~कुबेर काका~
कृषि प्रदान देशको साधारण किसान(किनेर सामान नखाने)को छोरो थिएँ म । स्कूल पढदा लेखा नपढने कृषि शिक्षा पढने भनेर मनसाय राख्दा लेखा पढने साथी रेवती पराजुले प्रश्न पत्र हेर्न नदिएको र खोसाखोस गर्दा च्यातिएकोले पन्ध्र बर्ष बोलचाल नभएको । बाह्र बजेको टण्टलापुर घाममा प्रयोगात्मक परीक्षा भनेर बङ्ग बङ्गी आलु रोप्न खनेको । त्रियुगाको फाँटमा कुलो नलाग्ने सात कठ्ठा भिटामा सञ्चय कोषको ऋण झिकेर पानी निकालेर तीन बाली फसल लगाएको । व्यवसायिक खेती गर्न बारी भरी विजुलीको तार टाँगेर बारी झलमल्ल पारेर महिनौसम्म रात भरी काम गरेको । रसाईनिक प्रयोग गर्दा बारी बाँझिन्छ भनेर कम्पोष्ट मल हाल्न भैसी पालेर कार्तिक मंसिरमा पराल किन्न प्रत्येक साल भौतारिएको । केटाकेटीलाई रोई दिए भै हाल्छ पाहुनालाई आई दिए भै हाल्छ । खिसी गरेर उपहास गर्नेले हाँसो उडाई दिदा भई हाल्छ । कति पल्ट रोप्न उलेखेर राखेको वीउ सुक्यो । कति पल्ट मोटर चलाएर गजारेर राखेको खेतको माटो सुक्यो । कहिले जोत्ने ट््याक्टर नआएर त कहिले रोप्ने मजदुर नपाएर ।
आफू गर्न नसक्ने, सम्पूर्ण काम अन्यबाटै गराउनु पर्नेे ,बाली लगाउदाको लगानी समेत हिजो आज उठन छोड्यो । दिन दिनै मजदुरको ज्याला महगिएको छ । पहिलेको भन्दा कार्य क्षमतामा ह्रास हुदै आएको छ । घरबाट काममा निस्किदा मोवाइलमा समय हेरेर निस्कन्छन । खाजा खाना मिठो र उनीहरुको मन परेको व्यवस्था गर्नु पर्दछ । खाजा खाने बेला टरी सक्यो कि भनेर मोवाइलमा समय हेर्छन । खाना खाने बेला टरी सक्यो कि भनेर मोवाइलमा समय हेर्छन । जाने निर्धारित समय त टरेन भनेर पनि बेला बेलामा मोवाइलमा समय हेर्छन । सबै मजदुरसंग मोवाइल छ । मोवाइल नहुने मजदुर छैनन भन्दा पनि मजदुर नै हैनन भन्नु पर्ने भएको छ । मेलामा हुदा जस्को सुकै मोवाइलमा घण्टी बजोस सबैको हात रोकिन्छ । कस्ले फोन गरेछ भनेर उभिन्छन । मोवाइलमा कुरा गर्न थाले पछि कुरा सुन्न काम छाडेर झुण्डिन्छन । मेलाबाट निक्लिना साथ बेलुकाको सिदा र ज्याला तुरुन्त चाहिन्छ । बेलुकाको खाना खानुभन्दा पहिले दिन भरीको थकान मेटाई दिनु पर्छ । त्यो भएन भने अर्को पल्ट बोलाउदा आऊँदैन । खेती लगाउने बेलामा पनि कामको मारामार पर्छ । खेती उठाउने बेलामा पनि कामको चापाचाप पर्छ । मजदुर जहाँ आफूले भने जस्तो खान पाऊँछ । जुन कृषकले कामको लागि कचकच गर्दैन । जस्ले काम सकिने वित्तिकै ज्याला गनी दिन्छ । बेलुका सिदा भरी दिन्छ । थकान मेटाउने व्यवस्था गरी दिन्छ । उसैकोमा सहजाएर जान्छन । कतिलाई गुहार्नु कतिलाई पुकार्नु भनेर दुई चार मुरी मकै धान गहु माया मारेर केरा खेती गर्दा गवारोले केरा विग्रिएर जिल्लिनु परेको झल्झली आँखामा नाची रहेको छ ।
आजभोलि कृषि योग्य जमिन बाझिन थालेकोे छ । खेती अव जस तसले गर्न नसक्ने भएको छ । संझदा भित्र भित्रै बलेको छ । पानी देखि नूनसम्म हिङ्गदेखि हर्दीसम्म सबै किनेर नै हाल्नु पर्ने भएको छ ।
हामी कृषि प्रधान देशका किसान ( किनेर सामान नखाने ) मान्छे । अव त अव्यस्त भई सक्यौ । धान आयात भएर आऊँछ । चामलको बोरामा नेपालको भनेर देखाइन्छ । आलु प्याज लसुन आयात भएर आऊँछ । दालमा ढुङ्गा मिसिएर आयात भएर आऊँछ । भुटुनमा झाँस मिसिएर आयात भएर आऊछ । मसलामा भुस मिसिएर आयात भएर आऊछ । हर्दिमा पिठो मिसिएर आयात भएर आऊँछ । नून आयात भएर आऊँछ । मासुको लागि कुखुरा आयात भएर आऊँछ । माछा आयात भएर आऊँछ । दुध प्याकेटको आयात हुन्छ । फलफूल आयात भएर आऊँछ । हामीसंग हाम्रो भन्ने केही छैन । न कुनै खानेकुरा छ । नकुनै शरिरमा लगाएको बस्त्र छ । नघरमा भएको कुनै सामान छ । हामी नै संवृद्धिको सपना देखी रहेका छौ । सम्पन्न हुने उच्च आँकक्षाको आँखामा बाँधेको पट्टी नखोली हा हा र हो हो को पछि दौडी रहेका छौ ।
जस्को अन्य कुनै सिप र विकल्प छैन । जो आफ्नो श्रम बैदेशिक श्रम बजारमा विक्री गर्न विविध कारणले सक्तैन । शरीर बनाउन जीम नगई शारीरिक रुपमा खटन सक्छन । नेताले लिएको सापटी जस्तो नगरी पर्म तिर्न पनि फुर्सदिलो छन । छोरी बुहारीहरु रिचार्ज कार्ड किन्न माग्दछन । जनशक्ति घरभरी टन्न छन । जस्ले मजदुर लगाउन पर्दैन । त्यस्ताको लागि मात्र कृषि पेशा लाभ दायक भएको छ ।
जो खेतबारीमा समय दिन सक्तैन । शारीरिक श्रम गर्न सक्तैन । परिवारको जनशक्ति छैन वा भएको पनि खेतीमा परिचालन हुदैनन भने त्यस्ताकोे लागि भएको खेत बारी पितृको नासो गलाको पासो देख्नेलाई हाँसो भएको छ । खेती गरौं भने बाली लगाउदा गरेको लगानी उठदैन । बेचौ भन्यो । विक्री हुदैन । के गर्ने के नगर्ने भएको छ ।
मल–खाद, विऊ– विजन, विषादी –औषधि, पानी छिटने हजारीदेखि जोत्ने ट््याक्टरसम्म सबैमा सरकारले कृषिमा अनुदान दिन्छ । कृषक समूह बनाएर दर्ता गर्नु पर्छ भनेर पहल गरियो । कृषकको समस्या समाधान गर्नका लागि कृषिमा लागत अनुसारको आम्दानी नभएकोले मानव जनशक्ति न्यूनिकरण गर्न यान्त्रिकी करण गरेर कृषि व्यवसायलाई उत्थान गर्न सम्बन्धित निकायसंग समन्वय गरियो । अनेक कृषक एक विऊ प्रयोग गरेर समान उत्पादनलाई प्राथमिकता दिइने छ भनेर विधान बनाएर समूह गठन गरेर दर्ता पनि गराइयो ।
सिजन अनुसारको वीउ विजन माग गरियो । बीउ वीजन कहिले उपलब्ध हुन सकेन । कृषि कार्यालयका प्राविधिकबाट बजारमा खरिद गर्ने सल्लाह पाइयो । समूहले मेसिनरी सामान खरिद गर्दा लापरवाही हुन्छ । समूहको सदस्यले लगानी गरेर अनुदान सहयोग लिने र समूहका सदस्यहरुलाई सहुलियत दर रेटमा जोत्ने धान रोप्ने र काटने उद्देश्यले माग गरेर पठाईयो । एक महिना अगाडि रकम जम्मा गराईयो । सामान आयो त आयो माग अनुसारको आएन । जोत्ने हाते ट्याक्टर मात्र आयो रोप्ने मेसिन आएन । दरभाऊ मिलेको छैन अर्को बर्षको योजनामा पर्छ भनेर आस्वस्त गराइयो ।
कृषिको नाममा दिने अनुदान त हात्तीको देखाउने दाँत मात्र रहेछ । कृषिले मूल्य कायम गरेको हरेक सामानको मूल्यको ६०% देखि ७०% मा बजारमा सामान पाइदो रहेछ । कर्मचारीको नजिक नभई अनुदानको सामान सबैले पाउदा रहेनछन । अनुदानमा सामान लिनेले बजारको भन्दा अलिकति भए पनि सस्तो पाऊँदो रहेछ । अनुदान लिने पनि तै चुप मै चुप हुदो रहेछ । सरकारले अनुदान दिएको अनुदानमा कर्मचारी, सामान आपूर्ति गर्ने व्यपारी र खरिद गर्नेको रजाई हुदो रहेछ । अनुदानमा दिने सामान सरकारले खरिद गर्दा निर्माता कम्पनीबाट अनुदान भनेर लेखाइएको छैन । कानूनी चेतावनी देखाईएको छन । जसले जे गरेपनि भएको छ । समूहको सदस्यको नाम लिष्ट तयार गरेर विउ विजन बजारमा विक्री भएको छ । त्यही गुनासो कसलाई सुनाउने ठाऊँ नै छैन । खोर बनाएर बाख्रा पालनको शीर्षकमा अनुदान लिएर सभासदको चुनाव लडने पनि हामै्र साँसद छन । चुर्लुम्म ऋणमा डुबेर स्थानीय सरकारमा चुनाव जितेर ऋण असुल्न जनताको चासो भन्दा कमिशनको पासोमा बाँधिएर विरोध गर्नेहरुलाई ल्यावटप वितरण गरेर मुखमा बुझो कोची दिने पनि हाम्रै सरकार प्रमुख हुन । धान रोप्ने असारको पन्ध्रमा बाजा गाजा बजाउने व्यवस्था गर्न मन्त्रालयले मातहतको कार्यालयलाई निर्देशन दिन्छ । उदघाटन गर्न मन्त्रीले प्रमुख आथित्यको हुने लोभमा समय दिन्छ । कति लगानी के केमा खर्च हुन्छ । मैले उदघाटन गरेको खेतीमा कति प्रतिफल प्राप्त हुन्छ । मन्त्रीले कसैलाई सोध्दैन । तर के के को व्यवस्था छ भनेर खोज्छ । मन्त्री हिल्याएको खेतमा पस्छ । टन्न सोमरसमा डुबेर बेसुर भएर हिलोमा बस्छ । जीऊमा हिलो घस्छ । धानको विऊ रोपेर रोपाई उदघाटन होइन तरुनीको जीउमा अँगालो कसेर प्रेमको वीऊ रोपेर फलाउन खोज्ने व्यक्तिलाई साँसद बनाउने पनि हामी । त्यस्ता व्यक्तिलाई सभासद र मन्त्री बनाउने पनि हाम्रै देशको राजनीति पार्टी । पाखे भिरमा जन्मिएर निजामति कर्मचारी भए पछि सहर बजार र राजधानीमा घरबार जोडेर छोरा छोरीलाई आधुनिक शिक्षा दिलाउन खाएको तलब भत्ता भन्दा महगा बोर्डिङ्ग स्कूलमा पढाउने पनि हाम्रै दाजु भाइ हुन । जसले जे गरे पनि देश बनाउने महा अभियानमा लागेका राजनीति दलको छहारीभन्दा पर कोही छैन । राजनैतिक दलको छत्र छायाँ भन्दा पर कोही पनि छैन । सरकार चलाउने पनि हाम्रै दलका मान्छे । अनुदान दिएको छ भनेर सपना बाँडने पनि हाम्रै दलका मान्छे । प्रतिपक्षमा बसेर कामको समर्थन गर्ने पनि हाम्रै मान्छे । अनुदान निकासा गराउने पनि हाम्रै मान्छे । सामान आपूर्ति गर्न लगाएर दर भाऊ मिलाउन सल्लाह दिने पनि हाम्रै मान्छे । अनुदान रुपी भैसी वियाउदा विगौति बाढेर खाने पनि हाम्रै मान्छे । देश बनाउन लागि पर्ने पनि हाम्रै मान्छे । विदेशी सामान आयात गरेर स्वदेशमा उत्पादित सामान उत्पादन गर्न निरुत्साह गरेर विदेशको गुलामी गर्न लगाएर परनिर्भर बनाउन भूमिका खेल्ने पनि हाम्रै मान्छे । पराई भएकाहरुले त भदाहा, मावली र साला सालीलाई नागरिकता सहित मतदाता बनाएर आफ्नो बनाई सके ।
अव तपाई नै भन्नुस त कहाँ कस्को विरोध गर्न जाने । को छ हाम्रो कुरा खाने । कागज पत्र मिलाए कै छ । नियन्त्रण गर्ने निकायमा भाग पु¥याए कै छ । हाम्रो संवृद्धिमा घुन पसी सकेको छ । बोल्नेको घाँटी बसी सकेको छ । सक्नेले जे गर्दा पनि भएको छ । नसक्ने धुरुधुरु रोएकै छ । गुनासो सुनाउन जाने कही ठाऊँ नै छन । सुनी दिने कोही जीउदा मान्छे नै छैनन । जहाँ गए पनि सबै द्रव्य पिचास नर कंकाल मात्र भेटिन्छन । स्वार्थको पछि लागेको मात्रै देखिन्छ । त्यसैले त उच्च शिक्षा हासिल गर्ने निहुँमा युवा जमात विदेश पसेका छन । जहाँ गयो त्यहीको पि.आर लिएर बसेका छन । वाक्क दिक्क भएर ।
कुबेर काका
तित्री गाछी, जलजले उदयपुर
उदयपुर सिमेण्ट उद्योग लिमिटेडमा कार्यरत
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )