~दिलिप पौड्याल~
सर्वप्रथम मेरी आमा मेरो सर्वश्रेष्ठ गुरुको चरण चुम्न मन थियो
उहाँले सिकाएको पहिलो शब्द ‘बा’बा’ भन्दै बाबालाई ढोग्न मन थियो
बाबाले मसाएको पाटीमा कखरा सिकाउने सरलाई खादा ओढाउन मन थियो
कानमा पवित्र मन्त्र वाचन गरेर कर्म दिने गुरुलाई फूलमाला लाउन मन थियो
कन्यादान गरी घरबार जोडिदिने सासुआमा र ससुराबालाई देख्ने मन थियो
देउरालीमा भारी बिसाएर गीत गाउने भरियालाई भेट्न मन थियो
थुप्रै थुप्रै गुरुहरूलाई सम्झन मन थियो आज
उहाँहरूले दिएको अमूल्य ज्ञानलाई सम्झन मन थियो आज।
पिठ्युँमा बोकेर दिनभर कोदो रोपेकी मेरी ‘आमा’
रातदिन लेक बेसी गरेर नथाक्ने मेरो ‘बा’
दिनभर हलो जोतेर घर फर्कँदा पनि हिमाल झैँ हाँस्ने बन्सरीका काइँला बा
ठट्टा गर्दै दिनभर घन ठोक्ने बालीघरे साइलोदाई
कत्ति पनि नझिजिकन फाटेको जाँय सिलाइदिने सेते दर्जी
सङ्घर्षशील मेरा दाजुहरू र भाउजूहरू
थुप्रै थुप्रै गुरुहरूलाई सम्झन मन थियो आज
उहाँहरूले दिएको अमूल्य ज्ञानलाई सम्झन मन थियो आज।
लेखनाथ , लक्ष्मी प्रसाद र भानुभक्त चिनाउने
सेक्सपियर, मिल्टन र डेरिडा पढाउने
कविता, कथा र निबन्ध लेखाउने
हिज्जे , व्याकरण र वर्णविन्यास घोकाउने
मोनालिसा, महादेव र पार्वतीका चित्रहरू देखाउने
इतिहास, उपन्यास र काव्यहरू पढाउने
थुप्रै थुप्रै गुरुहरूलाई सम्झन मन थियो आज
उहाँहरूले दिएको अमूल्य ज्ञानलाई सम्झन मन थियो आज।
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )