~बसन्त चौधरी~
तिम्रो अनुहारका भावहरूमा
मेरो जीवनको यात्रा निर्धारित छ
तिम्रा नयनका ती अव्यक्त भाका पढेर
कहिले म प्रफुल्ल हुन्छु
कहिले विषारक्त हुन्छु
तिम्रो अनुहार मेरो लागि आकाश हो
जसमा जब जब बादल लाग्छ
मेरो खुसीको घाम छेकिन्छ
जब तिम्रो मुहारमा हर्षको किरण टल्किन्छ
मेरो मनको बादल हट्छ
अनि मेरो घाम झुल्किन्छ
तिम्रो अनुहार मेरो लागि त्यो ऐना हो
जहाँ मेरो माया प्रतिविम्बित हुन्छ
अनि तिम्रो त्यो मायामा जब तिम्रो,
मनका उद्वेग र आनन्दहरू तरंगीत हुन्छन्
तिम्रो अनुहारको भाव पढेर,
तिम्रो मनमा बिझ्ने ती काँडाहरूको पिडा,
म अनुभूत गर्छु
उल्लास र उन्मुक्त प्रेमको,
समुद्री शितलता अनुभव गर्छु
तिम्रो वेदनामा,
म अनन्त सुनामी बोकेर,
आफ्ना आँखा हरूबाट छचल्किन्छु
तिम्रो खुसीमा,
असीम सुखान्त संवेगहरू अँगालेर
म गोधूली-छालहरूसँगै उर्लिंछु
तिमी आफ्नो मनको बह बिसाएर जान्छौ
मेरो मनमा,
अनि वियोगबाट मुक्त हुन्छौ
म खुसी बाँडी फर्किन्छु तिमीमा
अनि सुखको अनुभूति गर्छु
त्यस बेला हामी,
गणितीय सूत्रमा ढालिन्छौँ
माइनस माइनस दु:खुलाई जोडेर
सुखको क्षितिज बनाउँछौँ
प्लस प्लस खुसीहरू संगालेर
हर्षको सागर फैलाउँछौँ
म हरपल तिम्रा ती नयनहरूमा
आफ्नो जीवनको परिभाषा खोजिरहन्छु
मुस्काईरहेका तिम्रा ती निश्छल अधरहरूमा
जीवन बाँच्नुको रहस्य खोतलिरहन्छु
तिम्रो समग्र अनुहारका ती भावहरू
मेरो समष्टि प्रेमको पाण्डुलिपि हुन्
एउटा व्यक्त नहुने कथा,
जुन मायामा कहिल्यै देखिँदैन
कहीँ नलेखिएको सत्य,
पत्र-पत्रिकामा भेटिँदैन
पढ्न सक्छौँ भने,
खालि तिमी र म, हाम्रो अन्तर मनमा,
किनभने यो बाहिर कतै लेखिँदैन
तर हाम्रो मुटुबाट कहिल्यै मेटिँदैन…
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)