गजल : त्यो आकाशमै ढलेको छ

~धीरेन्द्र प्रेमर्षि~

उड्दा-उड्दै परेवा त्यो आकाशमै ढलेको छ
चारो छर्ने हातबाटै गोली हजुर चलेको छ

अमृत फल्ने आसमा नै शहीदले रगत सिँचे
तैपनि त्यो फूलबारीमा विषै किन फलेको छ –

सङ्कटको बादल फार्न सूर्य रच्छु भन्दै थियो
पौरखी त्यो कलम उफ् ! हिँड्नै नपाई गलेको छ

सबै भन्छन् तेरो आँगन पार्दै छौँ उज्यालो
यही अनुसन्धानमा घर त मेरो जलेको छ

मेरो मुहार हँसाउनलाई मेरै दुवै हातले
मलम भन्दै मेरै घाउमा नुन-चुक दलेको छ

बत्ती सारा निभे पनि, जून-तारा उँघे पनि
‘प्रेमर्षि’ को छातीभित्र प्रेम-दियो बलेको छ ।

२०५९/०४/२९
धीरेन्द्र प्रेमर्षि
‘पल्लव’ मैथिली साहित्यिक र ‘समाज’ मैथिली सामाजिकको सम्पादन
सम्प्रतिः रेडियो नेपाल, काठमाडौँ, नेपाल
सम्पर्कः hellomithila@yahoo.com

(स्रोत  : साहित्यसरिता – माघ-फागुन-चैत-2061 अङ्क ४ )

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.