~हरिप्रसाद भण्डारी~
लौहद्वारका रूपमा रहेको एसएलसी परीक्षा उत्तीर्ण गरेर क्याम्पस भर्ना भएका विद्यार्थीहरूमा नयाँ उत्साह र उमङ्ग एकातिर पलाएको थियो भने अर्कोतिर केही विद्यार्थीहरूमा अहङ्कारका कारण केही उच्छृङ्खलपनको विकास भइरहेको थियो । विद्यालयमा जस्तो अनुशासनको चौघेरामा बस्नु नपर्ने हुँदा पनि कतिपय विद्यार्थीहरूमा छाडापनको विकास भएको हुँदोहो शायद । क्याम्पसको अशान्त वातावरणले गर्दा अनुशासित रूपमा बसेर पढ्न चाहने विद्यार्थीहरूलाई निकै असुविधा भइरहेको थियो । विषय शिक्षकहरूले अध्यापन गर्ने क्रममा निकै सम्झाउनुहुन्थ्यो तर त्यसको कुनै असर परेको थिएन ।
लामो समयसम्म अध्यापन गरेर भुक्तभोगी बनेका क्याम्पसप्रमुखले लामो समयदेखि उक्त अशान्त वातावरणलाई नियालिरहेका थिए तर केही बोलेका थिएनन् । एकदिन, क्याम्पसका सबै विद्यार्थीहरू जम्मा भएको एक विशेष समारोहमा बोल्दै उनले भने— “विद्यार्थी भाइ–बहिनीहरू हाम्रो यस क्याम्पसको नाम नै बहुमुखी क्याम्पस रहेको छ, त्यसैले हाम्रो यस बहुमुखी क्याम्पसबाट उत्पादन हुने विद्यार्थीहरू पनि कोही चिकित्सक, कोही शासक, कोही प्रशासक, कोही इन्जिनियर, कोही वकिल, कोही चोर, डाँका र तस्कर आदि बहुमुुखी प्रतिभा भएका होउन् भन्ने हाम्रो चाहना रहेको छ । डाक्टर, इन्जिनियर, शासक, प्रशासक, वकिल आदि बन्नका लागि खूब मिहिनेत गरेर पढ्नुपर्छ र चोर, डाँका, तस्कर आदि बन्नका लागि आजैदेखि पढाइ छोडेर आवारागर्दी गर्दै हिँड्नुपर्छ । कक्षाकोठा र क्याम्पस परिसरभरि हल्ला दङ्गा गर्नुपर्छ । त्यसका लागि आफूले पनि पढ्नुहुँदैन र सकभर अरूलाई पनि पढ्न दिनुहुँदैन । अर्को कुरा अहिले पनि तपाईँहरूको दिमाग काँचोमाटोसरह छ, जस्तो बनायो त्यस्तै बन्छ । त्यसैले, आजैदेखि कोसिस गर्नोस् र आफू भोलि गएर के बन्ने हो सोही प्रकृतिका व्यवहारलाई जारी राख्नुहोस् । आजको यस समारोहमा म तपाईँहरूलाई यही शुभकामना दिन्छु ।”
क्याम्पसप्रमुखको प्रवचन सुनेपछि केही समयका लागि सभाहल स्तब्ध रह्यो ।
कार्यक्रम सकेर बाहिर निस्किँदा हुल्याहा केटाहरूको अनुहार कालो र निहुरिएको देखिन्थ्यो । अर्कोदिन क्याम्पसको वातावरण अघिल्ला दिनहरूभन्दा केही शान्त र अनुशासित देखिन्थ्यो ।
–२०५९/०७/२१, तानसेन ।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)