोट दियो। चुरोटको पैसो माग्यो। उसले भन्यो,” आइ डन्ट ह्याव अ पेंनि।” उ पैसो नतिरी सरासर बाटोतिर लाग्यो। उसले फोन गरेर मेनेजरलाइ भन्यो। मेनेजरले उल्टै 911 लाइ किन कल नगरेको भन्दै गालि गर्यो। उसलाई काम गर्न मन लागेन। रातिको बेला गन देखाएर कालेहरुले लुट्छन भन्दै साथीहरुले पनि बेला बेला डर देखाउथे। अब उसलाई त्यो जागिर नखाऊ भने दिनभरिको शिकार, खाँउ भने कान्छा बाउको अनुहार जस्तै भयो। माइनस तिस को चिसोमा पनि बाहिर निस्केर ग्यास भर्नु पर्ने, सिसा पुस्नु पर्ने। हग्ने ठाँउमा बसेर खाना खानु पर्ने। कसैले आएर ड्याम गोलि ठोक्नी हो कि भन्ने डर। सोच्यो ” साला बिदेस भनेको पनि यस्तै रहेछ। ” घरबाट फोन आउदा भन्थ्यो ‘सबै कुरा राम्रो छ। जागिर राम्रो छ।

अर्को महिना काम छोड्यो उसले। काम छोडेको दिन निन्द्रा परेन। बायोडाटा बनाएर दुइ चारवटा कम्पनिमा अप्लाई गर्यो। स्टोर स्टोरमा जागिर खोज्न निस्क्यो। जताततै हायरिंग भनेको हुन्थ्यो। काममा कसैले पनि राख्दैनथे। घरबाट फोन आउदा सबै ठीकठाक छ भन्थे उनीहरु। घरमा दुख देखाउन मन लागेन। साथीहरुले फोन गर्दा पनि सबै राम्रो छ भन्थ्यो ऊ। उसले भन्थ्यो ‘दुख देखायो भने सत्रु होस् या मित्रु सबै हाँस्छन। ‘ महिना दिन पछि एउटा इन्डियन रेस्टुरेन्टमा किचेन सहयोगी काम पायो। पहिलो दिन उसले साढे सात घण्टा किचेनमा भाडा माझ्यो, चिकेनको छाला खुइलायो, आलु उसिन्यो, छिल्यो। यसरि खटेर काम यसअघी कहिले पनि गरेको थिएँ उसले। बेलुका घरमा फर्कने बेला कसैले नदेख्ने गरि दुइथोपा आशु तुरुक्क चुवायो। अलि हल्का भयो टाउको। घरमा पुगेर सोफामा पल्टियो।

सबिना उसको नजिकै आएर टासिदै सोधी, ” काम कस्तो रहेछ। “

ऊ केहि बोलेन। सबिना उठेर किचनमा गइ र चिया लिएर दिई उसलाई। उसले चियाको सुरुप लिदै भन्यो ,” सबिना आज मेरो गोडा मालिस् गर्देउ है। “

उसको आखाँमा आँशु टिलपिल गर्दै थियो। उसले दुख लुकाउने प्रयास गरेको थियो तर पनि उसको अनुहारमा बादल जसरि मडारिरहेको प्रस्ट देखिन्थ्यो।

“काम गारो छ भने छोड्दिनुस। अलि सजिलो काम खोज्नुहोला। खान र बस्न पुगे भयो। अलि अलि आउदा ल्याएको पैसो पनि छ,” सबिनाले उसको हात मुसार्दै भनि।

ऊ केहि बोलेन। बेलुकाको खान खाए दुबैजनाले। सविनाले धेरै बेर सम्म गोडा मालिस गर्दि। ऊ कतिबेला निदायो थाहा पनि पाइन उसले। एकपल्ट उसको अनुहारमा हेरी। सानो बालकको जस्तै निर्दोस थियो उसको अनुहार। आफ्ना ओठहरुलाइ बिस्तारै उसको निधारसम्म पुर्याई र सुस्तरी माया गरि। बत्ति निभाएर गर्लम्म अँगालो हालेर सुति। सुधिनले घाँटीमुनि बाट हात छिराएर अँगालो मार्यो। ” धेरै पिर नलेउ बुढा, आफै रोजेर आको त हो नि”, थप चुम्मा दिदै भनि सबिनाले। तातो तातो आँशु बगेर सुधिनको पाखुरासम्म पुग्यो। देब्रे हातले गाला मुसार्दै दुबै आँखालाई पालै पालो माया गर्यो उसले।

(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.