गजल : मनपरेन रे !

~शून्य प्रकाश~

दक्षप्रजापतिलाई कैलाश मनपरेन रे !
किन हो खै उसलाई चिसो बतास मनपरेन रे !

मसानमा बस्ने अनि धतुरो,विष,भांग खाने
दिगम्बरको गाँस,बास,कपास मनपरेन रे !

था’छ मेरो रामकहानी सबैसबै था’छ उसलाई
राम चैं मनपर्यो अरे वनबास मनपरेन रे !

सयपत्री ताक्नेलाई पारिजातको के अर्थ र ?
राति फुल्ने फूलको त्यो सुवास मनपरेन रे !

त्यसैले त निशाचर हुँ जून आउँछे राति भेट्न
बिडम्बना ! जूनको यो ‘प्रकाश’ मनपरेन रे !

– शून्य प्रकाश
biskatha@gmail.com

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.