~मीना सुब्बा~
अब म पी.टी. उषा सपनाको
रंगीन छाता ओढ़ी लजाउने दुल्ही कल्पनाको
कति साँझ बार-बार फर्किआएँ
कति बिहान बार-बार घुमिआएँ
तर मावला खान गएको मेरो यौवन फर्किआएन
नाला-पानी, भोक र थोकको व्यथाले
मेरो यौवन मुर्झाएको छ
तीतो, टर्रो, उकालो ओह्रालोले
मेरो स्फुरण खोरोन्डिएको छ।
कलेटी पल्टेको फलेदोले फेरि पाखै रातो बनाएछ
डामै-डाम बोकेको पैह्रोलाई हरियालीले छोपिदिएछ
समय, तिमी धेरैको निम्ति र म तिम्रो निम्ति भइदिन सकिनँ
संघर्षमा नै मेरो उमेर चुहेर गइसक्यो
तिम्रै प्रबल प्राङ्गणभरि मेरा अभिलाषाहरू वलात्कृत भए
आज घुँड़ाको शिथिलतालाई यसरी सम्झौतामा डोहोऱ्याउँदैछु
आँखामुनि झुण्डिएको लोतीलाई स्वीकृतिमा पाल्दैछु
तर पनि तिम्रो अथक प्रवाहलाई
भन म कसरी पक्षपात भनूँ?
समय, तिम्रो अपार थपेड़ालाई
भन म कसरी कमजोर भनूँ?
(- कविता सङ्ग्रह “स्पृहा”-बाट सभार)
(स्रोत : रचनाकार डट कम)