~ममता पन्त मिश्र~
म तिमीबाट धेरै टाढा, सात समुद्र पारी रहँदा पनि
तिमी सधैँ मेरो सम्झना माझ, मुस्कुराई रहेको हुन्छौ
बर्षौ वर्ष बितेछ तिमीलाई छोडेको पनि
त्यै पनि तिमी सधैँ मेरो मुटु माझ, बास बसेको हुन्छौ
मेरा हर खालि घडीहरूमा, मेरा मनका हर तरङ्गहरूमा
म तिम्रै आगनीमा खेलिरहेको हुन्छु
तिम्रै मादलको घन्काई, अझै गुन्जिन्छ यो दिलमा
अझै म तिम्रै सोरठी भाकामा गुनगुनाई रहेको हुन्छु
उही सूर्य उदाउँछ यहाँ
त्यै पनि किन, तिम्रै घाम प्यारो लाग्छ
उही चन्द्रमा आकाशमा यहाँ
त्यै पनि किन, तिम्रै आकाशमा चन्द्र शीतल लाग्छ
युग युग बितेछ कर्मभूमिमा
तर तिम्रो माटोको सुवास भुलेको छैन
तिमी जस्तै माया गर्नेहरूको भिड यहाँ पनि
तर मैले तिम्रो माया भुलेको छैन
जति दिएनी कर्मभुमिले, तिम्रै माया लाग्छ
सबै भन्छन् प्यारो हुन्छ कर्म दिने
तर जन्मभूमि तिमी सधैँ प्यारो लाग्छ
– ममता पन्तमिश्र (प्रकाशित समाचार दैनिक ६ अप्रिल २०१९)
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाइएको । )