~दिल थापा~
ऊ मेरो घरमा तीन दिन अगाडी आएको थिए। मसँग एक रात बिताएर गयो। आजभोलि मेरो दुख बुझ्ने पनि सुख बुझ्ने पनि ऊ नै हो। अर्थात् सुदिन । सुदिनले मलाई आफ्नै श्रीमतीलाई जस्तै गरी माया गर्छ। हेरचाह पनि गर्छ। मेरो मनोविज्ञान पनि बुझ्न प्रयास गर्छ। मलाई खुसी हुन सिकाउँछ । पिडाहरूलाई भुलेर हाँस्न पनि सिकाउँछ । जीवनको यथार्थ धरातलमा टेकेर जीवन जिउन पनि सिकाउँछ । कहिले काहीँ रुन पनि सिकाउँछ। तर उसले मेरो आँसु आफ्नो हातबाट भुईँमा झर्न दिएको मलाई त्यस्तो सम्झना छैन ।
सुदिनको खुट्टाको दुई पैतालाले मेरो घरको चारदिवार जुठो पारिसकेको छ। त्यसैले होला सुदिन मसँग नहुंदानी मेरो घरमा उसको गुलाफरूपी पुरुष गन्ध आइरहन्छ । र ऊ सधैँ मसँगै भइरहेको मीठो सम्झना दिलाउँछ ।
म एउटी विवाहित नारी प्राणी हुँ । अनि नेपाली समाजको प्रतिनिधित्व गर्ने एउटी नारी अर्थात् आमनारी । उहाँसँग(श्रीमान्) मेरो बिहेको बाइस वर्ष भएछ। बिहे भएकै वर्ष हामीले छोरालाई जन्म दियौँ । हाम्रो जीवनमा छोराको आगमनसँगै भौगोलिक रूपमा हामीलाई समयले अलग-अलग बनायो । अर्थात् म नेपाल र मेरो श्रीमान् विदेश ।
हाम्रो प्रेमविवाह हो। अर्थात् हामी विवाह गर्ने निर्णयमा पुग्नुको अर्थ हामी दुईबिचको आत्मीय प्रेम नै हो। मजस्तै मेरो श्रीमान् पनि मध्यम वर्गीय परिवारको मान्छे । तर राजधानीको रैथाने । अर्थात् काठमाण्डौबासी । छोराको जन्मसँगै मैले मेरो सपनाहरूलाई मृत संस्कृतभाषाको शब्दहरूजस्तै बनाए । अनि मिल्काए यो समाजको पुरुषपुस्तकालयमा सपनाका पुस्तकहरू । यही समाजको पुरुषको भविष्य बनाउन गरे यो जिन्दगीलाई बुँदागत सम्झौता ।
मेरो श्रीमान् २३ वर्षको हुँदा विदेश (क्यानडा) जानुभएको हो। राम्रो कमाउनु हुन्थ्यो । उहाँको कमाई र मेरो लगनशीलताले हाम्रो घर र छोराको पढाइको स्तर राम्रो भइसकेको थियो। मलाई लाग्थ्यो मेरो श्रीमान् केही वर्षपछि विदेश नजाने गरी फर्कनु हुन्छ भनेर । हामीबिच प्राय कुरा हुन्थ्यो । आजभोलि पनि कहिले काहीँ हुन्छ । तर पहिला जस्तो हुँदैन ।फोनमा कुरा हुँदा मैले उहाँलाई अनुरोध गर्थे । अब त फर्कनु भो नेपाल भनेर। छोराले प्लस टु (+2) सक्ने बेला भइसक्यो । तर उहाँले मान्नु भएन । भन्नु हुन्थ्यो ! मैले जस्तै मेरो छोरा विदेश जान नपरोस् । त्यसैले म केही वर्ष यतै बस्छु भनेर । छोराले देशमै केही गरोस् भन्ने आशा र सपना हामी दुवैमा थियो। छोराले प्लस टु पछि अस्टेलिया जान्छु भन्थ्यो । मैले नजान अनुरोध गर्दा सधैँ झगडा पर्थ्यौ । र गई पनि छाड्यो । त्यसपछि त झन् म एक्लो भए । श्रीमान् पनि नेपाल आउन चाहनुहुन्थेन । छोरा त झन् अस्ट्रेलियातिरै बिहे गरेर सेटल हुन लागेको कुरा महिनौँपछि फोन गर्दा सुनाउँथ्यो। आजभोलि पनि
मलाई भेट्न आउन अनुरोध गर्छ। आफू फुर्सद नभएको पुराण सुनाउँछ l
आज मेरो साथमा श्रीमान् पनि छैन। छोरा पनि छैन।हुन त पैले भन्नुहुन्थ्यो श्रीमानले मलाई कहिले काहीँ फोन गर्दा मैले यतै तिमीजस्तै नारीसँग बिहे गरे भने तिमी गर्छौँ भनेर । त्यति बेला मैले केही भन्थिन । उत्तरहीन हुन्थे। तर आज भयो यस्तै । केही समयको चर्को र पिरो संवादपछि उतै बिहे गरेको कुरा मेरो श्रीमानले स्वीकार गर्नुभयो । मप्रति त्यति धेरै सद्भाव नहुने किसिमको कुरा व्यक्त गर्नुभयो । मेरो जीवनको राजमार्ग त्यति बेला एक किसिमको विपत्तिले बगाएको थियो । मार्गविहिन भएकी थिए । जीवनको बाटो टुङ्गिइसकेको थियो । बाँच्ने आशा टुटि सकेको थियो। देख्ने दुई आँखा हुदाहुर्दै पनि यो काठमाडौँ पुरै अँध्यारो लाग्थ्यो । आफू एकदम एक्ली लाग्थ्यो । संसार नै मेरो विपक्षमा भएको अनुभव हुन्थ्यो । ठाक्कै जीवन यसरी अथवा उच्चनिराशाले शिथिल बनाई रहँदा मेरो भेट सुदिन सँग हुन पुग्यो ।
त्यो क्याफे( ह्याप्पी क्याफे घर)घर। अर्थात् सुदिनले वईटर भएर काम गर्ने क्याफे घर । म त्यो दिन टेबल नम्बर सत्तरमा बसेकी थिई । मेरो एक्लो जीवनलाई म कसरी खुसी बनाऊ भनेर सोच्दासोच्दै आँखाबाट आँसु झरेको बेलैमा म बस्ने टेबलमा सुदिनले कफी अडर लिन आएको थियो। मेरो आँखामा आशु देखेर र मेरो मनोभाव बुझेर सुदिनले मलाई किन आशु झार्नु भएको ? तपाईँ किन रुन भएको ? भनेर सोधेको थियो ।मैले त्यसै भनेकी थिए । त्यति बेला ।तर सुदिनले तपाईँ यो क्याफे घरमा आउनुको कारण छ। भने तपाईँ रुनुको पनि पक्कै कारण छ।भनेको थियो। अनि अडर लिँदै उसले तपाईँ आफ्नो घरमा खुसी हुनुस् नहुनुस् तर यो ह्यापी क्याफे घरमा आएर खुसी भएर कफी पिउनुहोला ! भनेर सुदिनले मलाई अनुरोध गर्यो । त्यो अनुरोध मलाई आज पनि याद छ। त्यति बेला सुदिनको अनुरोधमा मैले मेरो बिहे अगाडीको मेरो श्रीमानको बोली पाएकी थिए।
मैले भेट्दा सुदिन पच्चिस वर्ष जतिको खाइलाग्दो थियो। सकारात्मक विचार भएको हँसिलो अनुहारले कुँदिएको पनि। त्यसपछि म प्राय उसको क्याफेमा कफी पिउन गइरहेकी हुन्थ्यो । त्यसैको बिचमा उसको र मेरो सम्बन्धले एउटा आकार लियो । सायद मेरो जीवनको वैवाहिन घटनाले उसमा मप्रति माया लागेर आयो होला । सुदिनले आफ्नै साथी सम्झन अनुरोध गर्यो ।
म एउटी विवाहित महिला l श्रीमान् हुँदाहुँदै अर्को पुरुषसँग सम्बन्ध बनाउन न यो समाजले दिन्छ । न यो देशको प्रगतिशील कानुनले ।तर म दुवैको विरुद्धमा छु। त्यसैले होला मेरो घरभन्दा अलि तलको दिदीले म र सुदिन कहिले काहीसंगै हिँडेको देखेर अथवा सम्बन्धको विषयलाई लिएर मलाई चरित्रहीन गतिछाडा महिलाको उपमा दिनुहुन्छ।तर मलाई उहाँ दिएको तल्लो स्तरको नामले कुनै पहुतो लाग्दैन । अनि सोच्छु दिदीको त मन पनि तन पनि बुझ्ने श्रीमान् बिहे भएको दिनदेखि सँगै हुनुहुन्छ र। दिदी पतिसमर्पित श्रीमती बन्नुभएको छ। तर मेरो त? मैले सोच्छु श्रीमानसँग मैले कति दिन सँगै बिताए होला ? अनि आजभोलि रोजगारको खोजीमा बिदेसिएका युवाहरूका कलिला चाहानाले भरिएका श्रीमतीहरूले ? म सोच्छु यो समाजले महिलाको प्रधान चरित्र किन सेक्स( यौन) विषयलाई कसीमा राखेर मूल्याङ्कन गर्छ। यदि कुनै महिलाको चरित्र राम्रो र नराम्रो भनी सेक्सको पाटोलाई महत्त्वपूर्ण आधार सम्झन्छ भने त्यतिकै सेक्सको महत्त्व महिलालाई छ भनेर किन सोच्दैन ? आज खाना खायो भोलि पर्सि खानुपर्दैन । आज सुत्यो भोलितिर सुत्नु पर्दैन ? यदि भोलि तिर पनि खाना , सुत्न लाउन पर्छ भनेर बुझ्ने र भन्ने समाजले सेक्स पनि आधारभूत आवश्यकताको विषय हो भन्न औशीको रात कुर्नुपर्छ?
मेरो श्रीमानले मलाई बेला बेलामा फोन गर्नु हुन्छ। उहाँले मलाई सन्चो बिसन्चो भन्दा आजभोलि केही सोध्नुहुन्न । म पनि उहाँको श्रीमतीको औपचारिकता मात्र निभाउँछु ।विगत ओक्लन प्रयास गर्दिन ।म अहिले धेरै खुसी हुन प्रयास गरेको त्यसको जस सुदिन हो पनि खुलेरै भन्छु।
सुदिनले मलाई हिजो बाँच्न मात्र सिकाएन । नेपाली महिलाहरूको जीवनको गोरेटो पुरुष प्रधान समाजको हातमा छ । भन्ने सङ्गिन विषय पनि सिकायो । त्यसैले म आजभोलि एउटी महिला अभियान्ताको रूपमा आफूलाई चिनाउने एउटा प्रयत्नमा छु।
दिल थापा मगर
दमौली तनहुँ
हाल जापान
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )