संस्मरण : मैले भोगेको सुशासन

~कुबेर काका~

देशवासीले अव कुनै आन्दोलन र हडताल गरेर अधिकार खोज्नु पर्दैन । हुकुमी राणा शासन जनताको चाहना अनुसार संघर्ष गरेर हटायौं । कालो पञ्चायतका लागि पनि जनता कै सहयोग लिएर समाप्त गर्न सफल भयौं । देशमा २४० बर्ष जरो फैलाएर बसेको शाह बंशको शासनबाट मुक्ती हुन पनि हामी सफल भयौं । अव हामी लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरी सकेका छौं । हामीले कसैका विरुद्ध संघर्ष गर्नु पर्दैन । प्रायश सबै सरकार सञ्चालन गर्ने सवै राजनैतिक दलका नैतृत्व तथा कार्यकर्ताले प्रयोग गर्ने शब्द शुशासन कायम हुनु पर्दछ ।

देशमा लोकतन्त्र स्थापना पूर्वको र हाल देश लोकतान्त्रिक गणतन्त्रमा प्रवेश भए पछि पनि सर्वसाधारणले कुनै परिवत्र्तनको अनुभूति गर्न सकेका छैनन । राणा शासनका कर्मचारी सबै अवकास भई सकेका छन । पञ्चायत कालमा नियुक्त भएका कर्मचारीले नै २०४६ पश्चात प्रजातन्त्रकालमा कार्यालयहरु सञ्चालन गरेकोले होला पञ्चायत कालमा गरिने खुलमखुल्ला दलाली कर्मचारीले प्रजातन्त्र कालमा त गर्न सकेनन तर कर्मचारीहरुको मानसिकता म राष्ट्र सेवक हुँ । मैले जनताबाट उठाएको करबाट तलब भत्ता लिएर परिवारको भरण पोषण गरी रहेको छु भन्ने सोचको विकास हुन सकेन । लोकसेवा आयोग पास भएर नियुक्ति भएको ठाऊँ उहिले विर्ता पाए जस्तो भएको छ ।

लोकतान्त्रिक गणतन्त्रको स्थापना भए पछि त झन जनताले पाउने दुखको सीमा नै छैन । सरकारले सर्वसाधारणलाई सुलभ सेवा प्रदान गर्ने सोच भएता पनि सेवाग्राही पिडित भएका छन । सेवा ग्राहीले अनुमान गरेको समय र खर्चले पुग्दैन दोब्बर तेब्बर लाग्ने भएको छ । सेवाग्राहीको सेवाको लागि हामी राष्ट्रसेवक भएका हौं भन्ने नैतिक दायित्व नै कर्मचारीमा छैन । मनका कुरा खोलेर भन्न नसकेर होला हलुवाईले जिलेवी फकाउन हात घुमाए जसरी प्रकृया घुमाउने गर्दछन । जनतालाई कसरी बढी भन्दा बढी दुख दिन सकिन्छ भनेर हुने कामलाई पनि दुख दिन्छन । पञ्चायत कालदेखि लोकतान्त्रिक गणतन्त्रसम्म आई पुग्दा जसले जति नै सुशासन भनेर चिच्याए पनि मैले केही अन्तर पाएको छुइन । मैले भोगेको पञ्चायत कालदेखि लोकतान्त्रिक गणतन्त्रसम्म सुशासनको पिडा पस्कने जमर्को गरेको छु ।

पञ्चायत कालमा मैले एस.एल.सी दिएर नागरिकता बनाउनको लागि पहल गर्दा माघ महिना थियोे । जनकपुर चुरोट कारखानामा सत्ताईस जना मुखियाको माग भएको रहेछ । त्यस विज्ञापनमा आवेदन दिनका लागि तीस दिनको समय र दोब्बर दस्तुर थप सात दिन भित्रमा भए पनि आवेदन दिनका लागि म लहानबाट हर्दिया नागरिकताको सिफारिश लिन आएँ । तत्कालिन प्रधान पञ्चबाट सिफारिस लिएर राजविराज गएँ । नागरिकताका लागि जिल्ला पञ्चायत सभापतिको सिफारिश नभई जिल्ला प्रमुखको कार्यालयले निवेदन नै लिदो रहेनछ । जिल्ला पञ्चायत सिफारिश लिन जाँदा जिल्ला सभापति सात दिनसम्म नआउने गरी बाहिर गएको जानकारी भयो । सात दिन राजविराजमा बस्ने कुरै भएन । फर्किएर लहान आएँ । सात दिन पछि पून सभापतिको सिफारिश गरेर निवेदन दर्ता गराएर कहिले नागरिकता हुन्छ भनी फाँटमा सोधपुछ गर्दा हामी हेरेर बोर्डमा गर्छौ । बोर्डले पास गरे पछि अनि पाइन्छ नागरिकता त्यति सजिलै पाइन्छ भनी कर्मचारीले जवाफ दिए । बोर्ड कहिले बस्छ ? भनी जानकारी लिन खोज्दा पन्ध्र दिन पछि आउनु भनी जवाफ दिए । फर्किएर फेरि लहान आएँ । पन्ध्र पछाडि राजविराज पुगेर बुझ्दा नाम पिठमा भएको नाम र पेश गरेको नाम नमिलेको सूचना प्रकाशित गरेको रहेछ । नाम फरक परे पनि व्यक्ति एकै हो भनी वडाध्यक्षले सर्जमिन गरी प्रधान पञ्चको सिफारिश लिएर आउनु भनी कर्मचारीले जानकारी गराए । निवेदन दर्ता हुनासाथ पिठमा भिडान गरी दिएको भए तत्कालै म सर्जमिन र सिफारिश लिएर आउने थिएँ तर कर्मचारीको नियतले त्यो गर्न सकिन ।सर्जमिन सहितको सिफारिश पेश गरेको पन्ध्र दिन पछि नागरिकता पाउने नाम सिफारिश भएछ । नागरिकता लिन जाँदा सनाखत गर्नेको नागरिकता र नातेदार चाहिने रहेछ । फेरि लहान आएर आमालाई लिएर सनाखत गराई २०४२÷२÷१७ गते म नेपालको नागरिक बनें । त्यस समय सबै पञ्च नेपाली सबै नेपाली पञ्चको नारा लगाउथे । पञ्चायतलाई माटो सुहाउदो सुशासनको नामाकरण गरिएको थियो । पञ्चायत काल भरी मैले आफ्नो काममा सरकारी कार्यालय धाउनु नै परेन ।

राष्ट्र सेवक कर्मचारीहरुले हामी जनतालाई प्रदान गर्ने गरेको सेवाको अनुभूति छुट्टै छ । कानूनमा लेखेको कुरा सबैलाई थाह हुदैन । तर भोगेको पिडा बाँचुञ्जेल याद रही रहन्छ ।

सन्तान जस्तो सुकै भए पनि उसको खुशीको लागि अभिभावक जे गर्न पनि राजी हुन्छन । जस्तो सुकै झमेला व्यहोर्न तयार हुन्छन । त्यसबाट म पनि बञ्जित हुन सकिन । एस.एल.सी पास भएर प्लस टु गर्न भनेर निस्किएको छोरोले सामुदायिक विद्यालयबाट उतीर्ण हुने विद्यार्थीलाई उच्च माद्यामिक शिक्षा परिषदले छात्र वृत्ति दिदो रहेछ । त्यसको लागि सम्बन्धित शिक्षा कार्यालयको सिफारिश लिनेले मात्र उक्त छात्रवृत्तिको लागि आवेदन दिन पाउने रहेछ उक्त सिफारिस पठाई दिनका लागि खबर गर्दछ । छोराले दिएको जानकारी अनुसार म जिल्ला शिक्षा कार्यालय सिफारिश लिन पुग्दछु । सम्बन्धित फाँटमा मैले धेरै पहिले देखि हाई हेल्लो गरेको मित्र काम गर्नु हुदो रहेछ । म पुग्दा उहाँ कोठामा हुनु हुन्न थियो । सोधी खोजी गर्दा उहा निजामति कर्मचारी संगठन जिल्ला कार्य समितिमा हुनु हुदो रहेछ र मिटिङ्गका लागि जानु भएको रहेछ । उहाँ केही समय पछि आई पुग्नु भयो ।उहाँलाई आफू आउनुको कारण सम्पूर्ण विस्तार गरे पछि विद्यालयबाट सिफारिश चाहिने तथ्य अवगत भयो । म छोरो पढेको विद्यालय देउरी उच्च मा.वि.मा सिफारिश माग गर्न पुग्दछु । माग अनुसारको सिफारिश विद्यालयका प्राचार्यले उपलब्ध गराउनु भयो । त्यो दिन त्यसै वित्यो । भोलिपल्ट सिफारिश पत्र लिएर जिल्ला शिक्षा कार्यालय पुगें । १२ बजेसम्म त्यो फाँटमा कोही आउनु भएको थिएन । अपरान्ह बाह्र बजे मित्र कार्यालय परिसरमा प्रवेश गर्नु भयो । म पनि उहाँको अनुशरण गर्दै पछि लागें । उहाँ जिल्ला शिक्षा अधिकारी बस्ने कोठाको सोफामा उपर खुट्टी लगाएर बस्नु भयो । मैले कोठामा जाऊँ न दुर्गा सर भनेर अनुरोध गर्दा प्रमुख जिल्ला अधिकारीले मेरो अनुहारमा पुलुक्क हेर्नु भयो । मेरो मित्र चुपचाप उठेर आफ्नो कुर्सीमा विराजमान हुनु भयो । मैले लगेको सिफाशिस पत्र उहाँको हातमा दिएँ । उहाँले मार्कसिट माग्नु भयो । सानो ठिमीले पठाएको मार्कसिट आई पुगेको थिएन । इण्टरनेटबाट डाउनलोड गरेको मार्क सिट मसंग थिएन । मार्कसिट नभई सिफारिश दिन नसक्ने उहाँले जानकारी गराउनु भयो । कार्यालयको नेटबाटै डाउनलोड गरेर हेर्न मैले अनुरोध गरें । उहाँले मेरो अनुरोध पटक्कै स्विकार गर्नु भएन । म तल गाईघाट बजार पुगेर नेटबाट मार्कसिट डाउन लोड गरी प्रिण्ट गराएर जिल्ला शिक्षा कार्यालय पुगे । अपरान्ह २ बजी सकेको रहेछ । उहाँ चिया नास्ताको लागि निक्लिनु भएको रहेछ । २ः३० बजे उहाँ आएर पून कुर्सीमा बस्नु भयो । मैले लगेको सिफारिश र मार्कसिट उहाँको टेवलमा राखी दिएँ । उहाँले हाई गर्दै अल्छी मानेर कम्प्युटर अन गरेर मैले लगेको मार्कसिट नेटमा चेक गरेर पत्र तयार गरी दिनु भयो । मैले लगेको सिफारिश पत्र र मार्कसिट अफिस कपीमा स्टिच गरेर मलाई जि.सि.अ.को मा गएर दस्तखत गराई तल चलानीमा गएर चलानी गराई ओ सी कपी ल्याई दिनु होला भनी भन्नु भयो । म उहाँले अह्राए अनुसार चलानी गरेर उहाँको कोठामा पुगें । ओ.सी.कपीमा मलाई बुझ्न भन्नु भयो । मैले ओसी कपीमा सक्कल प्रति बुझी लिए भनी सही दिएँ । मैले मेरो काम भएकोमा मित्रलाई धन्यवाद दिएँ । मैले धन्यवाद दिदै गर्दा उहाँले मैले सक्कल बुझेको ओसी कपी पोको पारेर डस्टविनमा फ्याक्नु भयो र धन्यवाद भन्नु भयो । मैले उहाँको अनुहारमा हेरें । उहाँले मेरो नजरमा नजर जुधाउन सक्नु भएन । मैले मोवाइल अन गरेर फेस बुक खोले । यो तपाईको फोटो होइन भनेर देखाएँ । उहाँले टाउको हल्लाएर हो को संकेत गर्नु भयो । मैले तपाईलाई मित्र बनाएको थिएँ । आजबाट तपाई मेरो मित्र रहनु भएन है भन्दै उहाँको नाम डिलिट गरेर म बाहिर निस्किएँ ।

विराटनगरको अरनिको बोर्डिङ्ग पढन पाए मात्र विराट नगरमा पढने नत्र काठमाण्डौं जाने छोराको अडान पुरा गर्न विराटनगरमा कोठा लिएर बसी सकेकोले सिफारिश पत्र लिएर पठाई दिएँ । परिषदले लिएको परीक्षामा उतीर्ण भएको तर अरनिकोको लागि छात्रवृत्ति कोटा समाप्त भई सकेको भनेर दिएनन । एकपल्ट आएर कुराकानी गरी दिनु प¥यो पनि छोराको अनुरोध स्वीकार्दै म विराटनगर परिषदको कार्यालयमा पुगे । लामो लाइन लागेर टोकन लिनु पर्दो रहेछ । टोकन लिई सके पछि पत्र तयार गरिदो रहेछ । लगभग चार घण्टा लाइनमा बसेर टोकन लिई पत्रका लागि लाइनमा उभिन पुगें । लाइनमा बस्ने विद्यार्थी तथा अभिभावकले माग गरेको उच्च मा.वि.को लागि छात्रवृत्ति नदिइदो रहेछ । विद्यार्थी पढन थालेको कलेजको नदिने कोटा समाप्त भएको जवाफ दिने गरिदो रहेछ । माधव दाहाल प्रशासकीय अधिकृतलाई अरनिको लागि छात्रवृत्ति उपलब्ध गराउन अनेकौ पटक अनुनय विनय गरें । तर उहाँले छैन भनेर नै टार्नु भयो । बगरेले काटनका लागि ठीक पारेको खुकुरी खसीले जति नै विलौना गरे पनि आफ्नो इराधा नफेर्ने जस्तै उहाँको मुखमा छैन भन्दा अरु शब्द निस्किएन । त्यो दिन त्यसै वित्यो । म छात्रवृत्तिको पत्र नलिई फर्किएँ । भोलिपल्ट विहानै पून परिषदको कार्यालयमा पुगें । उहाँका मोवाइलमा घण्टी बज्यो । उहाँ हामीसंग अरिमठे हुनु भएको थियो । तरमा उहाँ लज्जावती जस्तै चाम्राक चुम्रुक भएर भै हाल्न नि हजुर पठाई दिनुन भनेर फोन राख्नु भयो । हिजो चार घण्टा र आज तीन घण्टा समेत सात घण्टा परिषदको घेरामा उभिएर म जुन विद्यालयको लागि अनुरोध गरी रहेको थिएँ । उहाँ सात घण्टादेखि छैन भनेर रट लगाई रहनु भएको सात घण्टा पछि लिष्ट लिएर आउनेको लागि तीन थान छात्रवृत्तिको पत्र तयार गर्न लगाई दस्तखत गरेर मेरो सामुमा बुझाउनु भयो । उहाँले तयार गरेको छात्रवृत्तिमा नाम निक्लिने विद्यार्थीको प्राप्ताङ्क मेरा विद्यार्थीको भन्दा धेरै तल थियो । मैले पून अनुरोध गरें । उहाँले मलाई शिक्षा दीप विद्यालयको पत्र तयार गरेर थमाउदै कोठाभित्र भएका सबैलाई बाहिर निकाल्नु भयो । मेरो उद्देश्य पूरा नहुने भए पछि झ्यालबाट हातबाट भित्र छिराएर त्यो पत्र दिदैं भने । तपाईका साला भदाहा तथा कसैसंग बचनमा विक्नु भएको होला । त्यसलाई यो कोटा दिएर परिषदको अधिकारी भएको रबाफ जमाउनु होला । आफ्नो शाख राख्नु होला । तपाईका प्रभुहरुलाई खुशी पार्नु होला । एक दुई दिन भट्टीमा रमाउनु होला । मलाई यो पत्रको काम छैन भन्दै परिषदको कोठा भित्र हुत्याई दिएर हाताबाट निस्किएर उदयपुर तिर लागें ।

मैले उदयपुर जिल्ला प्रशासन कार्यालयबाट एक छोरी र एक छोराको नागरिकताको प्रमाण–पत्र बनाई सकेको थिएँ । कान्छो छोरोले पनि नागरिकताको माग गरेकोले नेपाली नागरिक भएँ भनेर नागरिकता लिए पछि असल नागरिक बन्न सक्नु पर्छ । असल नागरिक बनेर नैतिकताको लिलाम विक्री गर्न हुदैन । नागरिकको कत्र्तव्य पालन गर्नु पर्दछ । मैले हुर्काएँ बढाएँ पढाएँ । आजसम्म मेरो नाम कहि आएको थिएन । तव नागरिक भएर सफल हुन हुन सकिस भने फलानोको बाऊ भन्छन । नागरिकको कत्र्तव्य पालन गर्न सकिनस । कत्र्तव्यबाट च्युत भईस वा द्रव्य पिसाच बनिस भने समाजमा अमिल्दो भएर पतन भईस भने फलानोको छोरो भन्छन । त आफ्नो नाममा मलाई जोडने कि मेरो नाममा आफू जोडिने आफूले विचार गर्नु भनेर वडा कार्यालयबाट जिल्ला प्रशासन कार्यालयमा सनाखत गरिदनका लागि पुगें । दुई जना छोरा छोरीको नागरिकता बनाउदा म सप्तरीको नागरिकता भए पनि कसैले नक्कली नागरिकता धारी भनेर सोचेका रहेनछन । तेश्रो सन्तानको नागरिकता लिने समयमा मेरो नागरिकता प्रमाणिकरण गराउनु पर्ने भयो । जिल्ला प्रशासन कार्यालयमा पत्राचार गरिने भयो । पत्र चलान हुनु पूर्व प्रशासकीय अधिकृत हुदै प्रमुख जिल्ला अधिकारी समक्ष पुग्दा पनि कुनै सुनवाई भएन । निलो बस्त्रको पहिरनमा भएको ब्यक्तिको आदेश फाँटवाला प्रशासकीय अधिकृत र प्रमुख जिल्ला अधिकारीबाट काटने काम भएन । सदर भयो । नेपाल सरकारको स्वामित्वमा काम गरेको २५ बर्ष पछि मेरो नेपाली नागरिकताको प्रमाण–पत्रमा संका गरियो । विगतमा मैले यसै कार्यालयमा नागरिकतामा सनाखत बसेको नागरिकता पेश गर्दा पनि कुनै सुनवाही भएन । मलाई शान्त पार्नका लागि सप्तरीमा पत्र मेल गरी प्रमाणिकरण भएर आए पछि नागरिकता बनी हाल्छन भनी संझाउन खोजियो ।

स्वयम आफू कार्यालय परिसरमा घण्टौं घण्टा उभिदा नहुने कार्य मेलमा हुन्छ भनेर कसरी विश्वास गर्ने ? म स्वयम पत्र लिएर राजविराज गएर पत्रको जवाफ लिएर आई बुझाएर कान्छाको नागरिकतामा सनाखत गरी नागरिक संख्या बढाएर फर्किएँ ।

बर्षौं पहिले लिएको मेरो नागरिकताको प्रमाण–पत्र झुत्रिएकोले बसाई सराई, वडाको सिफारिश सहित प्रतिलिपीको लागि सप्तरीबाट प्रमाणीकरण भएको पत्र सहित जिल्ला प्रशासन कार्यालयमा पुग्दा सक्कल प्रति खिचेर प्रतिलिपी दिन नमिल्ने र छोराको लागि नागरिकता प्रमाणिकरण गरेकोले समेत नमिल्ने भनी उदयपुर जिल्ला प्रशासन कार्यालयले सप्तरीमा पत्र लेखी पत्र मेल गरेर मलाई सक्कल पत्र थमाई दिए । तीन महिनासम्म मेलबाट जवाफ आई हाल्छ कि भनेर पटक पटक उदयपुर जिल्ला प्रशासन कार्यालयमा सम्पर्क राख्न गएँ । सप्तरी प्रमुख जिल्ला अधिकारीको नं.मा बारम्बार टेलीफोन सम्पर्क गर्दा पनि मेरो काम भएन र पन्ध्र बर्ष अगाडि बसाई सराई पेश गरेको स्थानबाट सिफारिश लिएर राजविराजबाटै प्रतिलिपी लिएर उदयपुरको सुशासनको चिर निन्द्रामा सुत्ने कर्मचारीको निन्द्रा भङ्ग नगर्ने प्रण गरें ।

कार्यालयमा हाई हाई गरेर बस्ने, सेवाग्राही आउदा झर्को र फर्को गरेर बहाना बनाएर फर्काउने, काम गर्नु नपरोस भन्ने सोच लिने, कार्यालयको कम्प्युटर तथा नेटमा भिडियो चाट, फेसबुकमा झुल्लिने, पियनले भनेको हाकिमले काटन नसक्ने, कार्यालयको सबैको मानसिकतामा समानता भएकोले नै होला युवा जनशक्ति पलायन भई रहेको छ । राष्ट्रियता धरापमा पर्दै गई रहेको छ । राष्ट्र प्रतिको माया हराउदै गएको छ । दैनिक राहदानी बनाउनेको भिड बढी रहेको छ । त्यो भिडको संख्या थप्नका लागि राहदानी लिने लाइन बसेको देख्दा देख्दै पनि मैले केही गर्न सकिन । बरु राहदानीको दस्तुर बुझाएर एक महिना पछि राहदानी बुझ्ने लाइनमा बसें । राहदानी बाहक काठमाण्डौंमा बसेर राहदानी बुझ्न आदेशात्मक अनुरोध गरी रहेको छ । उसको नागरिकता तथा राहदानी वापत बुझाएको रसिद मसंग छैन । महिना दिन पछि म राहदानी लिन आफ्नो नागरिकताको प्रतिलिपी लिएर पूर्व निर्देशन अनुसार जिल्ला प्रशासन कार्यालयमा पुग्छु । राहदानी बनेर आई सकेको छ । कम्प्युटरमा राहदानी बन्नेको संख्या थप भई सकेको छ । म मेरो छोरोको राहदानी बुझ्न नपाउने भएको छु । पियनले दिएको आदेश न फाँटवालाले टार्न सक्छन न प्रशासकीय अधिकृतले काटन सक्छन । मलाई थाह छ रसिद नं. उल्लेख गरेर राहदानीको बाहिर स्टीकर टाँसेको छ । रसिद नं. भए त्यो खोज्न सरल हुन्छ । नाम खोजेर राहदानी दिनु भनेर पियनलाई आदेश दिन कार्यालय प्रमुख, अधिकृत तथा फाँटवाला कसैले सक्तैन । सुशासनको नाममा मलाई बारम्बार फर्काउन सक्तछन तर नाम खोजेर मेरो छोरोका राहदानी मलाई दिन सक्तैन उनीहरु ।

म सत्ताइस बर्ष नोकरी गर्ने कर्मचारीले सुशासनको नाममा सास्ती खेपी रहेको छु । ठानागाऊँ बलम्ता लेखानी बस्ने सर्वसाधारण दाजु भाई दिदी बहिनीहरुले सुशासनको कस्तो अनुभूति गरी रहनु भएको होला । काँचो पिडालु चपाएर घाटी कोपरेर रगताम्य पारेर म सुशासनको नारा लगाएर हिडी रहेको छु । गाऊँमा सामान्य लेखपढ भएका बुवा आमाहरुले सरकारी कार्यालयबाट कस्तो सुशासन भोगी रहनु भएको होला । सरकारले राष्ट्र सेवक कर्मचारीहरुको तलब भत्ता बृद्धि हुदा सुशासनको नाममा के सोची रहनु भएको होला । बाँकी बर्णन गर्ने अव तपाईलाई सुम्पिदै मैले भोगेको सुशासनको गन्थन बिट मार्दछु ।

कुबेर काका
तित्री गाछी, जलजले उदयपुर
उदयपुर सिमेण्ट उद्योग लिमिटेडमा कार्यरत

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in संस्मरण and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.