~रजित ओझा~
“राजकुमारीलाई राक्षसले कैदी बनाएर राखेको थियो ! यत्रो यत्रो दाह्रा भएको । बडेमानको । हेर्दैमा घिनलाग्दो,” मैले हातैले दाह्राको आकृति बनाएँ ।
“हिजोको कथाको राक्षसको पनि दाह्रा थियो है बाबा ?” छोरीले प्रश्न राखी ।
मैले स्वीकारोक्तिमा टाउको हल्लाएँ, उसको कपाल सुम्सुम्याउँदै ।
“सबै राक्षसहरूको दाह्रा हुन्छ बाबा ?”
उसका मनमा कति प्रश्न कुद्छन् । कुनै–कुनै प्रश्नको त जवाफै नहुने ! हुन्छन् कि हुन्नन् होला सबै राक्षसका दाह्रा ? मैले सुनेका त सबै कथामा छन् । युगौंदेखि एकले अर्कालाई सुनाउँदै आएका कथा होलान् यी ! सबैमा राक्षसको दाह्रा छ ।
“हुन्छ छोरी ! सबै राक्षसको दाह्रा हुन्छ, कपाल लामो हुन्छ, आँखा राता राता हुन्छन् । राक्षस हेर्दै डरलाग्दो हुन्छ । यो राक्षस पनि त्यस्तै नै थियो । राक्षस राजकुमारी थुनिएको पिँजडाछेउको भित्ताको सिसा फुटाइदिएपछि मरिहाल्ने रै’छ ! राजकुमारीले आँखैको इशारामा राजकुमारलाई त्यो सिसा देखाइन् !”
छोरीका आँखा ठूला हुँदै गरेको मैले देखेको थिएँ । सामान्यतया जब–जब कथाको क्लाइमेक्स आउँदै जान्छ, उसका आँखा ठूला हुँदै जान्छन्, भाव गहिरो हुँदै जान्छ । लामा परेलीले पुर्लुक–पुर्लुक हेर्दै गर्दा म उसकी आमालाई सम्झिन्छु । म उसका आँखालाई ऊ जन्मिनुभन्दा अघिदेखि चिन्छु ।
“राजकुमारी कस्तो बाठी है बाबा ?”
म खिस्रिक्क हाँसे । राजकुमारी बाठी नै थिइन् र पनि राजकुमार जानु परेको थियो कथामा, राक्षसबाट जोगाउन ।
“राजकुमारले सिसा फोडिदिए । राक्षस छट्पटिँदै म¥यो । राजकुमारले राजकुमारीलाई घोडामा बसाए । कथा सक्कियो !” मैले मेरो आङ तान्दै कथा सिध्याइदिएँ । छोरीलाई सुत्नुपर्छ । मलाई कथा लम्ब्याउन मन थिएन ।
० ० ०
डोरबेल बज्यो । करिब ११ बजेको छ । मेरोमा यतिखेर सामान्यतया डोरबेल बज्दैन । छोरी निद्रामै छे । निद्रा नबिथलियोस् भन्ने मेरो पनि चाहना हो । को आयो यो मध्यरातमा ? बाहिर कुकुरहरू त एकनासले भुक्दै थिए । सिँढीको बत्ती बालेर तल झरें । ढोकाबाट चियाएँ । महिलाको आकृति थियो । निथ्रुक्क भिजेको ! यताउता हेरें, अरू मान्छे थिएनन् । ढोका खोलें ।
“तपाईं नै हो प्रकाश ? वकिल ? तपाईंको सहयोग चाहिएको छ ।”
“मुद्दाको कुरा गर्न यसरी भिजेर आउनुभएको ?”
उसले टाउको हल्लाई ।
“भोलि बिहान आउनुस् न !”
“मिल्दैन होला, बढो दुःखले यहाँसम्म आइपुगेकी छु !”
“कहाँबाट आउनुभएको हो र ?”
“कथाबाट !”
अनुहार चिने–चिने जस्तो लाग्यो । उसको कपालबाट तप–तप पानी चुही नै रहेको थियो । बाहिर पानी दर्केरै पर्दै छ, धेरैबेर भिजेर आएको हुनुपर्छ ।
“भन्नाले ?”
“बेलुका छोरीलाई कथा सुनाउनुभएको हैन ? त्यसै टुंग्याइदिनु भयो कथा ! सिध्दिएको छैन ! म त्यही राजकुमारी हुँ !”
हो त ! मैले जस्तो कल्पना गरेर कथा सुनाएको, ठ्याक्कै त्यस्तै छे । मात्र पानीले भिजेकी । लुगाचाहिँ राजकुमारीका जस्ता छैनन् । जिन्समा छे । माथि टि–सर्टमा ‘बी ए रेबेल’ लेखेको छ । हातमा ट्याटु पनि छ । स्निकर्स लगाएकी छे । कुन राजकुमारीले स्निकर्स लाउँछन् ? थोरै हिलो पनि लागेको छ जिन्समा । त्यो त मेरो घर छिर्ने छेउको हिलो होला । पानी जमेको छ त्यहाँ । अनि स्ट्रिटलाइटको उज्यालो पनि पुग्दैन । धेरै मान्छे राति त्यहाँ पर्छन् । एउटाले त झन्डै खुट्टा भाँचेको थियो आफ्नो ।
“लुगा हेर्नुभएको हो ? म यस्तै नै लाउँछु ! तपाईंले कल्पनामा मात्र हो हीरामोती जडेका लुगा देख्नुभा’को !” कथाबाटै निस्केर आएको हुनाले दिमाग पढ्ने खुबी पनि हुन सक्छ । थप शतर्क भई हत्तपत्त आँखा लुकाएँ ।
“हाम्रा कथा पनि पुरुषको मुखबाट सुनिँदा–सुनिँदा लुगा पनि उनीहरूकै रोजाइको भयो, कथा पनि उनीहरूकै रोजाइको भयो अनि कथाको अन्त्य पनि उनीहरूकै रोजाइको भयो । कसले सुनाउने हाम्रो आफ्नो कथाचाहिँ ?” ऊ अचानक मलिन भई । शायद आफ्नो कथा सुनाउन चाहन्छे ।
मैले ढोका खोलिदिएँ । ऊ बिस्तारै भित्र छिरी अनि सोफामा सकपकिँदै बसेर बोल्न थाली—
“राक्षस मरुन्जेलसम्मको कथामात्र तपाईंले सुन्नुभएको छ । त्यसपछिको कथा म तपाईंलाई सुनाउँदै छु । हजुर, तपाईंले ठीकै सोच्नुभयो !
म त्यही राजकुमारी हुँ, जसको कथा तपाईंले सानैदेखि सुन्दै आउनुभएको छ । अधुरो अनि अपुरो !
पारिलो घामको प्रकाशमा उसको वायुपंखी घोडा मलाई लिएर दगुर्दै थियो । त्यो दिन बादल पनि कपासजस्तै फाटेको थियो । नीलो आकाश ! पर–परसम्म देखिने फाँट अनि मात्र ऊ र म घोडामा । अनि उसको पसिनाको मीठो सुगन्ध । घरि–घरि उसको र मेरो शरीर ठोक्किँदा ऊ मलाई हेर्ने गथ्र्यो । म खासै मतलब गर्दिनथें । ऊ फेरि आफ्नो ध्यान बाटोतर्फ मोड्थ्यो । हामीले उसका सेनालाई धेरै पछि छोडेका थियौं ।
‘अब एकछिन सुस्ताउनुपर्छ, अलि पर चौतारो छ !’ उसले मेरो कानको नजिकै आएर फुस्फुसायो ।
चौतारोको नजिकै चियापसल पनि रहेछ । चियापसलेले राजकुमारलाई आधा झुकेर नमस्कार ग¥यो । उसले भने एउटा हातले नमस्ते फर्कायो ।
‘दुइटा चिया र खाजा बनाइदिनुस् न । अनि घोडालाई थोरै घाँस र चना पनि हालिदिनुस् है !’ उसले चियापसलेलाई आग्रह ग¥यो ।
“युवराज, राक्षस म¥यो ?’ चियापसलेले प्रश्न राख्यो ।
“म¥यो, मैले मारें !’ उसले खुशी हुँदै सुनायो ।
मैले उसलाई नियालें । गफ गर्दै गर्दा पनि एउटा हात उसको तरवारमै थियो । कस्सिएको । शायद ऊ चियापसलेलाई तरवार देखाउन चाहन्थ्यो । यसले नै हो राक्षस मारेको भन्न चाहन्थ्यो । तर, त्यो झुट हुने थियो । त्यही भएर भनेन । राक्षसलाई त हामीले मारेका थियौं । सिसा मैले देखाएकी थिएँ, आँखाको इशारामा । चियापसलेलाई सुनाउने कथामा त्यो क्षण अटेन । मैले चित्त दुखाएकी नै त हैन तर पुरुषहरू कामको जस दिन जान्दैनन् । उनीहरूका लागि राम्रो सधैं मैले नै गरेको हुन्छ, हामीले गरेको हुन्न !
‘युवराजको जय होस् !’ भन्दै पसले भान्सातिर छि¥यो ।
चिया र खाजा ल्याएर चियापसले घोडालाई घाँस हाल्न थाल्यो । राजकुमारको घोडा गज्जपको छ, बलियो अनि गतिवान । मैले पनि घोडचढी सानैमा सिकेकी हुँ । मेरी आमा मैले घोडचढी गरेको हेरिरहनुहुन्थ्यो अनि बुवा पनि । कहिलेकाहीँ भन्नु पनि हुन्थ्यो, ‘तिमी कतै पनि राजकुमारी जस्ती छैनौ, राजकुमार जस्ती छौ !’ मैले अहिलेसम्म बुझेकी छैन, के भन्न खोज्नुहुन्थ्यो । घोडचढी राजकुमारले मात्र किन गर्नुपर्ने ?
‘अबको बाटो म घोडा कुदाऊँ ?’ मैले आग्रह गरें ।
उसले पुलुक्क मतिर हे¥यो अनि लाडिँदै भन्यो, “अब म हुन्जेल राजकुमारीले घोडचढी गर्न पर्दैन !’
‘तर मलाई त घोडचढी मन पर्छ !’
‘राजपरिवारमा जन्मिएपछि थोरै त्याग, थोरै सम्झौता गर्नुपर्छ राजकुमारी !’ चिया सुरुप्प पार्दै थोरै मुस्कुराउँदै उसले कुरा टुंग्यायो । मैले थप बोलिनँ । तर, उसको कुटिल मुस्कान मेरो छातीमा कतै बिझ्यो । चस्स । उसको घोडा हेरें, सम्झें— अघि क्या बतासिएको थियो । त्यसलाई लाग्दो हो— ऊ दौडेरै संसारको विचरण गर्नेछ । तर, पक्कै बुझेको होला— उसको वेगको लगाम कसैको हातमा छ ।
‘राजकुमारीको पहिरन किन यस्तो ?’ उसले चिया खाइसक्दै गर्दा मलाई प्रश्न राखेको थियो ।
‘कस्तो ?’ मैले आफ्नो शरीर र पहिरन नियालें ।
‘राजकुमारीको जस्तो छैन !’
ऊ घोडामा चढ्यो । उसको पछि चढौं÷नचढौं— खुट्याउन सकिनँ । अरू उपाय छैन । सुस्तरी उसको पछि बसें । उसको पसिनामा सयौं वर्ष गुम्सिएको पुरुषत्व ह्वास्स गन्हायो !
० ० ०
स्थानः प्रकाशको लिभिङ रुम
“कफी खानुहुन्छ ?” राजकुमारीले मेरो यो प्रश्नमा स्वीकारोक्तिस्वरुप टाउको हल्लाइन् । मैले कथा बीचमै रोकेको छु । रात छिप्पिँदै छ । बाहिर कुकुर भुकेको आक्कल–झुक्कल आवाजबाहेक केही छैन । करिब २ बज्न आँटेको छ । हुन त यति राति जागा हुनु मेरो लागि नौलोचाहिँ होइन । कहिलेकाहीँ मलाई निद्रा पर्दैन । खासगरी कहिलेकाहीँ सपनीमा उनलाई देखेपछि । एकछिन रिमोट बटार्छु । हेर्नचाहिँ कुनै च्यानल हेर्दिनँ, मात्र रिमोट बटार्छु । पर्दामा छुट्याउनुअघि बदलिने दृश्यहरू मन पर्छन् । जीवन पनि त्यस्तै त हो, सबै बुझ्न, छुट्याउन कसलाई पो समय पुग्दो हो ! कहिलेकाहीँ सोफामै निदाउँछु, छोरी बिहान लाडिँदै आएपछि बिउँझिन्छु ।
भान्छामा पानी बसाएँ । राजकुमारी मेरो पछि–पछि भान्छामै आइन् । अनि एउटा कुर्सीमा बसिन् ।
“एउटा कुरा सोधौं ?” मैले उम्लिँदै गरेको पानी हेर्दै प्रश्न राखें ।
“सोध्नुस् न !”
“त्यति भएपछि पनि तपाईंले राजकुमारसँगै विवाह गर्नु भो त ?”
“यहाँ कस्तो छ थाहा छैन तर राक्षसको मुखबाट जोगाएर ल्याएपछि म राजकुमारकै सम्पत्ति हुने खालको ऐन छ त्यहाँ ! अरू उपाय छैन ।”
म मौन बसें ।
“तपाईंहरूको कथा विवाहप्रति कति पूर्वाग्रही छन् है ?” पुलुक्क मतिर हेरिन् ! म कफीकै कप खेलाउँदै थिए । झ्यालबाहिर अम्बाको रुख बतासले होला— हल्लिँदै थियो, कुनै जँड्याहाजस्तै । अनि स्ट्रिट ल्याम्पको प्रकाश पनि रुखसँगै हल्लिँदै थियो, किचनको झ्यालमा— उही जँड्याहाकै साथीजस्तै ।
“किन र ?”
“विवाह सधैं तपाईंहरूको कथाको अन्त्यझैं, अनि प्रेम त भइहाल्छ नि भन्ने आशयका कथाहरू । प्रेमलाई एकतर्फी बनाइएका कथाहरू । हाम्रोमा विवाह नै स्त्रीमाथिको जित ! सोचेजस्तो विवाहका महोत्सव कहाँ हुन्छन् र ! हुन्छन् त फगत पुरुषको महिलामाथिको विजयोत्सव, त्यो पनि पुरुषको राजमहलमा । अनि आफ्नै हारमा मुस्कुराउनु पर्ने बाध्यता !”
राजकुमारी एकछिन अडिइन् अनि फेरि बोल्न थालिन्, “सबै पुरुषले बनाएका नियम कानुन ! हामी कहीँ अटाउन्नौं । न नियममा, न कानुनमा, न न्यायप्रणालीमा !”
किचन टेबलको चक्कुमा घोरिँदै उनले आफ्नो विवशता पोखिन् । यहाँ अलि फरक छ । नियम छ, कानुन छ— एक मनले भन्यो ।
“हो र ?” अर्को मनले प्रतिप्रश्न ग¥यो ।
“अनि के भयो त्यसपछि ? आई मिन तपाईंको कथा बाँकी सुनौ न !”
त्यसपछि उसले बाँकी कथा भन्न थाली—
“राजमहल आएपछि मलाई पहिरन बदल्न लगाइयो । म उनीहरूले सोचेजस्तै राजकुमारी भएँ । एउटा कोठामा राखियो । केही छिनपछि राजकुमार प्रवेश ग¥यो कोठामा, उसकै कोठा रहेछ । मैले उसको ठूलो कदको फोटो देखेरै पत्ता लगाएकी थिएँ । पहिलो भेटमा उसको बलिष्ठ शरीरले राक्षस मार्न सिसामा प्रहार गरेको देख्दा मेरो मनमा ऊप्रति आकर्षण आएकै हो । म ढाँट्दिनँ । त्यो त प्राकृतिक नै होला । तर, त्यसपश्चात् म यो पुरुषसँग करिब तीन दिनदेखि नै सँगै थिएँ । उसको पुरुषत्व मैनजस्तै पग्लिँदै थियो । उसका अन्तरंगबाट जुन दुर्गन्ध निस्केको थियो, त्यसले नजिकिन मलाई गाह्रो भएको थियो । तर, मलाई सोध्ने कसले ? ऊ त झन् राजकुमार ! शक्तिशाली । उसले एक–एक गर्दै मेरा वस्त्रहरू खोल्यो । खोल्दै गर्दा कटाक्ष गर्न पनि पछि परेन, ‘राजकुमारीलाई यो पहिरन कस्तो सुहाएको !’
म मौन बसें । उसले मेरो अचल शरीरमा केही निमेष रजाइँ ग¥यो । अनि थकित भएर पल्टियो अर्को कुनामा । म झ्यालबाट बाहिर चन्द्रमालाई नियालेर पल्टिरहें । केही छिनमा निदाएछु पनि । तर जब ब्युँझें, राजकुमार छेउमा थिएन । ढोकाबाहिर केही खासखास खुसखुस सुनियो । ढोकामा कान लगाएँ । राजपुरोहितको आवाज जस्तो लाग्यो, ‘तन्ना सेतो नै हो र युवराज ?’
‘हो ! रगत लागेको छैन !’
‘राजकुमारीलाई घोडचढीको शोख छ भन्ने सुनेको थिएँ । हो युवराज ?’
‘मसँग पनि घोडचढीको कुरा गर्दै थिइन् !’
‘त्यसैले होला । चिन्ता नगर्नुहोस् युवराज !’
म पलङतिरै फर्किएँ । डङ्रङ्ग लडें । मेरो कुमारित्व अहिले महलको चर्चाको विषय भएको छ । त्यसले म सुशील छु कि चरित्रहीन पत्ता लाइनेछ । मेरो चरित्रको प्रमाणपत्र अरूबाट किन ? त्यो राक्षसले मलाई बाँधेरै राख्दा पनि कुमारी छस् कि छैनस् भनेर सोधेन । राजमहलमा सोधिँदै छ । त्यो पनि मसँग हैन, म सुतेको तन्नासँग । राजकुमार सिरकभित्र छिर्दै गरेको आभास त भयो तर त्यता पल्टिइनँ । एकछिनपछि घुर्न थालेको सुनें । निदाएकी थिइनँ । किन हो खोइ— जुरुक्क उठें र तबेलातिर लागें । राजकुमारको विशेष तबेला, जहाँ वायुपंखी घोडाहरू पालिन्छन् । मुख्य सइस जागै थियो । मलाई देखेर थोरै डरायो ।
‘राजकुमारी ! यति रातमा ? यहाँ ?’ उसले एकै वाक्यमा आफ्नो डर पोख्यो ।
मैले उसलाई हेरें । सइसको प्रश्नमा पनि मलाई पुरुष गन्हायो । ऊ अलि पर स¥यो । अघि बढेर दुई दिन चढेको घोडालाई सुम्सुम्याएँ । उसले पनि मलाई चिनेजस्तो ग¥यो । घोडालाई खोलें ।
‘राजकुमारी, माफ गर्नुहोला ! राति राजमहलबाट स्त्रीहरू बाहिर निस्किन्नन् !’ सइस सुस्तरी बोल्यो ।
‘राक्षस त सबैतिर हुन्छन् । महलभित्र पनि, बाहिर पनि !’ मैले पनि सुस्तरी नै जवाफ फर्काएँ । अनि म पनि बतासकै गतिमा दौडिएँ । खुला आकाशमा, जहाँ नियम छैनन् ।
० ० ०
भोलिपल्ट राति—
मैले छोरीलाई काखमा लिँदै भनें, “आज तिमीलाई म दाह्रा नभएको राक्षसको कथा सुनाउँछु !”
“अनि हिजो सबै राक्षसको दाह्रा हुन्छ भन्नुभएको हैन र बाबा ?”
“मैले पनि हिजै थाहा पाएँ छोरी । सबै राक्षसका दाह्रा हुन्नन् ! कोही राक्षस हेर्दा राम्रा देखिन्छन् । अग्ला, गोरा, राम्रा लुगा लाउने, राजकुमार जस्ता !”