नाटक : स्माइल प्लीज !

~जेबी दर्लामी ‘सिरुखर्के जेठा’~Sirukharke Jetha

दृष्य १

एउटा महँगो कार पक्की सडकमा गुड्दै आउँछ । टाईसूटमा सजिएको एकजना अद्र्धवैँसे मानिस कारको पछिल्लो सिटमा आइप्याड र विभिन्न फाईलहरु हेर्दै बसिरहेको छ । कार ड्राइवरले चलाएको देखिन्छ । एउटा भव्य भवनको अगाडि आएर कार विस्तारै रोकिन्छ । टाईसूटवाला मानिस कारबाट बाहिर निस्कन्छ । उसको झोला, फाइलहरु, आइप्याड आदि सम्हाल्दै ड्राइवर पछिपछि आउँछ ।

त्यो भव्य भवनको मुख्य ढोका बन्द छ र त्यहाँ एउटा रिबन टाँगिएको छ । केही मानिसहरु झुरुप्प भेला भएका छन् । तिनीहरुले उसलाई अतिशय भक्तिका साथ नमस्कार गर्छन् । उनीहरुले एकै स्वरमा अँगे्रजीमा ‘गुड मर्निङ सर’ भन्दाखेरिको आवाज कुनै गुम्बाबाट आइरहेको सामूहिक कोरस गानजस्तो सुनिन्छ ।

ढोकाको माथितिर एउटा बोर्ड टाँगिएको छ जहाँ त्यस कम्पनीको नाम अँकित छ । दृष्यबाटै थाहा पाउन सकिन्छ कि आज यो भवनमा उद्घाटन कार्यक्रम छ ।

एकजना मानिस माइक्रोफोन समात्दै बोल्न थाल्छ—
‘आज हामी यस कम्पनीको आठौँ शाखाको उद्घाटन गर्न गइरहेका छौँ । यस समारोहमा पाल्नुभएका सबै अतिथिहरुसँगै म पत्रकार साथीहरुलाई पनि हार्दिक स्वागत गर्दछु । यो देशको विकासमा यस कम्पनीले पु¥याएको योगदानको चर्चा गरिरहन आवश्यक देख्तिनँ । त्यो कुरा तपाईँहरुसामु घामजत्तिकै छर्लङ्ग छ । हामीसँग अहिले पाँचहजार मानिसहरु प्रत्यक्ष रोजगारमा जोडिएका छन् र लाभान्वित हुनेहरुको सँख्या त लाखौँमा छन् ।

श्री भोलेमन थापाज्यूले यो कम्पनीको जग आफैले खन्नुभएको हो । रातदिन मेहनत गरेर उहाँले यस कम्पनीलाई यहाँसम्मको उचाईमा ल्याउनुभयो । यो उद्घाटन समारोहमा म धेरै बोल्न चाहन्नँ । हामीसँग श्री भोलेमन थापाज्यू स्वयम् हुनुहुन्छ । आज उहाँकै हातबाट कम्पनीको आठौँ शाखा उद्घाटन गरिँदैछ । यस अवसरमा म श्री थापाज्यूलाई रिबन काटेर यस भवनको ढोका खोलिदिनुहुन र आफ्नो सारगर्भित मन्तव्य राखिदिनुहुनका लागि विनम्रताका साथ अनुरोध गर्दछु ।’

सबैजनाले ताली बजाउँछन् । भोलेमन थापा उठेर अगाडि आउँछन् अनि ढोकामा टाँगिएको रिबन काटेर भीडतिर फर्कँदै हात हल्लाउँछन् । त्यहाँ उपस्थित कर्मचारीहरुले उछिनाउछिन गर्दै ताली बजाउँछन् ।
त्यसपछि भोलेमन थापा गम्भीर मुद्रामा बोल्न थाल्छन् —
‘यस कम्पनीको स्थापनाका सुरुआती चरणहरु म तपाईँहरुलाई सम्झाउन चाहन्नँ । कुनै पनि कामको सुरु निश्चय नै सजिलो हुँदैन । मैले पनि त्यस्ता अनेकन् अप्ठेराहरुको सामना गरेको छु । अझैपनि गरिरहेको छु । तपाईँहरु यो कम्पनीलाई आफ्नै घर सम्झेर अगाडि बढ्नुस् । तपाईँहरुको सुखमा दुःखमा साथ दिनका लागि यो कम्पनी सदैव तयार छ ।’

उनको कुरा पूरा नहुँदै परररर ताली बज्छ ।

भोलेमन थापा अब पत्रकारहरुबाट घेरिएका छन् । पत्रकारहरुले अनेक प्रश्न गर्छन् । एउटा प्रश्न टड्कारो सुनिन्छ—
‘तपाईँ एउटा सफल मान्छे बन्नुभयो । सफलताको सूत्र के रैछ त थापाज्यू ?’

थापाले जवाफ दिन्छन्—
‘सूत्र नै त यो हैन होला तर यति कुराचाहिँ सबैले मनमा राख्नैपर्दछ कि सफलता कुनै छोटो बाटो भएर हामीकहाँ कहिल्यै पनि आउँदैन । सफलता त घुमाउरो र लामो बाटो पार गरेर मात्रै हामीसम्म आइपुग्दछ । त्यसैले आज सुरु गरेर भोलि नै सफल हुन्छु भनेर कसैले नसोचोस् ।’

‘मान्छे सफल मेहनतले हुन्छ कि प्रतिभाले ?’ यसपटकको यो प्रश्न पनि बुझिनेगरि सुनिन्छ ।

भोलेमन थापाले आफ्नो अगाडि उभिएको भीडलाई ध्यानपूर्वक हेर्छन् अनि केही क्षण मौन रहेर बोल्न थाल्छन्—
‘तपाईँले मेहनत र प्रतिभाको कुरा गर्नुभयो । अझ हाम्रो समाजमा त सफल हुनका लागि भाग्य पनि चाहिन्छ भन्ने चलन छ । हैन र ? तर मान्छे सफल न मेहनतले हुन्छ न त प्रतिभाले । भाग्य भन्ने भ्रममा त कहिल्यै नपर्नुस् । मान्छे सफल मेहनत र प्रतिभाको उचित सँयोजनले मात्रै हुन्छ ।’

‘भन्नाले ?’ सबैभन्दा अगाडि उभिएको पत्रकारले बीचैमा सोध्छ ।

भोलेमन थापाले उसको बिग्रेको कलर मिलाइदिँदै भन्छन्—
‘मेहनतको नाममा तपाईँले निरुद्देश्य काम गरेर पनि हुँदैन । मसँग प्रतिभा छँदैछ नि भन्दै हात बाँधेर बस्न पनि भएन ।’

‘तपाईँको अनुभवमा पृथ्वीको सबैभन्दा सुन्दर चिज के हो थापाज्यू ?’ अर्को पत्रकारले सोध्छ ।

भोलेमन थापाले यसखालको प्रश्नको जवाफ तुरुन्तै दिन सक्दैनन् । उनी अक्मकिएको भाव उनको अनुहारमा देखा पर्छ । केहीवेरपछि यस्तो जवाफ आउँछ—
‘यो प्रश्न मेरो फिलोसफी र मेरो कार्यक्षेत्रभन्दा बाहिरको कुरा हो । तपाईँले यो प्रश्न कुनै साधुमहात्मालाई सोध्नुभए जाती होला ।’

कर्मचारीहरु गलल्ल हाँस्छन् । केही पत्रकारहरु पनि हाँसेका देखिन्छन् तर भोलेमन थापा हाँस्दैनन् । उनको ओँठमा सुरुदेखि नै हाँसो या मुस्कान देखा परेकै छैन ।

उनी हिँड्नै लाग्दा एकजना पत्रकार हतारहतार उनको सम्मुख आउँछ र माइक्रोफोन तेस्र्याउँदै सोध्छ—
‘केही नयाँ काम गर्न खोज्नेहरुलाई तपाईँ के भनेर हौसला दिन चाहनुहुन्छ ?’

भोलेमन थापाले उस्तै गम्भीरताका साथ भन्छन्—
‘डन्ट फर्गेट योर हिस्टोरी
नर योर डेस्टिनी’

दृष्य २

एउटा शानदार क्याबिन । बाहिर ढोकामा मुस्कुराइरहेका बब मार्लेको फोटो छ र फोटोमा मार्लेकै भनाई लेखिएको छ अँग्रेजीमा,
म्यल’त ायचनभत थयगच जष्कतयचथ
लयच थयगच मभकतष्लथ।

महँगो टेबलमा महँगै देखिने डेस्कटप र ल्यापटप छ । डेस्कटपमा कम्पनीको नाम स्पीन हुँदै हल्लिरहेको छ भने ल्यापटपको स्क्रीनमा बब मार्लेको मुस्कानसहितको फोटो छ । अगाडिपट्टि अँग्रेजीमा भोलेमन थापा, सिईओ लेखेको नेम स्टेण्ड पनि छ । एउटा ठूलो घुम्ने कुुर्सीमा भोलेमन थापा बसिरहेका छन् । उनका आँखाहरु नजिकै भित्तामा टाँसिएका फोटोहरुमा स्थीर छन् । ती सबै फोटोहरुमा उनी मुस्कुराइरहेका देखिन्छन् तर फोटोहरु केही धमिला छन् । देख्दा ती उनका धेरै पहिलेका फोटोहरु भएकोजस्तो लाग्छ । उनी तिनै फोटोहरुलाई एकोहोरो भएर हेरिरहेका हुन्छन् ।

त्यही समय एउटी केटी भित्र पस्छे । कार्यालय सहयोगी हुन्छे ऊ । बोल्छे—
‘सर हजुरलाई के ल्याऊँ ?’
तर भोलेमन थापाले सुन्दैनन् । उनी आफ्नै धूनमा फोटोहरुलाई हेरिरहेका छन् ।

केटीले फेरि सोध्छे—
‘सर हजुरलाई के ल्याऊँ ? चिया कि कफी ?’

बल्ल भोलेमन थापा झसँग हुन्छन् र यता फर्कन्छन् । अल्मलिएझै गरेर उनी भन्छन्—
‘मलाई केही चाहिन्न वसन्ती ।’

यति बोलेर उनी फेरि तिनै फोटोहरुमा हराउँछन् ।

वसन्तीले आफ्नो बोसलाई हेरिरहन्छे । मनले खप्नै नसकेर सोध्छे लयालु बोलीमा—
‘सर के हेर्नुभा हजुरले ?’

यसपटक भोलेमन थापाले वसन्तीको आँखामै हेर्दै भन्छन्—
‘मेरो इतिहास । यी फोटोहरु मेरा इतिहास हुन् वसन्ती । म यी सबैलाई सँगालेर राख्न चाहन्छु । मेरै आँखाको सामुन्ने । मेरै अगाडि । जब म यी फोटोहरुलाई हरेक दिन देख्छु मलाई मेरो अतीत, मेरो इतिहास सम्झना आइरहन्छ । म आफ्नो इतिहासलाई भुल्न चाहन्नँ ।’

वसन्तीले पनि ती फोटोहरुलाई राम्ररी हेर्छे । पालैपालो हेर्छे । सबै फोटोहरुमा उसको बोस हाँसिरहेको मुस्कुराइरहेको देख्छे । यत्ति हो, फोटोको गुणस्तर अत्यन्तै कमसल छ ।
केहीवेर हेरेर वसन्तीले भन्छे—
‘सर त पहिलेपहिले खुब मुस्कुराउनु हुँदो रैछ । कति हेन्सम तपाईँ पहिला ।’

भोलेमन थापाले कुम उचाल्दै भन्छन्—
‘अहिले पनि त हेन्सम छु नि ।’
वसन्ती हाँस्छे तर भोलेमन थापा हाँस्दैनन् । उनी ती फोटोहरु एकएक गरेर देखाउँदै वसन्तीसँग भन्छन्—
‘यो फोटो मेरो आजसम्मकै सबैभन्दा पुरानो हो । म त्यही दसएघार वर्षको थिएँ हुँला । योचाहिँ म त्यस्तै चौध वर्ष हुँदाको । बाबाको एउटा सस्तो क्यामेरा थियो, त्यसैले खिचेको । अनि ल यो हेर् । योचाहिँ भर्खर क्यामेरावाला मोबाइल फोन आउने बेलामा खिचेको । मोबाइल महँगो तर क्यामेरा खत्तम । हेर् त कति नराम्रो निकालेको छ ।’

वसन्तीले फोटोको गुणस्तरमा कुनै ध्यान दिन्न । बरु उसको सर मुस्कुराइरहेको हेरिरहन्छे फोटोमा । सर भित्तामा टाँसिएका आफ्ना पुराना फोटोहरु देखाउँदै के के भनिरहन्छन्—
‘मसँग त्यो बेलामा केही थिएन वसन्ती । केही पनि थिएन । म साँच्चै गरिब थिएँ । खानलाउन पुग्दैनथ्यो । म एउटा दुःखी केटा थिएँ । मैले मेरो इतिहास बिर्सेको छैनँ ।’

भोलेमन थापा आफु गरिब थिएँ दुःखी थिएँ भन्दै जान्छन् । वसन्तीको नजर भने उनका मुस्कुराइका फोटोहरुमा निरन्तर छन् । उसले आफ्नो बोसको मुस्कान फोटोमा हेरिरहन्छे ।

भोलेमन थापाले भन्छन्—
‘तँ आफै सोच् त वसन्ती । यदि मसँग त्योबेला महँगो र राम्रो क्यामेरा भइदिएको भए मेरा फोटा कति राम्रा हुने थिए ? अनि म ती फोटोहरुलाई यहाँ हैन यो कम्पनीको बाहिर टाँग्न भन्थेँ सबैलाई देखाएर ।’

‘अब किन्ने नि त सर ।, वसन्तीले यत्ति भन्छे— ‘अब किने पनि त हुन्छ नि ।’

भोलेमन थापा झसङ्ग हुन्छन् । बिर्सिएको महत्वपूर्ण कुरा सम्झेझैँ । एकछिन ट्वाल्ल परेर उनले वसन्तीलाई लगभग धकेल्दै पठाउँछन्—
‘जा जा । तँ जा । मलाई कफी ल्याइ दे । चिनी कम है ।’
‘हस सर ।’ भन्दै वसन्ती क्याबिनबाट निस्केर जान्छे ।

दृष्य ३

भोलेमन थापाले टेबलको फोन डायल हतारहतार डायल गर्छन् । आफ्नो टेबल अगाडि जनरल म्यानेजर लेखिएको नेम स्टेण्ड राखेर अर्कै क्याबिनमा बसेको मानिसले फोन उठाउँछन् । र ‘गूड मर्निङ सर’ भन्दै अभिवादन गर्छन् ।

हतारिँदै भोलेमन थापाले बोलेको सुनिन्छ—
‘राजजी, फोटो खिच्ने एउटा राम्रो क्यामेरा चाहियो मलाई । कहाँ किन्दा राम्रो होला ? अनि कुन कम्पनीको …… ?’

‘हस सर, म बुझेर तपाईँलाई जानकारी गराउँछु ।’ जनरल म्यानेजरले भन्छ ।

‘ल यति काम तुरुन्तै गर्नुप¥यो है ?’ भन्दै भोलेमन थापाले फोन राख्छन् । उता जनरल म्यानेजरले आफ्नो सरको कुरा नोटबूकमा लेखेर राख्छ ।

कफी ल्याएर वसन्ती आउँछे ।

दृष्य ४

महँगो डिएसएलआर क्यामेरा आइपुग्छ भोलेमन थापाको क्याबिनमा । जनरल म्यानेजरले बडो चाप्लुसीको भाषामा क्यामेराको नालीबेली सुनाउँछ । त्यसको विशेषता बखान गर्छ र फोटो खिच्नका लागि तयार हुन्छ । भोलेमन थापा आफ्नो कुर्सीमा अलि सजिलोगरि बस्दै भन्छन्—
‘हाँसेको फोटो निकाल्नुपर्छ है राजजी ? यी यता हेर्नुस् यस्तै ।’ उनले पुराना फोटोहरु देखाउँछन् ।

जनरल म्यानेजरले क्यामेराको भ्यू फाइण्डरमा एउटा आँखा मिलाएर राख्दै लामो स्वरमा भन्छ—
‘ओके सर, स्माइल प्लीज ।’

भोलेमन थापा हाँस्ने कोशिस गर्छन् तर सक्दैनन् । जीएमले लगातार भनिरहेको हुन्छ—
‘क्यामेरा इज रेडी सर । स्माइल प्लीज ।’

यसपटक पनि भोलेमन थापाले मुस्कुराउने कोशिस गर्छन् तर असफल नै हुन्छन् । सक्दै सक्दैनन् । खुब बल गर्छन् तर मानौँ उनको ओँठमा मुस्कान प्रतिबन्धित छ । हाँस्छु भन्दा रोएझैँ गर्छन् । अनेक प्रयासका वावजूद जनरल म्यानेजरले आफ्नो बोसको मुस्कानसहितको फोटो खिच्नै सक्दैन । ऊ पसिना पुछ्दै त्यहाँबाट बाहिर निस्कन्छ ।

त्यसपछि कम्पनीको सुपरवाइजर, पियन, अप्रेशन म्यानेजरलगायत केही कामदारहरु पनि आएर कोशिस गर्छन् तर भोलेमन थापाको मुस्कानले ओँठसम्म निस्कनै मान्दैन ।

आजित भएर जीएमले अब यो अन्तिम भन्दै बलजफ्ती दाँत देखाउन लगाएर भोलेमन थापाको केही फोटो खिचिदिन्छ ।

दृष्य ५

केही दिनपछि फोटोहरु आउँछन् । जीएमले नै ल्याएर आएको हुन्छ । उसले चाकडीकै स्वरमा फोटोको प्रशँसा गरिरहेको हुन्छ । कलर ल्याबदेखि लिएर फोटो निकालिएको पेपरको गुणस्तरका बारेमा लामै बेलिबिस्तार लगाउँछ ।

भोलेमन थापाले आफ्ना नयाँ फोटोहरु हेर्छन् । फोटोको गुणस्तर उम्दा नै छ । कुनै गुनासो गर्ने ठाउँ नै छैन तर फोटोमा उनी आफू हाँसेका छैनन् । केही फोटोहरुमा दाँत देखिएका छन् अवश्य तर अनुहारमा मुस्कानको कुनै भाव छैन । तीनचारओटा फोटोमध्ये कोही रिसाएझैँ, कोही रोएझैँ त कोही उदास भावका छन् । उनले आफ्ना ती नयाँ फोटोहरु र पुराना फोटोहरुलाई पालैपालो हेर्छन् । त्यसपछि टेबलमा राखिएको महँगो क्यामेरालाई पनि केहीबेर अपलक हेरिरहन्छन् । उनको अनुहारमा भावुकता छाउँछ । हातैको ईशाराले जीएमलाई ‘जाऊ जाऊ’ भन्छन् । जीएम उठेर बाहिर निस्कन्छन् ।

भोलेमन थापा के–के सोच्दै क्याबिनमा बसिरहन्छन् ।

दृष्य ६

नयाँ फोटोहरु राखिएको प्लाष्टिकको सानो झोला आफ्नो अफिस झोलामा राखेर भोलेमन थापा साँझ घर फर्कन्छन् । उनी आफ्नो कारको पछिल्लो सिटमा बसेर फर्किरहेका हुन्छन् । बाटाका छेउछाउ धूलोमैलोमा भेटिएका मानिसहरुको ओँठभरि मुस्कान फुलिरहेको देख्छन् । आफ्नो ओँठ विस्तारै छाम्छन् । एकछिनपछि टिस्यू पेपरले आँखा पुछिरहेको भोलेमन थापालाई ड्राइवरले ऐनामा देख्तछ ।

आफ्नो मालिकको मनोदशाबाट ऊ पूरै बेखबर छ ।

दृष्य ७

कम्पनीको मिटिङ हलमा म्यानेजरहरु र कम्पनीको एक्सपर्ट प्यानलको बैठक बसेको छ । भोलेमन थापा गम्भीर मुद्रामा हेड अफ दि कमिटिको कुर्सीमा बसेका छन् । सबै चुप्प छन् । कार्यालय सचिवहरु कलम र नोटबूक समातेर उभिएका छन् । भोलेमन थापाको भारी स्वर त्यहाँ सुनिन्छ—
‘एकाउन्टेन्ट, हाम्रो खातामा कति रकम छ ?’

‘पुगनपुग दुई अर्ब होला सर ।’ एकाउन्टेन्टले विनम्र हुँदै भन्छ ।

‘ठिक छ ।, भोलेमन थापा बोलिरहन्छन्, ‘आजबाट नै हामीले एउटा ट्रस्टको सुरुआत गर्नेछौँ । आजसम्म हामीले सोच्यौँ, कसैलाई रोजगारी दिनु ठूलो काम हो तर होइन । यो त आदानप्रदान हो । जति यो कम्पनीले तपाईँहरुलाई दिएको छ, योभन्दा दस गुणा धेरै तपाईँहरुले यस कम्पनीलाई दिनुभएको छ । तपाईँहरुले यस कम्पनीलाई आफ्नै हो भन्ने सोचेर काम नगर्नु भएको भए आज यो कम्पनीको स्वरुप यति भव्य हुने नै थिएन । त्यसैले वास्तविक समाजसेवा अब गर्नेछौँ हामीले । सामाजिक काम गर्नका लागि एउटा विभाग हाम्रो कम्पनीमा आजै बनाउनेछौँ ।’

भोलेमन थापा एकाउन्टेन्टतिर फर्कँदै बोल्छन्—
‘सुन्दरजी, खातामा रहेको कूल रकममध्ये आधा रकम आज नै ट्रस्टको नाममा राखिदिनुस् । साथीहरुले कुनै चिन्ता लिनु पर्दैन । सबै कुरा जुट्नेछ । ……
म कुरुप भएर बाँच्न चाहन्नँ साथीहरु । म आफू सुन्दर बन्न चाहन्छु अनि अरुको जीवनमा पनि सुन्दर पक्ष ल्याइदिन चाहन्छु । म आफ्नो वरिपरि सुन्दर चीजहरु हेर्न चाहन्छु ।’

‘यो सुन्दर चीज के हो नि सर ?’ कसैले सोध्छ ।

भोलेमन थापा केही क्षण मौन बस्छन् । केही दिनअघि एकजना पत्रकारले पनि यस्तैखालको प्रश्न सोधेका थिए । त्यतिखेर उनले जवाफ दिन सकेका थिएनन् । आज उनले त्यो कुरा सम्झन्छन् । अनि भित्तामा रहेका पुराना फोटोहरुतिर आँखा लगाउँछन् जहाँ उनी मुस्कुराइरहेका छन् ।

अनि उनको मुख खुल्छ—
‘यो सँसारको सबैभन्दा सुन्दर चीज भनेको मान्छेको मुस्कान रहेछ साथीहरु । र बहुमूल्य चीज पनि यै नै रहेछ । पशुहरुसँग धेरै कुरामा समानता भएपनि मानिस मात्रै त्यस्तो प्राणी रहेछ जो मुस्कुराउन जान्दछ । जुन दिन म अत्याधुनिक क्यामेराका अगाडि मुस्कुराउन सकिनँ त्यो दिन मैले आफैलाई खुब धिक्कारेँ । सबैथोक कमाएर पनि म त पशुको जीवन बाँचेको रहेछु । अब म मानिस भएर बाँच्न चाहन्छु ।’

उनको कुरा सुनेर सबैजना खुसी हुन्छन् । ताली बज्छ । सामूहिक फोटो खिच्ने तयारी गरिन्छ । भोलेमन थापा सबैको बीचमा उभिन्छन् । त्यही क्रममा फोटो खिच्नेले ‘स्माइल प्लीज’ भन्छ । धेरै समयपछि भोलेमन थापा खुलेर मुस्कुराउँछन् । उनको मुस्कान क्यामेरामा कैद हुन्छ ।

बैठक सकिन्छ ।

दृष्य ८

केही दिनपछि वसन्तीले कागजमा बेह्रेको उपहार बोकेर भोलेमन थापाको क्याबिनमा प्रवेश गर्छे । भोलेमनले हतारिँदै र उत्सुक हुँदै कागज पन्छाउँछन् । त्यहाँ सुन्दर फ्रेममा सजाइएको सामूहिक तस्वीर हुन्छ । जुन तस्वीरमा भोलेमन थापा अरु सहकर्मीहरुसँगै मुस्कुराइरहेका छन् । उनी अत्यधिक खुसी हुन्छन् । केहीबेर त्यो फोटोमा रहेको आफूलाई हेरिरहन्छन् । अनि थपक्क लगेर पुराना फोटोहरुको लहरमा टाँगिदिन्छन् ।

०००

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in नाटक and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.