~राजेन्द्र गिरी~
विषय परिचय :
‘रातभरि हुरी चल्यो’ इन्द्रबहादुर राई (१९८४) द्वारा रचित कथा हो । उनको यो कथा विपना कतिपय (२०१८) सङ्ग्रहमा सङ्गृहीत भएको छ ।
‘रातभरि हुरी चल्यो’ कथामा दार्जिलिङको ग्रामीण भेग तथा सहरमा बस्ने निम्न वर्गीय प्रवासी नेपालीहरुको सामाजिक अवस्थालाई आधार मानेर लेखिएको छ । एक रातभरि र एक बिहानको समयलाई केन्द्रित यसमा कालेका बाआमाले भोगेको प्राकृतिक स्थिति र पीडादायी मनोदशा समेटिएको छ ।
फ्रान्सेली दार्शनिक हिप्पोलिट टेनका अनुसार साहित्यकारले आफ्नो कृतिको विषय वा सामग्री समाजबाट लिन्छ भन्ने मान्यता राखेका छन् । कृतिमा रहेको प्रजाति, क्षण र परिवेशको अध्ययनबाट मात्र समाजको अध्ययन गर्न सम्भव हुन्छ । कुनै पनि कृतिमा साहित्यकार जुन युगमा बाँचेको हुन्छ त्यस युगको आफ्नै सामाजिक, सांस्कृतिक मान्यता र भौगोलिक अवस्था रहेको हुन्छ भन्ने टेनको मान्यताका आधारमा हेर्दा कथाकार इन्द्रबहादुर राई हुर्के–बढेको दार्जिलिङको पर्यावरण (वातावरण) र त्यहाँको प्रजाति (जाति) को उल्लेख भएको छ । कृतिको समाजशास्त्रीय विश्लेषणका विभिन्न आधारहरुमध्ये टेनको मान्यताअनुसार प्रजाति (जाति), क्षण (युग) र परिवेश (वातावरण) को छुट्टाछुट्टै सैद्धान्तिक पर्याधार उल्लेख गरी ‘रातभरि हुरी चल्यो’ कथाको समाजशास्त्रीय विश्लेषण गरिएको छ ।
रातभरि हुरी चल्यो कथाको सैद्धान्तिक विश्लेषण
‘रातभरि हुरी चल्यो’ कथामा विसं २०१६ पूर्वको अवस्थामा नेपालको विभिन्न स्थानबाट आर्थिक र सामाजिक कारणले दार्जिलिङको परिवेशमा पुगेर भोगेका तत्कालीन क्षण (युग) लाई प्रस्तुत गरिएको छ । भारतको दार्जिलिङमा बसोबास गर्ने प्रवासी नेपाली जातिको आर्थिक, सामाजिक, शैक्षिक आदि पक्षको चित्रण गर्न यस कथामा कालेका बाआमा, काले, खिरौनी दर्जिनी, मधेसी, ठूलीकी आमा, दोरङ्गिनी, बी.बी. गुरूङ, चौकीदार, मोक्तान बाबु, बाबुनी, माइली आदि पात्रहरुले प्रजाति (जाति) को प्रतिनिधित्व गरेका छन् । यस अनुसन्धान–पत्रमा जाति (प्रजाति), क्षण (युग) र परिवेश (वातावरण) को छुट्टाछुट्टै सैद्धान्तिक पर्याधार उल्लेख गरी सोहीअनुसार इन्द्रबहादुर राईको यस कथाको विश्लेषण गरिएको छ ।
जाति (प्रजाति) को सैद्धान्तिक पर्याधार
साहित्यको समाजशास्त्रीय विश्लेषणका आधारमध्ये हिप्पोलिट टेनले प्रजातिअन्तर्गत व्यक्तिका सहज तथा वंशाणुगत विशेषता व्यक्तिको मानसिक बनावट एवम् शारीरिक संरचनाजस्ता पक्षलाई उल्लेख गरेका छन् । हिप्पोलिट टेनका अनुसार कुनै एक प्रजाति देश, कालको दृष्टिबाट टाढाटाढासम्म फैलिए पनि उनीहरुको वंशगत समानता, विशेषता केही न केही रुपमा रहेको हुन्छ । प्रजातिको चरित्रगत विशेषता जलवायु, माटो र इतिहासका मह¤वपूर्ण घटनाबाट निर्माण हुन्छ (पाण्डेय, १९८९ ः १२४) । प्रतिभाले पनि प्रजातिगत विभेद छुट्याउन मद्दत गर्दछ । प्रजातिगत प्रभावबाट प्रतिभा तथा साहित्यकारको जन्म हुने हुँदा साहित्यकारहरुले आफ्नो कृतिमा प्रजातिगत विशेषता अभिव्यक्त गरेका हुन्छन् । साहित्यिक कृतिमा आएका प्रजातिहरुका समान र असमान चरित्र, स्वभावहरुको पहिचान गर्ने आधार भनेको वंशाणुगत सम्बन्ध, जलवायु, माटो र इतिहासका महान् घटनाहरु नै हुन् । हिप्पोलिट टेनले प्रजातिको अवधारणालाई उल्लेख गर्ने क्रममा समकालीन वैज्ञानिक चाल्र्स डार्विनको विकासवाद एवम् उनको चिन्तनलाई आधार बनाएका हुन् (पाण्डेय, १९८९ ः १२५) । कुनै पनि प्रजातिको अध्ययनको निम्ति त्यसको पूर्ववंशाणुगत स्थिति र समकालीन समयमा उसले भोगेको एवम् रहेको भौगोलिक, सामाजिक र सांस्कृतिक स्थिति र अवस्थाले केही न केही प्रभाव पारेको हुन्छ ।
कुनै साहित्यिक कृतिमा लेखन एउटा व्यक्तिको काल्पनिक उपजमात्र होइन, कुनै न कुनै प्रजातिको प्रभावबाट अलग रहन सक्दैन । साहित्यिक कृतिको रचना स्रष्टाको समकालीन समाजका प्रजाति र उनीहरुको व्यवहार तथा स्वभावको प्रभावबाट हुन्छ (क्षेत्री, २०६४ ः २१) । टेनले साहित्यका माध्यमबाट जातिको वंशाणु गुणको आँकलन गर्न सकिन्छ भनेका छन् । प्रजातिको बोली र व्यवहार चरित्र र जीवनचर्या, संस्कार र संस्कृतिको आचरणबाट पहिचान गर्न सकिन्छ । मानिसको अनुहारको संरचना एवम् आकृति, शरीरको बनोट, आंगिक संरचना, शरीरको छालाको रङ्गाकृतिको आधारमा जाति एवम् वंशाणुको पहिचान गर्न सकिन्छ । मूलतः वंशाणुगत गुण भन्नाले एउटा प्रजातिमा अघिदेखि रहँदै आएको गुण वा विशेषता हो । प्रजातिलाई छुट्याउने अर्को आधार शारीरिक बनावट पनि हो । शारीरिक बनावटअन्तर्गत मान्छेको उचाइ, मोटाइ र आकारप्रकारलाई सङ्केत गर्दछ । टेनका अनुसार वंशाणुगत गुणको प्रभावले मात्र शारीरिक संरचना निर्माणमा प्रभाव नपारेर पौष्टिक भोजन तथा जलवायुले पनि प्रभाव पारेको हुन्छ (क्षेत्री, २०६४ ः २२) । प्रजातिको स्थिति पहिचान र अध्ययनका निम्ति उसको वंशाणुगत स्थितिको सार्थक जलवायुको प्रभाव एवम् पौष्टिक भोजनजस्ता पक्षले पनि प्रभाव पार्दछ ।
टेनका अनुसार कुनै पनि कृतिको सम्पूर्ण साहित्यिक चिन्तनको लक्ष्य समाजमा मानवजाति तथा प्रजातिको स्थितिको बारेमा जानकारी प्राप्त गर्नु हो । साहित्यिक कृतिको स्रष्टा र कृतिको बारेमा जान्नका लागि साहित्यको अध्ययन आवश्यक हुन्छ । प्रत्येक कृतिमा तत्कालीन समयका प्रजातिहरुको प्रतिबिम्ब हुने हुनाले साहित्यको अध्ययनबाट मानवजातिका विविध प्रजातिको अध्ययन गर्न सकिन्छ ।
३.१ रातभरि हुरी चल्यो कथामा जाति (प्रजाति)
‘रातभरि हुरी चल्यो’ कथामा भारतको दार्जिलिङमा बसोबास गर्ने प्रवासी नेपाली जातिको आर्थिक, सामाजिक, शैक्षिक आदि पक्षको चित्रण पाइन्छ । यस कथामा कालेकी आमा, कालेका बा, काले, खिरौनी दर्जिनी, मधेसी, ठूलीकी आमा, दोरङ्गिनी, बी.बी. गुरूङ, चौकीदार, मोक्तान बाबु, बाबुनी, माइली आदि पात्रहरुले प्रजातिको प्रतिनिधित्व गरेका छन् । नेपालका विभिन्न स्थान मूलतः नेपालको पूर्वी पहाडी जिल्लाहरुबाट सामाजिक, आर्थिक र सांस्कृतिक कारणले दार्जिलिङ क्षेत्रमा बसोबास गरेका नेपाली प्रजातिले भोगेका तत्कालीन अवस्था प्रकट भएका छन् ।
प्रसिद्ध समाजशास्त्री हिप्पोलिट टेनले भनेझैँ साहित्य लेखन एउटा व्यक्तिको काल्पनिक उपज होइन र यो समाजका प्रजातिको प्रभावबाट पृथक रहन सक्दैन । साहित्यको सिर्जना स्रष्टाको समकालीन समाजका प्रजाति र उनीहरुको व्यवहार तथा स्वभावको प्रभावबाट हुन्छ भन्ने टेनको मान्यताअनुसार ‘रातभरि हुरी चल्यो’ कथाका स्रष्टा इन्द्रबहादुर राईले पनि नेपालबाट रोजीरोटीका निम्ति मुगलान अर्थात् भारत प्रवेश गरेका नेपाली जातिमध्ये एक हुन् भनेका छन् । राईले विपना कतिपय (२०१८) कथासङ्ग्रहको भूमिकामा लेखेका छन्– “नेपालबाट रोजीरोटीका निम्ति भारतको दार्जिलिङ, आसाम छिरेका केही नेपालीहरुको कथा लेखेँ, तर अझ कमानमा जुनी बिताउने कलकत्तातिर रैथाने भएर बसेका अचेल नेपाल पस्न लागेका नेपालीहरुका कथाहरु लेख्नै भ्याइएन (राई, २०१८ ः भूमिका) ।” समाजमा रहेका नेपाली जातिहरु आधारभूतरुपमा जीवनयापन गर्ने आधारभूत आवश्यकता परिपूर्तिका निम्ति विदेश जान विवश छन् ।
टेनका अनुसार प्रजाति (जाति) लाई छुट्याउने आधारमध्ये मानिसको उचाइ, भोगाइ, आकारप्रकार र छालाको रङ्गाकृति हो । कथाकी प्रमुख पात्र कालेकी आमाको वर्णन यसरी गरिएको छ– “काली काली अनुहारकी गतिलो शरीर भएकी चालीस पुग्न आँटेकी कालेकी आमाले उपहासमा भनी (राई, २०१८ ः ४८) ।” यसबाट प्रस्ट हुन्छ कि प्रायः गहुँगोरो अनुहार हुने नेपालीहरु दुःख गरेर पनि पौष्टिक आहार खाने हुँदा शारीरिकरुपमा हृष्टपुष्ट हुन्छन् । मूलतः यस कथामा राई प्रजातिमा देखिने शारीरिक विशेषताको संकेत गरेको हुनाले हिप्पोलिट टेनले भनेझैँ साहित्य लेखनमा स्रष्टाको काल्पनिक उपजमात्र नभई समाजका प्रजातिको प्रभावसमेत रहन्छ । यही कुरालाई इन्द्रबहादुर राईले यस कथामा पुष्टि गरेका छन् ।
कथामा नेपाली जातिको विशेषता उल्लेख गरिएको छ– “डेढ घन्टाजति पछि ऊ कचहरीनेर मोक्तान बाबुको दैलोमा आइपुगी । यहाँ आधा सेर खान्थ्यो । दूध भर्दै गर्दाभित्र आएर बस न है एकछिन, एक प्याला तातो चिया खाएर जाऊ… भनेर खरखरकी केटी राम्री बाबुनीले दया देखाई (राई, २०१८ ः ४८) ।” यस प्रसङ्गबाट बुझ्न सकिन्छ कि नेपालको पूर्वी पहाडी क्षेत्रमा बसोबास गर्ने मोक्तान प्रजातिका मानिसहरु भारतको दार्जिलिङमा पनि गएर बसोबास गरेको कुराको सङ्केत हुन्छ । डेढ घन्टा हिँड्दा पानीले भिजेर आएकी कालेकी आमाको अवस्था देखेर दया गरेर तातो चिया दिनुले नेपाली जातिमा रहेको समभाव एवम्् दया गर्ने विशेषता देखिन्छ । कुनै पनि प्रजातिमा रहेको अघिदेखिको गुण वा विशेषताले वंशाणुगत गुणलाई प्रस्ट पार्दछ । त्यसैले, यहाँ नेपाली जातिको विशेषता पाइन्छ ।
कथाकी प्रमुख पात्र कालेकी आमाले दार्जिलिङमा बसोबास गर्ने दोरङ्गिनीको बारेमा यसरी उल्लेख गरेकी छ– “दोरङ्गिनीलाई उसले हेर्दै लगी– कति सफा लुगाफाटा, कति सेतो अनुहार, हातहरु कति राम्रा । उसको लोग्नेलाई सुख छ, घरभरि चौकी पलङहरु र दराजमा सारीहरु, माटो हिलो छुनु पर्दैन, गोबर सोहोर्नु पर्दैन, हावापानीदेखि डराउनु पर्दैन (राई, २०१८ ः ५०) । यसरी कुनै पनि प्रजातिको अध्ययनका निम्ति त्यसको पूर्ववंशाणुगत स्थिति र समकालीन समयमा उसले भोगेको एवम् रहेको भौगोलिक, सामाजिक र सांस्कृतिक स्थिति र अवस्थाले केही न केही प्रभाव पारेको हुन्छ भन्ने टेनको मान्यता रहेको छ ।
‘रातभरि हुरी चल्यो’ कथामा प्रवासी नेपाली जातिको सङ्केत गरे पनि त्यसभित्र विभिन्न प्रजातिको पनि उल्लेख गरिएको छ– “खिनौरी दर्जिनीले भनी– बिजुलीको अलग्गै दुई रूप्पे गरे बाह्र रूप्पे पो तिर्दै थियो एउटा मधेसीले । त्यो गयो, भोलि म खबर गर्छु नि दिदी (राई, २०१८ ः ५४) ।” कथाकी प्रमुख पात्र कालेकी आमाले बजारतिर सर्ने सोचमा भाडाको निम्ति कोठाको कुरा गर्दा खिनौरी दर्जिनीले दिएको उत्तरबाट यो कुरा प्रस्ट हुन्छ कि नेपालका विभिन्न प्रजातिका मानिसहरु त्यहाँ आएर सानातिना काम गरेर जीवन गुजारा गरेका छन् । यहाँ मूलतः दर्जी र मधेसी प्रजातिको आर्थिक अवस्था सबल नभएको र कालेकी आमाको पारिवारिक स्थिति पनि समान रहेको कुराको सङ्केत मिल्दछ ।
नेपाली जातिका मानिसहरु कसैको घरमा कुनै खालको दुर्घटना प¥यो भने उसको घरमा जम्मा भएर सहानुभूति दर्शाउने परम्परा छ– “बी.बी. गुरूङको बरन्डामा पुग्दा त्यहाँ बिहानै घरभरि मानिसहरु जम्मा भएका थिए । दुई–तीन जना बाहिर उभिएर पनि छाता ओढेर बात गर्दै थिए (राई, २०१८ ः ५४) ।” नेपाली जातिमध्येको गुरूङ प्रजातिका मानिसहरु पनि त्यस ठाउँमा रहेको कुरा प्रस्ट हुन्छ ।
क्षण (युग) को सैद्धान्तिक पर्याधार
साहित्यकार तथा कलाकारले भोगेको एवम् देखेको युग विशेष, काल विशेष, परिस्थिति विशेष, युगचेतना आदिको समयलाई क्षण भनिन्छ । क्षणअन्तर्गत टेनले युगचेतनालाई प्राथमिकता दिएका छन् । साहित्यकारले समाजमा देखेका, भोगेका प्रसंग एवम् घटनालाई नै साहित्यको विषयवस्तु बनाउने हुँदा साहित्यिक कृतिमा सामाजिक स्थितिको प्रतिबिम्ब रहेको हुन्छ । हरेक युगमा मानिसको एउटा न एउटा अवधारणा हुन्छ । त्यही परिकल्पनाले आदर्श रुप धारण गरेको हुन्छ । त्यस युगको प्रमुख विचार मानवजीवनको सम्पूर्ण क्षेत्र, व्यवहार र चिन्तनमा प्रसार हुन्छ । केही समयको अन्तरालमा नयाँ विचार विकसित भएर प्रधान विचार बन्न पुग्छ (पाण्डेय, १९८९ः१२५) । टेनका अनुसार पुराना विचार विस्थापन गर्दै नवीन चिन्तनको विकास राष्ट्रिय प्रतिभा र समकालीन परिवेशसँग जोडिएका हुन्छन् ।
साहित्यकार बाँचेको युगसँगै सामाजिक र भौतिक परिवेशको भावभूमि पनि उपस्थित हुने हुँदा कृतिमा क्षण (युग) खोज्न जरूरी हुन्छ । टेन साहित्यमा समाजशास्त्रको खोजी गर्न समकालीन युगको जानकारी हुन आवश्यक ठान्दछन् (श्रेष्ठ, २०६८ ः ११३) । टेनले क्षण (युग) को अर्थ कृतिले अभिव्यक्त गरेको समयलाई मानेका छन् । साहित्यलाई दर्पणसँग तुलना गर्दै साहित्यकारले आपूm बाँचेको युग (क्षण) को प्रतिबिम्ब साहित्यमा उतारेको हुन्छ, जुन कुरा एउटा शताब्दी र अर्को शताब्दीबीचको साहित्यमा देखिने भिन्नताबाट प्रस्ट हुन्छ । यसरी देखिएको भिन्नताको कारण तत्कालीन फरक युगको परिस्थिति र चेतनाको कारणले गर्दा हो ।
साहित्यको समाजशास्त्रीय अध्ययनका निम्ति साहित्यमा समाजको खोज गर्नका लागि हिप्पोली टेनको पहिलो त¤वका रुपमा मानेको क्षण (युग) ले समयको पहिचान गर्दछ । क्षणले स्रष्टाको संवेदनामा प्रभाव पार्न आउने तत्कालीन समयलाई सङ्केत गर्छ । कुनै पनि स्रष्टा प्रभावित भएको समयका विषयवस्तु र स्थितिलाई समेटेर रचना गरिएको कृतिको आँकलन क्षणको अध्ययनबाट गर्न सकिने हुँदा यसको मह¤व रहेको कुरा टेनले उल्लेख गरेका छन् ।
रातभरि हुरी चल्यो कथामा क्षण (युग)
‘रातभरि हुरी चल्यो’ कथामा चित्रित परिवेश भनेको विसं २०१६ पूर्वको समय हो । तत्कालीन समयमा रोजीरोटी एवम् आर्थिक उपार्जनका निम्ति नेपालीहरु भारतका विभिन्न ठाउँमा जाने प्रचलन रहेको थियो । विपना कतिपय (२०१८) कथासङ्ग्रहको भूमिकामा कथाकार इन्द्रबहादुर राईले कथा लेखनको समयलाई तोकिदिएका छन्– “कथाहरु लेखिसक्नलाई अन्तिम दिन २९ फरवरी १९६० तोकेका थिए (राई, २०१८ ः भूमिका) ।” यसबाट प्रस्ट हुन्छ कि सन् १९६० पूर्वको क्षण (युग) लाई समेटिएको हो । तत्कालीन समयमा नेपालबाट दार्जिलिङ गएका नेपालीभाषी मानिसहरु बसोबास गर्ने रूङ्दुङ खोलाको सेरोफेरो, कमान बस्ती र दार्जिलिङ बजारका मानिसहरुले भोगेका यथार्थता र विशेष गरी वर्षा यामको समयमा रूङ्दुङ खोलाको सेरोफेरो र कमान बस्तीमा बस्ने मानिसहरुले भोगेका भौतिक र मानसिक तनावको क्षण नै कथाको मुख्य विषयवस्तु हो ।
कथाको शीर्षकबाटै प्रस्ट हुन्छ कि कथाको तत्कालीन क्षण भनेको रातभरि हुरी चल्योको समय हो । कथाको प्रमुख पात्र कालेको बाबुमार्फत यसरी प्रकट भएको छ– “पटक्कै थामिँदैन !” कालेको बाबुले पनि भन्यो– “आज पूरा एक हप्ता भयो !” भनिसकेको पनि थिएन फेरि पानी ध–र–र–र वैरिन थालिहाल्यो (राई, २०१८ ः ४४) ।” गरिबीको कारणले गाउँमा चुहिने छानो भएको घरमा बसोबास गर्ने विवश कालेका बाबु, आमा र परिवारको तत्कालीन अवस्थाको सङ्केत गरिएको छ । सुख, सुविधा र हावाहुरीबाट सुरक्षित हुन बजारमा बसोबास गर्ने सोच गरे तापनि आर्थिक अवस्थाको कारण आपूm बसिरहेको गाउँघर छोड्न सकेका छैनन् ।
दूध बेच्न बजार पुगेकी कालेकी आमा बाबुनीलाई आफ्नो पीडा यसरी पोख्छे– “हाम्रो आँगनै जम्मै लग्यो । अब घरै लान लागेको छ । पानी प¥यो भन्न पाउँदैनौँ हामी, गाईलाई भोकै राख्न भएन, घाँस काट्न दगुर्नै पर्छ । राति निद्रा आएन भनेर दिउँसो सुत्न पाउँदैनौँ हामी… (राई, २०१८ ः ४८) ।” ‘रातभरि हुरी चल्यो’ कथाका पात्रहरु मूलतः ग्रामीण परिवेशका र अन्य पनि निम्नवर्गीय रहेका हुनाले प्राकृतिकरुपमा घर–गोठ विनास हुन लाग्दा पनि तत्कालै त्यसलाई निर्माण गर्ने एवम् छाडी नयाँ निर्माण गर्ने अवस्था देखिँदैन । यसबाट प्रस्ट हुन्छ कि यस कथा लेखनको समयमा ग्रामीण परिवेशमा बसोबास गर्ने मानिसको पेसा भनेको पशुपालन र खेतीपाती नै हो । हावाहुरी, बाढीपहिरोले घरबार विनाश गर्दा पनि घर छोड्न नसक्नु र पानी पर्दा एवम् निद्रा लाग्दासमेत स्वेच्छाले आराम गर्न नपाई जीवन जिउनका लागि लगातार काममा खटिनुपर्ने अवस्था थियो भन्ने प्रस्ट हुन्छ ।
तत्कालीन समयमा मानिसमा रहेका विभिन्न अवधारणा अर्थात् परिकल्पना कथाको प्रमुख पात्र कालेका बाबुको भनाइबाट प्रस्ट हुन्छ– “तेरै जिद्दीले यस्तो ठाउँमा घर बनाएको ।” लोग्नेले एकाएक झोक्किएर भन्यो– “नभएदेखि मजासँग पुलिस काम गरेर बजार बीचमा बिल्डिङमा बस्दै थियौँ, हावाको डर न पहिरोको डर… बडा बारी गर्ने भइस् । ठूलो भाग खालिस् ।” त्यस समयमा महिलाहरु आफ्नो घरबारी होस्, पशुचौपाया हुन् र शारीरिक परिश्रम गरेर भए पनि सबै परिवारसँगै बस्ने चाहना राख्दथे । युवाहरु प्रहरीमा भर्ती हुने प्रचलन पनि थियो तर प्रहरीमा रहेको कालेको बाबु जागिर छाडेर कालेकी आमाको आग्रहमा गाउँमा आएर खेतीपाती र पशुपालनमा लागेको छ । त्यस बेलाको समाजमा आफ्नै घरबारी बनाएर खेतीपाती गरेर बस्ने सामाजिक स्थितिको चित्रण पनि कथामा भएको छ । तर गाउँघरको पहाडी परिवेश, वर्षाको बढ्ने खहरे खोला र हावा, हुरीको विनाशले गर्दा सोचेजस्तो हुन नसकेको स्थिति देखिन्छ ।
साहित्यकारले आपूm बाँचेको युगको प्रतिबिम्ब साहित्यिक कृतिमा उतारेको हुन्छ भन्ने टेनको मान्यता रहेको छ । त्यसैअनुरुप कथाकार इन्द्रबहादुर राईले नेपालबाट दार्जिलिङमा आएका बसोबास गरेका पात्र छनोट गरी लेखिएका कथामा ती पात्रहरु गाउँमा हावा, हुरी र पहिरोको कारण समस्यामा परेका छन् भने तत्कालीन समयमा सहरमा पनि आफ्नै खालका समस्या रहेको वास्तविकतालाई उजागर यसरी प्रस्तुत गरिएको छ ः “रातको ठूलो पानीमा सेतो बिरालो दैलो थुन्दा बाहिर परेछ । कति म्याउ म्याउ करायो होला तर पानीले सुनिँदै सुनिएन । अलिक पानी थामिँदा बिरालोको खोज भयो । बाहिर खोज्दा कति बोलाउँदा पनि आएन । तलतिर खोज्न जाँदा खडाउ चिप्लेर निनीको आमा तल बाटोमा बजारिन पुगिछ । हतार–हतार डाक्टर बोलाइयो, डाक्टर पनि छिटो आएन । अहिलेसम्म होस फर्केको छैन (राई, २०१८ ः ५४) ।
गाउँमा बस्नेहरु आफ्नो सन्तान र पशुचौपायालाई हावाहुरी र पानीबाट बचाउन आपूm जोखिममा पर्न विवश थिए भने सहरमा आपूmले पालेका बिरालो, कुकुरजस्ता जनावरलाई जोगाउनका निम्ति पनि समस्यामा पर्ने गरेको अवस्थालाई चित्रण गरिएको छ । गाउँमा भन्दा बजारमा केही बढी सुविधा भए पनि आवश्यक पर्ने सेवा प्राप्त गर्न सकेका थिएनन् । बिरामी एवम् दुर्घटनामा पर्दा पनि भन्दाभन्दै डाक्टर उपलब्ध हुन नसक्ने अवस्था रहेको तत्कालीन क्षण (युग) लाई समेत सङ्केत मिल्छ ।
तत्कालीन समयमा मानिसहरु यता गए राम्रो हुन्थ्यो कि उता गए सुविधा पाइन्थ्यो कि, अर्कोतिर गए सुरक्षित भइरहन्थ्यो कि भनेर नेपालबाट मुगलान, गाउँबाट सहर र सहरबाट पुनः गाउँ फर्कने स्थिति अर्थात् त्यस क्षणको वास्तविकता चित्रित भएको छ ।
परिवेश (वातावरण) को सैद्धान्तिक पर्याधार
साहित्यिक कृतिमा घटनाहरु घट्ने स्थान, समय र त्यसको मानसिकताले पार्ने प्रभावलाई पर्यावरण भनिन्छ । मानिस एक्लो नहुने हुँदा मानिस र प्रकृतिद्वारा चारैतिरबाट घेरिएको हुन्छ । त्यसैले, कृतिभित्रका पात्रमा सामाजिक वातावरणको प्रभाव पर्दछ । टेनले साहित्यका माध्यमबाट साहित्यकार वा कलाकारले आफ्नो युग र राष्ट्रका मानवजीवनको सत्यको पहिचान गराउँछ (क्षेत्री, २०६४ ः २३) । पात्र हुर्के–बढेको स्थानवरपरको मानसिकता वा वरपर बस्ने मानिसका विचारबाट सामाजिक पर्यावरण बन्दछ । लेखक बाँचेको युगको सामाजिक र भौगोलिक वातावरणलाई टेनले परिवेश मानेका छन् । उनले व्यक्तिको जातिगत विशेषता परिवेशबाट निर्धारण हुन्छ भन्दै यसअन्तर्गत भौगोलिक र सामाजिक परिवेशको चर्चा गरेका छन् (पाण्डेय, १९८९ ः १२५) । मानिस जन्मेको र हुर्केको भौगोलिक पर्यावरणले समेत मानिसको शारीरिक एवम् मानसिक बृद्धिमा प्रभाव पार्दछ ।
लेखकले कृतिमा यथार्थपरकता झल्काउन समाजअनुकूलको पात्र सिर्जना वा समावेश गरेको हुन्छ । भौगोलिक संरचना तथा प्राकृतिक स्थिति प्रतिकूल भएको स्थानमा गाँस, बास र कपासको अभाव छ, जसका कारण दुःख, दरिद्रता, भोकमरीले सताउँछ । तिनै समस्याको चित्रण ती ठाउँमा साहित्यमा पनि भेटिन्छन् भने भौगोलिक तथा प्राकृतिक परिवेशअनुकूल रहने ठाउँको जनस्तर पनि राम्रो हुन्छ र त्यहाँको साहित्यमा पनि सुख, शान्ति र सम्पन्नताको चित्रण भेटिन्छ । त्यसरी भौगोलिक वातावरण र परिवेशले साहित्य सिर्जनामा प्रभाव पारेको हुन्छ । यस्ता कारणहरुले गर्दा साहित्यको अध्ययन गर्दा पर्यावरणलाई छुटाउन हुन्न भन्ने मत टेनको रहेको छ ।
रातभरि हुरी चल्यो कथामा परिवेश (वातावरण)
‘रातभरि हुरी चल्यो’ कथामा दार्जिलिङको ग्रामीण र केही सहरी परिवेशको उल्लेख छ । मूलतः दार्जिलिङको ग्रामीण परिवेशमा जीवनयापन गर्दा आइपर्ने कठिनाइहरुको चित्रित गरिएको छ । दार्जिलिङवरपरको ग्रामीण एवम् सहरी जनजीवनको भौगोलिक एवम् सामाजिक परिवेशलाई समेटिएको छ । यस कथामा प्राकृतिक परिवेशका रुपमा दार्जिलिङवरपरका गाउँ, सहर, जङ्गल, वर्षायाम, रूङ्दुङ खोला आदि आएका छन् भने सामाजिक परिवेशका रुपमा तत्कालीन समय अर्थात् विसं २०१० को दशकतिर नेपालको पूर्वी पहाडी जिल्लाबाट दार्जिलिङमा बसाइँ सरेका प्रवासी नेपालीहरुको भोगाइहरु यसरी प्रस्तुत गरिएको छ ः “अझ जोडले झरी परेपछि त छुट्टाछुट्टै थोप्लाका शब्दहरु सुनिन छाडेर एउटै लामो आवाज दररररमा चारै दिशा डुब्यो । अब सब बगाएर लैजान्छ, पहिरोले लान्छ, सब सोहोरेर माथिबाट छोप्दा…. यो घर पहिरोले लाँदै छ जस्तो लाग्यो (राई, २०१८ ः ४४) ।
वर्षायामको रात हावाहुरीको साथमा एकोहोरो दर्कंदो पानी परेको छ । भौगोलिक हिसाबले भिरालो रहेको गाउँलाई पहिरोले बगाएर विनास गर्न सक्ने स्थितिमा छ । कथामा दार्जिलिङको गाउँ वर्षायाममा कस्तो हुन्छ भन्ने प्राकृतिक परिवेशको सजीव चित्र प्रस्तुत भएको छ, साथै साहित्यकार बाँचेको परिवेश कृतिमा यसरी आएको पाइन्छ ः दैलो खोलेर बाहिर अँध्यारोमा सुन्दा रूङ्दुङ खोला भयानक तौरले पाखै थर्काएर गर्जंदै रहेछ, बीचबीचमा अरु किसिमको आवाज पनि भएको जस्तो लाग्दा उसले खोलाले सिङ्गै खनिउको रुख बगाएर ल्याएको वा पहिरो झरेर माटोले खोलाको पानी जम्मै पहेँलो भएको अन्दाज काट्यो (राई, २०१८ ः ४५) ।
रातको समयमा पानी पर्दा हावाहुरीले घरको छानो उडाएर पानी चुहुनाले सुत्न नपाएका कालेका बाबुआमा रातभरि कतिखेर पानी रोकिन्छ भनेर दैलो खोलेर हेर्न विवश छन् । पानी परेको रात गाउँको नजिकै बग्ने रूङ्दुङ खोलो बढेर वरपरको जमिन, रुखबिरूवा बगाउँदै अनियन्त्रितरुपमा विध्वंश गर्ने गरेको कुरा कालेका बाबुले यसपालि गरेको अन्दाजबाट विगत समयमा खोलाले विनास गथ्र्यो भन्ने कुरा अभिव्यक्त हुन्छ । तत्कालीन समयमा वर्षायाममा पानी परेको रात त्यहाँका मानिसहरुले बाढी, पहिरो र भिजिने डरले रातभरि सुत्न नसक्ने स्थितिमार्फत प्राकृतिक परिवेशले मानसिकतामा पारेको प्रभाव प्रस्टरुपमा चित्रित भएको छ ः “बिहान दूधको ढुङ्ग्रो काँधमा बोकेर बजार जाँदै गरेकी कालेकी आमालाई बोराको घुम ओढेर फरूवाले आँगनमा भल काट्दै गरेको कालेको बाबुले कराएर सम्झायो– “काँटी, लामो काँटी ल्याउन नभुल्नू है, यहाँ दिनभरि सब ठोक्नुपर्छ (राई, २०१८ ः ४८) ।
गाउँका मानिसहरु पशुपालन गर्छन्, त्यसबाट उत्पादित दूध बेचेर प्राप्त रकमबाट घरखर्च चलाउनका लागि बिहानै उठेर नजिकैको बजारमा जान्छन् । त्यहाँको प्रमुख व्यवसाय कृषि भएको हुँदा मानिसहरु पशुपालन गर्छन् । त्यहाँको सामाजिक परिवेशमा आयआर्जनको मह¤वपूर्ण माध्यम दूध बिक्री हो भन्ने कुरा प्रस्ट हुन्छ । दूध बेच्न बिहानमा हिँडेर बजारसम्म पुगिने भएकाले त्यो गाउँ, सहरबाट त्यति धेरै टाढा थिएन भन्ने कुराको सङ्केत मिल्छ । वर्षायाम भएको हुँदा पुनः पानी पर्नसक्ने आशङ्कामा कालेको बाबुले आँगनमा भल काट्दै गरेको एवम् बेलुका उडाएका टिन ठोक्नका लागि काँटी मगाएको छ । आफ्नो उत्पादन बेचेर अत्यावश्यक चीजका निम्ति खर्च गर्नुपर्ने सामाजिक परिवेश रहेको छ ः “यति जोतिएर मरिरहेको खालि यति खान र यति नै लाउनकालाई न हो ? फेरि खान पनि के खाएका छौँ औ लाउन पनि के लाएका छौँ र ? अरुले देख्ला भनेर यो खाने कुरा लुकाउनुपर्छ, यस्तो लाएर सहरमा अरुसँग उभिन सरम लाग्छ (राई, २०१८ ः ५०) ।”
कथाकी प्रमुख पात्र कालेकी आमाले भनेअनुसार जति मरीमरी काम गरे पनि गरिबीको कारण आपूmले चाहेजस्तो गर्न नपाउँदा खान–लाउनको समस्या रहेको छ । आपूmले खाएको र लाएको अरुलाई देखाउनसमेत लाज लाग्ने खालको छ भन्ने अभिव्यक्तिबाट गाउँको उत्पादनले मानिसको आधारभूत आवश्यकता पूरा गर्न समेत धौधौ छ, जसले गर्दा गाउँका गरिब र सहरका मानिस धनी हुनु पनि यी दुई भिन्न परिवेशको कारण गर्दा हो भन्ने पुष्टि हुन्छ ः चौकीदारनीले भनी “यता बजारमा त क्यै आपद् छैन, क्यै डर छैन । तर कमान बस्तीतिर कति दुःख, कस्तो बिजोग छ, मलाई थाहा छ । त्यै देखेर हाम्रा बाबुहरु बजार पसेका… (राई, २०१८ ः ५४) ।”
कथाकी पात्र चौकीदारनीले बजारमा कुनै खालको आपद्विपत् र डर छैन । कमान बस्ती अर्थात् गाउँतिर दुःख भएको कारण आफ्ना बाबुहरु बजार आएको कुरा आपूmलाई जानकारी छ भन्ने कुराले तत्कालीन समयमा मानिसहरु ग्रामीण क्षेत्रबाट सहरतिर आउने परिवेश पनि रहेको पाइन्छ ः “आपत्विपत् जहाँ पनि छ । हो, हुरीले बिगा¥यो तर अब सबै की बनाइहाल्छौँ, कुनै नसकिने काम होइन त्यति गर्न । आफ्नो घर छ, गोठ छ, गोठमा गाईहरु छन्, बारी छ, बारीमा तीस चालीस ड्याङ बाँसहरु छन्, गगुन निभारोका रुखहरु छन्, काँक्राको लहरा आकाशतिर जाँदै छ… हुरीले कति पो बिगार्न सक्छ र ? इः अब गएर बनाई हाल्नुपर्छ (राई, २०१८ ः ५४) ।”
कथाकी नायिका कालेकी आमाका यी भनाइबाट मानिसहरु जहाँ गए पनि धेरैथोरै प्रकृति, प्रकोपसँग जुध्नैपर्छ, त्यसैले आपूm बसेकै स्थानमा प्राकृतिक प्रकोपको सामना गरी भविष्यका सम्भावनाहरुलाई आत्मसात् गर्दै आफ्नो कर्म गर्न छाड्न हुँदैन । यसबाट के पुष्टि हुन्छ भने तत्कालीन सामाजिक परिवेशमा कर्ममा विश्वास गर्ने खालमा मानिसहरु पनि थिए ।
कथाकार इन्द्रबहादुर राई हुर्के, बढेको तत्कालीन दार्जिलिङको सेरोफेरोको पर्यावरणलाई समेटिएको ‘रातभरि हुरी चल्यो’ कथामा भौगोलिक स्थितिका कारण त्यहाँका मानिसहरुले भोग्नुपरेको भौतिक एवम् मानसिक स्थितिको चित्रण गरिएको छ ।
निष्कर्ष :
‘रातभरि हुरी चल्यो’ कथामा विसं २०१६ पूर्वको अवस्थामा नेपालका विभिन्न स्थानबाट आर्थिक र सामाजिक कारणले गर्दा मुगलान अर्थात् विशेषतः दार्जिलिङको परिवेशमा पुगेको नेपाली जातिले भोगेका तत्कालीन क्षणलाई अत्यन्त सशक्त ढङ्गले प्रस्तुत गरिएको छ । कथामा प्रयुक्त सबै पात्रले नेपाली जातीय विशेषता अँगालेका छन् । कथाका पात्रहरुमध्ये कालेकी आमाबाबु राई प्रजातिको भएको सङ्केत मिल्छ भने पेसागतरुपमा कालेको बाबुले पुलिसको जागिर छाडेर श्रीमतीको आग्रहमा दुवै मिली गाउँमा कृषि व्यवसाय अपनाएका छन् । अन्य प्रजातिगतरुपमा पहिचान भएका पात्रहरुमा दोरङ्गिनी, खिनौरी, दर्जिनी, बी.बी. गुरूङ, मधेसी, बाबुनी आदि पात्र छन् । विसं २०१८ मा प्रकाशित यस कथाको लेखन सङ्ग्रहको भूमिकामा उल्लेख गरेअनुसार विसं २०१६ पूर्वको अवस्थालाई नै चित्रित गरिएको छ । त्यस समयमा मानिसहरुमा आफ्नै व्यवसाय एवम् जागिर गरेर पनि पैसा कमाउनुपर्छ भन्ने मानसिकता विकास भएको देखिन्छ । त्यसै गरेर बालबालिकालाई पढ्नका लागि स्कुल पठाउनुपर्छ, अर्थात्् गाउँमा पनि स्कुल खुलेको भन्ने कुरा कालेका बाबुआमाले दुःख गरेर भए पनि कालेलाई पढ्न पठाएको प्रसङ्गले सङ्केत गर्छ ।
कथाकार इन्द्रबहादुर राईको परिवार नेपाली मूलबाट बसाइँसराइ गरेर दार्जिलिङमा जानु र कथाका पात्रहरु पनि नेपाली जातिका हुनु र परिवेशका रुपमा दार्जिलिङ, त्यहाँको कमान बस्ती र रूङ्दुङ खोलाको सेरोफेरोको प्राकृतिक एवम् सामाजिक चित्रणले गर्दा स्पष्ट पारेको छ । त्यहाँ रहेका गाउँलेहरुले वर्षायामको समयमा भोग्नुपरेका प्राकृतिक प्रकोप र गाउँमा हुने उत्पादन अवस्थाका कारण गरिब भए पनि आफ्नो ठाउँको मायाले जीवनभर सङ्घर्ष गर्नु पर्दछ भन्ने मान्यतामा तत्कालीन सामाजिक परिवेशको राम्रो चित्रण गरिएको छ ।
(स्रोत : ईचितवनपोष्ट डट कम)