~नवराज शमीर~
“ तपाइ ’फालु’ आन्दोलनको सिकार हुनु भएछ ।“
यो वाक्यले बृटिश गोर्खाका पूर्व जमदार बाघ बहादुरलाई नराम्ररी झस्कायो । उनी नगरपालिकाको भवन शाखा को कुनै कोठामा उभिरहेका थिए । उनको कानैमा मुख ल्याएर शाखाका पियन रूपधारी एउटा मान्छेले उसलाई यो वाक्य भनेथ्यो । उसले सो ख्याउटे पियन रूपी मनुवालाई एकातिर लगेर सोध्यो –
“ के हो यो ’ फालु’ आन्दोलन भनेको ? “
“कर्मचारीहरूको गोप्य आन्दोलन हो यो ।“
मनुवाले आँखा गोल गोल पार्दै भन्यो ।
“ यो आन्दोलन यहाँ मात्रै कि अरू ठाउँ पनि छ ?“
छक्क मानेर बाघेले सोध्यो ।
“ देशै भर आन्दोलन जारी छ !“
बिचरो बाघ बहादुर टोलायो । निराश भयो । त्यो पियनरुपी मनुवा त्यहाँबाट गयो । बाघ बहादुरले नजिकै को हाकिमलाई हेर्यो । हाकिम घुम्ने मेचमा लमतन्न परेर आँखा समेत चिम्लेर उग्राइ रहे झैँ केही चपाइ रहेथ्यो !
“ ए हाकिम साहब, मेरो काम हुँदैन आज ?“
बाघ बहादुरले हिम्मत बटुलेर केही ठुलो आवाजमा सोध्यो ।
“हुन्छ । खै टिप्पणीको कागज छ तपाइसँग ?“
हाकिमले आँखा समेत नखोली हात पसारेर यसो भन्यो ।
“टिप्पणी उठाएर पठाइ सकेको छ रे !“
बाघ बहादुर केही कड्क्यो ।
“त्यसो भनेर हुन्छ ! टिप्पणीको कागज यहाँ मेरो टेबलमा आउनु पर्यो तब काम हुन्छ !“
यस पटक हाकिमले पल्याकपुलुक आँखा खोलेर हेर्दै भनेथ्यो ।
“ए हजुर , म कहिले आउट अब ?“
बाघ बहादुरले हैरान बनेर सोध्यो ।
“ जहिल्यै आए पनि स्वागत छ । मलाइ चाहियो टिप्पणीको कागज !“
बाघ बहादुर लखतरान बनेर कोठाबाट बाहिर आयो । उदास बनेर सिँढीबाट तल झर्यो । सडकमा आएर ठिङग उभियो । बिचरो ! निराश भावमा हिँड्न थाल्यो । एउटा घर बनाएर बहालमा लगाएर बाकी जीवन मजाले बिताउने उनको सपना अपुरो बन्दै गए जस्तो भै राथ्यो ।
“ यी कर्मचारीहरूले पनि दिक्कै लगाए ।“
कोठामा पुग्ना साथ सोफामा थ्याच्च बस्दै जिम्दार बुढो यसरी फतफतायो ।
“ हैन के भयो आज फेरि ?“
जम्दार्नी ले सोधिन ।
“ आन्दोलन गरिराख्या रै छन् डाम्नाहरुले !“
“ सबै आन्दोलन सक्यो भनेको होइन ? फेरि कुन आन्दोलन थाले तिनेरुले ?“
जम्दार्नीले झिँजो माने झैँ गरेर सोधिन ।
“ डाम्नाहरुले ’फालु’ आन्दोलन थालेछन् !“
“हैन के हो यो ’फालु’ भन्या ?“
बाघ बहादुर पनि अवाक् बने । उसलाई नै थाह छैन यो ’फालु’ आन्दोलनको बारेमा । खाटमा उत्तानो परेर आँखा चिम्ली राखेको बाघेलाई मनमा शङ्का उब्ज्यो । कतै मैले गलत त सुनिन ? फालु नभएर कतै भालु आन्दोलन त होइन ? अथवा आलु आन्दोलन पो हो कि ! फालु भन्ने त शब्दै हुँदैन । यो आन्दोलनको बारेमा भोलि सबै पत्तो लगाएर मात्र घर आउँछु ! यदरी बाघेले अठोट गर्यो ।
भोलि पल्ट बाघे भात निलेर सिधै नगरपालिका हान्नियो । जाडो महिना । घामको मधुरो प्रकाश । प्राय सबै कर्मचारी माथि छतमा घाम तापेर बसेका रहेछन् । बाघ बहादुर त्यहाँ पुग्यो । सबैलाई सर्सर्ती हेर्यो ।
“ ए बाघ बहादुर दाइ , के मुसा जस्तो लुत्रुक्क परेर उभिनु भा को ! भन्नुस् के काम पर्यो ?“
हाकिमले सोधिहाल्यो ।
“ ए हजुर यो ’फालु’ आन्दोलन भनेको के हो ?“
बाघ बहादुरले हैरान भए झैँ गरेर सोध्यो ।
एउटा तालु खुइले कर्मचारी ले भन्यो(
“ यो अति गोप्य आन्दोलन हो ! भित्र भित्रै चली राख्ने आन्दोलन हो यो ।“
अर्कोले तत्कालै थप्यो-
“ अरू आन्दोलनमा नारा जुलुस लाग्छ । कालो पट्टि र प्ले कार्डहरू चाहिन्छ । यो आन्दोलनमा केही पनि चाहिँदैन । हामी कर्मचारीहरूमा अति लोकप्रिय छ यो आन्दोलन !“
“ हजुर यो आन्दोलन कहिले सम्म चलिरहला त ?“
बाघेको जिज्ञासा ।
एउटा भुँडे भुँडे खालको कर्मचारी बोल्यो-
“अनिश्चित छ ! यो निरन्तर चलिरहने आन्दोलन हो । यो चलिरहेको छ तर यसले मान्छे हेरेर असर गर्छ । यसको मूल लक्षण भनेको काम हुँदा हुँदै अचानक काम ठप्प हुनु हो !“
“म पनि यो ’फालु’ आन्दोलनको सिकार भए हजुर !“
“न आतिनोस! यता आउनुस् । म उपाय सिकाउँछु तपाइलाई !“
यसो भनेर त्यो भुँडे कर्मचारीले बाघ बहादुरलाई एक कुना तिर तान्दै लग्यो । त्यहाँ खास्खास खुस खुस कुरा चले । सहमति भए पछि भुँडे अरू कर्मचारीहरू सामु गयो र उत्साहित भावमा बोल्यो(((
“ ल जिम्दार साहेब सम्झौतामा आउनु भो । अब उहाँको लागि ’फालु’ आन्दोलन खारेज !“
सबैले ताली बजाएर समर्थन गरे । त्यस पछि अचम्म भयो । कर्चारीहरु तत्काल सक्रिय भए । करिब आधा घण्टा पछि कार्यालय कक्षबाट बाहिरिँदा बाघ बहादुर बेहद खुशी देखिन्थे । उनी प्रफुल्ल मुद्रामा घर लागे ।
राती बुढा बुढी बिच कुराकानी भयो ।
“ हेर बुढी अब हाम्रो घर बन्ने भो ! “
बाघेले गमक्क परेर भन्यो ।
“ नक्सा पास गर्नै एक वर्ष लाग्यो ! “
“जे भए पनि काम त भयो नि !“
“ अनि त्यो ’फालु’ आन्दोलन सकियो त ?“
जम्दार्नीले सोधिन।
“ फालु आन्दोलन त सकिगो नि । आन्दोलनकारीहरूको मुखमा हरियो नोट हाल्देको आन्दोलन त पुरै स्थगित भै हस्ल्यो नि !“
“हैन के रहेछ त्यो ’फालु’ आन्दोलन ? “
“ ए त्यो कर्मचारीहरूले अतिरिक्त लाभको लागि चलाएको आन्दोलन रहेछ !“
“भनाइको मतलब ?“
“फाइल लुकाऊ आन्दोलन !काम हुँदा हुँदै फाइल लुकाइदिने ! फाइल लुकाएर सेवाग्राहीलाइ अप्ठ्यारोमा पार्नु त्यो आन्दोलनको मूल उद्वेश्य रहेछ !“
“बाबा ! हाम्रै नेपालका कर्मचारीहरूले जान्या रैछन नाना थरी कुरा !“
“त्यसका बाउको फालु आन्दोलन!“
यति भनेर बाघ बहादुरले दोलाईले ग्वाम्म अनुहार छोप्यो र ओढ्ने भित्र खित्का छोडेर हाँस्यो ।
–. समाप्त .–
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाइएको । )