~सदानन्द अभागी~
रजस्थल पत्रिकाको वर्ष सत्र पूर्णङ्क ५९, २०७१ साल श्रावण – आश्विन अङ्क विश्वेश्वरप्रसाद कोइराला विशेषाङ भाग एक दुई विश्वेश्वरप्रसाद कोइरालाको शतबार्षिकी अवसरमा प्रकाशनमा आएकोमा भाग एकको बारेमा मैले केही धारणाहरू राखिसकेको हुनाले यस लेखमा (भाग दुईमा) विश्वेश्वर प्रसादको राजनीति र साहित्यिक व्यक्तित्वको ऐतिहासिक संक्षेपीकरणतिर लाग्दिन । भाग एकमाजस्तै विभिन्न क्षेत्रका विद्वानहरूबाट साहित्य र राजनीतिक क्षेत्रमा वी.पी.ले पुर्याएको योगदानलाई विविध दृष्टिकोणबाट विश्लेषण गरिएका लेख यस विशेषाङ्कमा पनि अध्ययन गर्न पाइन्छ र ती लेखमा लेखकले वी.पी.को साहित्य र राजनीतिक क्रियाकलापलाई हेर्ने सकरात्मक तथा नकरात्मक पक्षका एक दुई वाक्यलाई अङ्गाल्दै अगाडि बढ्ने अनुमति चाहन्छु ।
विभिन्न क्षेत्रका ४७ जना विद्वानहरूले आफ्ना लेखद्वारा राखेका भिन्न भिन्न शीर्षकमा पोखिएका धाराणाले २६३ पृष्ठ ओगट्न सफल देखिन्छ भाग दुई । यस भागमा डा. बाबुराम भट्टराईको लेखले प्राथमिकता पाएको छ । बाबुरामजीले आधुनिक नेपालका महान चिन्तक भन्दै लेख्नुहुन्छ –‘२३–२४ वर्षको म व्यक्तिगत रूपमा वी.पी.को प्रशंसक चाहिं थिएँ (पृ ३) । ….. वी.पी.ले यो राष्ट्रका लागि जुन योगदान गर्नुभएको छ त्यसको उच्च मूल्याङ्कन गरेर जानुपर्छ(पृ ५) ।’
प्रा.डा. खगेन्द्रप्रसाद लुइटेलले वी.पी.का कथाकारिताको बारेमा प्रकाश छर्दै लेख्नुहुन्छ –‘आफूलाई राजनीतिमा समाजवादी र साहित्यमा अराजकतावादी ठान्ने कोइराला राजनीतिमा समाजवादी भए पनि साहित्यमा चाहिँ यिनी समाजिक मर्यादाको उलङ्घन गरी अशिष्ट ढङ्गले अराजकता फैलाउने अराजकतावादी साहित्यकार नभएर कामवासना र रतिरागजस्ता विषयलाई पनि शिष्ट, सभ्य, सौम्य, शालिन, भद्र र मर्यादित रूपमा प्रस्तुत गर्ने मनोविज्ञानवादी कथाकार हुन् । नेपाली कथाको मनोवैज्ञानिक यथार्थवादी धाराका प्रथम प्रयोक्ताका दृष्टिले मात्र नभएर यसधारालाई व्यापक मलजल प्रयोग गरी हुर्काउने क्रममा समेत यिनको विशिष्ट भूमिका रहेको छ (पृ.१४) ।’
तेराखले विश्वेश्वरप्रसाद कोइरालाको सम्पूर्ण जीवन साहित्यबाट अनुप्राणित छ भन्दै लेख्नुहुन्छ –‘एक व्यक्तिले साहित्य र राजनीतिमा यस्तो मागनिर्देशन गर्नेकाम मलाई लाग्छ यो पृथ्वीमा विश्वेश्वरप्रसाद कोइराला मात्र हुनु पर्छ’ (पृ.४२) ।
कलानिधि दाहालले ‘अन्तहीन अनन्तको विराट् व्यक्तित्व–ऊ’ भन्दै लेख्नुहुन्छ– ‘त्यो विशाल व्यक्तित्व एसियाको दीपशिखा विश्वकै विजुली झिल्को विचारको विन्दुबाट विँउझियो, भावको अनन्त लहरमा लहरायो बस्तुताको विलास चाहेन (पृ.४७) ।
रामचन्द्र पोख्रेलले संकटमा वी.पी.लाई स्मरण गर्दा शीर्षकमा लेख्नुहुन्छ –‘सान्दाजु’ अहिले हुनुहुन्न । तर इतिहासको कुनै पनि कालखण्डको नेपालको राजनीतिक इतिहास केलाउँदा उहाँको उच्चाइको व्यक्तित्व भेट्न हम्मे पर्दछ’ (पृ.५५) ।
नवराज रिजालले ‘वीपी, कलैया र केशवराजहरू’ शीर्षकमा राज नेताका विशेषतामा प्रकाश पार्दै, २०३६ सालको जनमतसंग्रहलाई मनन गर्दै, २०३३ सालको राष्ट्रिय मेलमिलापको नीतिलाई विश्लेषण गर्दै लेख्नुहुन्छ– ‘उनको (वीपीको) त्यो सोच (मेलमिलापको) र विचारलाई मौलिक चिन्तन मान्न सकिन्छ । अर्थात उनको विचार नेपाली परिवेश र माटो सुहाउँदो रहेछ’ (पृ.७५) । प्रकाशमणि दाहालले प्रजातन्त्रवाद र अराजकतावादमा प्रकाश पार्दै वीपीको वहुआयमिक अवधारणाहरूलाई केलाउँदै लेख्नुहुन्छ– ‘उनीसँग स्पष्ट खाका थियो अगाडि जानुपर्ने बाटाको, गर्नुपर्ने कामको र त्यसलाई टिमभावनाबाट लागु गर्नसक्ने खुवी पनि थियो उनीसँग’ (पृ.८३) ।
महेश्वगर शर्माले वी.पी. संस्मरणमा वी.पी.का साहित्य र राजनीतिमा विविध पक्षका व्यक्तिको धारणालाई कोट्याउँदै लेख्नुहुन्छ –राजनीतिमा उनको नैतिक शक्ति प्रवल थियो भने साहित्यमा वैचारिक शक्ति मेरो विचारमा फरक त्यत्ति हो’ (पृ.८७) ।
हिरण्य कुमारी पाठकले वी.पी. आफ्नो घरमा आएर मम खाएको र राजनीतिक कुराकानी गर्दाको वीपीको सौम्य, हँसिलो, चम्किलो अनुहार स्मरण गर्दै विश्वमै चर्चित नेपालको एकमात्र देशप्रति समर्पित नेतालाई हामीले गुमाउनु परेकोमा हृदयमा गाँठो पर्छ (पृ.९२) भन्दै दुःख मनाउ गर्नुभएको छ ।
धनराज गिरीले ‘मनभरि सानदाजु वनभरि सान्दाजु’ शीर्षकमा व्यङ्गशैलीमा लेख्नुहुन्छ –‘प्रेम कहिल्यै तृप्त हुन्न । फ्रायडिज्म अर्थात् “ यौनमनोविज्ञान” मान्छेको मात्र होइन भगवानको जीवनको सार हो ’।
छविरमण सिलवालको धारणामा ‘वीपी नेपाली समाज, संस्कृति र भौगोलिक यथार्थलाई नजिकबाट बुझेका सर्जक हुन् समुन्नत नेपाली समाज र नेपालको मुहार फेर्नको लागि लागि परेका एक अथक योद्धा पनि’ (पृ ९८) ।
शिवकुमार अधिकारीको आफ्नो लेखमा वी.पी.सँगको सम्पर्कमा रहँदाका अनुभवलाई समेट्दै वी.पी.ले ‘ एक दिन नेपालको सत्ता तिमीहरूको हातमा आउँ छ समष्टिमा तिमीहरूले राजनीतिक परिवेशको आकलन गर्न सकेनौ भने तिम्रो हातमा आएको सत्ता गुम्ने छ, भनेको कुरालाई स्मरण गर्दै जनआन्दोलन १ले नेपाली काँग्रेश सत्तामा पुग्यो । तर त्यो ३ वर्षभन्दा बढी टिक्न सकेन (पृ१००) भन्ने धारणा लेखमा प्रष्ट्याउनु भएको छ ।
सदानन्द अभागीले, ‘वी.पी.लाई म व्यक्तिको रूपमा नलिएर एउटा प्रजातान्त्रिक समाजवादका दार्शनिक र विश्वैको एउटा समाजवादी संस्थाको रूपमा लिन्छु’ (पृ.१०३) भन्नुहुन्छ ।
रामप्रसाद पन्तले वी.पी. विचारको खोजीमा लेख्नुहुन्छ ‘आज वीपी.विचारको सबैबाट उच्च मूल्याङ्कन गर्ने गरिएको छ । ….वी.पी. समय अनुसार विचार प्रवाह गर्ने र परिवर्तित परिस्थिति अनुरूप विचार बदल्न सक्ने क्षमता भएका दूरद्रष्टा राजनेता हुनुहुन्थ्यो ।…. वी.पी.को विचार अँझ पनि बहस–पैरवीकै रूपमा रहिरहेको छ ’ पृ.११०, १११, ११२) ।
डा. हंसपुरे सुवेदीले मेरो प्रथम दर्शनमा वीपी र सुवर्ण भन्दै आफ्ना मावली र मातामह कट्टर परम्परावादी भएका र काँग्रेस विरोधी भएको र सुरुमा सुवेदीजीमा पनि मावलीको प्रभाव परेको, नेपाल राष्ट्रवादी गोर्खा परिषद पार्टी नेपाली काँग्रेसको कट्टर विरोधीमा सक्रिय रहेको वीपी र सुवर्ण सम्शेर लगायतका नेताहरू पोखरादेखि काठमाण्डौसम्म पैदल यात्रा गर्ने धारणानुरूप दुराडाँडा पुगेको र सुवर्ण सम्शेर पोखरा फर्की काठमाण्डौ जाने र अरु नेता तनहूँ, गोर्खा धादिङ हुँदै काठमाण्डौ जाने काम भएको यो भ्रमणले वि.सं. २०१४ मंसिरमा सुरु गरिएको भद्र अवज्ञा आन्दोलनको लागि वातावरण बनेको यो भ्रमणमा ‘सर्बप्रथम वीपी तथा सुवर्णको दर्शन पाएको महत्वपूर्ण क्षण हो ’ भन्दै आफ्नो धारणा राख्नुभएको छ ।
सूर्यप्रसाद रेग्मीले वीपीलाई श्रद्धासुमन अर्पण गर्दै नेपाली काँग्रेसका कार्यकर्ता तथा सत्ताका ठेकेदारसँग आजको देशको यथार्थलाई विश्लेषण गर्दै धेरै प्रश्नहरू राख्नुभएको छ । उहाँका प्रश्नहरूमा ‘दुई चार जना बाँच्दैमा मुलुक वाँच्छ ? मुलुक नवाँच्दा स्वाभिमान, सर्बभौमसत्ता बाँच्छ ? साथै आज बहुमतको सरकार नबन्ने परिस्थिति कस्ले सिर्जना गर्यो’ (पृ. १२१) आदि प्रश्नहरू सवलरूपमा उठाउनु भएको छ र त्यसको जवाफ आज नेपाली काँग्रेसले दिन सक्नु पर्छ जस्तो लाग्छ ।
विश्वप्रेम अधिकारीले वी.पी.लाई २०१२ सालमा तीन कक्षाको विद्यार्थी हुँदा भेटेको कुराको साथै स्याङ्जमा वीपी पुगी आमसभालाई सम्बोधन गरी फर्कदाको मण्डलेको नाङ्गो नाच, लाठी चार्जहरूले गोली चार्ज आदि भएका घटना कर्मलाई उल्लेख गर्दै, विश्वेश्वरप्रसाद कोइराला विचारको पुञ्ज, सौन्दर्यको, श्यामश्वेत चित्र ‘समग्रमा उहाँ सहस्राब्दी पुरुष हुनु हुन्थ्यो’(पृ. १२६) भनी आफ्नो धारणा राख्नुभएको छ ।
तारापति सुवेदीले स्व.वी.पी.आजको सन्दर्भमा शीर्षकमा लेख्नुहुनछ –वी.पी. अतित, वर्तमान, र भविष्यको त्रिवेणी हुनुहुन्थ्यो,….. उहाँको जीवन शैली हेर्दा वहाँ राग द्वेष–प्रतिशोध–र भोगको आकर्षकबाट मुक्त हुनुहुन्थ्यो’ (पृ.१२७) ।
त्रिभुवन शर्माले वी.पी. स्मृतिमा श्रद्धासुमन अर्पण गर्दै लेख्नुहुन्छ– उहाँको प्रखर व्यक्तित्व, अद्वितीय प्रतिभा र प्रजान्त्रिक समाजवादी चिन्तनले वहाँलाई युगपुरुष तथा महामानव बनाएको छ । श्रीप्रसाद जी.टी.ले वि.सं. २०३६ सालको विद्यार्थी आन्दोलन वी.पी.को व्यक्तित्वलाई जोड्दै वी.पी.ले गरेका क्रान्तिहरू र वी.पी.ले अवलम्वन गरेको अहिंसात्मक मार्गबाट राष्ट्र, राष्ट्रियता र जनताका लुटिएका अधिकार पुन वहाली गराउन विदेशी स्वदेशी अराजक तत्त्वबाट राष्ट्र जोगाउन गरेको भूमिकालाई प्रष्ट्याउन खोज्नुभएको छ ।
वेदमणि घिमिरेले वी.पी.को विवाह र यौन सम्बन्धी धारणाको विषयमा विवेचना गर्दै लेख्नुहुन्छ –‘यौन दवाएर राख्दा नै समाजमा यौन विकृतिहरू धेरै बढेर गएका हुन्छन् । त्यसैले यो दवाउने कुरा होइन’( पृ. १४३) ।
कमलप्रसाद पंगेनीले आफ्नो धारणामा लेख्नुहुन्छ –वी.पी. कोइराला महान व्यक्ति त हुँदै हो, त्यसभन्दा पनि बढी वहाँ एउटा सशक्त विचार र आन्दोलन हो’ (पृ.१४८) ।
शङ्करप्रसाद गैरेले यौनिक अस्तित्ववाद र सुम्निमा उपन्यासको तुलना गर्दै विश्वेश्वरप्रसाद कोइराला नेपाली साहित्यका विशिष्ट आख्यानकार, मनोवैज्ञानिक लेखन उनको विशिष्ट पक्ष, विसङ्गतिवादका प्रस्तोत्रा, अस्तित्ववादी उच्चता, नेपालीमा मिथकको प्रयोग गर्ने प्रथम उपन्यासकार, वी.पी.का उपन्यासका पात्रहरूमा पाइने यौनको प्रवलता आदि विविधपक्षबाट विश्लेषण गरेको देखिन्छ ।
रामलाल जोशीले सत्पात्रलाई सलाम गर्दै लेख्नुहुन्छ – ‘ आज सयवर्षको अवधिमा महामानवको रूपमा सर्बस्वीकार्य विश्वेश्वर दुइसयवर्ष पछि लाग्छ –महामानवको दर्जाबाट अँझै माथि, धेरै माथि उक्लिसकेका हुनेछन्’ (पृ १६९) । शालिग्राम रेग्मीले विश्वेश्वरप्रसाद कोइरालाको राजनीतिक र साहित्यिक जीवनको संक्षिप्त परिचय दिंदै–‘शीर्षथ राजनीतिक चिन्तक तथा वरिष्ठ साहित्यकार विश्वेश्वरप्रसाद कोइराला हाम्रा सामु नरहे पनि यिनको योगदान अविस्मरणीय र अमर रहने छ ’(पृ.१७६) भनेका छन् ।
पूर्णप्रसाद अधिकारीले राजधानीको वी.पी. विशेषाङ्क २०४३ सतही अवलोकन गर्दै लेख्नुहुन्छ– ‘… वी.पी.को अन्धभक्त भएका प्रशंसाको पुल बाध्ने मात्र होइन मान्छे हुन् र उनका सबल र दुर्बल पक्षलाई पनि बस्तुपरक ढंगबाट मूल्याङ्कन गरिनु पर्छ’ (पृ. १८२) ।
यमबहादुर पौडेल क्षेत्री (पिएच.डी)ले साहित्यिक सन्दर्भ ः कोइरालाको कथा र लोहनीको अनुवाद शीर्षकमा कथाको अंग्रेजीमा अनुवादक गर्दा कुनै हरफ छुटाएको र यसो गर्दा न्यायिक नै हुने र लोहनीले ‘व्यवहारिक पक्षहरूलाई ध्यनमा राख्दै जिम्मेबारपूर्ण अनुवादकको दायित्वलाई भरपूर निर्वाह गरेका छन् भन्ने कुरा महसूस गर्न सकिन्छ’ (पृ.१८७) ।
देवीप्रसाद वनवासीले वी.पी. शतवाब्दी चर्चा गर्दै वी.पी. चिन्तन प्रतिष्ठान, वी.पी. मेमोरियल ट्रष्ट आदिको प्रयत्नबाट हालै बर्माकी लोकतान्त्रिक समाजवादी, नेतृ लगायत विश्वका समाजवादी चिन्तकहरूलाई नेपाल भ्रमणमा निमन्त्रणा गरिएको र त्यस अवसरमा आङ्साङ् सुकीले अन्तर्राष्ट्रिय समाजवादको महत्वको विषयमा एउटा कि नोट स्पीच प्रस्तुत गरेकी र सो कार्यक्रमको विश्वको संचार माध्यममा फैलिएको आदिमा प्रकाश पार्नुभएको छ । शालग्राम अधिकारी, पाल्पाले जेलजर्नलमा प्रकाश पार्दै जेलजर्नल साह्रै राम्रो भएको, जनमत संग्रहको नतिजालाई वी.पी.ले स्वीकारेको लगायतका घटनाक्रमलाई प्रस्तुत गर्नुभएको छ । शम्भु अर्यालले देवीप्रसाद वनवासीले रचित कृति ‘ क्रान्ति पुरुष सम्बन्धी कृतिमा प्रकाश पार्ने काम भएको छ ।
नवराज न्यौपानेले अनुवादका दृष्टिकोणले ‘जेलजर्नल’मा प्रयुक्त शब्द निरुपण विषयमा ‘ नेपाली साहित्य र राजनीतिका अद्वितीय पुरुष विपि कोइरालाका प्रकाशित पन्ध्रवटा कृतिमध्ये चारवटा अंग्रेजीमा र छवटा हिन्दीमा अनुवाद भइसकेका छन् । साथै विपि स्वय म बहुभाषाको ज्ञाता र प्रयोक्ता भएको यथार्थता उनको कृतिहरूको अध्ययन र विश्लेषणबाट पर्याप्त जानकारी मिल्छ ’(पृ.२०४ र २०५)भन्नुभएको छ ।
ज्ञानु अधिकारीले जेलजर्नलमा प्रतिविम्बित वीपीको द्रष्टा व्यक्तित्वको बारेमा प्रकाश पार्दै ‘विश्वेश्वरप्रसाद कोइरालाको साहित्यिक व्यक्तित्वका बिबिध आयाम मध्ये द्रष्टाव्यक्तित्व पनि उल्लेखनीय छ’ (पृ.२२३) भनी लेख्नुहुन्छ । वास्तवमा वी.पी.को समालोचनको कृति छैन तर जेल जर्नल, फेरि सुन्दरीजल लगायतमा कृतिमा गरिएका टिप्पणीको आधारमा उनलाई कुशल द्रष्टा व्यक्तित्वको रूपमा मूल्याङ्कन गरिएको देखिन्छ । नरेन्द्रराज पौडेलले वीपी र नियति शीर्षकमा लेखिएको यो लेखमा नियतिकै कारणबाट उनका सफलतामा अवरोध आएको हो कि भन्ने प्रश्न राख्नुभएको छ ।
राममणिले वीपीलाई भक्ति होइन भन्ने शीर्षकमा ‘वीपीलाई स्मरण गनु भनेको नेपाली इतिहाँसलाई स्मरण गर्नु हो र त्यस मार्फत भविष्यका पुस्ताहरूलाई सही गन्तव्य पहिचान गर्ने उर्जा प्रदान गर्नु हो(पृ.२३३) भन्दै वीपीलाई देवताबाट झारेर मानव बनाउनु छ (पृ.२३४) भन्ने धारणा राख्नुभएको छ । सरस्वती शर्मा (जिज्ञाशु)ले ‘मानिस ठूलो होइन असल बन्नु पर्छ भन्ने विचार प्रस्तुत गर्ने वीपीले सधैंभरि खरावीसँगै लड्नु पर्यो’ (पृ.२४१) भन्ने धारणा राख्नुभएको छ ।
यस खण्डको विशेषाङ्कमा वीपीलाई स्मरण गर्दै ११ वटा कविता र ५ हाइकु समेत समावेश गरिएका छन् । भुवनहरि सिग्देलले विशेश्वरको मानसपुत्र कवितामा विश्वेश्वरका विचार गतिला छन् के ती सिक्न हुन्न भन्ने धारणा राख्दै युगले मानसपुत्र देला त्यसको लागि कुरे हुन्न र भन्ने प्रश्न राख्नुभएको छ । राजकुमार कँडेलले महामानव वी.पी. प्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ (पृ.२४७) । हयग्रीव आचार्यले ५ वटा हाइकुद्वारा वीपीको स्मरण गर्दै लेख्नुहुन्छ–
वी.पी. विचार
कमाइ खाने भाँडो
सत्तामा पुग्दा (पृ२४९)
सोझो गाउँलेले वी.पी.को सपना केलाउँदै भन्दछन् ‘तिम्रो राष्ट्रियता यहाँ देखाउने दाँत भएको छ(२५०) भन्दै आजका नेपाली काँग्रेसका कार्यकर्तालाई व्यङ्ग कस्तै आफ्नोधारणा राख्नुभएको छ ।
नवराज लम्सालले ‘समय खण्डमा त्यही बत्ती हो –आज मेरो चेतनाको उज्यालो, त्यही बत्ती हो आज मेरो विचारको आँखा र मनको सपना’… ऊ नयाँ युगको सुपात्र, प्रथम भाष्य नेपाली राजनीतिको, बिऊ, विचारको अक्सिजन हो’ वीपीको गहन मानवतावादी धारणा आदिलाई कविता मार्फत स्मरण गर्नुभएको छ ।
देवेन्द्र लम्सालले म अर्गानिक नेपाली शीर्षकमा म पात्र वी.पी. बनेर वी.पीको सारा जीवन, सारा कर्ममा मिसावट छैन शुद्धता छ भन्ने धारणा राख्नुभएको छ । डा. बमबहादुर जितालीले वी.पी.को राष्ट्रवाद’ शीर्षकमा लेख्नुहुन्छ–
‘विकास देशको मर्छ हत्या–हिंसा विवादमा
लोकतन्त्र सधैं बाँच्छ वी.पी.को राष्ट्रवादमा’
तीर्थराज अधिकारीले ‘छ द्वार खोल्नै विपना सजाई’ शीर्षकमा ऊ मृत्तिकाका कण रूपमा छ, असंख्य ऊ जीवन बीज बोक्छ,….. अमूर्त ऊ मूर्त यतै यतै छ, छ एक ऊ अनेकमा छ’ भन्दै वी.पी.मृत्य भएर पनि कर्मको अवशेषमा अजर अमर रूपमा उपस्थित भएक्को धारणा पोख्नुभएको छ ।
सुदेश सत्यालले ‘वीपीको स्मृतिमा शीर्षकमा समाजवादको फूल रोपेर, प्रजातन्त्रको सिद्धान्तलाई उच्चता दिएर चेतना जगाएर भोक जेल नेल भोगेर, मानवता वादी चिन्तन बोकेर, विसङ्गतिमा तीखो व्यङ्ग कसेर अन्याय अत्याचार शोषणको अन्त्य गर्न राजनीति र साहित्यमा समर्पण गर्ने वीपीको पुन जन्मेमामात्र देश भर्खरै सप्रिन्छ भन्ने धारणा पोख्नुभएको छ ।
मित्रराज घिमिरेले स्वार्थी, अवसरवादी,आस्था बिक्री गर्नेवाला,पार्टीगत गुटबन्दी, सत्तालिप्सा आदिले गर्दा वी.पी.को विचार छायाँमा पर्यो भन्ने धारणा पोख्नुभएको छ ।
ठाकुर शर्मा भण्डारीले साहित्यमा विश्वेश्वरप्रसाद कोइराला शीर्षक दिएर वी.पी.द्वारा सिर्जत साहित्यको महिमा ‘गाउँदै ‘विविधा सुकथाभित्र प्रत्येक पात्र–पात्रमा, वी.पीका रूप भेटिन्छन् भेट्न सक्ने सुपात्रमा’ …..वी.पी. हुन् पूर्ण जिन्दगी भन्ने् धारणा प्रस्तुत गर्नुभएको छ ।
वासुदेव पाण्डेयले हे वीर विश्वेश्वर शीर्षकमा घर्तीभर शौर्य–प्रभा प्रव्जोल्लि भै फैलिने, सत्य समाधिनिम्ति पथका योद्धा,कोशी र गंगा भै प्रवाहित भएर बग्दा नथाक्ने,आदि वी.पी.को व्यक्तित्व र नैतिकत्व दैवीय शक्तिमयको धारणा प्रकट गर्दै प्रश्न राख्नुहुन्छ–
‘तिम्रो त्यो दृढ शक्तिसामु अहिले टिक्ने यहाँ को छ र ?
हौ चट्टान हिमालका सपुतमा हे वीर विश्वेश्वर ’
यस विशेषाङ्कमा तेराखको लेख अरु लेखको तुलनामा निकै लामो छ । सबै लेखहरूमा शीर्षक बमोजीम विवरणात्मक प्रस्तुति गर्ने प्रयास भएको छ । प्रा. डा. खगेन्द्रप्रसाद लुइँटेलको लेखमा वीपीको कथाकारिता शीर्षक भए पनि राजनीति घटनाक्रमलाई पनि संक्षेपीकरण गर्ने प्रयास गरेको देखिन्छ । राम्रो विश्लेषण भएको पाइन्छ । नेपाली कथामा आधुनिकताको वरण वीपीबाटै भएको सत्यतथ्यका धारणा लगायत बासुदेव त्रिपाठीले वीपीका कथाकारितामा गरेको तीतो टिप्पणी पनि समावेश गरेर त्यसको पूर्णरूपमा खण्डन गरेर वीपीका लेखन सौन्दर्यका दृष्टि रित्ता नभई भरिला, चित्ताकर्षक कलात्मक र पठनीय भएको ठहर प्रा. डा.खगेन्द्रप्रसाद लुइटेलले गर्नुभएको छ ।
माथि मैले सबैका धारणाहरूका एक/दुई वाक्यलाई यहाँ प्रस्तुत गरे पनि सबै लेखहरू अतुलनीय छन् । सबै लेखले विश्वेश्वरप्रसाद कोइरालाको वहुआयमिक (राजनीतिक र साहित्यिक) व्यक्तित्वलाई विभिन्न दृष्टिकोणबाट प्रष्ट्याउने प्रयास गरिएको छ । बास्तवमा वी.पी.को सम्पूर्ण जीवन राष्ट्र, राष्ट्रियता, मानव अधिकार, प्रजातान्त्रिक समाजवादको बहाली गर्नको लागि संघर्षमा बितेको छ । आफूलाई राजनीतिमा समाजवादी र साहित्यमा अराजकतावादी ठान्ने कोइरालाको अभिव्यक्तिलाई केलाउँदा वी.पी.राजनीतिमा समाजवादी भएर समाजमा आफ्नो सिधान्तलाई व्यवहारमा उतारर्न चाहने नेता हुन् तर साहित्यमा अराजकतावादी धारणा वी.पी.बाट आए पनि उहाँ कामवासना र रतिरागजस्ता विषयलाई पनि शिष्ट, सभ्य, सौम्य, शालिन, भद्र र मर्यादित रूपमा प्रस्तुत गर्ने मनोविज्ञानवादी यथार्थवादी धाराका प्रथम प्रयोक्ताका हुन् र यिनले यस धारालाई व्यापक मलजल प्रयोग गरी हुर्काउने कथाकारमा पनि पर्दछन् । वीपीको साहित्य लेखनको विविध दृष्टिकोणबाट अध्ययन हुनुपर्दछ । यी लेखमा वी.पी.लाई देवता नबनाउँ मानिसमै रहन दिउँ भन्ने धारणा पनि आएका छन् । मानवको रूपमा हेर्दा उनको बहुआयमिक व्यक्तित्वको बारेमा टीकाटिप्पणी र बहस गर्न सकिन्छ भन्ने धारणा पनि आएका छन् ।
वी.पीलाई काँग्रेसी नेताको रूपमा मात्र नलिर्ई सबैको साझा व्यक्तिको रूपमा लिनु पर्दछ भन्ने धारणा पनि कुनै लेखमा पाइन्छन् । वी.पीका अन्धभक्त र कट्टर अन्धालोचक दुवैबाट वी.पीले न्याय पाउन सक्दैनन् भन्ने धारणाहरू पनि हामीले कुनै कुनै लेखमा अध्ययन गर्न पाइन्छ । बास्तवमा वी.पीले कसैको विचार र दर्शनलाई होच्याउने काम गरेका छैनन् । उनले साम्यवाद र समाजवादको सरल र व्यवहारिक परिभाषा दिएका छन् । युद्ध बिरोधी वी.पीले मेलमिलापको धारणालाई अघि सारेका छन् । समानताको पक्षमा आँफूल उभ्याएका छन् । उनलाई पूर्वाग्रही रूपमा हेर्नुभन्दा उनका कृतिको अध्ययन र विश्लेषण गर्दै व्यवहारमा उतार्न सकेमा मात्र आजको साहित्यिक र वैचारिक सत्यतथ्य, राष्ट्र र राष्ट्रियता सवल बन्दै जाने छ । त्यसो हुँदा मेरो पनि धारणा के छ भने उनका कृतिको तथा सङ्घर्षमय जीवनको अध्ययन गरौं र त्यसबाट प्राप्त हुने सारतत्वलाई अन्धभक्त र अन्धालोचक नभई सत्यतथ्यरूपमा प्रकाशमा ल्याऊँ भन्ने धारणामा राख्दै वी.पी.ले दिएका साहित्यिक र राजनीतिक योगदानको कदर गर्दै अघि बढौं भन्दै बिदा चाहन्छु ।
विश्वेश्वरप्रसाद कोइराला विशेषाङ्क भाग एक र दुई साहित्यकार ऋषिप्रसाद लामिछाने( गोर्खेसाइँलो)ले मलाई उपलब्ध गराइ दिनु भएकोमा, म उहाँ प्रति आभारी छु र धन्यवाद दिन चाहन्छु ।
मिति २०७१साल फाल्गुण २९गते,
शान्तिचोक, कावासोती नगरपालिका वडा नं ७, नवलपरासी