~अमृता बुढाथोकी~
मलाई त्यो दिन आज पनि याद छ । खुसीले उन्मत्त मेरो मन हावासरी घरीयता घरीउत्ता नाचिरहेको थियो । मेरा लागि त्यो दिन सायद बिहानीले साझलाई र साझले बिहानीको प्रतिक्षा गर्नै हम्मे थियो । दिन र रात लुकामारी खेल्ने क्षितिजमा सूर्यले अनौठो किरण छरेर झैं प्रतीत हुन्थ्यो । कतैं खुसी, कतै उत्साहका लाली भरेझैं आभाष भइरहेको थियो ।
भर्खरै पहिरिएको सिउँदोको सिन्दुर, गलाको मंगलसूत्र, हातका चुराले मलाई कुनै बन्धनमा होइन संसारिक मोहमा बाँधेझै अलिअलि काउकुति, अलिअलि लज्जाको मिठो अनुभूतिसँगै कल्पनाको मिठो उडानमा प्रफुल्ल हुँदै उड्दै थिए म । तर मेरो खुसी त्यति लामो कहाँ थियो र ! घरबाट बसन्तपुर,हिले, धनकुटा, धरान, मुगलिन हुँदै काठमाडौं सम्मको यात्रैमा सबै सकियो । दिउसोको घामको प्रचण्ड तेजले झैं एकै छिनमा टाउँको पोल्यो एकै छिन पछि लगलग काप्ने तुसारो पर्योे । कठिङ्ग्रिएर जीउँदै मृत्युको मुखमा पुर्याइ दियो ।
तेह्रथुमको ग्रामीण परिवेश, झ्याउरे र लोकभाकाको सुसेलीमा उकाली ओराली गर्दै हुर्किएकी पहाडकी छोरी म । बिवाहपछि लोग्नेसंग पहिलो पटक काठमाडौंमा पाइला टेक्दै थिए । १८ घण्टाको यात्रापछि बालाजु बस पार्कमा ओर्लिए । एउटा नीर्जिव कठपुतली झैं उसले जताजता लग्यो त्यतै गए । जता बसायो त्यतै बसें ।
मानौं म नीर्जिव थिए । विचारहीन, उद्देश्यहीन ! सायद उसको खुसी नै मेरो गन्तव्य भइसकेको थियो । यहाँका रात्रीकालीन डान्सबार, दोहोरी तथा क्याविनका बाहिरी रंगिन तडकभडकले आफैंलाई बिर्साइ दिए । उसले मलाई केही दिन बालाजु, ठमेल,कोटेश्वरका अकेन रेष्टुराँ तथा बारमा घुमायो । म नतमस्कत भएर उसका पछिपछि गएं ।
…………
सहर बाहिर देखे जस्तो कहाँ हुदो रहेछ र ? यहाँ त बाच्न र हास्न दुवैका लागि संघर्ष गर्नु पर्दो रहेछ । कसैले नाम र दाम एकै पटक कमाउँदा रहेछन् । कसैले आफैलाई बिर्सिएर जीउनुको नाममा जीउदो लास बनेर बाँच्दा रहेछन् ।
आजभोलि मेरो इश्वरप्रति भरोशा टुटिसकेको छ । म मठ, मन्दिर धाउदिँन । त्यहाँ पनि तिनै पिपासु पुरुषकै धेरै पूजा हुन्छ । आज म बालाजु, चाबहिल, गौशाला हुँदै बनेपा जाँँदैै थियो । सुटबुटमा सजिएको कार चलाक पछाडि म स्रोह्र शृङ्गारले दुलही झैं सजिएकी । यात्रा गर्दै थियौं । बाटामा वैजनी रंगमा फूलेका शीरिषको एउटा फूलले मलाई सुस्तरी सोद्यो, “किन तिमी कहिल्यै फूलिनौं ? किन बाहिरी दुनियाँलाई हेर्न चाहिँनौं ?” आकाशै भेटुला झैं हावाको वेगसँग हाँगाबाट छुटेको अर्को फूलले मेरो मुटु छेउमै आएर भन्दै थियो ‘तिमी को हौँ ?’ ‘के गर्छौं ?’ ‘कता हिडेकी ?’
मानौं तीव्र गतिमा उडेका ती फूललाई एकै निमेषमा क्षितिज काट्ने चटारो छ, गन्तव्य पुग्न आतुर छ । तिनीहरुलाई अरुको उत्तरको अपेक्षा नै छैन । बग्रेल्ती प्रश्नहरु सोधे दुखाएर गए । आफ्नै बाटो । तिनै मध्येको एउटा फूलले मेरो अनुहारमा सुस्तरी स्पर्ष गर्दै सडक छेउमा थुप्रिएको फोहोरको डंगुरसँगै विलिन हुन पुग्यो । सायद त्यो फूल म जस्तै थियो उद्देश्य विहीन ! गन्तव्य विहीन । हावाले जता लग्यौ त्यतै जाने । म जस्तै अस्तित्व विहीन भयो क्यारे ! अनुत्तरित थिए म ।
बनेपा पुगे । बनेपा घुम्न कहाँ गएको हँु र ? साहुले आफ्ना एनआरएन ग्राहकलाई रिझाउन पठाएको थियो । यतिका वर्षसम्म ग्राहकलाई सुम्पदा सुम्पम्दै मेरो शरीर प्रयोगशाला जस्तै बनी सक्यो । अब कसैको स्पर्षले कुनै महत्व राख्दैन ।
आकाश आज हल्लका खुलेको थियो । बादलका केही लेग्रालेग्री मात्र बाँकी थिए । हामी सानो छँदा आकशमा यस्तो बादल देखिँदा आमाले भन्थिन, ‘छेपाराले बिस्कुन सुकाए छ ।’ हो आज त्यस्तै थियो केही आशा र केही निराशाका साथमा नै रात पर्यो ।
पुरुषले झै उसले मलाइ भोगेन । साझ तिर हातमा ‘नथिया’ लेखिएको पुस्तक लिएर कोठमा आयो । उसले पढ भनेर त्यो किताब मेरो अगाडि राखिदियो । मैले आउँदैन भनेर पढिन ।
उसले टिभीमा ‘पद्मिनी’ भन्ने हिन्दी फिल्म लगाएर हेर्न थाल्यो । उसका हर गतिविधिदेखि मलाई बोर लाग्न थाल्यो ।
दुई दिन बित्यो । साहुको निर्धारित समय सकियो । म काठमाडौं फर्कदैं थिए । गाडीमा मसंगै त्यही एनआरएन आएर बस्यो ।
उसले कुममा हात राख्दै भन्यो बैनी अब कता जाने ?
मलाई जबाफ दिन उचित लागेन । उसको बैनी शब्द प्रति घृणा लागेर आयो ।
फेरी उसले सुस्तरी भन्यो ‘बोलन ……!’
मेरो ऊ प्रतिको घृणाको सहत बढेर गयो । तर कुनै प्रतिक्रिया जनाइन । भक्तपुर जगाती आइपुगें । उसका सयौं जिज्ञासाले मलाई वाक्कदिक्क बनायो । झर्किएर मैले भने, ‘तिमीलाई के मतलव ? तिम्रो समय सकियो आफ्नो बाटो जाउँ ।’
उ भन्दै थियो ‘यति धेरै निष्ठुरी नबनन ।’
मैले एकै स्वरमा भनी दिए, ‘मेरालागि हर पुरुष गिद्ध हुन् । सिनो झैं आइमाइलाई लुट्छन् । भोक मरेपछि बोचेर हिड्छन् ।’
ऊ भन्दै थियो, ‘सबै त्यस्ता कहाँ हुन्छन् र ? पुरुषको पनि मन हुन्छ । माया गर्ने मुटु हुन्छ ।’ उसका यस्ता वाक्यले मेरो मुटु ब्रजले प्रहार गरेझैं दुख्यो । अझ के के भन्दै थियो । मैले केही सुनिन । कोटेश्वर पुगेपछि एउटा सानो पोको मलाई दिएर ऊ गाडीबाट उत्रियो ।
पोकोमा केही पैसा, उसको भिजिटिङ कार्ड र कागज थियो । कागजमा लेखिएको थियो ……….
सानी !
तिमीलाई आश्चार्य लाग्न सक्छ । यी कुरा सुन्दा । तर मलाई माफ गर है । म तिम्रै पारी गाउँको सुन्दर विशंखे हुँ । तिम्रो विवाह अघि नै म युरोप गएको थिए । तीन वर्षपछि म घर आउँदा तिमी गाउँमा थिएनौं । तिम्रो विवाह भएको खबर सुने । खुसी नै छौं होला भनेर यतिका वर्ष खोजिन ।
मलाइ त लाग्थ्यो, तिमी त, सिरमा सिन्दुर, गलामा पोतेले सजिएर एक छोरा, एक छोरी र पतीको मालिक्नी भयौं होला । यस्तै यस्तै सोच्ने गर्थे । त्यसैले तिम्रो छेउमा कहिल्यै आउँनै चाहिन । आइन । केही दिन अघिमात्र थाहा भयो तिमीलाई तिम्रै विवाहित पुरुषले त्यो क्याविनमा बेचेको छ रे भन्ने कुरा । त्यसैले म आफ्नो सबै काम छाडेर नेपाल आए ।
सानी तिमीलाई याद छ, तिमी १० कक्षामा पढ्दै मैले प्रेम प्रस्ताव राखेको थिए । समाजलाई देखाएर तिमीले मलाई तिरस्कार गर्यौ । त्यसमा पनि मैले तिम्रो निर्णयलाई स्वीकार गरे । आज पनि गर्छु ।
मेरी सानी ! तिमी अब त्यो नरकमा जानु पर्दैन । मैले त्यो साहुलाई उसले मागे जति पैसा दिएर ल्याएको हुँ । तिमी अब आफ्नो खुसीले बाच्न सक्छौं ।
मेरी सानी तिमीलाई म धेरै कुरा बनेपामा नै भन्न चाहन्थे । तर तिमीले एक पटक पनि मेरो मुखमा हेरिनौं । मसँग बोल्नै चाहिनौं । मलाई राम्रो थाहा छ, सानी तिमीले पुरुषलाई घृणा गर्छौं । तिम्रो नजरलाई फेर म भन्न सक्दिन ।
मेरी सानी, म तिमीलाई हिजो जति माया गर्थे आज पनि उति नै गर्छु । मलाई हिजो पनि तिम्रो शरीर चाहिएको होइन र आज पनि चाहिँदैन । तिम्रो खुसीलाई सम्मान गर्छु । यदि मान्छौं भने आउ सानी म संगै विवाह गरेर घरजम गरैं । म तिमीलाई ससम्मान त्यही गाउँमा दुलही बनाएर लान्छु । धन्दा नमान सानी म तिमीलाई पुनः बेच्दिन । तिमी जे भन्छौं त्यही मान्छु । तिम्रो निर्णयको प्रतिक्षामा छु । सानी मलाई कल गर ल । मेरो भिजिटिङ कार्डमा मेरो कन्ट्याक नम्बर छ । म जहिल्यै तिम्रो कलको प्रतिक्षामा छु ।
उही तिमीलाई माया गर्ने सुन्दर ।
एकदिन राती १२ बजे सुन्दरको फोनमा घण्टी बज्यो । उसैकी सानीको फोन थियो । रुँदै ऊ भन्दै थिई सुन्दर म तिमीलाई आफ्नो थोत्रो र जीर्ण भइसकेको शरीर जिम्मा लगाउन चाहन्न । मलाइ माफ गर । तर मलाइ यो हालतमा पुर्याउने त्यो पापीलाई सजायाँ दिन चाहन्छु । बरु मलाई सहयोग गरन । ऊ भन्दै थिई सुन्दर, बिवाहको केही दिनसम्म त उसले मलाई खुब माया गरेझैं गर्यो । केही दिन पछि ऊ पशुपति जान्छु भनेर कोठाबाट निस्किएको निकएयै भयो । फर्केर आएन । फोन गर्न खोजे मसंग उसको फोननै लागेन । मलाई उसको ठेगाना पनि थाहा थिएन । केही दिनपछि कोठामा केही डर लाग्दा मान्छे र उसकी भाउजु आए । उसले मलाई राम्रोसंग रिझा ग्राहकलाई भनेर गई । मैले प्रतिवाद गर्न खोजें । उसले आफुलाई खरिद गरिसकेको बताइ । एकैछिनमा ती घिनलाग्दा पुरुषहरु म माथि पशु झैं झम्टिए । पालैपालो मेरो अस्मिता माथि खेलेर गए । यसरी बिवाहपछि पुरुषको बासाना मेटाउन व्यापार केन्द्र हुन पुगे म । फोनको किरिङमिरिङ घण्टी बज्यो …………. ।
-अमृता बुढाथोकी
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )