~भेषराज रिजाल~
आस्थाको असारभरि
मेहनतका बीउ छरेर
खुसी फल्ने विश्वासमा
हर्षित पुलकित
मीठो थकाइसँग रमाइरहेको
साउनको पहिलोदिन
यसपालि फेरि हाम्रो घर
लुतो फाल्ने तयारी छ।
सुनौलो मङ्सिरको साकार सपनामा
घुनपुत्लो नलागोस् भनेर
गरिब दुखियाको पवित्र सपनामा
दैवशत्रु नलागोस् भनेर
नाङ्लो ठटाएर
ढिकी जाँतो बजाएर
मिचाहा हात्तीहरू तर्साउँदै
कोकोहोलो मच्चाउँदै
अगुल्टा मिल्काएर
लुटेरा बाँदरहरू धपाउँदै
यसपालि फेरि हाम्रो घर
लुतो फाल्ने तयारी छ।
पातको साँघु हालेर
जीवन पार लगाउन
एकैठाउँ जुटेका हातहरू
एकैठाउँ जुटेका साथहरू
हातमा हात मिलाएर
साथमा साथ मिलाएर
लुतो फाल्न लागेको बेला
केराको पातमा राखिएका
सिउँडी, धोबिनीझार
भकिम्लो, लुतेझार
मास, अक्षता र बेसारले मन्तरेर
राँके अगुल्टा
मिल्काउन लागेको बेला
सङ्क्रमित घाउको भाइरसजस्तै
खोइरेलुतो सार्ने दाउमा
हाउभाउसहित कथा सुनाउँदै-
“हाम्रो बाले ल्याएको भैँसीको
यतियति घीउ लाग्थ्यो
यसरी हामीले जीउभरि घस्थ्यौँ”
लुतो कन्याउँदै
पोहोर परारजस्तै
लुते हातले सबैलाई छुन
खबरदार लुतेहरू हो,
यसपालि हाम्रो आँगनमा
लुते पाइला नटेक !
यसपालि हामीले
राँके अगुल्टा मात्र मिल्काउँदैनौँ
तिमीजस्ता समाजका लुतेहरू
हाम्रो अगुल्टाले दागिनेछन्
देश चुस्ने घुस्याहाहरू
हाम्रो अभियानमा ताकिनेछन्।
रचना समय र स्थान : २०५८ सालको साउने सक्रान्ति, म्याग्दी
प्रकाशित : देश सधैँ रुने छैन, कविता सङ्ग्रह, २०५९
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )