~राजेन्द्रप्रसाद अर्याल~
दुर्भाग्य !
जे नहुनुपर्ने थियो त्यही भयो
विवेकहीन र निर्दयी कालले पनि
असल मान्छे नै छान्दोरहेछ
अफसोच !
अन्यायपूर्वक अनि बलजफ्ती
जिन्दगीको जागिरबाट
मेरो हेड सरलाई मृत्युले
अल्पायुमै छिनेर लग्यो
हाल मोहन सर हुनुहुन्न
त्यो समय पनि छैन
अपितु
ती समयभन्दा प्रीतिकर छन्
वहाँका संझनाहरू
त्यही समयको उज्यालोमा
हेड सरसंबन्धी कविता
अश्रुमसीले लेखिरहेछु म।
मोहन सर एउटा शैक्षिक धामी हुनुहुन्थ्यो
गाउँगाउँबाट पीर बटुल्नु भयो
सहर, वस्तीका दुख: बुझ्नुभयो
निदानस्वरूप जीवनभर
शैक्षिक जागरणको ढ्याङ्ग्रो ठोक्नुभयो
एउटा सामान्य स्कूलको गोठालो हुँदा पनि
कल्पनाको स्विटर बुन्न छाडनु भएन
आशाको दियो बालिरहनु भयो
निरन्तर कर्ममा क्रियाशील मोहन सर
क्याम्पसको संस्थापक प्रिन्सिपल हुँदै
विश्वविद्यालय सभामा पुग्नुभयो
शैक्षिक जागरणका क्रममा
जेलसमेत बस्नुभयो
यसरी मेरो हेड सरलाई समयले
निरन्तर हिर्काइरह्यो, हिर्काइरह्यो
र नै त मोहन नारायण हुनुभयो
जसरी गण्डकीको पानीले हिर्काएको
एउटा फुस्रे ढुङ्गा शालिग्राम मानियो।
हेड सरले स्वार्थको टपरी कहिल्यै थाप्नु भएन
पापको बाघचाल खेल्नु भएन
अनि त
सर्पको मुखमा परेको
लुँडोको गोटी हुन परेन
न त कोमल फूल चुँडेर नै
पथ्थरमा चढाउनु भयो
सुकिलो पहिरनभित्र
मनको कालो लुकाउनु भएन
दुर्जनहरूका चाहनाको आकारमा
बस्न राजी हुनु भएन
हेड सरको आदर्श पक्ष सबल थियो-
“ बरू तस्बीरमा माला लागे लागोस्
अपितु, कसैको पाउमा शिर झुकाउँदिन”।
शिक्षा, समाजसेवा र मोहन सर
त्रिखुट्टीका तीन पिलर भए
हेड सरको देनको सारङ्गीले
समाजलाई ब्युझायो
वहाँको कर्मको सुवासले
हाम्रो माटो मगमगायो
आँखामा बस्ने हजारौँ हुन सक्लान्
तर मोहन सर हाम्रो मुटुमा नै रहनुभयो
आफु जन्मेको भूमि नै
आफ्नो ‘चिनारी’ ठान्ने मेरो हेड सरले
प्रशंसा र इज्जत कहिल्यै माग्नु भएन
आफ्नै पौरखले कमाउनुभयो
मोहन सरको विद्यासँग विनम्रता थियो
र त मगमगाउँदो श्रीखण्ड हुनुभयो
मेरो हेड सर समय भएर जन्मनुभयो
मैले वहाँलाई घडी मानेर पहिरीरहेँ
फगत घडी मानेर पहिरीरहेँ।
—राजेन्द्रप्रसाद अर्याल
गोरखा बजार
हाल – म्याडिसन, विस्कन्सिन,अमेरिका ।
(स्रोत : रचनाकार स्वयंले पठाउनुभएको । )