कथा : बलात्कृत

~अर्जुन थापा~

‘अब चाँडै अपरेसन गर्न सकिएन भने तपाईंको श्रीमान्लाई जे पनि हुन सक्छ । गोलीका छर्राहरू धेरै भागमा छरिएर बसेका छन् । चाँडोभन्दा चाँडो निकाल्नुपर्छ । अपरेसन गर्ने नै हो भने अहिलेलाई एडभान्सको रूपमा पाँच लाख काउन्टरमा डिपोजिट गर्नुहोला’ भनेर डाक्टर रूम बाहिर निस्कन्छ ।

‘बहिनी म चाँडोभन्दा चाँडो पैसाको बन्दोबस्त गरेर आउँछु ।’ काउन्टरमा बस्ने स्टाफलाई भनेर हस्पिटल बाहिर निस्कन्छु ।

आधा बाटो आइसकेपछि पानी पर्न थाल्यो । नयाँ बनिएका बाटाहरू एकैछिनमा जलाम्मे देखिन थाले । यसो हेरें च्यातिनै लागेको जुत्ता । माया लागेर आयो अझ भनुँ पीर पर्‍यो पानीले झन् लगाउनै नहुने गरी झन् च्यातिने पो हो कि भनेर । एउटा पसलको आड लिएर केहीक्षण बसेँ । पानीले भन्दा पनि अघिका कुराले मन पूरै भिजिसकेको थियो ।

आफूभित्र जाँगर कति खोजेँ कति पाइएन मानौँ स्नायुकेन्द्र नै शिथिल भइदिएको छ । घरमा ऊ मेरो नै बाटो कुरिराखेको होला । बिचरा एक दुई घन्टालाई भनेर हिँडेको मान्छे म आज त्यही हस्पिटलमा दिन बित्यो । यस्तो लेट हुने पहिला नै थाहा हुने भए केही खाजा खाएर बेडको छेउमा राखेर निस्कन्थेँ । बाटाभरि आफैँलाई गाली गर्दै डेरा पुग्छु ।

ऊ त्यही थोत्रो रेडियोमा कान नजिक लगेर सुनिराखेको हुन्छ ।

‘यतिखेर नेपाल र नेपाली जनता तथा हाम्रो पार्टीको काँधमा फेरि एकपटक राष्ट्र–राष्ट्रियता र राष्ट्रिय एकताको रक्षा र सम्वर्धन गर्ने दायित्वसँगै लोकतन्त्र र संविधानका मूलभुत मान्यताको संरक्षण गर्ने दोहोरो जिम्मेवारी आएको छ ।’ कानमा झट्ट पस्छ । किन किन एक्कासी झनक्क दिमाग तात्छ र सोझै उसको हातमा रेडियो खोसेर बन्द गरिदिन्छु ।

‘कतिखेर आयौ तिमी ? मैले त केही थाहा नै पाइनँ त ?’ मलाई हेर्दै भन्छ ।

‘तिमीले थाहा पायौ, कमरेड विकास त आजको सर्वसम्मत्तिबाट गृहमन्त्री भयो नि’ उसको अनुहारमा प्रस्टै खुसी देख्छु म ।

मेरो लोग्ने, एघार वर्ष जनयुद्धमा होमिएर, गरिबी, जातीय र वर्गीय विभेदजस्ता परम्परागत समस्या, महिला विरूद्ध हुने सबै प्रकारका शोषण र घरेलु हिंसा जस्ता कुराहरूको अन्त्य गरी जनताका मौलिक हकअधिकारहरू संस्थागत गर्दै देशमा लोकतन्त्र, सुशासन र समृद्धि स्थापित गर्नको लागि गरेको बलिदानस्वरूप आज त्यही युद्धको बेला लड्दा प्यारालाइसिस हुनुपर्‍यो र अझै निशानी स्वरूप गोलीका छर्राहरू उसको शरीरमा रहेका छन् । तर पनि ऊ आज खुसी छ, जनयुद्धको बेला सँगै हिँडेका उसको परम्मित्र आज गृहमन्त्री भएकोले जसलाई बचाउन जाँदा ऊ आज स्वयम् प्यारालाइसिस भएर शरीरको आधा भाग नचल्ने भएका छन् ।

‘अ साँची आज लेट गर्‍यो त । के भन्यो डक्टरले आज ?’ उसले आँखाभरि आशा देखाएर मतर्फ हेर्‍यो ।

म उसको प्रश्नको जबाफ देऊ त के । साँचो कुरा भनुँ झन् पीडामा पिडा थप्न चाहन्नँ थिएँ र झुठो बोल्ने बानी छैन । विश्वस्त र सपनाहीन आँखाहरूले ओछ्यानमाथि मूर्तिजस्तै नहल्ली सुतिरहेको उसलाई हेरेँ । मनको कौतुहल एकसाथ उठेँ, एकसाथ हल भए । एकक्षण हामी हेराहेर मात्र गरिरह्यौँ ।

‘कत्रो ठुलो पानी परेको अघि । छाता लान पनि बिर्सेछु ।’ म प्रसंग फेर्छु ।

‘तिमी नभएको बेला घरपट्टि आएको थियो, घरभाडाको लागि । भोलि आउनु भनेर पठाए ।’ ऊ डराइडराइ मलाई सुनाउँछ ।

‘ठिक छ तिमी टेन्सन नलिऊ । आज बेलुका मैसाबसँग एडभान्समा केही पैसा माग्छु । दिइनँ भने भोलि दिउँला नि भाडा’ म भन्छु ।

ऊ फेरि त्यही रेडियो कानमा लगेर सुन्न थाल्छ ‘द्वन्द्वकालमा अपांग भएका लडाकुहरूलाई राज्यबाट निशुल्क औषधि उपचार, सार्वजनिक सेवा, स्थान तथा अन्य सुविधाहरूमा विशेष व्यवस्था गरिनेछ । अपांग तथा अशक्त लडाकुहरूका परिवारलाई समेत मध्यनजर गरी उनीहरूको जीविकोपार्जनको विशेष सुविधाको प्रत्याभूति गरिनेछ ।’

‘एक पटक कमाण्डर विकासलाई भेट्न पाए अवश्य हाम्रो लागि केही व्यवस्था गर्ने थियो । म ठाउँमा पुग्न पाएमा अवश्य तिम्रो लागि केही गर्नेछु भनेर चुनाव अगाडि भनेका थिए । अहिले त झन् गृहमन्त्री भएको बेला औषधि उपचारको मात्र व्यवस्था गर्दै पनि हुन्थ्यो ।’ ऊ भावुकताकासाथ बोलिरहन्छ ।

‘अझै आउने बेला भएको छैन । घरमा लुगा डंगुर भइसक्यो । भाडाहरू अझै माझेको छैन । ल चाँडो गर ।’ फोनमा मैसाबको रिसाएको स्वर प्रस्ट थाहा पाउँछु ।

ओहो ! आज साँच्चीकै ढिला भयो । यिनै मैसाब त छिन् आफ्नो भन्नलाई यति ठुलो सहरमा । हामीलाई पर्दा सधैँ आफ्नैलाई जस्तो गरेर मदतका हात अगाडि बढाउँछिन् । मात्र उनको पति बाबुसाहेबको नियत चाहिँ मप्रति ठिक छैन ।

मैसाब घरमा नभएको मौका छोपी सधैँ बाबुसाहेब मेरो नजिक आएर विभिन्न बाहनामा मलाई छुन खोज्छन् । उनका ती कामुक आँखाहरूले मेरो शरीरको प्रत्येक अंगहरूमा नजर दौडाएको म प्रत्येकपल्ट देख्दा पनि सहनुसिवाय केही गर्न सक्दिनँ । कति पटक यो कुरा मैसाबको अगाडि राख्न नखोजेको पनि होइन तर सधैँ हच्किन्छु । मैसाबको नजरमा उनका पति भगवान्सरह छन् । एउटा इमान्दार र श्रीमतीभक्त पति ।

‘केही पीर गर्नु पर्दैन । तिमीलाई जेजस्तो सहयोग चाहिन्छ निर्धक्क मलाई भने हुन्छ । तिम्रो मनको पीडा मलाई भन्न सक्छौ’ भन्दै मेरो छातीमा उनका हात निर्धक्कले राखेका थिए ।

के गर्नु भाग्यले नै ठगेपछि यस्ता दानवहरूसँग प्रत्येक दिन सामना गर्नुपर्ने मेरो बाध्यता हुन जान्छ । घरमा आएर उसलाई भनूँ बिचरा ऊ आफैँ अशक्त छ त्यसमा पीडामा पीडा थप्ने काम किन गर्नु भनेर आफैँमा सीमित राख्छु ।

बिहानपख झमक्क आँखा लागेछ । ब्युझँदा झ्यालको अन्तरबाट फुस्रो बिहानीको आभास छिरिसकेको थियो । हरेक दिन स्वीकार्नु पर्ने एउटा बिहानी र एउटा ब्युँझनुको पराधीन उद्दाम मैदानमा लम्पसार सुतिदिएको रिसलाग्दो मलाई समयको सुइरोले एउटा आघात दिन्छ दुखाउँछ । रातभरिको उसको अइया, पोल्यो भनेको छटपट्टिले हामी दुई नै निदाउन सकेनौँ । क्रमिक रूपमा उसलाई च्याप्दै गएको छ भन्ने थाहा पाउँदापाउँदै पनि म केही गर्न सक्दिनँ । अब बेच्नलाई बाँकी नै के छ र मात्र यो सिंगो शरीरबाहेक ।

सायद पेनकिलरको असरले अहिले निदाएको छ ऊ । घरको विरूद्ध समाजको विरूद्ध भागेर विवाह गरेका थियौँ हामीले । कति खुसी थियौँ हामी त्यो हाम्रो प्रेम सफल भएकोमा तर धेरै समय लागेन हाम्रो खुसी कायम रहन । खोई कसको नजर पो लाग्यो कि ? सँगै बसेको वर्ष दिन नहुँदै देश बनाउँछु भनेर जंगल छिरेको मरेछ भनेर खोल्सामा फ्याँकिएको अवस्थामा अरूले भेट्याएर धन्न हस्पिटल पुर्‍याएर यति भए नि बोल्न पाएको छु । सँगैको साथी आज देशको गृहमन्त्री भएको छ भने ऊ एउटा ओछ्यानमा बसेर बाँच्ने आशामा सपनाहरू बुनिबसेको छ ।

सम्झन्छु ती नेताहरूलाई सर्सर्ती । मेरो लोग्ने जस्तै हजारौँ युवाहरूको सपनासँग बलात्कार गरेर आफूलाई देशभक्तको बिल्ला छातीमा छुन्ड्याएर हिँडेका छन् । घृणा लागेर आउँछ ती अनुहार सम्झँदा ।

‘पोल्यो, सारै गाह्रो भयो ।’ ऊ छटपटिन्छ ।

‘एकैछिन पख म ट्याक्सी लिएर आउँछु, अनि हस्पिटल गइहाल्ने’ म ट्याक्सी लिन जान्छु ।

बाटोमा लामो ट्राफिक जाम छ । ट्याक्सी ड्राइभरलाई अलिक चाँडो गर्नु न दाइ भन्दा, ‘गृहमन्त्रीको सवारीको कारण ट्राफिक जाम भएको हो अब म के गरूँ’ भन्ने जबाफ आउँछ ।

‘ल आजै अपरेसन गर्न सकिएन भने ढिला हुन्छ । चाँडो पैसाको बन्दोबस्त गर्नु’ डाक्टर उसलाई लिएर भित्र पस्छ ।

‘हेल्लो बाबुसाहेब, मैयाँसाहेब हुनुहुन्न ? उसलाई सारै गाह्रो भएर हस्पिटल ल्याएको छु । डाक्टरले पैसा जम्मा नगरी अपरेसन हुँदैन भनेको छ । अब हजुरहरूकै हातमा छ उसको ज्यान’ म रूँदै भन्छु ।

‘डन्ट ओरी, केही पीर गर्नु पर्दैन । म सबै मिलाइदिन्छु’ भनेर फोन काटिन्छ । आज हाम्रो लागि बाबुसाहेबहरू भगवान् बनेर आउनुभयो । यदि उहाँको मदत नहुने हो त उसलाई जे पनि हुन सक्थ्यो । आज बेलैमा बाबुसाहेबले पैसादेखि सबै कुराको व्यवस्था गर्दिनुभयो । उहाँहरूको यो गुण हामी दुईले कसरी चुकाउने होला ।

‘तपाईंको श्रीमान्को यही अनुसार इम्प्रभु भएमा धेरै चाँडो आफैँ हिँड्न सक्नु हुनेछ’ डाक्टरले भनिरहँदा मेरो खुसीका आँसु थामिएको थिएन ।

अपरेसन गरेको महिना दिनमै ऊ धेरै फ्रेस भएको छ । अबको केही दिनमै डिस्चार्ज गर्छ होला उसलाई । यो बीचमा बाबुसाहेबले हाम्रो सबै हेरविचार गरिराख्नुभएको छ ।

‘भोलिदेखि तिम्रो मैसाहेब पन्ध्र दिनको लागि काठमाडौँ बाहिर जाँदैछ । मैले तिमीले भने अनुसार सबै गरेँ र अब तिम्रो पालो । तिमीले बाचा गरे अनुसार अब मलाई खुसी पार्ने तिम्रो काम’ उनी फोनमा खुलस्त हुन्छन् ।

बिजुलीको करेन्ट लागेजस्तो मेरो दिमागमा बाबुसाहेबको फोनमा शब्दहरू थर्किएर गए, मेले उनका शब्दहरू सुनिरहेँ मात्र मानौँ म एउटा लिलामीमा राखिएको वस्तु हुँ ।

सधैँ आउने मैसाबको घर हो यो तर पनि आज यो घर घर नभएर एउटा व्यापार गर्ने बजार हो जहाँ म मेरो लोग्नेको जीवनको सट्टा मेरो शरीर बेच्दै छु । तर मलाई कुनै अफसोच छैन किनकि मेरो लोग्नेको जीवनको मूल्य मेरो लागि धेरै छ । उसको स्वास्थ्यको अगाडि मेरो शरीरको मूल्य केही होइन ।

‘किन लाज मान्नु पर्‍यो र ? म तिम्रो व्यथा बुझ्छु नि । घरमा लोग्ने ओछ्यान परेको पनि धेरै भयो । बिचरी तिमीलाई पनि मन त लागेको होला नि’ भन्दै उनी मेरो लुगा फुकाउन थाल्छन् ।

उनको रक्सीले लाललाल भएका डरलाग्दा आँखा हेर्न म सक्दिनँ । आइमाईलाई बलात्कार गर्नुअघि यिनीजस्ता सबैका आँखाहरू यसरी नै उत्ताउलिँदा हुन् । एकपल्ट ढोकातिर हेर्छु, कोही आइदियोस् यहाँ भन्ने आशमा तर त्यस्तो केही हुँदैन ।

‘तिमी तिम्रो मैसाहेबभन्दा पनि राम्री छौँ । तिम्रो यी सुन्दर अंगहरूको वर्णन जति गरे पनि कम छ’ उसका हातका औँलाहरू मेरो अंगहरूमा सलबलाउन थाल्छन् ।

ऊ मलाई बलात्कार गरिरहन्छ र म यो हुन दिइरहन्छु । हो, मेरो शरीर आज यस पशुले बिटुलिदिँदा पनि मेरो मन अझै चोखो छ । यो मनलाई कसैले बिटोल्न सक्दैन ।

तिम्रो अगाडि यो शरीर केही होइन । तिमी स्वस्थ र तिम्रो अनुहारमा खुसी देख्नको लागि म आफूलाई प्रत्येक पटक बलात्कृत हुन हाँसीहाँसी तयार छु । अरूको नजरमा यो गलत होला तर मैले योभन्दा अरू के नै गर्न सक्छु र ? मलाई माफ गरिदेऊ ।

अर्जुन थापा
धुम्बाराही, काठमाण्डौ

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.