कविता : सहारा

~निलिमा पुन~

ए घाम तँ निष्ठुर नबनी दे
म त तेरो तापले बाँचेको छु
तँ मलिन भैदिँदा मेरो शरीर काँप्छ
मेरा दाँतहरू ठोक्किन थाल्छन्
रात त यसै गुज्रिरहेको छ
चकमन्न अँध्यारोमा कसले देख्छ र ? काँपेको
वादल त क्षणिक हुन्छ
तर तँ चलायमान ग्रह होस्
कस छेकेर छेकिन्छस् र ?
आमाले जन्म दिए पनि
म त तेरो सहाराले बाँचेको छु
वास त मेरो खुल्ला आकाशमुनि
सडकछेउ काफी छ
गास त मैले हुँदा खान्छु
त्यही काफी छ
म कसैलाई हात थापेर खाँदिनँ
म कसैको चोरेर आङ ढाक्दिनँ
आमाले जस्तो गरी पृथ्वीमा छाडे
म त्यस्तै छु
मलाई के थाहा ? आमाले किन जन्माइन्
थाहा पाउने हुँदा आमा भेटिइनन्
खोई कसैले गरेनन् आमाका कुरा

तेरो आगमनमा म कति हर्षित हुन्छु
तेरो विदाइपछि पनि तेरै पर्खाइमा
रात गुजार्छु
जब हिउँद लाग्छ, तेरो तापलाई
शीतले चिस्याउन खोज्छ
जब वर्षा लाग्छ, तेरो तापलाई
झरीले भिजाउन खोज्छ तर
तेरो शक्तिशाली ताप त
शीत र तुषारो छिचोल्दै
धर्तीसम्म आइपुग्छ
म त एकनास तेरो क्षितिज हेरिरहन्छु
बाँच्नका लागि अरू दुनिया मतलव भएन
तँ झुल्केको र अस्ताएको पल
थाहा हुन्छ, त्यसैले बाच्न
सजिलो लाग्छ
सधै भोलिको आसमा बाँचिरहन्छु
ए घाम, तेरो विनास नहुँदै
मेरो नास हुनेछ
त्यसैले तँ कठोर नबनी दे
मुसलधारे वर्षात् छिचोलेर
धर्तीमा आइदे
तँ त म जस्तै दीनदुखीको
भलो गर्ने ग्रह होस्
छाइदे भोकानाङ्गाहरूको जिउहरूमा
थर्थराइरहेका ओठहरूमा
पानी चुहिएका ओतहरूमा
सुकाइदे सबै चिस्यानहरू
छुटाइदे सबै दुखीका दर्दहरू

मुक्तक÷रामशरण गैरे
नआत्तिने पनि बन दुःख पर्दाखेरी
दुःख पर्ने छैन ममा नभन नि फेरी
दुःख तिम्रो कमजोरीको सङ्कलन हो बावु
संसारलाई भोग्नु रै’छ चारौतर्फ हेरी

नपोखिने गरी मात्र उचाईमा चढ
मानव मुक्ति दिन सक्ने गरी अघि बढ
अन्यथा त तिम्रो पनि उही हालत होला
चाहिए जति चिज पाउन खोजी खोजी पढ

–तनहुँ

(स्रोत : हाँक विक्ली – वर्ष ३१, अङ्क २४ – April 30, 2014 – २०७१ बैशाख १६ गते, बुधबार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.