कविता : निलो आकाश छोप्न दिने छैन

~गिरिप्रसाद बुढा~

निलो र खुल्ला आकाशमुनि
पहारिलो घाम लाग्ने ठाउँमा
मेरो सानो घर थियो
मेरो घरको मैराबाटै
ऊ पारीको मगर गाउँ
क्या मिलेको देखिन्थ्यो
मेरो घरको झ्यालैबाट
पवित्र झर्ना बग्दै गरेको
वरिपरि हरियो जङ्गलले ढाकिएको
एउटा विशाल पहाड
त्यो पहाडको शीरमाथि
मनोरम हिमाल
सबै सबै देखिन्थ्यो
तर तिमी आज
एक्कासी डलर बोकेर आयौ
र, मेरो सानो घरको सामुन्नेमा
विशाल महलका लागि पिलरहरू गाड्न थाल्यौ
तिमीले महलको एकतला बनाउँदा
मेरो सानो घरको मैराबाट
मगर गाउँ देखिन छोड्यो
तिमीले अर्को तला उठाउँदा
हरियो पहाड र मनोरम हिमाल पनि छोपियो
तैपनि तिमी अझै अर्को तला थप्दै छौ
भो अब त अति भो
योभन्दा माथि
अझै अर्को तला थप्छौ भने
यो स्वीकार्य हुने छैन
म तिम्रो महल चकनाचुर पारिदिने छु
किनकि अब डलरको आडमा तिमीले
मगर गाउँलाई ओझेल पारेको कुरा
मैले सहन सक्दैन
हिमाल र पहाडलाई छोप्ने कुरामा
मेरो सहमति हुन सक्दैन
म मेरो सानो घरमा लाग्ने
पहारिलो घामलाई
रोक्न दिने छैन
म यो निलो र खुला आकाशलाई
छोप्न दिने छैन ।

(स्रोत : हाँक विक्ली – वर्ष ३२, अङ्क ८ – Jan. 7, 2015 – २०७१ पौष २३ गते, बुधबार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.