कथा : अनि म विरही भएँ ।

~बिक्रम भक्त जोशी

यो ऊ बेलाको कुरा जब मलाई भर्खर भर्खर पदयात्रामा रस बस्न थाल्या थियो। समूहमा पदयात्रा गर्ने मेसो चल्या थिएन। एक्लै धुम्धुम्ती हिँड्थेँ। ठाउँको नाउँ कतैबाट याद गर्‍यो। गुगल म्यापबाट बाटो अन्दाज गर्‍यो। अनि हिँड्यो।

दसैँको बेला थियो। नौरथा सुरु भैसकेको थियो। बाल्यकाल देखि नै मलाई दुई कुराले दसैँ आगमनको आभाष दिलाउने गर्थ्यो – बिहानी हुस्सुको चिसोपन र तिनको छुट्टै प्रकारको फ्रेस बास्ना अनि रेडियोमा बज्ने मालश्रीको धुन। अहिले पनि त्यो बास्नाले मन आह्लादित बनाउँछ। र, त्यो धुन कानमा पर्दा कताकता नोस्टाल्जिक हुन पुग्छु।

बिहान बिहानै कोलाहल माझ भुराभुरीहरु पीङ्गमा मच्चिन तँछाडमछाड गर्न थालिसकेका थिए। देवीथान तिर घुइँचो बढिसकेको थियो।

म मन्दिर दर्शन गरिवरि फर्किने क्रममा जाउलाखेल तिर हिँड्दै थिएँ, गाडीको कन्डक्टरले कराउँदै गरेको सुनेर पहिलोचोटि डुकुछापको नाउँ सुनेँ।

‘डुकु छाप। फर्सीडोल, डुकु छाप।’

‘ओ भाइ। कहाँ हो यो डुकु छाप?’

“बुङ्गमतीबाट जाने हो।” मेरो अनुहारै नहेरी केटोले जवाब दियो। गाडी चढ्ला जस्तो नलागेर हो कि मलाई बालै दिएन। घाँटीमा मैलो न मैलो रुमाल बाँधेको, लाग्थ्यो महिना दिन देखि ननुहाएको। टाउको कन्याउंदै फेरि भट्ट्याउन थाल्यो।

‘बुङ्गमती, फर्सीडोल, डुकु छाप।’

म चैँ नाउँ कण्ठ गर्दै लागेँ आफ्नो बाटो।

खुल्दुली माझ भोलिपल्ट, शनिवार, बिहान झिसमिसेमै दुई बोतल पानी, कोकोनट बिस्कुट, ब्रिटानियाको प्याकेट केक, सानो थर्मसमा दुईचार कप चिया र तीन चार्टा स्याउ झोलामा ठुंसठास गरेर म लागेँ डुकु छाप तिर।

जाउलाखेलमा बस कुर्दा कुर्दा सातै बज्यो। बल्ल तल्ल कनीकुथी गर्दै आइपुग्यो ऊ जमानाको गाडी। डुकु छाप जाने गाडी। बुङ्गमतीमा ठ्याक्कै आधा घण्टा रोकेपछि बल्ल बल्ल ढल्की ढल्की नौ बजे तिर डुकु छाप पुर्यायो। गाउँ जान बसपार्कको दक्षिण तर्फको उकालो ठाडै चढ्नुपर्ने रैछ। उकालो सकिन साथ देब्रेतिर रहेको ओमकारेश्वर महादेवलाई दण्डवत गरेपछि अब कता जाने भन्ने भो।

थोरै सुस्ताऊँ पनि, चिया सिया पनि खाऊँ भनेर नजिकैको एउटा दुकानमा छिरेँ। चकलेट सकलेट देखि लिएर चप्पल अनि चिया सम्मै पाउने अल-ईन-वन पसल रैछ।

‘चिया खाम् न, साउनी!’ टेबल मिलाउँदै गरेकी साहुनीतिर फर्केर भनेँ।

हस् भनेर साहुनी भाँडो बसाल्न लागिन्।

‘यहाँ कतै हेर्न लायक ठाउँ केही छैन?’ मैले सोधेँ।

‘छ नि। कटुवाल दह।’ सोध्या त साहुनीलाई थिएँ, तर जवाब पसलको कुनोबाट आयो।

अँधेरोमा मैले यादै गरेनछु। गेरु वस्त्र लगाएका, लामा लामा जगल्टा पालेका, अधबैँसे उमेरका जोगी। चिया र दोनट खांदैथिए। उनैले जवाब फर्काको रैछ।

‘कति टाढा छ?’

‘बिस्तारै गए पनि डेढ दुई घण्टा भन्दा बेसि लाग्दैन।’

लास्ट बस चार बजे भनेर अघि गाडीमै थाहा पाइसक्या थिएँ। मनमनै गमेँ। गएर फर्किन आरामले भ्याउने रैछ भन्ने लाग्यो।

‘म पनि त्यतै भएर जाने हो। म चाहिँ दक्षिणकाली तिर लाग्ने। मन भए सँगै जाऊँ।’

बाबाजीको कुरो ठिकै लाग्यो। नगा’को ठाउँ। बाटो देखाउने कोही भए सजिलै हुने कुरो सोचेँ र हुन्छ भनेँ।

छिटो छिटो चिया र त्यहीँ मगा’को टेष्टी बिस्कुट एक पुडिया खाईवरी सकाएर जानलाई तयार भएँ। बाबाजी त अघि नै तयार भैसकेका थिए।

बाबाजी अघि अघि म पछि पछि। पश्चिम तिर लाग्यौँ। देब्रेतिर बाटो छेउको पँधेरो पुगेपछि बाबाजी मुख जोतेर धारैबाट घट्घटी पानी पिउन थाले। म पनि आफूले लिएर आ’को मिनिरल वाटरको चुस्की लाउँदै केही छिन सुस्ताएँ।

अलि पर हिँडे पछि पश्चिमतिरको नजारा छ्याङ्गै देखियो। बाग्मती नदी तल सम्ममा नागबेली पर्दै बग्दै थियो। असोजको महिना, धानको बाला लहलह परेर टाढाबाट हेर्दा भ्यान गोघको कुनै पेन्टिङ जस्तै देखिन्थ्यो। खेतको पाटो पाटोमा एकै थरी रङ्ग थिएन – कुनै हरियो, कुनै हल्का पहेँलो, पाकिसकेका बालाहरू भा’ठाउँमा निक्खर पहेँलो। त्यसको बिचैबाट बगेको बाग्मती यस्तो लाग्थ्यो मानौँ क्यानभासको बिचैमा मसी पोखिएर नागबेली धर्को बनेको होस्। पारी पहाडको देब्रेतिर दक्षिणकाली पर्छ भन्ने जानकारी बाबाजीबाट पाएँ । तल दाहिनेतिर खोँचमा दनुवार गाउँ देखियो। गाउँको नाउँ पनि बाबाजीबाटै थाहा पाएँ। मेरा गाइडै भो उनी आजलाई।

हिँड्दै जाँदा छेउमा घाँसे थुम्को भेट्टियो। एक छिन सुस्ताउने इसाराको पालना गर्दै ब्यागबाट खोतलखातल गरेर लेरा’को स्याउ झिकेर चक्कुले मसिना मसिना चाना बनाउन थालेँ। दाँत कमजोर जो छ। बाबाजीले मैले पेस गरेको स्याउ स्विकार्नु भएन। खै किन हो!

‘बाबा! तपाईँको घर कता नि?’ जोगीको ‘नि काँ घर हुन्छ र। गल्ती भो भनेर सोच्दै सच्याएँ। ‘मेरो मतलब… यसरी…अमम्… वस्त्र धारण गर्नु अघि… ‘ जोगी हुनु अघि भन्यो भने मार्ला भनेर घुमाउरो पाराले सोधेँ।

‘चितौन।’ मैले अम उम गर्दै अप्ठेरो मानी मानी सोधेको देखेर बिचैमा कुरो काटेर बोले।

‘चितवनमा कहाँ नि बाबा?’

‘टांडी।’

‘ए…… ‘

‘……… ‘

‘अनि यता कसरी आईपुग्नुभो नि बाबा?’

‘भोलेनाथको इच्छा।’

भोलेनाथको इच्छा हो कि कसको इच्छा हो कुन्नि, तर मलाई एउटा कुरो चैँ सोध्ने इच्छा भो। के पो सोच्ने हुन् फेरि? जोगीलाई तँ किन जोगी बनिस् भनेर सोध्नु ज्याद्रो नै पर्सनल पो हुने हो कि? आ… सोधिहेरौँ, के पो लछार्ला भनेर सोधेँ।

‘अनि हजुर चैँ किन यसरी … अमम् … ‘ मेरो फेरि अम उम सुरु भए पछि बाबाजीलाई झर्को लागेछ कि कुन्नि अथवा आफ्नो अतीत खोतल्न लाग्यो भन्ठानेर पो हो कि, जर्याक जुरुक्क उठेर ल लागूँ भन्न थाले। प्रश्नै पूरा हुन दिएन जगल्टेले।

त्यसपछि बाबाजीले मौन व्रत लिनुभो। मेरो प्रश्न गराई मन परेनछ क्यारे। झ्याउँकिरीको एकतमासको तिखो आवाजले वातावरण उराठलाग्दो थियो। जङ्गलको छेवै छेउ बनेको चाक्लो बाटो लुखुर लुखुर हिँड्दै थियौँ। पन्ध्र मिनेट जति पछि देब्रेतिर एउटा दोबाटो देखिएपछि भने बल्ल मौनब्रत तोड्दै भन्नु भो, “यताबाट माथि माथि लागेपछि देवीचौर पुगिन्छ। मच्छिन्द्र बन, सारङ्गी डाँडा हुँदै। पाँच शिर भएको सत्यश्वोर महादेव हुनुहुन्छ बाटैमा। वहाँको प्राण प्रतिष्ठामा पुगेको थिएँ । उतैबाट बुरुङ्गचुली हुँदै टिका भैरव झर्न मिल्छ।”

कुरो बुझेझैँ गरी टाउको हल्लाउँदै थिएँ, बाबाजीले पाइला छिटो छिटो चाल्न थालिहाल्नुभो। मैले पनि उसै गरेँ।

आधा घण्टा जति शुन्यतामा हिँडेपछि बाटोभन्दा दाहिने झ्याङतिर मोडिनु भो। बाटो कतै देखिया थिएन, कता गाको यो जोगी? म अन्योलमा थिएँ। मसिनो गोरेटो रैछ । म एक्लै आ’को भए त हराउने पो रैछु। रुखै रुखले छेकेको बाटो छिचोल्दै जाँदा केही छिनमा अलि खुल्ला ठाउँ आइपुग्यो। हल्का नदीको आवाज पनि सुनियो।

‘यो ठाउँलाई करुवा भन्छ। हुनसक्छ यसैबाट यो ठाउँको नाम कटुवाल दह रहन गाको।’

‘ए!’ भन्दै कता दह छ भनेर यताउता नजर दौडाउन थालेँ। देब्रेतिर र दाहिने पट्टि साना साना पाटीहरू । पूजा गर्ने ठाउँ जस्तो देखिने। त्रिशूल घण्ट पनि देख्दा लाग्यो यो कुनै मन्दिर स्थल हुनुपर्छ। दह कतै देखिन।

कुनै बेला काठमाडौँको खाल्डोमा बाह्र वर्षसम्म खडेरी पर्र्या थियो अरे। बाबाजीलाई के मुड चल्यो कुन्नि, कथा पो सुनाउन थाल्नु भो। सुन्दै आएकै कथा, जुन मोटामोटी यस्तो थियो। गुरु गोरखनाथ नागको आसन जमाएर तपस्यामा लीन थिए। नाग आकाशमा विचरण गर्न पाए न पानी पर्थ्यो। नागहरु त कुर्सी भा’का थिए। गुरुजीलाई उठाउन जरुरी थियो। त्यसका लागि गुरुका पनि गुरु मच्छिन्द्रनाथलाई आसामबाट लिएर आउनु पर्ने भो। यस कामका लागि जाने भए भक्तपुरका राजा, ललितपुरका ज्यापू र काठमाडौँका गुभाजु। तन्त्रमन्त्रका मद्दतले भंवरा बनाएर लिएर पनि आए। गुरुलाई साष्टांग दण्डवत गर्न गोरखनाथ उठ्नु भो, नागहरु मुक्त भए, घनघोर वर्षा भो अनि खडेरी समाप्त । कथा सक्यो भन्ठान्या, बल्ल सुरु पो रैछ।

मच्छिन्द्रनाथसंग आमा चैँ पनि आएकी थिइन् रे। जब उनी आसाम फर्किन लागिन्, मच्छिन्द्रनाथ पनि लागे आमाको पछि पछि। फर्किन नदिन गुभाजुले यही करुवा भन्ने ठाउँमा पुगेको बेला पुन: भंवरा बनाई कलशमा कैद गरेछन् र बुङ्गमतीमा थापना गरेछन्। त्यसैले अहिले पनि यही ठाउँमा पूजाआजा गरी ल्याएको कलशको जल शेचन पश्चात् मात्र मच्छिन्द्रनाथको जात्रा सुरु गरिन्छ।

कथा सकिँदासम्म हामी झोलुङ्गे पुलमाथि पुगिसकेका थियौँ। अघि सुनिएको नदीको आवाज बागमतीको रैछ। तल सानो तिनो गल्छी रैछ। घनघोर आवाज सहित अटेस मटेस गर्दै पानी यही गल्छी हुँदै बाहिरिँदै थियो, पुलको मुनि मुनि हुँदै। यहाँ कुनै बेला पानी शान्त हुँदा दह झैँ बन्ने रैछ। त्यही भएर कटुवाल दह भनिएको रैछ। म त हो न हो, कुनै चाक्लो तलाउ पो होला भन्ठानेको दह त बागमतीकै एउटा भाग रैछ भनी जान्दा मनै खिन्न भो।

‘ल अब म यताबाट दक्षिणकाली तिर लाग्छु, तिमी फर्किनु।’ बाबाजीले आज्ञा गर्नुभो।

आएको त्यत्रो बाटो एक्लै फर्किने जाँगरै चलेन।

‘म’नि उतै लाग्छु, बाबा। उतैबाट बस चढम्ला। साथ पनि र’ने भो।’

नाइँ पनि छैन हुन्छ पनि छैन, बाबाजी भनाउँदो लम्किसकेछ। साह्रै जर्कटे रैछ। एक मन त फर्कूँ जस्तो पनि लाग्यो। आ… यस्ता ताईंनतुइँ सँग’नि के हिँड्नु। तर एकतमासको एक्लो हिँडाई सम्झेर पछि लागेँ।

पुल पारिको सडक बन्दै गरेको काठमाडौँ निजगढ द्रुत मार्गको भाग रैछ। काम चालु थियो। ट्रिपरहरु ओहोरदोहोर गर्दै थिए। हामी धुलाम्मे बाटो छाडेर पश्चिम दिशातिर चढ्न थाल्यौँ। जोगी महाराज किन हो चुपचाप थिए। गाडी गुड्ने बाटैबाटो चढेकोले हिँड्न सकस भएन। मध्यान्ह भइसक्या थियो। अघिको स्याउको चानाले यतिन्जेल के थेग्नु? पेट बटारिन थालिसक्या थियो। बाबाजीको पनि उही हाल हुँदो हो। सिम्पानी पुग्नै समय लाग्ने थाहा पाएर त्यतै छेउको घाँसे मैदानमा खाजा ब्रेक गर्ने बिचार गरेँ। उनको सहमति रह्यो।

बाबाजीको आफ्नै सामल रैछ। सुन्तला रङ्गको काँधमा भिर्ने झोलाबाट केही चीज निकाल्दै खान थाले। म पनि ब्यागबाट बिस्कुट र केक झिकेर प्लास्टिकको प्लेटमा ठिक्क पारेँ। प्लास्टिककै गिलासमा चिया खन्याएँ । बाबाजीलाई सोध्दा’नि सोधिन। नाइँ भन्ने नै हुन् क्यार।

दुवै धुम्धुम्ती बसेर खान मै तल्लीन भयौँ। वार्तालाप नास्ति। बागमती पारिको करुवाको जङ्गल माथि माथि चील उडेर’को थियो। त्यो भन्दा माथि देब्रे पट्टिको अजङको पहाडको थाप्लोमा कतै देवीचौर हुँदो हो भनेर अनुमान लगाएँ। कुनै बेला मौका मिले जानु पर्ला। एक्लै त गाह्रै पो होला कि? कोही साथीभाइ सँगै जानु पर्ला।

बाबाजीको खोकाइले मेरो सोचाइ बिथोलियो। उनी टोलाएर टाढा टाढा कतै हेर्दै थिए। अचानक बाबाले केही भने, जुन सुनेर म दङ्गै परेँ।

‘यु नो ह्वाट? आइ एम नो हर्मिट। एट लिस्ट नट फ्रम इन्साईड।’

एक छिन त म अलमलमा परेँ। बाबाजीको मुखबाट अङ्ग्रेजी बोलाई मैले सपनामा पनि सोच्या थिइनँ।

‘हजुर?’ म अझै अलमलिएकै थिएँ।

‘लाइफ इज फुल अफ सर्प्राइजेज, यु नो।’ बाबाजी बोल्दै थिए। हुन पनि म आफै कम्ता सरप्राईज्ड थिइनँ, पुरै अचम्मित।

‘सोच्यो एउटा, हुन्छ अर्कै। जीवनलाई हामीले डोर्र्याको भन्ठान्छौँ। तर त्यो त आफ्नै तालले बेलगाम अगाडि बढ्छ। हामीलाई चोइस गर्न त दिन्छ, तर त्यो पनि सबै प्रि-प्लान्ड। पहिल्यै सबै सेट भएको हुन्छ। पूर्वनिर्धारित।’ हरियो घाँसको त्यान्द्रो हातमा खेलाउँदै बाबाजीले भने, ‘मेरो कथा सुन्छौ?’

मैले मुन्टो हल्लाएँ।

टाढा टाढा केही खोजे झैँ नियाल्दै खुईय्य सास फेरे। मेरो अनुहार एक ताली पुल्लुक्क हेरे। सुन्नलाई तल्लीन मेरो मुद्रा देखेर मुसुक्क हाँसे। अनि आफ्नो कहानी सुनाउन थाले।

बाबाजी बोल्दै गए। म सुन्दै गएँ।

* * *

‘मेरो नाउँ श्याम परियार।’ उनले कथा शरु गरे। ‘पुरानो घर चितौन टांडी। बुवा सानोतिनो सरकारी जागिरे। खरदार। बुवाको सरुवा काठमाडौँ भएपछि बागबजारतिर डेरा गरिबस्यौँ। म करिब बाह्र वर्ष हुँदो हुँ त्यो बेला। आमा, बुवा, म र दुई वर्ष कान्छो मेरो भाइ। त्यो बेला देखि नै काठमाडौँ बाहिरकाहरुको सपना भनेकै यस उपत्यकामा एउटा घर बनाउने। उतैको पुर्ख्यौली जग्गा झन्डै सम्पूर्ण बेचेर बुवाले रिङ्गरोड पारि नख्खु निर छ आना जग्गा किन्नुभो र एक तल्ले सानो घर बनाउनुभो। यतै सेटल हुने बिचार थियो होला। आजकल अस्ट्रेलिया, अमेरिका सेटल हुन हिँड्या जस्तो न हो।’

एउटा हवाईजहाज मुनि मुनि हुँदै आयो। आवाज अलि चर्कै थियो।

‘ऊ बेला खाँटी गाउँ थियो त्यो ठाउँ।’ हवाईजहाजको आवाज मधुरो भएपछि फेरि उनी बोल्न थाले। ‘राती राती स्याल कराएर उधुम गर्ने । घर वरिपरि नै घुमिबस्थे स्यालहरू। खेतैको बिचमा जो थियो घर। छिमेक घर भन्नु पनि फाट्टफुट्ट मात्र। म र भाइ डरले त्राहिमाम् हुन्थ्यौँ। यस्तो अनकण्टारमा घर हुँदा पनि काठमाडौँमा घर भएको भनेर गाउँतिर बुवाको रवाफै हुन्थ्यो।’

एक छिन उनी रोकिए। झोलाबाट बोतल निकालेर एक दुई घुट्को पानी पिए। म ज्ञानी विद्यार्थी झैँ ध्यान दिएर सुन्दै थिएँ।

‘छोडी आको टांडीबजारको घर भन्दा यता गाउँले घर नियास्रो लाग्ने नै भो। तर समय समयमा आमाले शहर डुलाउन लानु हुन्थ्यो। बुबासँग खासै सामीप्यता भने थिएन। बेलुका भएपछि यस्सो जम्ने बानी थियो। आफ्नै धुनमा रहनुहुन्थ्यो।’

‘त्यहीँ नजिकैको सरकारी स्कुलमा एसेल्सी सकाएर पाटन क्याम्पस भर्ना भएँ। आर्ट्स् लिएर। लिट्रेचरमा इन्ट्रेस्ट थियो। पढाई राम्रै थियो मेरो। साहित्यका किताबहरू लाइब्रेरीबाट ल्याइल्याई पढ्थेँ। शिरीषको फूल, सुम्निमा इत्यादि थुप्रो पुस्तकहरू उतिबेलै पढिसिध्याको थिएँ। ब्याच्लर पुग्दासम्म पनि यो क्रम यथावत् नै रह्यो। भन्ने नै हो भने अझ बढ्यो। मेरो धेरैजसो समय लाईब्रेरी मै बित्थ्यो।’

‘बाबा हेर्दा पनि विद्वान् नै देखिनुहुन्छ। त्यही भएर पो रैछ।’ मैले फुर्काउने नियतले भनेँ। तर बाबाजीले वास्तै नगरी आफ्नो कथा अगाडी बढाए।

‘लाइब्रेरी जाने क्रममा नै हो मेरो भेट मुनासँग भा’को। अनि थपियो मेरो ब्ल्याक एण्ड ह्वाईट जीवन कथामा एउटा रङ्गिन पाना। तर मलाई त्यो बेला थाहै भएन कि त्यो रङ्गिन पाना मेरो जीवन कथाको एउटा अध्यायको अन्तिम पाना हुनेछ।’

कुरो इन्ट्रेस्टिङ्ग हुन लागेको देखेर बाबाजीको नजिकै सरेँ।

‘समय बलवान् हुन्छ, सबलाई थाहा भाकै कुरा हो। यति बलवान् कि समयले मानिसलाई कहाँ कहाँ पुर्याईदिन्छ, पुरै बत्ताइदिन्छ। चल्तीको गाना नै थियो यस्तै भावको, त्यो बेलाको। अनि मलाई पनि हुर्याईदियो समयले मुनाको जिन्दगीमा …… ‘

जोगीको लभ स्टोरी? जोगी त भोगी पो रैछ कि क्या हो? म यो सोच्दै मात्र थिएँ कि बाबाजीले कथामा ट्विष्ट ल्याए।

‘… मुना शर्माको जिन्दगीमा।’

मेरो अनुहारको भाव देखेर बाबाजीले भने, ‘कुरो त बुझिहाल्यौ होला। केटा र केटी सँगै हिँड्दा त कुरो काट्ने ऊ बेलाको जमानामा हाम्रो अनमेल पिरतीले ठुलै बवण्डर मच्चायो। एक वर्ष सम्म त जेनतेन कुरोलाई गोप्य राखियो। तर एक दिन उनको घरमा यो कुरोको गाईंगुईं पुगिछाड्यो। ठूलो रडाको मच्चियो।’

‘ई… । यो चिनो त्यो बेला मैले खाएको मारको।’ गेरु वस्त्र थोरै उघारेर कुहिना भन्दा एक ईन्च जति माथि चार ईन्च जति लामो खत देखाउँदै भने। ‘पिटाई कति खाइयो खाइयो। बयान गरी साध्य छैन। गुन्डा लगाई लगाई पिटाए। अहिले सम्झिँदा सिनेमाको कथा जस्तो लाग्छ। तर भोग्ने म, मलाई मात्र था’छ कि पिटाई, हेपाई, गाली, तिरस्कार के हो भन्ने कुरो।’

म स्तब्ध थिएँ। बोल्ने शब्द भेटिरहेको थिइनँ।

‘उता मुनालाई घरमा नजरबन्द गरेछन्। रोई रोई हालत खराब भएको कुरो उनकी साथीले आएर सुनाउँथी। साह्रै निरीह महसुस गर्थेँ । मेरो बुवा आमाले पनि मलाई नै दोषी माने। मलाई आफ्नो धरातलमा नबसेको भन्ने आरोप आइलाग्यो।’

‘पिरतीले दिने पीडा भोग्दा मात्र थाहा हुन्छ। भोग्नेलाई मात्र थाहा हुन्छ। मनमस्तिष्क अन्य प्रयोजनका लागि बेकार बन्दो रैछ। तर्कना सिवाय दिमाग शुन्यप्राय। दिनरातको छटपटी। दिनरातको मानसिक कोलाहल । मुनालाई पनि शायद त्यस्तै हुँदो हो। बिचरी।’

निक्कै बेर चुप लागेपछि भने, ‘अनि एक दिन जे नहुनु थियो त्यही भो। मुनाले आत्महत्या गरी।’

म निःशब्द भएँ।

‘उनको बिहेको कुरो चल्न थालेपछि सबै ढोका बन्द भ’को महसुस गरिछे क्यारे। होपलेस लाग्यो होला। अरू कुनै उपाय देखिन होली। मरी।’

बाबाजीको आँखा हेरेँ। ओभानो थियो। मानौँ रोई रोई आँसु सकिसकेको थियो। पीडा त देखिन्थ्यो तर त्यसबाहेक पूर्ण रूपमा एक्स्प्रेशनलेस, इमोशनलेस।

‘मर्नेहरूलाई कायर भन्छन्। तर मर्न त बहादुरी पो चाहिन्छ। मैले भने आफूलाई मार्न सकिनँ। म आफू कति कमजोर रैछु भनेर त्यही बेला थाहा पाएँ। तर म भित्रभित्रै मरिसकेको चैँ थिएँ। आई वाज डेड फ्रम ईन्साइड, यु सी। दिमागको तार चुँडेसरि भो। सन्तुलित रहिनँ। छ महिना लगनखेलको मानसिक अस्पतालमा बिताएपछि पनि म पूर्ण रूपमा सद्दे भइनँ। मुनाको मृत्युको दोषी म आफैलाई मानिरहेँ। तर मैले यो मान्न सकिनँ कि दोष मेरो होइन। दोष त हाम्रो समाजको हो। जातभातको कहालीलाग्दो पर्खालको हो। आफ्नो अनुकूलताका लागि कसैले बनाएका मिथ्या नियमहरूको हो।’

‘… अनि म विरही भएँ।’ लामो सुस्केरा हाल्दै उनी उठे। झोला भिरे। सरसामान बटुलबाटुल गरेर म पनि उसैगरि हिँड्न तयार भएँ। हिँड्दै भने, ‘म टुटिसकेको थिएँ। विरह अग्निमा जलेर म बस्न सकिनँ। शीतलताको खोजीमा म भौंतारिरहें। कहिले कहाँ, कहिले कहाँ। अन्तमा देवघाटमा एक महिना बसेपछि उतैका जोगीहरूको सङ्गतिले यस्तो वस्त्रधारी बनेँ। तर अझै म मुनालाई भुल्न सकेको छैन। म अझै त्यागी बन्न सकेको छैन। म भित्र अझै त्यही श्याम ज्युँदो छ, जो कुनै समय मुनाको प्रेमी थियो। त्यसैले त भनेको, आई एम नो हर्मिट, एट लिस्ट नट फ्रम इन्साईड। आवरणले जोगी देखिन्छु, तर भित्र म उही छु जस्तो लाग्छ। पहिलेकै श्याम।’

केही सोचेर फेरि थपे, ‘तर नो कम्प्लेन्स। यही हुनु लेख्या रैछ। भयो । लाइफ ईज अल सेट । पूर्वनिर्धारित हुन्छ जीवन। हामी त बस जिन्दगीको खेल खेल्दै जान्छौँ।’

सँगै हिँड्दै गर्दा मलाई यस्तो लाग्यो कि म त्यस्तो जोगी रूपधारी व्यक्तिसँग हिंड्दैछु जो ती यावत् घटनाको बदला स्वरूप अनि सामाजिक कुरीति विरुद्ध क्रान्ति गर्नु भन्दा शान्तिको मार्ग अपनाउनु उचित ठाने। कोही यसलाई उनको कमजोरी सोच्दा हुन्, तर हुन सक्छ उनले जे गरे ठिक गरे। उनले धर्ममा लागेर आफू शान्तिप्रिय रहेको परिचय दिए। कैयन् अरू यस अवस्थामा धर्मै परिवर्तन गर्दैछन्। पलायन हुंदैछन्। कतै तिनीहरूले शान्तिपूर्ण क्रान्ति गरिरहेका त होइनन्?

छेवैबाट कसैले बाइक कुदाएर लग्दा म झसङ्ग भएँ। कुन बेला दक्षिणकाली पुगियो होसै भएन। दिउँसोको तीन बज्न लाग्दा पनि माईको दर्शन गर्नेहरूको भिड बाक्लै थियो – दसैँको बेला, त्यसमाथि शनिवार परेर होला।

दर्शन पश्चात् छुट्टिने बेला जाँदाजाँदै उनले खिसिक्क हाँस्दै भने,
‘तर… तर अब यो गेरु वस्त्रको खोल ओढेपछि भने कसैले मलाई मेरो जात के हो भनेर सोध्दैनन्। मैले छोएको पानीमा अब कसैले प्रश्न गर्दैनन्।’

म ऊ लमक्क लमक्क हिँड्दै भिडमा ओझेल भएको हेरिरहेँ। ओझेल नहुन्जेल हेरिरहेँ।

*समाप्त*

“सेतोखबर”मा पूर्वप्रकाशित

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.