~दुर्गा विनय~
राजमायाको मृत्युको खबर पाएपछि उसका आफन्तदेखि बाहेक सबैभन्दा नराम्ररी र अरूलाई पनि रूवाउने गरि रोएको थियो रिजवान । राजमायाको श्रीमान पनि छक्क प¥यो त्यसलाई रोएको देखेर ।
रिजवानको रूवाइ अप्रत्यासित थियो । अकल्पनिय, अविश्वसनीय थियो । रिजवान त्यस हदसम्म दुःखी हुनसक्छ भनेर कसैले नसोचेको हुनाले पनि हुनसक्छ । नत्र त राजमायाकी बुढेसकालकी सखीहरू पनि रोएका थिए । छिमेकीहरूको पनि आँशुको केही अंश त त्यहाँ थियो ।
एउटी राजमायाको साथी भने राजमाया मरेको केही दिपनपछि मात्र गाउँ आइपुगेकी थिइन् । उनी छोरीको घरमा गएकी रहिछन् – राजमायाको मृत्युको बारेमा थाहा नपाएरै होला उनी दशौं दिनमा टुप्लुक्क आँगनमा देखा परिन् ।
राजमायाका छोराछोरी–बुहारीहरूलाई कोरामा बसेको देखेर अथवा राजमायाको लेमिनेसन गरेको फोटोमा पुष्पहार र अगरबत्ती ध्वाँएको देखेर तिनले आँशुका झारिन । आँशु चाउरी परेको गालामै हरायो । त्यसले चिउँडो मुनिसम्म जानै परेन ।
– “सबैलाई अघि लगाएर म चैं कति एक सय पचाससम्म बाँच्नु ।” उनको कुरा सुन्दा लाग्थ्यो उनी राजमाया मरेको भन्दा पनि आफू ज्यूँदो भएकोमा धेरै चिन्तित थिइन् ।
मेरो यो विचार कहिलेकाहीँ ठिक पो हो कि जस्तो पनि लाग्ने गर्छ । किनभने तिनका छोराछोरी, दाजुभाइ र दिदी–बहिनीहरूमा मात्र जम्मा दुईजना छोरीहरू बाँकी थिए । बाँकी सबै कि रोग लागेर, कि मेटासिट खाएर, कि दुर्घटनामा परेर, कि मुसा मार्ने दबाई खाएर, कि केही नभएर मरेका थिए । ऊ कहिलेकाहीँ राजमायासँग यस कुरामा पनि चित्त दुखाउने गर्थी÷दुखेसो पोख्ने गर्थी ।
रिजवान अचम्मले रोएको कुरा गर्दैथ्यौं । रिजवान यदि तेह्र दिनको कामभरिमै रोएको भए सायद अरूले त्यसलाई सामान्य रूपमा लिन्थे होला । तर, ऊ रोएको थियो पैंतालिस आउनुभन्दा ठिक पन्ध्र दिन अगाडि ।
त्यो दिन के भएको थियो भने, राजमायाकी बुहारी घर बढार्दै थिई । रिजवान आत्तिंदै आएर आँगनमै राखेको खाटमा बस्यो । कुखुराहरू आँगन खोस्रिंदै थिए । परेवाहरू पनि आँगनमै घुम्दै थिए । रिजवानको अनुहार साह्रै अँध्यारो थियो । उसका आँखा आँसुले भरिएका थिए । घरि–घरि सुँकसुँक गरेर सिगानलाई नाकभित्र तानिरहेको पनि थियो ।
– “एसपालि दिदीलाई राम्रा चुरा र सारी ल्याइदिएको थिएँ । इदमा उहाँलाई आफ्नै हातले उपहार दिने विचार थियो ।” उसको हातमा एउटा सानो पोको थियो । झाडु बोकेर राजमायाकी बुहारीले रिजवानलाई हेरिरही । ऊ केही बोल्न सकिरहेकी थिइन । घरि–घरि त्यो पनि सारीको फेरोले नाक पुछिरहेकी थिई ।
निकैबेरसम्म सुँकसुँक गरेर रिजवान बस्यो । उपहारको पोको उसले छोड्दै–छोडेन । हातैमा बोकिरह्यो । राजमायाँको छोरो आएपछि डाकै छोडेर रोऔंला जस्तो गर्यो । उसको नाक सिँगान पुछ्दा–पुछ्दा राता भइसकेको थियो । उसका आँखाबाट आँसु निरन्तर बगिरहेकै थियो ।
राजमायाकी बुहारीलाई साँझमा सारी र चुरा भएको उपहारको पोको जिम्मा लगाएर ऊ घर फर्क्यो ।
– “आज म दिदीको लागि दुवा गर्नेछु ।” उसले राजमायाँको छोरालाई भनिरहँदा– राजमायाँको छोरा भावविभोर भएको थियो । उसका गाला र ओठहरू थरथरी कामिरहेका थिए । ऊ रूनै आँटेको थियो ।
रिजवान गाउँमा भएको एकमात्र इस्लाम धर्म मान्ने परिवारको घरमुली हो । ऊ गाउँमा आएको समयमा हुसेन तरकारीवाला थियो । तर उसकी स्वास्नी पोइल हिँडेपछि उसले पनि गाउँ छाड्यो । उसको आफ्नो एक कठ्ठा जग्गा र त्यसैमा सानो चिटिक्क परेको घर छ । उसको जेठो छोरो इर्फान बीस वर्ष पुग्न पाँच÷सात महिना हुँदैखेरी दिल्ली लागेको थियो । त्यसपछिको कुरो भने इर्फानबाहेक त उसको अल्लाहलाई नै थाहा होला ।
रिजवान थुप्रै वर्षअघि यस गाउँको बजारमा एक साँझ टुप्लुक्क देखिएको थियो । उसकी बेगम नसिमा त्यतिखेर पन्ध÷सोह्र वर्षकी थिइन् होला । रिजवान भने त्यस्तै बीस÷बाइस को । बजारको चोकमा अल्मलिएर बसेका रिजवान जोडीलाई देखेर त्यस साँझ तरकारी किन्दै गरेकी राजमायाँ छक्क परेकी थिई ।
अग्लो, सिकटे, झुस्स दाह्री पलाएको केटोसँग सानी फुच्ची । कपडाको पुतली जस्ती केटी थिर्इ । बजारकै बिसौनीमा बसीरहेका थिए ती जोडी ।
– “कहाँबाट आयौ ? कता जान लाग्यौ ?” राजमायाँको पहिलो बोली त्यसरी रिजवानको कानमा परेको थियो । राजमायाँले जति नै गरे पनि आफूलाई रोक्न सकेकी थिइन, तिनीहरूको बारेमा जान्नको लागि ।
– “……..” रिजवानसँग उत्तर थिएन । ऊ त घरपरिवारको इच्छाबिना केटी लिएर हिँडेको थियो । पोइल हिँडेको थियो ।
– “बस्ने ठाउँ छैन भने मेरोमा बास बस्दा हुन्छ ।” राजमायाँले लगाएको पहिलो गुण । यसको बारेमा रिजवान अझै पनि कुरा गरिबस्छ ।
त्यस रात रिजवान परिवारलाई राजमायाँकोमा बास बस्न निकै गाह्रो लागेको थियो । “चिन्दै नचिनेको मान्छेको घर । नौलो ठाउँमा कसरी बास बस्नु– सुरक्षित त होला ?” रिजवान डराइरहेको थियो । अरू कुनै उपाय नभएपछि रिजवान जोडी राजमायाँको पछि लागे ।
– “ठिकै छ एकरातको बास त जसले पनि दिइहाल्छ नि । अबर परेकालाई हो मद्दत गर्ने ।” राजमायाँको श्रीमान पनि दयालु नै निस्कियो । रिजवान त्यो परिवारलाई देखेर छक्क परिरहेको थियो ।
– “तिम्रो नाम चैं के हो ?” राजमायाँलाई तिनीहरूको नाम नै थाहा थिएन, उसले नाम नसोधी । त्यस मान्छेको बारेमा केही नबुझीकनै बास दिन आँटेकी । कस्तो अचम्मको प्राणी ?
– “मेरो नाम रिजवान र ऊ मेरी बेगम नसिमा”, परिवार छक्क परे । “राजमायाँले त मुसलमानलाई पो घरमा बास दिन ल्याइछे”, सोचेर उसको श्रीमान तर्सियो । राजमाया आफैं पनि तर्सी । राजमायाँका ससुरा कान सुन्दैन थिए । तर उनी पनि सबैको अचम्म परेको÷आँत्तिएको अनुहार देखेर छक्क परे ।
– “तिमेरू अहिल्यै गइहाल् । उठिहाल् ।” राजमायाँको श्रीमान जङ्गियो । रिजवान दम्पत्ति जुरूक्क उठे । मानौं कि उनीहरू यसबारे पूर्वज्ञात थिए । उनीहरू हिँड्नै पनि आँटेका थिए ।
– “पख भाइ !” राजमायाँले पहिलोपल्ट उसलाई भाइ भनेर बोलाई । रिजवान टक्क रोकियो । उसको झोला काँधमा हल्लिरहेको थियो । “साँझ आएका पाहुना भनेका देउता हुन् । जुनसुकै धर्म मान्ने होस् । साँझ बास दिएकोलाई फर्काउनु हुँदैन । भोलि सबेरै जान्छ ।” राजमायाँ त्यस समयमा पनि श्रीमानको प्रतिवाद गर्थी । ठिक ठाउँमा समर्थन र गल्ती गरेको ठाउँमा आलोचना । हुन त उसको श्रीमान शिक्षित थियो । तर, किताबी कुरोमा मात्रै ।
– “बुढोसँग मुखमुखै लाग्छेस् अए ।” छोरोलाई बुहारीले हपारेको देखेर राजमायाँको ससुरोलाई सह्य भएन छ ।
– “……. । ठिक छ आज रात बास बसेर भोलि बिहानै जानु ।” राजमायाँको श्रीमान घरभित्र पस्यो । खाना खायो र सुती पनि हाल्यो ।
रिजवान भोलिपल्ट सबेरै हिँडेछ । केही दिनपछि रिजवान र उसकी बेगम फेरि बजारमा देखा परे । बजारकै तरकारी पसले हुसेनको मद्दतले उसले पनि सानो तरकारी पसल खोल्यो ।
राजमायाँ तरकारी लिन बजार पुग्दा रिजवानकैमा जान्थी । तर उसको हरेक भेटमा नसिमा भने सधैं शिरलाई मजेत्रोले ढाक्थी । नेपाली बोल्न अलिक गारो पर्ने नसिमा उसो त बाक्लो बोल्ने मान्छे पनि हैन ।
– “के छ तिम्रो हालचाल ?” त्यस्तै कुनै एकदिन राजमायाँ नसिमा बेगमको तरकारी पसलमा देखा परेर सोधी । राजमायाँ तरकारी छान्दै पनि थिइन् ।
– “ठिकै छ ।”
– “अनि तिम्रो बूढो खै त ?”
– “तरकारी लिन ग’को छ, आउँदै छ ।”
– “अनि म आउँदा सधैं किन अनुहार छोपेकी ?” राजमायाँ तरकारी किन्न जान्थी अनि नसिमा अनुहार नै नदेखिने गरी मजेत्रोले ढाक्थी ।
– “उसले भनेको छ, कि (तपाईंले उसलाई भाइ भनेकोले) तपाईं उसको दिदी हो ।”
एकदिन राजमायाँ तरकारी किन्न जाँदा नसिमाको पसल त्यहाँ थिएन । भोलिपल्ट पनि थिएन । हप्ता दिन जति पनि रिजवान दम्पत्ति नदेखिएपछि राजमायाँले हुसेनलाई सोधी ।
– “अहिले त त्यो सब्जी खेती गर्छ । दुइ–चार का जग्गा ठेक्का लिएको छ । तरकारी उगाउँछ, हामीलाई बेच्छ ।”
एकदिन रिजवान राजमायाको आँगनमा एउटा झोलासहित देखापर्यो । रिजवानलाई देखेर राजमाया छक्क परी । घामले डढेको शरीर । दाह्री पहिलाकोभन्दा बाक्लो र लुते खिनौटे भएको शरीर । तर उसको अनुहार अनौठो तरिकाले चम्किरहेको थियो । उसको आँखामा अनौठो तेज र प्रकाश थियो ।
– “तपाईंलाई यो उपहार र खुशखबर लिएको आएको ।” थाहा छैन कसरी हो तर, राजमायाँलाई रिजवान देखेपिच्छे आफ्नो भाइको स्मरण हुन्छ ।
– “तँ त ठ्याक्कै मेरो भाइ जस्तो छस् ।” आँगनमै भएको खाटमा बस्दै राजमायाँले भनेकी थिई । राजमायाको भाइलाई औलोले लगेको थियो निकै वर्ष अघि ।
– “तपाईं पनि त मेरी दिदी जस्ती हुनुहुन्छ ।” रिजवान अल्मलिएजस्तो भएको थियो । रिजवानलाई अनौठो महशुस भयो । मन कस्तो–कस्तो भयो । आँखा पोलेजस्तो भयो । तर उसले आँसुलाई बग्न दिएन । “तपाईंलाई ल्याइदिएको कोसेली”, उसले सब्जी ल्याइदिएको थियो । कोभी, टमाटर, आदि ।
– “अनि के छ भनेको खुश खबर ?”
– “नसिमाले छोरो जन्माई । ठ्याक्कै ऊ नै जस्तो छ ।” त्यस परदेश ठाउँमा रिजवानले आफन्त ठानेको दुईजना त थिए । हुसेन र राजमायाँ । राजमायाले उसलाई पहिलो सहारा दिएको हुनाले नम्बर राजमायाँकै पहिला आउँथ्यो । ऊ त्यसपछि हुसेनलाई खबर सुनाउन हिँड्यो । राजमायाँले केही औषधी बनाएर पठाइदिई । केही दिनपछि ऊ आफैं पनि ज्वानो लिएर गएकी थिई रिजवानको छोरो हेर्न ।
– “छोरोको नाम के राख्ने विचार छ त ?” हुसेनले पान चपाएँदै रिजवानलाई सोधेको थियो ।
– “इर्फान राख्छु । मेरो बुबाको नाम ।” नसिमालाई लिएर त्यो बजारमा देखापरेदेखि रिजवान आफ्नो घर गएको थिएन ।
एकसाँझ उसलाई साह्रै धेरै याद आएछ बुबाको । हुसेनकोमा अबेरसम्म बसेर ऊ घर फर्क्यो । त्यसको भोलिपल्टको बिहान ऊ राजमायाँकोमा पुग्यो । चिया खाने बेला भएको थियो । राजमायाँले उसलाई पनि चिया दिई । राजमायाको श्रीमान पनि त्यस समयसम्ममा निकै आधुनिक भइसकेका थिए । उसको विचारको ढोका – सायद बुबाको जीवनको ढोका बन्द भएपछि खेलेको होला ।
खासमा रिजवानलाई अरूकोमा जान अलि अनौठो र अप्ठ्यारो लाग्छ । तर राजमायाँले “तँ त मेरो भाइ जस्तै …..” भनेकै साल उसलाई भाइ मानेर पूजा गरेकी थिई ।
– “के भो एकाबिहानै आयौ त ?” राजमायाँको श्रीमानले सोधे । तातो चियाको सर्को लिँदै । राजमायाँ भान्सामा व्यस्त थिइन् । चियाको कप हातमा बोकेर रिजवान एकोहोरिन खोज्दै थियो ।
– “हिजो साँझ बुबाको याद आयो साह्रै नै । उहाँले सबैभन्दा बढी विश्वास गरेको छोरो थिएँ म । यसले हाम्रो दुःखलाई हराउँछ । हामीलाई सुखै सुख दिन्छ भनेको छोरो थिएँ म ।” रिजवान बोलिरहँदा राजमायाको श्रीमान भने चिया पिइरहेका थिए । यसरी पिइरहेका थिए कि मानौं ऊ त्यहाँ एक्लै थिए र उसँग त्यहाँ कोही बोलि नै रहेको थिएन ।
– “कहिलेकाहीँ के हुन्छ भने हामीलाई हामीले सोचेको कुरो ठिक र अरूले त्यही विषयमा भनेको कुरो गलत लाग्छ ।” राजमायाँको श्रीमान चिया पिइसकेर रिजवानलाई एउटा सानो–तिनो लेक्चर दिँदैथ्यो । उसको बुबाको मृत्युपश्चात ऊ थुप्रैलाई आफूजस्तै सोचमा÷विचारमा परिवर्तन ल्याउन सिकाइरहेको थियो । “अरूले जानेका छैनन्÷बुझेका छैनन् । त्यत्तिकै विपत्तामा बोलिरहेका छन् भन्ने लाग्छ । वास्तवमा कहिलेकाहीँ हामी आफू पनि गलत हुन्छौं भन्ने कुरा हामी सोच्दैनौ ।” राजमायाँको श्रीमान त्यतिखेर अल्मलियो जब उसले – आफूले भनेको कुराले रिजवानलाई घोच्दैछ भन्ने थाहा पायो । “वास्तवमा त्यस्तै तिम्रो बुबालाई भएको हुनसक्छ ।” आफ्नो चातुर्यलाई उसले त्यतिखेर मनमनै सलाम ठोकेको थियो ।
– “खै ! कोन्त ।” रिजवानलाई चित्त बुझेन । ऊ चिया खाएर हिँड्यो ।
फेरि थुप्रै दिनपछि एक बिहान अचानक रिजवान देखापर्यो । त्यो दिन ऊ अल्मलिएको थिएन । ऊ दुःखी पनि थिएन । तर ऊ रिसाएको भने थियो ।
– “के भो ? किन यस्तो अनुहार छ तेरो ?” राजमायाँलाई रिजवानको धेरै चिन्ता थियो ।
– “आज मलाई धेरै रिस उठेको छ दिदी ।” आफूलाई रिस उठेको छ भन्दा पनि उसको अनुहार भने रून आँटेको जस्तै थियो ।
– “के भो त ?”
– “हिजो राति कसले हो मेरो तरकारीबारीमा सुँगुर हुल्देछ । सुँगुर सारा बारीभरि घुमेर – ते’सको थुतुनोले दुनिया खोतलेछ । हगेछ । …।” उसको कुरा सुनेर राजमायाँ छक्क परी । “अपराधीहरूले बरू तरकारी लानु म केही भन्दिन थिएँ । तर सुँगुर हुलिदिए । अब म के गर्नु ? सुँगुरको लीँड भ’को ठाउँमा म फेरि मेरो हातले जमिन खोस्रिन्न दिदी ।” ऊ रून थालिसकेको थियो ।
– “न’रो…..न’रो । कसले गरेजस्तो लाग्छ तँलाई ?”
– “एउटा भए भन्नु दिदी । मलाई त मेरा छिमेकी–गाउँका सबै मान्छेले गरेजस्तो लाग्छ । कहिले कसले यसले छिट्टै प्रगति गर्यो भनेर जिस्काउँथे । कहिले कसले के भन्थे ।…..”
– “तैंले हार मान्नु हुँदैन भाइ । तैंले फेरि तिनीहरूलाई उभिएर देखाइदिनु पर्छ । त्यस ठाउँमा नभए अर्को ठाउँमा भए पनि तैंले गर्नुपर्छ । हार मान्नु हुँदैन भाइ ।”
त्यसरी हरेक धरमरिएको, कमजोर भएको रिजवानको पाइलाले एउटा आत्मविश्वासले भरिएकी दिदीको सहारा पाएको थियो ।
दुर्गा विनय / झापा