~नवीन पौड्याल~
1. आमुख
नेपाली साहित्यमा सिक्किमका भीम दाहालको नाम पनि सुरक्षित छ। साहित्य क्षेत्रमा उनी कवि, कथाकार र उपन्यासकारका रूपमा परिचित छन् भने राजनैतिक क्षेत्रमा पनि देखापरेका हुन्। तर उनी साहित्यिक व्यक्तित्वका रूपमा नै बढी चर्चित छन्। हालसम्म उनका उपन्यास: ‘अभीष्टको खोज’ (सन् 1992), ‘द्रोह’ (सन् 2002), ‘विद्रोह’ (सन् 2005)। कथा सङ्ग्रह: ‘मेरो मनको साइनो तिम्रो मनलाई’ (सन् 1992)। कविता सङ्ग्रह: ‘समृद्ध व्यथा: कङ्गाल अभिव्यक्ति’ (सन् 1997), ‘रगतको हस्ताक्षर’ (सन् 2000)। विविध: ‘विचार, क्रान्ति र परिवर्तन’। भीम दाहालको जन्म सन् 1954 नोभेम्बर 29 मा पश्चिम सिक्किमको टिम्बुरबुङ बस्ती भन्ने ठाउँमा भएको हो। यिनले बी.ए. अनर्स सम्मको शिक्षा हासिल गरेका छन् भने पत्रकारितामा पिजी गरेका छन्। सिक्किम विधान सभामा केही समय अनुवादक भएर काम गरेका दाहाल सिक्किम हेराल्डको सहसम्पादक, जिल्ला सूचना अधिकृत हुँदै सिक्किम हेराल्डको सम्पादक पनि भएका हुन्। उनी राजनैतिक क्षेत्रमा पनि देखा पर्छन्। उनी सिक्किमको एक मात्र लोकसभाका तीनपटकसम्म सांसद बनेका हुन्।
2. भीम दाहालको औपन्यासिक प्रवृत्तिको संक्षिप्त अध्ययन-
सिक्किममा रहेर नेपाली साहित्यका कविता, कथा, उपन्यास आदि विभिन्न विधामा कलम चलाएका भीम दाहालका तीनवटा उपन्यास प्रकाशित छन्। यी सबै उपन्यास मूलतः प्रगतिवादी चिन्तनमा आधारित रहेकाले यिनका औपन्यासिक यात्राको चरण विभाजन हुने स्थिति देखिन्न। आफु बाँचेको र भोगेको युगमा व्याप्त विकृति विसङ्गति र अनैतिकतालाई चिरफार गरेर प्रस्तुत गर्नसक्ने निडर, निर्भीक एवं आँटी आख्यानकारका रूपमा लिन सकिन्छ। श्रीमती लीला लुइँटेलले उनका औपन्यासिक नौवटा प्रवृत्तिबारे स्पष्ट खुट्याइदिएको हुनाले यहाँ पनि उनकै भाव, बुँदा र विचारलाई अक्षरशः उतार्ने घृष्टता गरिएको छ। श्रीमती लुइँटेलका अनुसार भीम दाहालका यी नौवटा औपन्यासिक प्रवृत्तिहरू निम्नलिखित छन्-
(1) भीम दाहाल घटनाप्रधान उपन्यासकार हुन्। यिनका उपन्यासमा अनेकौं घटनाको प्रस्तुति पाइन्छ र तिनै घटनाले पात्रलाई गतिमान बनाएका छन्। यिनका उपन्यासमा घटनाहरूको विन्यास व्यतिक्रमिक रूपमा नभएर क्रमिक रूपमा भएको छ।
(2) दाहाल समाजवादी यथार्थवाद- प्रगतिवादी उपन्यासकार हुन्। प्रगतिवादी विचारका रूपमा यिनले आफ्ना उपन्यासहरूमा वर्ग सङ्घर्ष र शोषणको अन्त्य, रूढिवादी संस्कार तथा परम्परागत मूल्य-मान्यताको विरोध र रूढिमुक्त समाजको समाजको स्थापना, जातीय भेदभावको विरोध र अन्तर्जातीय सम्बन्धको स्थापना, शोषक र शोषणको विरोध तथा शोषितको उत्थान हुने शोषणरहित समाजको सिर्जना आदि धारणाहरूलाई व्यक्त गरेका छन्। समाजवादी यथार्थ अर्थात् प्रगतिवादी दृष्टिकोणको प्रस्तुति सचेत र प्रतिबद्ध ढङ्गबाट गरिएका यिनका उपन्यासहरू प्रगतिवादी विचारधाराको प्रयोगस्थल बनेका छन्।
(3) दाहाल विचारप्रधान उपन्यासकार हुन्। यिनले आफ्ना उपन्यासमा कम्युनिस्ट सिद्धान्तबाट प्रभावित विचारहरू प्रकट गरेका छन्। विचारप्रधान भएकाले यिनका उपन्यासहरू शिल्प र कलाको दृष्टिबाट भन्दा विचारको प्रस्तुतिका दृष्टिबाट बढी गहन देखिन्छन्। वैचारिक प्रस्तुतिका दृष्टिले यिनका उपन्यास धनात्मक देखिए पनि औपन्यासिकताका दृष्टिले ऋणात्मक रहेका छन्। विचारको प्रस्तुतिकै कारण यिनका उपन्यासमा कथानकको गति र बनोट जटिल पनि बन्नपुगेका देखिन्छन्।
(4) दाहाल द्वन्द्ववादी उपन्यासकार हुन् । यिनका उपन्यासमा शोषक र शोषितका बीच, शासक र शासितका बीच, तथाकथित तल्लो र माथिल्लो जातिका बीच हुने वर्गीय द्वन्दको विधान गरिएको छ। यिनले आफ्ना उपन्यासमा द्वन्द्वका माध्यमद्वारा पात्रहरूलाई सङ्घर्षरत देखाएर जीवन्त बनाई कथानकलाई अघि बढाएका छन्। यिनका उपन्यासमा आन्तरिक द्वन्द्वको छिटफुट प्रस्तुति पाइए पनि बाह्य द्वन्द्व बढी प्रखर भएर देखापरेको छ।
(5) दाहाल सुधारवादी उपन्यासकार हुन्। यिनले समाजमा जागरण ल्याई सुधारको चाहना राखेका छन्। सामाजिक अन्धपरम्परा, शोषणवृत्ति, कुसंस्कार, पछौटेपन, साम्प्रदायिकता आदिलाई हटाएर जागरुक समाजको निर्माण गर्ने चाहना राखिएका यिनका उपन्यासमा व्यक्तिको सङ्घर्षशील क्षमतालाई ज्यादै महत्वपूर्ण कुरा ठानिएको छ। यिनी वर्ग सङ्घर्षबाट समाजमा सुधार ल्याउने पक्षका अनुयायी देखिन्छन्। भ्रष्टाचारमा रोक, विजातीय विवाहद्वारा समन्वय, आडम्बररहित जीवनद्वारा सरलता, समानता र स्वतन्त्रताद्वारा अन्याय अत्याचारको समाप्ति, नारीप्रति समान सामाजिक व्यवहारद्वारा विभिन्न क्षेत्रमा सुधार एवं परिवर्तन गर्न सकिन्छ भन्ने यिनको दृष्टिकोण छ। यिनका सुधारवादको लक्ष्य स्वस्थ तथा न्यायपूर्ण समाजको सिर्जना रहेको देखिन्छ।
(6) दाहाल समस्या समाधानमुखी उपन्यासकार हुन्। यिनले सामाजिक, राजनैतिक, आर्थिक आदि विविध प्रकारका समस्याहरूलाई खोज्ने, नङ्ग्याउने र तिनको समाधान पहिल्याउने प्रयास गरेका छन्। उपन्यासकार दाहालले वर्ग सङ्घर्षद्वारा शोषणको अन्त्य गर्ने, प्रगतिशील विचारका माध्यमबाट सामाजिक अन्धता र कुरीति हटाउने, सामाजिक, आर्थिक समानताद्वारा स्वच्छ समाजको निर्माण गर्ने, समाजलाई रूढिमुक्त तुल्याएर नारी जागरण र मुक्ति ल्याउने समाधानतर्फ सङ्केत गरेका छन्।
(7) दाहाल अधिक पात्रको प्रयोग गर्ने उपन्यासकार हुन्। विभिन्न वर्गका बहुल पात्रहरूको प्रयोग पाइने यिनका उपन्यासमा विशेष गरी निम्नवर्गीय सहभागीको बाहुल्य रहेको छ। यिनी व्यक्तिभन्दा वर्गीय पात्रको सिर्जना गर्न रुचाउने उपन्यासकार भएकाले यिनका उपन्यासमा चरित्रचित्रणको सूक्ष्मताभन्दा घटनाको वर्णन बढी पाइन्छ। विशेष सहानुभूतिका साथ किसान, भरिया, सुकुम्बासी आदि निम्न वर्गीय सहभागीहरूको प्रयोग पाइने यिनका उपन्यासमा अनुकूल पात्रको कम र प्रतिकूल पात्रको बढी वर्णन पाइन्छ।
(8) दाहाल स्थानीयताको दिग्दर्शन गर्ने उपन्यासकार हुन्। यिनका उपन्यासमा मुख्यतः सिक्किमको स्थानीय रङ्ग र आञ्चलिकताको प्रस्तुति पाइन्छ। आफ्ना उपन्यासका माध्यमबाट यिनले सिक्किमको रहनसहन, चालचलन, भेषभूषा, बोलीचाली, परम्परित सामाजिक संस्कार, शैक्षिक स्तर, राजनैतिक परिस्थिति, जीवन चेतनाका साथै स्थानीय प्रकृतिको पनि चित्रण गरेका छन्। यिनका उपन्यासहरू सिक्किमेली नेपाली ग्रामीण जीवनका यथार्थ चित्र हुन्।
(9) दाहाल कथ्य भाषाको प्रयोग गर्ने उपन्यासकार हुन्। सिक्किमको ग्रामीण समाजमा बोलिने कथ्य नेपाली भाषाको प्रयोग यिनका उपन्यासमा भएको छ। पुराण, इतिहास, राजनीति, दर्शन आदिसँग सम्बद्ध बिम्ब र प्रतीक प्रशस्त प्रयोग गरिएकाले यिनका उपन्यासमा साधारण पाठकका लागि बोधगम्य र सहज पठनीय छैनन्। यिनका उपन्यासमा प्रयुक्त बिम्ब र प्रतीकहरू कतैकतै सङ्गतिहीन र कतैकतै त्रुटिपूर्ण पनि देखिन्छन्। विश्वइतिहास, दर्शन, राजनीति आदि विविध सन्दर्भहरू प्रस्तुत गरिएका यिनका उपन्यास औपन्यासिक कृतिभन्दा बढी कुनै दार्शनिक, इतिहासकार र विज्ञानवेत्ताको भाषणजस्ता लाग्छन्।
3. ‘अभीष्टको खोज’ उपन्यासको तात्विक विमर्श-
औपन्यासिक तत्वका दृष्टिले भीम दाहालको ‘अभीष्टको खोज’ एउटा सामान्य उपन्यास हो। यसमा कथावस्तु, सहभागी र सहभागिता, संवाद, दृष्टिकोण वा परिप्रेक्ष्य विधान, भाषा र शैली आदिको निर्वाह भएको देखिन्छ। यसमा शान्तिको जीवनमाथि समग्र कथावस्तु र घटनावली रहेको हुनाले यसलाई चरित्रप्रधान उपन्यास मान्न सकिन्छ। यद्यपि यसमा कथावस्तु पक्ष पनि उत्तिकै प्रबल रहेको देखिन्छ। यसमा शान्तिको चरित्रलाई प्राथमिकता दिएकाले यसलाई चरित्रप्रधान उपन्यास मान्न सकिन्छ।
3.1. अभीष्टको खोज उपन्यासको संरचना-
भीम दाहालको अभीष्टको खोज उपन्यास 1/8 डिमाइ आकारको जम्मा 140 पृष्ठ भएको मझौलो आयामको उपन्यास हो। यसको मूल उपन्यासको शुरूआत् पृष्ठसंख्या 5 देखि हुन्छ। यसमा कुनै अध्याय र खाण्ड उपखण्डमा नछुट्याइ कथा सोलोडोलो रूपमा रहेको छ। यद्यपि यसमा ठाउँ ठाउँमा पाइने केही खाली ठाउँ (डरिलश) ले केही परिच्छेद छुट्याइएको प्रतीत हुन्छ। पृष्ठ संख्याहरू 21, 34, 48, 61, 72, 87, 98 र 127 गरी जम्मा आठ ठुलामा स्पेस राखिएबाट परिच्छेद विभाजन मानी आठवटा परिच्छेद रहेका छन् भन्न सकिन्छ। यी प्रत्येक स्पेस वा परिच्छेदमा कुनै संख्या वा नाम त उल्लेख छैन तर कि चाहिँ घटना-प्रसङ्गको बदली, कि समयको फड्को गर्दा प्रयोग गरिएको छ। यस उपन्यासका घटना वा कथावस्तुलाई सघन र संश्लिष्ट रूपमा खाँदिएका छन्। उपन्यासमा घट्नैघटनाले जेलिएको छ भने कथावस्तुले टम्म भरिएको छ। उपन्यासभरि मानसिक चिन्तन र घटनालाई सँगसँगै लगिएको छ। यसैगरी वर्तमानको घटना र पूर्वघटित घटनालाई पूर्वद्वीप्तिको रूपमा सँगसँगै रूपमा अघि बढाइएको छ। यसमा अति छोटो भूमिकाको औपचारिकताको निर्वाह गरिएको छ भने उपन्यासको शुरूआत् नै बरू भूमिका जस्तो कथनबाट शुरू गरिएको छ। पाठकसित एकालाप गरिएको उपन्यासको शुरूआत्ले पाठकलाई यसभित्रको कथालाई कुनै पूर्वाग्रहविना पढिदिने आग्रह गरिएको छ।
3.2. अभीष्टको खोज उपन्यासको शीर्षक विधान-
‘अभीष्ट’, ‘को’ र ‘खोज’ गरी तीनवटा पदबाट मिली बनेको पदावली ‘अभीष्टको खोज’लाई उपन्यासको शीर्षक बनाइएको छ। तत्सम शब्दको रूपमा रहेको रहेको अभीष्टको अर्थ इच्छाइएको कुरा, प्रिय कुरा, चाहेको वस्तु वा विषय।2 (हेमाङ्गराज अधिकारी सं., प्रयोगात्मक नेपाली शब्दकोश, काठमाडौं, विद्यार्थी प्रकाशन प्रा लि, 2061, पृष्ठ 44)। इच्छा गरिएको अभिलाषा राखिएको, अति इच्छित। ज्यादै मन परेको, अति प्यारो, अत्यन्त प्रिय (बृहत् नेपाली शब्दकोश, नेराप्रप्र, छै.सं., 2060, पृष्ठ 64)। यस हिसाबले हेर्दा अभीष्टको खोज भन्नाले इच्छा गरिएको, अभिलाषा राखिएको वा कुनै प्रिय वस्तुप्राप्तिको निम्ति गरिएको खोजी बुझिन्छ। भाववाचक वा अमूर्त नामशब्द कुनै अभीष्टको कसैले खोजी गरिएको कथावस्तुलाई उपन्यासले अघि बढाएको छ। उपन्यासकी मूल नारीपात्र शान्तिले कुनै प्रियवस्तु वा उद्देश्यप्राप्तिको निम्ति गरिएको प्रयासलाई उन्यासले समेटेर शीर्षकको चयन गरेको छ। शान्तिको कुनै अभीष्ट खुलाइएको छैन औ कुनै प्राप्ति पनि भएको देखिएको छैन। शीर्षक अभिधात्मक नभई व्यञ्जनात्मक रहेको छ। एउटी नवयुवती शान्ति गाउँबाट बाह्रौं श्रेणीसम्म पढेर नोकरी खोज्न गान्तोक गएकी छ औ नोकरी खोज्ने प्रसङ्गमा पुरूषहरूको बासनाको लतमा रतिएकी छ। कतै उसको आफ्नो व्यक्तिगत रूपमा तन र धनको सुख प्राप्तिको लालसा नै उसको अभीष्ट त होइन? पाठकलाई सन्देह पनि हुन्छ। अथवा उसले कुनै अभीष्ट राखेकी थिई तर परिस्थितिले गर्दा उसलाई कुनै अभीष्ट प्राप्तिहीन बनाएको हो।
3.3. अभीष्टको खोज उपन्यासको कथानक-
यस अभीष्टको खोज उपन्यासलाई घटनाप्रधान उपन्यासका रूपमा माने तापनि विचार पक्ष पनि उत्तिकै प्रवल छ। यसर्थ, यसलाई घटना र विचार दुवैको समन्वित रूप पाइन्छ। उपन्यासको शुरू लीला कँडरिया र बालिका शान्तिसहितकी आमाको बिहेदेखि हुँदै अन्तमा जवानी बित्न आँटेकी शान्तिले बिहे गर्ने विचार त्यागेको अवस्थासम्म टुङ्ग्याइएको छ। उपन्यासको अघिल्लो भागमा कथावस्तु द्रुतगतिमा अघि बढेको छ। उपन्यासमा शान्तिको एक-दुई वर्षकी उमेरदेखि एक्काइस वर्षको उमेरसम्म खासै उल्लेखनीय कथा जोडिएको देखिन्न। बरू त्यसबिचमा गाउँका पदमे, रत्ने, ललित सर, सिक्टेरी कान्छा आदिको कथा जोडेका छन्। शान्ति स्कूल दाखिला हुनु, पढाइमा तेज भएकी र बाह्रौं श्रेणीसम्म पढेको सामान्य कथा छ। उपन्यासमा आदि, मध्य र अन्त्य गरी तीन भागमा पाइन्छ। लीलाराम र धनमायाको बिहे, शान्ति हुर्कँदै गएदेखि उ गान्तोक जानुअघिसम्मलाई आदि, उ गान्तोक गएदेखि शंकाको कारणले एक रातलाई जेल गएसम्म मध्यभाग र गान्तोकमा काकीसित बसेदेखि उसले बिहे नगर्ने निर्णय दिएसम्मको अन्तिम भागलाई अन्त्यभाग मान्न सकिन्छ। कथावस्तुको बनोट, बुनोट, त्यसको विशेषता खासै उल्लेखनीय देखिन्न। उपन्यासमा लेखकीय वैचारिकता पनि निकै मात्रामा पाइनाले कथाको तन्तु बरालिएको छ। यसैगरी धनमायाको वैधव्य जीवनबाट उपन्यास प्राम्भ भई शान्तिले बिहे नगर्ने निर्णय आफ्ना बाबु आमालाई सुनाउने कामबाट समाप्त भएको छ। यद्यपि बिहे नगर्नका कारण मात्र बताएर उपन्यास टुङ्ग्याइएको हुनाले यो एक प्रकारले खुल्ला समाप्ति (जशिप एपवशव) पद्धति अपनाएको आभाष हुन्छ। यसपछि उसले के गरी जीवन बिताउँछे इत्यादि पक्षमा उपन्यासले केही उल्लेख गरेको छैन। यसपछिको उसको जीवन कस्तो हुन्छ कि खुल्ला याचार गरेर जीवन बिताउँछे वा राजनीतिमा सक्रिय हुन्छे वा समाजसुधारक हुन्छे इत्यादि सम्भावित र काल्पनिक भविष्यबारे पाठकलाई जिम्मामा छाडेका छन्।
3.4. अभीष्टको खोज उपन्यासको सहभागिता र सहभागी-
प्रस्तुत उपन्यासलाई चरित्रप्रधान उपन्यासका रूपमा मान्न सकिन्छ। यसमा शान्ति नै केन्द्रीय पात्रा हो जसको वरिपरि उपन्यासको कथावस्तु घुमेको छ। शान्तिको बाल्यावस्थाबाट थालिएको उपन्यासको कथावस्तु उसकै बित्दो जवानी अवस्थामा टुङ्गिएको छ। लीलाराम कँडेरियाले बालिका शान्तिसितै बिधवा आमालाई अपनाउने निर्णयदेखि शुरू भएर शान्तिले बिहे नगर्ने निर्णय गरेसम्म नै यस उपन्यासको औपन्यासिक कथावस्तु हो। उपन्यासमा शान्तिको जीवनमा दुईवटा चरित्र फेला पर्छ- जीवनको अघिल्लो भागकी सुधी, सरला, चरित्रवान चरित्र र पछिल्लो भागको कुसंगतका कारण उ मर्यादाहीन, यौनभोगी, मदपान गर्ने हुन्छे। उसको चरित्र र प्रवृत्तिमा परिवर्तन आएकाले उ गतिशील र गोलो चरित्रकी देखिन्छे। समय र परिस्थितिका कारण उ बिग्रिदै जान्छे, संसार बुझ्दै जान्छे, सांसारिक गतिविधिमा आफुलाई ढाल्दै गएकी छ। उपन्यासमा शान्ति, लीलाराम, धनमाया, काका, काकी, इन्द्रकमल थपलिया आदि अनुकूल पात्र-पात्रा हुने भने नेत्रसाहेब, सानुभाइ, रत्ने, पदमे आदि प्रतिकूल पात्र हुन्। उपन्यासका पात्र-पात्राले सिक्किमको नयाँ राज्य व्यवस्थाअन्तर्गतको गाउँले परिवेशको प्रतिनिधित्व गरेका छन्।
3.5. अभीष्टको खोज उपन्यासको परिप्रेक्ष्य-
शान्तिसँगसँगै सिक्किमको एउटा गाउँ टिम्मुरबुङदेखि गान्तोक हुँदै फेरि टिम्मुरबुङमै टुङ्ग्याइएको यसको दृष्टिकोण पात्र शान्ति नै हो। यसमा तृतीयपुरूषको परिप्रेक्ष्य (दृष्टिविन्दु) प्रयोग गरिएको छ। यद्यपि यसमा शान्तिमाथि निकै फोकस् गरिएको छ। शुरूमा पाठकसित गन्थन गर्ने पाराले द्वितीय पुरूष दृष्टिकोण परिपाटी अँगालिए तापनि यसलाई द्वितीय पुरूष दृष्टिबिन्दु उपन्यास मान्न सकिन्न। शान्तिका गतिविधि, मनको सोचाइ, कल्पना र उब्जिएका विभिन्न भावलाई पनि उल्लेख गरिएको छ। उपन्यासको शुरूमा त्यो दृष्टिविन्दु लीलाराम कँडरियामा केन्द्रित थियो भने पछिबाट त्यो सरेर शान्तिमा आइपुगेको छ। यसमा एकभन्दा बढी पात्रको मनोविश्लेषण गरिएको र प्रायः सबै पात्रका मनका भाव, विचार, चिन्तन आदिको चित्रण पाइने हुनाले यसमा सर्वदर्शीय दृष्टिविन्दुको प्रयोग भएको छ।
3.6 संवाद योजना-
प्रस्तुत उपन्यासमा लामा-छोटा विविध खालका संवादहरू प्रयोग भएका छन्। ती संवादहरू कतै भावुक, कतै निराशा, कतै, अशान्ति, कतै विकृतिबोधक, कतै जीवनमुखी छन्। यसमा ठाउँमा संवाद गराउँदै कथावस्तुलाई रोचक बनाउने प्रयास गरिएको छ। काका मातेर बोलेको, सानुभाइ, काकी, लीलाराम आदिले बेला बेलामा संवाद बोल्छन्। लीलारामले विधवी धनमायालाई बजारमा भेटेर आफ्नो कुरा राखेको देखि संवाद शुरू भई अन्त्यमा आफ्ना बाबु-आमाले शान्तिले आफु बिहे नगर्ने निर्णय सुनाएकोसम्म संवादको प्रयोग पाइन्छ। यसमा संवादको माध्यमबाट उपन्यासको कथावस्तु अघि बढाउनका साथै पात्र-पात्राको परोक्ष चरित्रचित्रण गर्ने कार्य भएको छ। शान्तिको मनोभावनालाई संवादबाट पनि बुझाइएको छ। प्रायः संवादहरू लामा लामा नभई छोटा छोटा छन्। यसबाट पाठकलाई रोचकता प्रदान गर्ने प्रयास गरिएको छ।
3.7. अभीष्टको खोज उपन्यासको परिवेश-
परिवेश विधानका दृष्टिले प्रस्तुत उपन्यास सफल देखिन्छ। यसमा मूलतः दुईवटा परिवेश चित्रित छ- सिक्किमको टिम्बुर बस्तीको ग्राम्य र गान्तोक शहरको शहरीया। सोरेङ बजारको प्रसङ्ग पनि देखा पर्दछ। शान्ति गाँउमा बस्ता ग्राम्य परिवेश तथा शहरमा बस्ता शहरीया परिवेश देखाइएको छ। गाउँले परिवेशमा गाँउ-घरको सामाजिक, सांस्कृतिक, राजनैतिक, आर्थिक, भौगोलिक, पारिवारिक परिवेश चित्रण पाइन्छ भने शहरमा बस्ता शहरीया संस्कृति, सामाजिक, चारित्रिक राजनैतिक परिवेश देखाइएको छ। सिक्किम भर्खरै मात्र एउटा स्वतन्त्र देशदेखि भारतीय संघीय ढाँचामा परी बाइसौं राज्य बनेको संक्रमणकालीन अवस्थाको संकेत पाइन्छ। यस कुरालाई पुष्टी गर्ने उपन्यासको कथायिकाले ठाउँ ठाउँमा व्यक्त गरेको, शान्तिको काकाले मातेका बेला व्यक्त गरेको कुराहरू हुन्।
3.8. अभीष्टको खोज उपन्यासको भाषा-
भाषा प्रयोगका दृष्टिले अभीष्टको खोजलाई ठेट नेपाली शब्दहरूको भण्डार मान्न सकिन्छ। यसमा गाउँले जनजीवनमा चल्ती शब्दहरू धेरै मात्रामा पाइन्छन्। यसमा कतिपय तत्सम शब्द प्रयुक्त छ भने अधिकांश भने तद्भव शब्दकै बाहुल्य देखिन्छ। उपन्यासकारले गाउँले परिवेश प्रदान गर्नका निम्ति भाषा पनि उस्तै गाउँले ठेटपन देखाउने प्रयत्न गरेका छन्। यसो गर्नका निम्ति कतिपय मानक शब्दमा विचलनको प्रयोग गरेका छन्। जस्तै- सिक्टेरी, विष्णे इत्यादि। त्यस्तै गरी ठाउँ-ठाउँमा कथन उपयुक्त उखान र वाग्धारा तथा वाग्धाराको प्रयोग गरेका छन्। हाम्रा समाजमा चलनमा आउने धेरै अँग्रेजी शब्दको प्रयोग गरिएको छ। कतै कतै उक्तिवैचित्र्य पाइन्छ। जस्तै- ढिपी पसारिदिनु, रक्सी सोंडक्याउनु इत्यादि।
3.9. अभीष्टको खोज उपन्यासको शैली-
प्रस्तुत उपन्यासमा उपन्यासकारले वर्णनात्मक, सम्वादात्मक, संकेतात्मक रूपमा अघि बढाउँदै पाठकलाई रोचकता दिने काम गरेका छन्। यसमा वैचारिकता भरमार प्रयोग देखिन्छ। देश, समाज, व्यक्ति र व्यक्तिको गतिविधिमाथि वैचारिक मन्थन जस्तो प्रस्तुत गरिएको छ। कथाको धार कहिले द्रूत गतिमा बगेको छ भने कहिले मन्द गतिमा बगेको पाइन्छ। परिच्छेदहरू लामा पंक्तिदेखि एक पंक्तिका पनि छन्।
3.9.1. अभीष्टको खोज उपन्यासमा पाइने श्यामव्यङ्ग्य शैली-
यस उपन्यासमा श्याम व्यङ्ग्यको निकै मात्रामा प्रयोग गरिएको छ। यसमा बर्बरता र विनोदितालाई मिश्रण गरेर विकृति र विसंगतिलाई व्यङ्ग्यात्मक तवरले ठुङ हान्दै पाठकलाई बडो रोचकता प्रदान गर्न खोजेका छन्। प्रायः प्रत्येक प्रसङ्ग र पात्रको चारित्रिक टिप्पणी गर्दै श्याम-व्यङ्ग्यको सकुशल प्रयोग गरेका छन्। उपन्यासको शुरूमा नै यो कथालाई वर्ग, लिंग, सामाजिक अनि धार्मिक मतभेदको कात्रोले नछोपिदिनु…. जाँड- रक्सी र गाँजाको नशामा नभुलिनु… इतिहासमा जुठो हस्ताक्षरको… पूर्वाग्रह र पूर्वानुमानको बन्चरोले नढालिदिनू… भनेर कात्रो, जुठो, नशा, बन्चरो जस्ता शब्दको प्रयोग गरेका छन्। रत्ने, पदमे, सिक्टेरी कान्छ, विष्णे बास्तो, लीलाराम कँडरिया, सुब्बेनी काकी, भट्टराई कान्छो आदिका प्रसङ्गमा यस्तो शैली प्रयोग गरिएको छ। जनैलाई जुम्राको लिङ्गेपीङ, तथा कन्दनी भनिएको छ। उपन्यासको कथायिका कतै बसेर पाठकलाई कथानकीय संसारमा व्यङ्ग्यात्मक तरिकाले सुनाउँछ। माथिका पात्रहरूलाई खिल्ली उडाउने र शब्दचित्रद्वारा कार्टुन बनाउने काम भएको छ। उनीहरूको नामकरणबाट नै उनीहरूको चारित्रिक विशेषता झल्काउने प्रयत्न गरेका छन्।
3.9.2. कवितात्मक प्रस्तुति-
उपन्यासका धेरै ठाउँमा कवितात्मक अभिव्यक्ति दिइएको छ। नेताको चरित्रलाई एक दुई ठाउँमा कवितात्मक ढङ्गमा प्रस्तुत गरेको छन्। जस्तै-
मैले नेता हुन्छु र चौकीमा बस्छु भनिनँ।
मैले राजनीति गर्छु र कसैलाई हराउँछु भनिनँ।
मैले ठीका बिघा गर्छु र पैसा कमाउँछु भनिनँ।
मैले घुस खान्छु र बिल्डिङ बनाउँछु भनिनँ।
यस्ता काव्यात्मक शैली केही अन्य ठाउँमा पनि पाइन्छन्।
4. अभीष्टको खोज उपन्यासको नारीवादी स्वर-
मूल रूपमा अभीष्टको खोज नारीवादी उपन्यास हो। यसकी तीन प्रमुख नारीपात्रका गतिविधि, विचारधारामा नारीवादमा हुने लक्षण पाइन्छ। नारीवाद मार्क्सवादी विचारधाराबाट उत्प्रेरित र उद्भूत राजनैतिक समतामूलक विचार बोकेको साहित्यिक आन्दोलन हो। पुरुष अधिकारको भञ्जन र नारी स्वतन्त्रता लेखन परम्परालाई नवीनकरण र मान्यता प्रदान गर्ने अभियानमा ओर्लेको यस सिद्धान्त सन् 1960 देखि द्रुतगतिमा अघि बढेको पाइन्छ। उदारता, सुधारमूलक मार्क्सवादी अवधारणा र मनोवैज्ञानिक सिद्धान्तहरूसँग सम्बन्धित रहेर नारीवाद उत्तरोतर विकासको निम्ति अग्रसर रहेको छ। नारीवादले नारीहरूको दमन र किनारीकरणसँग सम्बन्धित समस्यामा चासो राख्दछ। लैंङ्गिक अवधारणाको अध्ययन पनि नारीवादमा गरिन्छ। यो नारी स्तरको अध्ययन गर्ने एउटा वैज्ञानिक अवधारणा हो। पुरुषलिखित साहित्यमा नारीलाई कसरी हेरिएको हुन्छ र नारीका समस्यालाई कसरी सम्बोधन गरिएको छ? भन्ने कोणबाट नारी जातिको अध्ययन अवलोकन गर्नु नै नारीवादी साहित्यको मूल अभीष्ट देखापर्दछ।
पुरूषकेन्द्री साहित्यगत प्रवृत्तिलाई लत्याएर समकालीन नारीवादी समालोचना परिप्रेक्ष्य लेस्वियनिजम् (स्त्री समलिङ्गी) साहित्यको अध्ययन र विश्लेषणको परम्परा पनि हुर्किएको छ। लेस्वियनिजम् दिदी-बहिनी (ुेारपहेेव) भावको अभिव्यक्ति हो र यसले जीववैज्ञानिक सिद्धान्तलाई समेत चुनौती दिएको छ। पश्चिममा नारीवादी साहित्य समालोचनामा ब्ल्याक फेमिनिस्ट साहित्यको अध्ययन र विवेचना गर्ने प्रचलन पनि फस्टाएको छ। नारीवादमा पनि विभिन्न तर्क, वाद, विवाद, विभाजन, उपविभाजन, हाँगा-बिँगा छन्। चरम नारीवाद, नरम नारीवाद, समाजवादी नारीवाद, नारीवादी तेस्रो धार, मनोविश्लेषक नारीवाद आदि वर्गीकरण गरिएको छ। भीम दाहालको अभीष्टको खोजलाई केही समीक्षकहरूले नारीवादी उपन्यासको रूपमा दर्शाएका छन्। यसमा शान्ति नामकी मूल पात्रको जीवन चारित्रिक अवस्थालाई केन्द्र गरी नारीवादीको तोक लगाइनु स्वाभाविक नै छ। यसमा शान्तिको जीवनलाई नै उपन्यासको मूल विषय बनाइएको छ। उपन्यासको मूल विषयवस्तु नै शान्तिको स्वतन्त्र यौनाचार हो। यद्यपि यसलाई नारीवादी उपन्यासका रूपमा दर्शाउनका नारी अस्मितामाथि अति हलुका सोच पनि नपाइने होइन। यसलाई मुख्यतः तीनवटा कुराबाट नारीवादी ठर्याउने प्रयास गरिएको छ-
0 शान्तिकी आमा धनमायाले आफु बिधवा भएपछि दोस्रो विवाह गर्नु,
0 शान्तिले आफु सक्षम बन्न गान्तोक गई नोकरी गर्नु तर पुरूषको वासनाको शिकार हुनु तथा पछिबाट आफैं खुल्ला यौनाचार गर्नु,
0 शान्तिले आफुले चाहेको युवक मरेपछि बिहे नगरी स्वतन्त्र जीवन बाँच्ने निर्णय गर्नु।
0 शान्तिकी काकी पनि लोग्ने हुँदाहुँदै केही परपुरूषसित यौनाचार गर्ने।
यति हुँदा हुँदै पनि उपन्यासकारले शान्तिलाई न्याय दिनसकेका छैनन्। शान्तिको कमजोरी देखाएर नारीवादी चिन्तन गरिएको छ। नारीवाद भनेको नारीको कमजोरी पक्ष देखाउनु होइन। कमजोरी त पुरूषको पनि झन बेसी हुन्छन्। शान्तिले आफ्नो लागि गरेको संघर्षले न्याय पाउन सकेको छैन। संघर्ष गर्दा पनि उ विफल भएकी छ। उसको अभीष्ट नै देखिँदैन। पुरूषप्रधान समाजमा नारीको स्थिति चिन्ताजनक हुन्छ। नारीलाई अनेक लाञ्छना, अपगाल, अन्याय, अत्याचार गरिन्छ। शान्तिले पुरूषप्रधान समाजको नारीको स्थिति विस्तारै बुझ्दै जान्छे। यद्यपि पुरूषबाट यौनभोग गरिएकी शान्तिले पछिदेखि त बानी परेर सम्भोग नभई बस्नै नसक्ने स्थितिमा पुग्छे। सुन्दरी, सुबानी र आमा बाबुको लाड-प्यार पाएकी शान्ति केही पछिदेखि भने खुल्ला यौनाचार गर्ने, जाँड-रक्सी खाने जस्ता कुलतमा फँस्छे। मानिसलगायत समस्त पशु-प्राणीमा यौन चाहना सामान्य कुरा हो। मानिसलाई भोक तिर्खा झैं यौन-प्यास लाग्नु स्वाभाविक कुरा हो। धनमाया र लीलाराम कँडरिया दुवैजनाले दोस्रो बिहे गर्नु, शान्तिकी काकीले लोग्ने हुँदा हुँदै परपुरूषसित सम्भोग गर्नु, थापा बाबु, मञ्जुर, खँड्का, आग्या साइँला, ड्राइभर, सानुभाइ आदि पनि यही यौन चाहनाले डोहोरिएर काकीसित सुटुक्क आउनु सबैको मूल कारण यही हो। शान्तिले धेरैजनासित यौन सम्पर्क राख्दा खासै ठुलो कुरा होइन। समाजमा लोग्नेमान्छेले जति स्वास्नीमान्छेलाई यौन सम्पर्क राखे पनि ठुलो कुरो मानिन्न। त्यस्तै स्वास्नीमान्छेले एकाधिक यौनसम्पर्क राख्दा केही हुने होइन। यद्यपि उपन्यासकारले शान्तिलाई यौन चाहना तीब्र भएको र उसलाई घरिघरि त्यही कुरा चाहिने, एकपछि अर्को लोग्नेमान्छेको स्वाद लिने बनाएका छन्। यो नारीवाद नभएर अमर्यादित र अश्लीलता हो। शान्तिले पछिबाट बिहे नगर्नाका पछाडि निम्न कारण केलाउन सकिन्छ-
0 उसले पुरूषहरू नेत्र साहेब र सानोभाइबाट पाएको धोकाबाट पालेको घृणा,
0 उसले रूचाएको इन्द्रकमल थपलियासित बिहे हुन नपाउँदाको कुण्ठा,
0 एकजनासित बिहे गरेर एकल यौन भोगाइभन्दा बहुपुरूषबाट प्राप्त हुने चरम सन्तुष्टी
0 बहुपुरूषको यौन भोगाइबाट निकासस्वरूप यौनचाहनामा ह्रास।
यसलाई नारीवादी उपन्यासको बर्को ओडाउनु उपयुक्त छैन। शान्तिको चारित्रिक पतन नारीवाद होइन। शान्तिले सबैभन्दा पहिले सानोभाइबाट यौनभोग गर्छे। त्यसपछि नेत्रसाहेबले प्रेमिका हुने वा बिहे गर्ने आशाले उसबाट यौनभोग गरेपछि गर्भ रहन्छ। पछि नेत्रसाहेबबाट गर्भाधानको रकम असुल्छे। काकीको घरमा रहँदा रक्सी नभई नहुने कुलतग्रस्त बन्छे। मञ्जुरको बलिष्ठ शरीर देखेर शान्तिमा यौन प्यास बढेर उसलाई यौनभोगको निम्तो दिन्छे। यो नारीवाद नभएर नारीको चरित्र हनन हो। एउटी सोझी, सरल बाला शान्तिलाई यौनको निपुण खेलाडी बनाउनु कुनै नारीवाद होइन। शान्तिले जीवनमा कुनै उपलब्धि हासिल गर्न सक्तिन। उसको बिहे पनि हुँदैन, चाहेको पुरूष पनि पाउँदिन, जानी जानी सानोभाइ जस्तो अनैतिक पुरूषसित जाकिन्छे, चारैतिरबाट हारेकी छ भने कसरी नारीवादी उपन्यास मान्नु? हाम्रो समाजमा बिहे नगरी बस्ने नारीहरू छन् तर नारीवादी होइनन्। दोस्रो बिहे गर्छन्, ती पनि नारीवादीमा पर्दैनन्। शान्तिको काकीले झैं धनको निम्ति रक्सी पसल चलाई शारीरिक सम्भोग गराउने नारीहरू पनि छन्, ती पनि नारीवादी होइनन्। यी त सामान्य कुरा हुन्।
यस उपन्यासलाई केही नारीवादी मान्न सकिने ठाउँ भए पनि यसमा नारीको अस्मितामाथि बढी खेलाँची गरिएको छ। शान्तिलाई बरू बिहा गराइदिएर लोग्नेको दासत्वबाट मुक्ति पाएको वा छुटानाम गराइदिएका भए नारीवादी हुनसक्ने थियो। अथवा उसको लिम्बूनी काकीले झैं लोग्ने हुँदाहुँदै अरू परपुरूषसित सहवास गर्ने गरेको देखाएको भए हुनेथ्यो। यदि लोग्ने मान्छेले चैं आफ्नी स्वास्नी हुँदा हुँदै पराइ स्त्रीसँग सहवास गर्न पाउँछन् भने नारी चैं किन पाउँदिन भन्ने तर्क राखेका भए यसलाई विशुद्ध नारीवादी उपन्यास मान्न सकिने ठाउँ थियो। यसमा त उपन्यासकारको पुरूषवादी चिन्तनले नै बढी प्रबल भूमिका खेलेको छ।
5. यौन मनोविश्लेषणात्मक उपन्यासको रूपमा अभीष्टको खोज-
यस उपन्यासलाई नारीवादी भन्दा बरू यौन मनोवैज्ञानिक उपन्यास मान्न सकिन्छ। यौन मान्छेको आदिम तत्व हो। शान्तिमा यौन चाहना हुनु स्वाभाविक कुरा हो। यद्यपि यही यौनलाई नै बढाइ-चढाइ गरी शान्तिको अभिप्राप्तिको रूपमा नै देखाउन खोजेका छन्। उपन्यासकारले शान्तिको अभीष्ट नै यौन परितृप्ति रहेछ भनेझैं पाठकलाई जनाउन खोजेका छन्। फ्रायडका अनुसार मान्छेको मनका तीनवटा अवस्था हुन्छन्- चेतन, अर्धचेतन र अचेतन। चेतन मन भौतिक जगतसित सम्बद्ध हुन्छ। यस अवस्थामा वर्तमान क्षणका विभिन्न संवेदना र अनुभूतिहरू हुन्छन्। यो मानसिक जीवनको सानो भाग मात्र हो। यो नैतिकवान, आदर्शवान, तात्कालिक हुन्छ। अर्द्धचेतन मनलाई स्मृति क्षेत्र पनि भनिन्छ। मानवीय मनको महत्त्वपूर्ण अवस्था अचेतन हो। यसमा दमित, कुण्ठित मानवीय इच्छा रहन्छन्। यो स्वेच्छाचारी, अनैतिक, अराजक, सुखेच्छामा लिप्त रहने हुन्छ। यही अचेतन मनले यौन सुखलाई बढी महत्त्व दिन्छ। धनमाया, काकी र शान्तिले यौन सुखको चाहना गर्नु अचेतन मनमा रहेको लिबिडोको उत्खनन हो। उपन्यासमा जति पनि पात्रगत गतिविधि छन्, तिनमा अधिकांश अचेतन मनले सञ्चालित छन्। शान्तिका बाबु आमा चेतन मनका प्रतीक हुन्। उनीहरूमा सामाजिक मर्यादा, निष्ठा, नैतिकता विद्यमान छ। परिश्रमलाई नै जीवनको अभीष्ट ठान्ने आदर्शता छ, जुन चेतन मनको अहमको रूप हुन्। काका र काकी अचेतन मनका प्रतिविम्बन हुन्। काकाले मातेर सामाजिक, राजनैतिक, चारित्रिक अवस्थाबारे साँचो कुरा बक्नु मान्छेको अचेतन मनमा रहेको कुण्ठा र पीडकतोषको विद्रोहात्मक युक्तिकरण हो। त्यसैगरी काकी मान्छेको लिबिडो (यौनसुख) को प्रतिरूप हो। छजना छोरा छोरी जन्माइसकेर पनि यौन लालसा अझ तीब्र हुनु, काका हुँदाहुँदै थुप्रै परपुरूषलाई यौनभोग गराउनु, बिहानपख उसको जीउमा कपडा लथालिङ्ग, खुल्ला स्तनको अवस्था आदि देखिनु जस्ता क्रियाकलाप अचेतन मनको लिबिडो हो। काकीको त्यस्तो अवस्थाबाट नै शान्तिको मनमा सुषुप्त अवस्थामा रहेको यौन लालसाको लिबिडोले जाग्रत भई त्यसको प्राप्तिको निम्ति युक्तिकीकरण गर्छ। शान्तिमा रहेको आदर्श-स्व र कायिक-स्वको द्वन्द्वको परिणामस्वरूप शान्तिमा उन्माद, खण्डित व्यक्तित्व, अपराध भावना, व्यभिचार जस्ता दुराचारहरूमा संलग्न रहेकी छ। यसको समायोजन गर्नका निम्ति रक्षा युक्तिहरू जस्तै स्वैरकल्पना, प्रतिगमन, मनस्ताप, प्रक्षेपण आदि गरेकी छ। उसले आफ्नो बिहेको कल्पना गर्नु स्वैरकल्पना हो। यौनले सताएर उसले हस्तमैथुन गर्नु पनि युक्तिकीकरण हो। रक्सी खाएर मञ्जुरलाई सम्भोगको निम्ति निम्तो दिनु पनि युक्तिकीकरण र प्रक्षेपण हो। कायिक-स्वको तुष्टीको निम्ति उसले भड्किलो र छोटो जामा लाउँछे, पुरूषको भोगको इच्छा गर्छे। यी गतिविधिलाई यौन चाहनाको क्षतिपूरणको अंश पनि मान्न सकिन्छ। शान्तिले यौनानन्द भोगिसकेर नेत्र साहेबबाट धन असुल्नुमा उसभित्रको परपीडन ग्रन्थीको भूमिका छ। उसले एक प्रकारले ढाँटेर (इश्ररलज्ञारळश्रळपस) गरेर मोटो रकम हडपने काम गर्छे। उक्त रकमलाई उसले आदर्शमूलक काम गरेर क्षतिपूर्ति गर्छे।
उपन्यासकारले उपन्यसलाई यौन मनोवैज्ञानिक बनाउन घरीघरी यस्तै किसिमको वर्णन र उल्लेख गरेका छन्। मानवीय यौन चाहनालाई ‘जीववैज्ञानिक तृष्णा’, ‘बासनाग्रस्त शरीर’, ‘स्वर्ग तानेर ल्याउनु’, ‘संगीतको झंकार’, ‘मधुमासी’ भनिएको छ। गाउँमा रहँदा शान्तिमा यौवनसुलभ कल्पना गर्नु स्वाभाविक छ। ‘…उसलाई एउटा कुनै रूपवान युवक आएर सपनामा कुत्कुताइ दिन्थ्यो र ब्यूँझिएर ग्लानिले क्षतविक्षत बन्थी…।’ लीलारामले पहिलेका आफ्ना दुईवटी स्वास्नीहरू सम्झने क्रममा जेठी रूपले राम्री तर सास गनाउँथ्यो, अर्की चाहिँ चोथाले भए पनि यौन सुख दिएर उसलाई सन्तुष्ट बनाउँथी, ती कुरा सम्झँदै लालीराम वासना विभोर बन्नु, धनमायाले लीलारामसित विवाह गर्ने निधो दिएको एकै छिनमा लीलारामले उसलाई तानेर काख राख्यो, आइमाइको गन्ध पाएको कुरा उल्लेख छ।
अन्य पात्रहरू जस्तै ललित सर, रत्नलाल र पदमेको भूमिकामा पनि अचेतनको प्रभाव देखिन्छ। बाहुनका छोरा भई रत्ने र पदमेले जाँड रक्सी खाएर अनेक विधि चर्तिकला देखाउनु पनि अचेतन मनकै प्रकटीकरण हो। नेत्रसाहेब र उसकी पत्नीको गतिविधि पनि अचेतन मनद्वारा नै सञ्चालित छन्। नेत्रसाहेबकी स्वास्नी प्रणिता पनि लोग्नेद्वारा आफ्नो यौन तुष्टी नभएर त्यसको निकासका निम्ति रामे भन्ने नोकरसित सुखभोग गर्छे। अचेतन मनभित्र रहेको लिबिडोले यौनभोगको लालसा राख्नुका साथै अन्य किसिमका सुखभोगको चाहना गर्दछ। यो मनले नैतिक, अनैतिक जसरी भए पनि आनन्द, सुख र मोजको चाहना गर्दछ। उपन्यासकार घरीघरी यौनकै कुरा उल्लेख गरिएका कारणले यो यौन मनोवैज्ञानिक उपन्यास हो भन्न सकिन्छ।
6. अभीष्टको खोज उपन्यासमा विद्रूपताको प्रयोग-
प्रस्तुत उपन्यासमा विद्रूप मानसिकताको प्रयोग गरिए छ। उपन्यासको शुरूमै… यो कथालाई वर्ग, लिंग, सामाजिक अनि धार्मिक मतभेदको कात्रोले नछोपिदिनू। अझै त यसमा अलिकति प्राण बाँकी छ, यसलाई भाङ-धतुरो, जाँड-रक्सी र गाँजाको नशामा नभुलिदिनू इतिहासमा जुठो हस्ताक्षरको मूकप्राय गवाही बनेको यस निर्धो, रक्तरंजित, क्षतविक्षत कथालाई कुनै पूर्वाग्रह र पूर्वानुमानको बञ्चरोले नढालिदिनू…। यसमा उपन्यासकारले उपन्यासलाई विद्रूपता प्रदान गर्न ‘कात्रोले नछोपिदिनु’, ‘जुठो हस्ताक्षर’, ‘क्षतविक्षत कथा’ जस्ता विशेषण दिएका छन्। यसैगरी यसमा ‘विरक्त साँझ’, ‘घामले चित्र बनाएको घर’, ‘जीववैज्ञानिक तृष्णा’, ‘अग्निकुण्ड सरह शरीर’, ‘पापी जस्तो मन’, ‘जेठी स्वास्नीको सास गनाउँथ्यो’, ‘अमीलो स्मृति’, जस्ता पदावली र विशेषण प्रयोग गरिएको छ।
7. अभीष्टको खोज उपन्यासका दूर्वल पक्षहरू-
प्रस्तुत उपन्यासालाई एउटा विशिष्ट, उत्कृष्ट र सफल उपन्यासका रूपमा भने मान्न सकिन्न। यसमा खासै उल्लेखनीय कारक तत्व, वैचारिकता, औपन्यासिक उत्कृष्टता, शैलीगत चमत्कारिता आदि पाइन्न। यसको कथावस्तु शिथिल तवरले बुनिएको छ। यसमा सर्वप्रथम नारीको एकप्रकारको यौनगत कमजोरीलाई बढाइ-चढाइ अर्थात् निकै जोड दिएर लेखेका छन्। शान्तिको व्यक्तिगत कमजोरी, चारित्रिक उतार-चडाउलाई नारीकै कमजोरी मान्न सकिन्न। यसका धेरै पात्रलाई निकै तल खसालेका छन्। यो उपन्यासकारको दुराग्रह हो।
हाम्रो समाज भनेको विभिन्न जात गोष्ठीको समूह हो। यसमा विशेषगरी ब्राह्मण जातिप्रति होच्याउने, हियाउने, खिसी गर्ने काम भएको छ। यसमा उपन्यासकारले ब्राह्मण जातिप्रति आफ्नो व्यक्तिगत धारणालाई उतारेका छन्। यसमा रक्सी धोक्ने बाहुन र रक्सी नधोक्ने बाहुन भन्ने ब्राह्मणको अनर्गल किसिमको वर्गीकरण छ। व्यक्तिको व्यक्तिगत कमजोरीलाई जातको कुरा तानेर लाञ्छित गर्न खोजिएको छ। साथै हिन्दू धर्ममा गरिने केही कर्मकाण्ड, धार्मिक चर्यालाई उपन्यासकार कुन नियतले हो, एकप्रकारले निन्दा गरेका छन्। मति बिग्रेका रत्ने र पदमेका गतिविधिसँग जात-गोष्ठीको लाञ्छना लगाएको छ। यसका साथै सिक्किमका भूतपूर्व मुख्यमन्त्रीलाई काजीमान भन्ने नेता पात्रका रूपमा अवतरित गरेका छन्। यद्यपि काजीमानलाई सिक्किमेली राजनीतिको खलनायकीय भूमिका प्रदान गरेका छन्। यसमा उपन्यासकार स्वयम् एकजना सांसदसम्म बनेका राजनेताले पहिलेका मुख्यमन्त्रीलाई दुशचरित्र भएको पात्रका रूपमा उतारेर आफ्नो व्यक्तिगत कुण्ठा पोखेका छन्, रिस-इबी फेरेका छन् भन्ने प्रतीत हुन्छ। यी जम्मै लेखकीय कमजोरी हुन्।
9. मूल्याङ्कन र उपसंहार-
भीम दाहालको उपन्यास अभीष्टको खोजलाई नारीवादी उपन्यासका रूपमा ठानिए तापनि वास्तवमा भने यो सफल यौन मनोवैज्ञानिक उपन्यास हो। यसमा नारीवादी चिन्तन भने नभएको होइन तर मनोविज्ञानका पक्ष नै बढी पाइन्छन्। उपन्यासमा समाजको अध्ययन गरिएको छ। स्वतन्त्र देश सिक्किम भारतमा विलय भएपछि त्यहाँको सामाजिक, राजनैतिक, आर्थिक, मानसिक आदिको संक्रमण अवस्थालाई उपन्यासमा दर्शाइएको छ। सिक्किम भारतमा विलय भएकामा कुण्ठित मानसिकताको लप्का छ। शान्तिको काका जस्ता पात्रहरूले नै यस कुण्ठालाई अभिव्यक्त गरेका छन्। यसमा श्याम व्यङ्ग्यको माध्यमबाट समाजमा विद्यमान नैतिकता, अध्यात्मवाद, राजनैतिक व्यवस्थाप्रति व्यङ्ग्य कसिएको छ। यसमा नारीले भोग्ने सामान्य अवस्था देखाइएको छ। हाम्रो समाजमा नारीले जे-जे भोग्ने गर्छन्, तिनैलाई उपन्यासकार देखाएका छन्। यसमा नारीवादी चिन्तनभन्दा यौन मनोवैज्ञनिक चिन्तन बढी प्रबल पाइन्छ। यद्यपि यस उपन्यासलाई उत्कृष्ट मान्न नसकिए तापनि एउटा सामान्य यौन मनोवैज्ञानिक उपन्यास भने मान्न सकिन्छ।
सन्दर्भ ग्रन्थ-
1. राजेन्द्र सुवेदी र डा. लक्ष्मणप्रसाद गौतम, रत्न बृहत् नेपाली समालोचना (सैद्धान्तिक खण्ड), रत्न पुस्तक भण्डार, काठमाडौं, 2068।
2. महानन्द पौड्याल (प्रधान सम्पादक), सन्धान, अङ्क 1, 2005, क्वालिटी स्टोर्स प्रकाशन, गान्तोक।
3. मोहन पी दाहाल (सम्पादक), नेपाली जर्नल, अङ्क 1, वर्ष 1, 2001 उत्तर बङ्ग विश्वविद्यालय।
4. भीम दाहाल, अभीष्टको खोज, जनपक्ष प्रकाशन, गान्तोक, दो. सं. 1998।
5. लीला लुइँटेल, उपन्यासकार भीम दाहालको ‘द्रोह’ उपन्यासको विश्लेषण, ुुु.ीरारज्ञरश्रळपीरहळींूर.लेा.
6. सुदर्शन श्रेष्ठ, महिला सशक्तीकरण र सिक्किम, हिमालयन रिभ्यू पब्लिकेसन, गान्तोक,, दो.सं. 2013।