~सानु शर्मा~
सानेपाको भव्य तीन कोठा, भान्सा, लिभिङ, डाइनिङ र एउटा सानो स्टडीसमेत भएको आफ्नो अपार्टमेन्टमा गृहप्रवेश गरिसकेपछि ममीको पहिलो उद्गार थियो, “बल्ल पिछा छुट्यो पाखेहरूसँग !” त्यसपछि उहाँले मतिर फर्केर कडा स्वरमा भन्नुभा’थ्यो, “अब तँ तिन्लाई बटुलेर मेला नलगाएस् है सौरभ याँ, मैले भन्द्या छु !”
म केही बोलिनँ । तर, पछाडि सबै छुटेको अनुभूतिले नराम्ररी दुखाइरह्यो मलाई । अचम्म ! जुन कुराहरूसँग पिछा छुट्यो भनेर ममी निर्धक्कको उच्छ्वास छोड्दै हुनुहुन्थ्यो, तिनै कुराहरू पछाडि छुटेकोमा मेरो मन अधीर र उदास थियो । तर, सधैंझैं म चुप थिएँ । मेरो व्यक्तित्वको सबैभन्दा ठूलो कमजोरी शायद यही नै थियो— म मनको कुरा बोलेर प्रकट गर्न सक्थिनँ ।
० ० ०
हाम्रो पुख्र्यौली घर थानकोटको पुछारमा थियो । घर अगाडि–पछाडि टन्नै जग्गा, त्यो जग्गामा आँप, अम्बा, कागती, भोगटे र कागतीदेखि नासपातीसम्म लटरम्म फलेका हुन्थे— सिजनअनुसार । पाँच दाजुभाइमा बुवा तेस्रो हुनुहुन्थ्यो । परिवारलाई छेलोखेलो हुने गरी अन्नपात उब्जने खेतबारी थियो । ठूलो बुवाहरू खेतीपाती हेर्नुहुन्थ्यो भने बुवासहित दुईजना काकाहरू जागिरे थिए । घरमा कुनै कुराको कमी थिएन । सद्भावदेखि साथसम्म सबै जुटेको थियो ।
तर, मेरी ममीलाई आफ्नो माइती शंखमूलको तुलनामा थानकोट ‘गाउँ’, ‘पाखा’ र त्यहाँका मान्छे ‘पाखे’ लाग्थे । हुन त त्यो जमानामा आजको थानकोट थानकोट थिएन । उसो त शंखमूल पनि त कुन ठूलो शहर थियो र ! तर, ममीले घरमा छिरेको भोलिपल्टदेखि नै परिवारमा सामञ्जस्य बसाउन सक्नुभएन । त्यसैले प्रायः माइतैमा बस्नुहुन्थ्यो उहाँ । घर हुँदा पनि ठूलीआमा, काकीहरूजस्तो सबैसँग घुलमिल हुन सक्नुहुन्थेन । आफ्नै कोठामा ढोका थुनेर बसिरहनुहुन्थ्यो । उहाँ बुवालाई किचकिच गरिरहनुहुन्थ्यो, छुट्टै घर लिएर शहरमा बस्नको लागि । तर, संयुक्त परिवारका बीचमा हुर्किनुभएका बुवा परिवारबिना आफ्नो कल्पना गर्न डराउनुहुन्थ्यो । किचकिच अलि बढेपछि दुई परिवारको मध्यस्थता चाहिन्थ्यो— ममी र बुवालाई सम्झाइ–बुझाइ गर्न । कतिपटक त बुवाको घरकाले वाक्कदिक्क भएर बुवालाई आफ्नो भागको अंश लिई उतै बस्न दबाबसमेत दिए । तर अहँ ! घर, परिवार छोड्ने हिम्मत बुवाको थिएन ।
उहाँहरूको वैवाहिक जीवनको डुंगा ढलपल–ढलपल गरिरहेकै बेला म जन्मिएको थिएँ । मेरो जन्मनुले उहाँहरूको सम्बन्धलाई केही स्थिरता दिएको थियो । ममीले किचकिच गर्न छोड्नु त भएको थिएन तर केही कम गर्नुभएको थियो । यसै पनि ममी धेरैजसो माइतमै बस्नुहुन्थ्यो ।
मैले जाने–बुझेदेखि हाम्रो घरका मान्छेहरू ममीको अनुपस्थितिमै सहज देखिन्थे । एउटै मालामा गँुथिएका फूलजस्तो हाम्रो परिवारको वातावरण देखेर मान्छेहरू छक्क पर्थे । यहाँ सबैलाई सबैको परवाह थियो । बाँडेर, साथमा बसेर खानमा विश्वास राख्थे सबै । तर, मेरी ममी ? उहाँ दुइटा समोसा किनेर ल्याए पनि आफ्नो कोठामा लुकाएर राख्नुहुन्थ्यो र बुवा अनि मलाई सबैको नजर बचाएर खान जोड दिनुहुन्थ्यो । मलाई नमज्जा लाग्थ्यो । सबै हाँसीखुशी मिलिजुली गरेर बसेको त्यत्रो ठूलो परिवारमा एकजना मेरै ममी किन त्यति भिन्न ? म सोचिरहन्थें । आत्मग्लानिले खुम्चिरहन्थें । ममीको व्यवहारले बारम्बार लज्जित हुन्थें । एक्लैमा रुने गर्थें तर कसैसँग केही भन्न सक्थिनँ । कुनै मन्दिरछेउबाट गुज्रिँदा भने हात जोडेर भगवानसँग प्रार्थना गर्थें, “भगवान् ! ममीलाई पनि हजुरआमा, ठूलीआमा र काकीहरूजस्तै बनाइदिनुस् !”
हजुरआमा, ठूलीआमा र काकीहरू मेरो टाउको मुसारेर बेलाबखत भनिरहनुहुन्थ्यो, “ए केटा ! के सोचिराख्छस् हँ जतिबेला पनि एक्लै टोलाएर ? केटाकेटीहरू केटाकेटी भएकै जाती, यो सोच्ने काम ठूलालाई छोड्दे बाबु !”
खासगरी ठूली काकीको त फेबरेट थिएँ म । उहाँका कुनै सन्तान थिएनन् । एकपटक मेरै ममीले सबैका अगाडि भन्नुभयो, “गएर जँचाई हेर है बेलैमा, यत्रा वर्ष भयो बिहे भएको ।”
काकीले ममीको कुरा सकिनुअघि नै मलाई तानेर आफूसँग टाँस्दै भन्नुभयो, “आऽऽऽ केलाई जँचाउन प¥यो ? भए हुन्छ, नभए हुन्न ! यी, मेरो सरु छँदै छ नि !”
उहाँको स्वरको अपन्त्व र आफ्नोपनले त्यहाँ भएका सबैलाई छुन्थ्यो, एउटी मेरी ममीलाई बाहेक ।
“कत्ति न उसैको लागि पाइद्या जस्तो !” मलाई तानेर आफ्नो कोठामा ल्याएपछि ममी असन्तोषपूर्ण स्वरमा बड्बडाउनुहुन्थ्यो अनि मलाई झक्झकाउँदै कडा स्वरमा भन्नुहुन्थ्यो, “यो कुइमुसे पनि त उनीहरूसँगै घुस्रिन जान्छ जतिखेर पनि ! खबरदार अब तल झरिस् भने ! जस्तो बाउ, उस्तै छोरा । परिवारको साख्खै !”
त्यतिखेर म एसएलसीको तयारी गरिरहेको थिएँ ।
बैठकमा सबैजना भेला भएका थिए । दशैं किनमेलको छलफल हुँदै थियो । चारपटक बोलाएपछि बल्ल नमीठो अनुहार बनाएर ममी पनि तल ओर्लिनुभएको थियो । कुन्नि कताकताबाट मेरो पढाइको कुरा चल्यो । ठूलोबुवाको छोरा योगेश दाइले मलाई लक्ष्य गरेर भने, “पोल्टिकल साइन्स पढ्, बुझिस् भाइ ! तेरो पर्सन्यालिटी पनि सुहाउँदो छ । धीरगम्भीर ! पछि नेता र मन्त्री भएपछि…”
“सौरभलाई के नपुग्दो छ र पोल्टिकल साइन्स पढ्नलाई ?” ममीले दाइको कुरा बीचैमा काटेर झर्किंदै भन्नुभयो, “डाक्टर पढ्न विदेश पठाउँछु म यसलाई !”
योगेश दाइको मात्र होइन, त्यहाँ बसेका सबैको अनुहार विवर्ण भयो । ठूलोबुवाका एक छोरा (योगश दाइ) र दुई छोरी थिए । योगेश दाइ ल पढ्दै थिए भने सानो ठूलोबुवाका दुइ छोरा कमर्स र आईटी पढ्दै थिए । उनीहरूले नसक्ने भएकाले होइन, समझदार भएकाले आ–आफ्नो सुविधाअनुसारका विषय रोजेका थिए । स्वेच्छाले । नत्र करबल गरेको भए उनीहरूले मेडिकल या इन्जिनियरिङ पढ्न नसक्ने कुनै कुरा थिएन । पढाइ पनि राम्रै थियो तर जसरी ममीले भन्नुभयो, त्यसले यही लाग्थ्यो— एकजना मैमात्र सक्षम थिएँ डाक्टरी पढ्न । हुन त म पढाइमा अब्बल थिएँ । बुवा मालपोत कार्यालयमा कार्यरत हुनुहुन्थ्यो । उहाँको कमाइ यो घरका अरू लोग्ने मानिसको भन्दा धेरै थियो ।
म लाज र आत्मग्लानिले नीलो भएँ । कसैको अनुहारमा हेर्न सकिनँ । बुवाको स्थिति पनि त्यस्तै भयो ।
त्यो दशैंभरि सबैको अनुहारमा एउटा खिन्नता झल्केको अनुभूति भइरह्यो मलाई । शायद त्यो मेरो भ्रममात्रै पनि हुन सक्थ्यो तर म त्यसको कारण आफूलाई मानेर पलपल मरिरहें । त्यही बेला मैले कसम खाएँ— ज्यान जाला मेडिकल पढ्दिनँ । इन्जिनियर बन्दिनँ । म मेरी ममीको अहम्को तुष्टिका लागि परिवारभन्दा अलग र परिवारभन्दा माथि कदापि उभिन्नँ ! जबकि मेरो एउटैमात्र सपना थियो डक्टर बन्ने । बिरामीहरूको सेवा गर्ने ।
दशैंमा माइत जानुभएकी ममी दुई महिना बितिसक्दा पनि घर फर्किनुभएको थिएन । मलाई बोलाउनुहुन्थ्यो । बुवालाई बोलाउनुहुन्थ्यो । उहाँको तारन्तारको घुर्की सुनेर हामी बाउछोरा उहाँको माइती घरमा पुग्थ्यौं तर हाम्रो घरको भन्दा एकदमै विपरीत र चिसो वातावरणमा रात बिताउन सक्थेनौं । बुवालाई जस्तै मलाई पनि हतार हुन्थ्यो घरै फर्किन ।
त्यो मंसिरको दोस्रो हप्ता थियो, जब ठूली काकीले खुशीले आह्लादित हुँदै घरमा मिठाई बाँड्नुभयो ।
“मेरो भाइको घरमा लक्ष्मीको आगमन भएको छ ! छोरी जन्मेकी छ, जूनजस्तै !” काकीको कण्ठ अवरुद्ध भएको थियो ।
“कंग्य्राचुलेसन्स काकी !” सबैभन्दा पहिले मैले उहाँजत्तिकै खुशी हुँदै भनेको थिएँ ।
“के तीनहात परबाट बधाइ दिन्छस्,” काकीले अँगालो फिँजाएर भन्नुभयो, “आइज ।”
काकीको वात्सल्यले मलाई निथ्रुक्क रुझाउँथ्यो सधैं । किन मेरी ममीमा यो न्यानोपन, यो मिठास थिएन ? म आँसुको बाफले धूवाँधूवाँ भएको चश्माबाट भिजेका आँखा अरूले देख्लान् भनेर टाउको झुकाई काकीको अँगालोमा समेटिएँ । सबैले काकीलाई बधाइ दिए ।
“छोरीको अनिकाल भएको घरमा छोरी जन्मिछ । कस्तो गज्जब !” हजुरआमाले काकीको टाउकोमा हात राखेर भन्नुभयो, “तँ किन याँ मिठाई बाँडेर बसेकी त ? भदैलाई आशीर्वाद दिन जान्नेस् ?”
“भोलि जाऊँ कि भनेर… अस्पताल…”
“यस्तो खुशीको बेलाँ आफ्नाहरू वरिपरि नभए के काम ?” हजुरआमाले भन्नुभयो, “योगेशलाई भन् ट्याउसी बोलाउन । गैहाल् ! बाटोमा अलेली गुँदपाक र हर्लिस किन्, ओखती म भोलि बनार घरैमा पठौंला ।”
“आमा ! सरूलाई पनि लैजौं ?” काकीले हिच्किचाउँदै सोध्नुभयो । एकैछिन सबैले मुखामुख गरे । ममीकै चिन्ता थियो सबैलाई । तर, ममी माइतमा हुनुहुन्थ्यो, त्यसैले त्यो दुरुह स्थितिबाट सबैलाई उबारें ।
“भैहाल्छ नि काकी,” मैले काकीको हात थामेर भनें । काकी अन्कनाउनुभयो ।
“लैजा लैजा !” आखिरमा हजुरआमाले निर्णायक स्वरमा भन्नुभयो, “यसै पनि काहाँ जान्छ र यो घरघुस्रे !”
काकी फिक्का हाँसो हाँस्नुभयो ।
अस्पतालको सुत्केरी वार्डमा राम्रै रमझम थियो । काकीका सारा परिवार र आफन्त भेला भएका थिए । नर्सहरू सबैलाई बाहिर निकाल्न खोज्दै थिए तर सबैको उत्साह र खुशीको पारा यति हाई थियो कि विचरा नर्सहरूको केही सीप लागिरहेको थिएन । जे छ, मिलेर बाँड्नुमै छ । मेरो मन गुन्गुनायो— खुशी पनि, दुःख पनि ।
कसैले नवजात बच्ची ल्याएर काकीको काखमा थमायो । काकीको आँखामा आँसु र ओठमा मुस्कान एकैपटक उत्रियो । म काकीसँग टाँसिएर त्यो नवजात बच्चीलाई हेर्न थालें । काकीले उसलाई मेरो काखमा राखिदिनुभयो । मैले डराई–डराई उसलाई थामें ।
“वाओ !” मेरो मुखबाट अनायास निस्कियो ।
“कस्ती छे भन् त ?” काकीले मेरो टाउको सुम्सुम्याएर आँसु पुछ्दै सोध्नुभयो ।
“परीजस्तै !” मैले मन्त्रमुग्ध हुँदै भनें ।
“परी !” अनायास काकीले भन्नुभयो, “लौ है ! मेरो सरूले भदैको नाम राखिदियो— परी !” उहाँले आफ्ना भाइ–बुहारीतिर औंला ठड्याउँदै भन्नुभयो, “हेर है, मैले भन्दिया छु, तिमीहरू यसलाई जेसुकै भनेर बोलाओ तर यसको अफिसियल नामचाहिँ परी नै भयो आजदेखि !” विरोधमा कसैले केही भनेनन् । मैले आफ्नो काखमा भएकी परीलाई उत्सुकतापूर्वक हेरिरहें ।
ममीको झापड त मैले कति खाएको थिएँ कति तर एसएलसीमा सेकेन्ड डिभिजन आएपछि भने भक्कु गोदाइ खाएँ । हुन पनि स्कुल जान थालेपछि कहिल्यै सेकेन्ड नआएको म, पहिलोपटक सेकेन्ड डिभिजन ल्याएर पास भएँ । घरका कसैले पत्याउनै सकेनन् । बुवाले रिटोटलिङ गराउन लगाउनुभयो तर फरक रिजल्ट देखिएन । ममीको हालत त हेरिनसक्नु थियो । एकमनले पछुतो पनि लाग्यो तर फेरि मैले चुपचाप ममीको पिटाइ खाइरहें । त्यसपछि पनि ममी मलाई साइन्स पढ्न, मेडिकल पढ्नलाई इन्ट्रान्स एक्जामका लागि तयारी गर्न किचकिच गरिरहनुभयो । पैसासैसा ख्वाएर भए पनि मलाई मेडिकल कलेजमा भर्ना गर्न जिद्दी गरिरहनुभयो बुवासँग तर मैले घूस ख्वाएर ज्यान गए मेडिकल नपढ्ने अड्डी कसें । ममी तीन महिना माइत गएर बसिदिनुभयो तर यसपटक हजुरआमाले जतिसुकै किचकिच गरे पनि बुवा र म ममीलाई लिन गएनौं ।
मैले चुपचाप मेजर इंग्लिस लिएर आरआर क्याम्पसमा आर्ट्स पढ्न शुरू गरें । घरमा कसैले केही भनेनन् ।
परी तीन वर्षकी हुँदा काकीका भाइ–बुहारी घर किनेर हाम्रो घरछेउमै सरे । लोग्ने–स्वास्नी दुबै नाम चलेको आईएनजीओमा काम गर्थे, त्यसैले परी आफ्नो घरमा भन्दा हाम्रो घरमा बढी देखिन्थी । उसो त बार्बी डलजस्तै परी सबैकी प्यारी थिई । मेरीचाहिँ फेबरेट थिई । ममी भने उसलाई देख्न सक्नहुन्थेन । “नाता न गोता, झोलीका देउता,” उहाँ घरभरिका सबैले ‘परी’ ‘परी’ गरेको देखेर बारम्बार भनिरहनुहुन्थ्यो । मलाई पनि परीभन्दा परै बस्ने आज्ञा दिइरहनुहुन्थ्यो तर परी मलाई सबैभन्दा धेरै पछ्याउँथी । ठूलो बुवाका छोराछोरी र सानो काकाका छोराछोरीले जतिसुकै मरिहत्ते गरे पनि ऊ मेरै पछि लाग्थी । सानो काकाको कान्छो छोरो विशेष परीभन्दा दुई वर्षमात्रै ठूलो थियो तर ऊसँग परीको ग्रह मिल्थेन । काटामार परिरहन्थ्यो दुबैको । म मध्यस्थता गरिदिन्थें तर विशेष मैले सधैं परीको साइड लिएको आरोप लगाएर मसँग ठुस्किन्थ्यो । परी विशेषलाई बिसी भन्थी, मलाईचाहिँ विशेषले भनेजस्तै दाइ भन्थी । बिस्तारै–बिस्तारै ऊ मसँग यस्तरी झ्याम्मिई कि मलाईबाहेक अरू कसैलाई टेर्नै छोडी ।
“परीले स्कुल जान नमानेर हैरान पारेकी छ आज,” काकी सुटुक्क मसँग भन्नुहुन्थ्यो । म सारा कामकाज छोडेर उसको घरतिर दगुर्थें । मैले मनाएपछि ऊ खुरूक्क मानिहाल्थी । तयार भएर स्कुल जान्थी । यी र यस्ता कारणले मैले खाएको ममीको गालीको त लेखाजोखा छैन, पिटाइ पनि भेटेको छु कतिपटक ।
ऊ जतिजति ठूली हुँदै गई, उतिउति विद्रोही पनि । आफ्नो मनको बाहेक अरूको कुरा मान्न उसले जानेकै थिइन । घरमा सबैकी प्राणप्यारी ऊ जब कुनै कुरामा अडिन्थी, तब उसलाई कसैले डेग चलाउन सक्थेन । त्यस्तोमा काकी मैलाई गुहार्नुहुन्थ्यो । म गएर उसलाई मनाइदिन्थें । ऊ त्यति सहजै मानेकी देखेर सबै उदेक मान्थे ।
त्यो वर्षको दशैंमा ऊ पिङमा झुन्डिएकी थिई । म पछाडिबाट उसलाई धकेलिरहेको थिएँ । ऊ जोस्सिएर ‘अझै बेस्सरी’, ‘अझै बेस्सरी’ भनिरहेकी थिई । उसको रोमाञ्चकताले भरिएको गोरो, गुलाबी अनुहार हेर्दै म पनि झन्–झन् बेस्सरी उसलाई धकेलिरहेको थिएँ । अचानक उसको हात पिङबाट छुट्यो । ऊ नराम्रोसँग लडी । मेरो प्राण निस्केलाजस्तै भयो, उसको कंकलाशब्द रुवाइ सुनेर । अरू केही गर्ने होस आएन, उसलाई अँगालेर म पनि ऊ सँगसँगै रुन थालें । म रोएको देखेर ऊ चुप लागी । उसको दाहिने हात दुई ठाउँमा भाँचिएको थियो । निधारको चोटमा टाँका लगाउनु परेको थियो । उसको सुन्दर सुकुमार अनुहारमा पट्टी र हातमा प्लास्टर देखेर मेरा आँखा बारम्बार रसाउँथे । तर, परी त्यसपछि फेरि रोइन । मेरो आँखामा आँसु देखेर ऊ भन्थी, “खै, मलाई त दुखेकै छैन । ठीक भयो क्या अब । हेर्नू त !”
त्यसपछिका कयौं दिनसम्म सानो काकाको कान्छो छोरो विशेष ‘परीलाई कसैले केही नभन है, सौरभ दाइ रुनुहुन्छ फेरि’ भनेर जिस्काइरहन्थ्यो । मेरो अनुहार रातो हुन्थ्यो । परी दंग पर्थी । तर, मलाई पछुतो लाग्न छोड्थेन । मेरो कारणले परीको सुन्दर अनुहारमा दाग लाग्ने भयो— सोची–सोची दुःखी हुन्थें । शायद त्यही आत्मग्लानिले गर्दा होला— म उसलाई बढीभन्दा बढी काम लाग्ने कोसिस गर्थें ।
उसको दाहिने हातमा प्लास्टर थियो, त्यसैले उसलाई खाना ख्वाइदिनेदेखि ब्याग बोकेर स्कुल पु¥याइदिने कामसम्म गरिदिन्थें, ममीको आँखा छलेर । ११ वर्षकी परी मलाई आज पनि त्यही परी लाग्थी, जो मेरो काखमा चढेर आफ्ना स–साना हातले मेरो तुवाँलो लागिरहने चश्मालाई जबर्जस्ती थुत्थी र त्यसको सिसालाई मुखको बाफले भिजाएर आफ्नो फ्रकको फेरले पुछ्थी र मेरो आँखामा लगाइदिन्थी ।
आज पनि उसको त्यो आदत उस्तै थियो । मेरो सामुन्ने पर्नेबित्तिक्कै सबैभन्दा पहिले ऊ जबर्जस्ती मेरो चश्मा थुत्थी । ‘हाऽऽ’ ‘हाऽऽ’ गरेर मुखको बाफले सेक्थी र सलको फेरले पुछेर मेरो आँखामा टिकाउँथी ।
आठ हप्तापछि हातको प्लास्टर काटिएको दिन उसले सबैको अघिल्तिर मलाई अँगालेर भनी, “थ्यांक यु सौरभ !”
“हा !” काकीले भन्नुभयो, “आफूभन्दा ठूलो मान्छेलाई यसरी नाम काटेर बोलाउनु हुन्न ।”
“किन ?” उसले विशेषतिर औंल्याई, “यो बिसे पनि त मभन्दा ठूलो छ, यसलाई नाम काटेर बोलाउँदा त कसैले केही भन्दैन त ?”
“विशेष त दुई वर्षले ठूला छन् तिमीभन्दा ! सौरभ बाबु १५ वर्ष ठूलो मान्छेलाई त्यसरी बोलाउनु हुन्न,” परीकी ममीले भन्नुभयो ।
ओहो ! १५ वर्ष ठूलो पो छु म परीभन्दा ? मलाई पहिलोपटक ख्याल आयो ।
परीले भनी, “ठूलो त ठूलै हो नि बिसे पनि । सौरभ पनि । बाँकी बीचका त नम्बर न हुन् । त्यै पनि मैले सौरभलाई तँ भन्या छैन क्यारे !”
१२ वर्षकी थिई परी— मोबाइल चाहियो भनेर अपहत्ते गर्दा । सबैले सम्झाए, एसएलसी पास हुनेबित्तिकै किनिदिन्छौं भनेर । उसले माने पो !
“फेल भएँ भने नि ?” परीले रोएर घर उचाली । काकीले आएर मसँग गुनासो गर्नुभयो । म उसको घर गएँ । बाउ, आमा, फुपू कसैलाई आफ्नो कोठाको ढोका नखोलेकी परीले मेरो लागि ढोका खोलिदिई र ठुस्सिएर पलङमा गएर बसी । मसँगै आएको विशेष ढोकैमा उभियो । म भित्र पसेर उसको छेउमा उभिएँ र कोमल स्वरमा सोधें, “तिमीलाई अहिले मोबाइल किन चाहियो भन त ?”
“स्कुलमा सबैले बोक्छन्,” उसले ठुस्किँदै भनी । ऊ सेन्टमेरिजमा पढ्थी तर पढाइ भने ठीकैको मात्रै थियो ।
“सबैले गरेको कुरा गर्न किन जरुरी छ तिमीलाई ?” मैले कोमल स्वरमा भनें ।
“किन ? म सबैमा पर्दिनँ र ?” उसले रूँला–रूँला जस्तै गरी ।
“अहँ ! तिमी सबैमा पर्दिनौ परी !” मैले उसको झुकेको चिउँडो समातेर उठाइदिँदै भनें, “तिमी त स्पेसल हौ । अब भन त, सबैले गरेको गरेर तिमी सबैजस्तै साधारण किन हुन चाहन्छ्यौ ?”
उसले एकछिनसम्म मेरो आँखामा हेरी । उसका आँखा हीराजस्तै चम्किए । उसले मेरो दुबै हात थामी र सोधी, “सौरभ ! साँच्चै स्पेसल छु नि म ?”
मैले उसको टाउकोमा स्पर्श गरेर भनें, “भेरी स्पेसल !”
उसले मलाई गम्लङ्ग अँगालो हाली अनि कराई, “ममीऽऽऽ मलाई मोबाइल चाहिन्न !”
ढोकाबाहिर उभिएका उसका बाउ–आमा भित्र पसे ।
“यु मिस्ड योर चान्स,” विशेषले ढोकैबाट भन्यो ।
“हु केयर्स ?” विशेषलाई जिब्रो देखाएर ऊ मतिर फर्किई, “त्यसोभए सौरभ, म कहिलेदेखि मोबाइल चलाउन पाउँछु त ?”
“एसएलसी फस्र्ट डिभजनमा पास गर, म किन्दिन्छु तिमीलाई मोबाइल,” मैले भनें । उसको अनुहार ओइलायो ।
“मिन्स परीले मोबाइल बोक्ने चान्स छैन ।” विशेषले भित्र आएर परीको छेउमा बस्दै भन्यो ।
“किन नि ?” मैले आँखीभौं उचालेर उसलाई हेरें ।
“यो लद्दु एसएलसी पास भई भने त ठूलो कुरा । ल्याउँछे अब फस्र्ट डिभिजन !”
परीले उसलाई धकाली तर मुखले केही भनिन । उसका बाउ–आमा पनि खिस्रिक्क परे । म परीको अगाडि टुक्रुक्क बसें अनि उसका दुबै हात थामेंर विशेषतिर हेर्दै भनें, “तैंले भनेर ?”
त्यसपछि म परीतिर फर्किएँ, “मलाई परीमाथि पूरा विश्वास छ । मेरी परीले मलाई लज्जित बनाउने छैन । हैन परी ?”
एकैछिन उसले मेरो अनुहारमा हेरी अनि दृढतापूवक टाउको तलमाथि हल्लाई । विशेषले मुख बिच्कायो ।
० ० ०
अब घरमा मेरो बिहेको कुरा उत्कर्षमा थियो । तर, म बिहे गर्न चाहन्नथें । कारण एउटै थियो— मेरी ममीको व्यवहार । उसै पनि नातागोता, चिनजानका कोही मेरो बिहेलाई लिएर उत्साहित थिएनन् । न म ह्यान्डसम थिएँ न डक्टर, इन्जिनियर । लुरे लुरे । लगभग ६ फिट अग्लो । झुस्स दाह्री पालेको, चश्माधारी म— सधैं खाना खाने बेलामा बाहिर निकालेजस्तो देखिन्थें । कसैसँग घुलमिल गर्ने स्वभाव पटक्कै थिएन । घरको संसारबाहेक अन्त कतै रमाउन सक्थिनँ । त्यसमाथि ममी हुनुहुन्थ्यो कहीँ नभएकी । कसैले कुरा ल्याइहाले भने कि त त्यो ममीलाई आफ्नो स्तरको लाग्थेन कि उहाँको दाइजोको डिमान्ड पूरा हुन्थेन । ममीले खोजेका हाइफाइ, दाइजो टन्न दिनेहरूलाई म मन पर्थिनँ या हाम्रो सगोलको ठूलो परिवार मन पर्थेन । त्यसैले कुरा अघि बढ्थेन ।
बिस्तारै–बिस्तारै ठूलोबुवा र काकाका छोरीहरूको बिहेवारी सकियो । त्यसलगत्तै हजुरबुवा बित्नुभयो । हाम्रो घर केही उदास देखियो ।
केही वर्षदेखि ठूलोबुवाका छोरा योगेश दाइ अमेरिकामा थिए । सानो ठूलोबुवाको छोरा विवेक दाइ क्यानडामा । उनीहरू मलाई पनि उतै बोलाउँथे तर म त्यता पनि जान चाहन्थिनँ । डबल मास्टर्स सकेर बसेको थिएँ तर अगाडि के गर्न चाहन्थें— मैलाई थाहा थिएन । ममी किचकिच गर्नहुन्थ्यो तर बुवा एउटै कुरा भन्नुहुन्थ्यो, “सौरभ ! तँ मेरो लायकको छोरो । आजसम्म तैंले हामीलाई कहिल्यै कुनै चिन्ता दिइनस् । पढेलेखेको छस् । चारजनाको अगाडि हामीले टाउको झुकाएर हिँड्न कहिल्यै परेन तेरो कारणले । पैसाको के कुरा ? त्यो त मैले कमाएकै छु, चाहिनेजति । पुख्र्यौली सम्पत्ति पनि कम छैन । त्यसैले मन लागेको गर् ! सही बाटोमा तँ जता लागे पनि खुशी नै हुनेछु म ।”
मैले पर्यटन मन्त्रालयमा अधिकृतमा नाम निकाल्नु र परीले फस्र्ट डिभजनले एसएलसी पास गर्नु लगभग एकैपटक भयो । कसैले पत्याउन सकेन परी फस्र्ट डिभिजनमा एसएलसी पास भई भनेर । दुबै घरमा उत्सवको माहोल देखियो । मैले उसलाई बजारमा उपलब्ध राम्रोमध्येको एउटा मोबाइल किनेर दिएँ ।
“भर्खर त जागिर भा’छ तपाईंको ! यति महँगो मोबाइल किन किन्देको ?” उसले खुशी हुनुको साटो चिन्तित हुँदै भनी, “कोसँग बरो गरेको ?”
म एकैछिन केही बोल्नै सकिनँ । सत्य हो, त्यति महँगो मोबाइल आफ्नो क्षमताले किन्न सक्ने भइसकेको थिइनँ म ।
“लौ हेर यो फुच्चीलाई,” मैले भनें, “महँगो मोबाइल पाएर खुशी हुनुको सट्टा झन् … !” मैले प्याट्ट उसको टाउकोमा पिटें ।
“भैगो, मलाई चाहिएन !” उसले मोबाइलको प्याकेट फिर्ता मेरो हातमा थमाई, “फिर्ता गरिदिनुस् सौरभ ! मलाई अलि सस्तो, तपाईंको पकेटमनीले आउने मोबाइल ल्याइदिनुस् । नभए तलबको पैसा जम्मा भएपछि ल्याउँदा पनि हुन्छ ।”
मैले बाहिर निस्किन दौडेकी परीको हात थामें, “परी ! गिफ्ट दिनेले खुशीले दिएपछि लिनेले पनि खुशी–खुशी लिनुपर्छ ।”
ऊ अडिई तर टाउको उठाइन । मैले त्यो प्याकेट फेरि उसको हातमा थमाएँ ।
“सत्य भनेको, मलाई केही अप्ठ्यारो भएको छैन । बरू तिमीले लिइनौ भने दुःख लाग्नेछ,” मैले भनें । उसले टाउको उठाएर मलाई हेरी अनि भनी, “एउटा शर्तमा लिन्छु है त ?”
“कस्तो शर्त ?” मैले सोधें ।
“जोसँग लिएको भए पनि यो मोबाइल किनेको पैसा तपाईंको तलब आएपछि फिर्ता दिनुस् है त ?” उसले भनी ।
त्यो दिन मैले उसको शर्त मान्छु भनेर कबोल गरेपछि मात्र उसले त्यो मोबाइल राखी ।
खुसियाली मनाएर सकिएपछिको एउटा शनिबार परीको घरमा गफगाफ चलिरहँदा विशेषले परीलाई ‘अगाडि के पढ्ने ?’ भनेर भनेर सोध्यो । उसले जवाफ दिनुको साटो मतिर फर्किए सोधी, “अब अगाडि के पढूँ सौरभ म ?”
सबैले मतिर हेरे ।
“मेजर बायोलोजी लिएर साइन्स पढ,” मैले भनें । परीको अनुहार खुम्चियो । विशेषले अट्टहास गर्यो ।
“के तालको रै’छ !” मैले चिढिँदै भनें, “बिनाकाममा किन हाँसेको ?”
“परीलाई साइन्स बहुला कुकुरजस्तै लाग्छ,” उसले हाँसो थाम्ने कोसिस गर्दै भन्यो, “तपाईंलाई त थाहै छ नि दाइ, यसलाई इन्जेक्सनसँग कति डर लाग्छ भनेर !”
मैले परीको अनुहार हेरें । उसको सुन्दर अनुहारमा अफशोचको रेखा कोरिएको देखेर मैले भनें, “केही छैन । साइन्सै पढ्नुपर्छ भन्ने केही छैन । मन लागेको सब्जेक्ट जे पढे पनि हुन्छ ।”
“साँच्चै सौरभ दाइ ! तपाईंलाई के पढ्न मन थियो ? कुन सब्जेक्ट मन पथ्र्यो ?” विशेषले सोध्यो ।
“साइन्स !” मेरो मुखबाट बेध्यानमै निस्कियो, “डक्टर बन्ने ठूलो रहर थियो । सबै भनेजस्तो भइदिएको भए यतिबेला म कुनै अस्पतालमा बिरामीको सेवा गरिरहेको हुन्थें ।”
बोल्दाबोल्दै मलाई ख्याल आयो— म जे बोलिरहेको थिएँ, यतिबेला त्यो उचित थिएन । अतः मैले हाँस्दै भनें, “राम्रै भयो । नत्र तिमीहरूसँग बिताउन यतिका फाल्टु समय कहाँबाट निकाल्थें म ?”
सबैले हाँसेर मलाई साथ दिए । परीले बाहेक । उसका आँखा मेरो अनुहारमा गाडिएका थिए ।
त्यतिबेला परी ११ क्लासमा पढ्दै थिई, जब चिन्तित काकीले आएर सुनाउनुभयो, “सरु ! यो परीले चैन लिन दिने भैन !”
“के भयो काकी ? अब के गरी परीले ?” मैले आत्तिएर सोधें ।
“चुरोट खान्छे रे !”
“हैट ! होइन होला !” मैले पत्याउन सकिनँ ।
“बाउ–आमाले त्यसको झोलामा कतिपटक चुरोटको बट्टा भेटेर सोध्दा ‘हो, खान्छु’ भनी रे ! तिमीलाई त थाहै छ कस्ती छ ! झुटो बोल्दिन तर कुरा पनि सुन्दिन । उफ् !”
सुनेको दुईदिन मैले अफिसमा कसरी गुजारें, त्यो मैलाई थाहा छ । तेस्रो दिन शनिबार म विशेषसँग पिछा छुटाएर उसको घर पुगें । घरमा अनौठो शून्यता व्याप्त थियो । उसका बाउ–आमा उदास–उदास बैठकमा बसेका थिए । मैले परीको बारेमा सोधेपछि उनीहरूले उसको कोठातर्फ इशारा गरे तर केही बोलेनन् ।
म यति आन्दोलित थिएँ, घुमाई–फिराई कुरा गर्ने धैर्य बाँकी थिएन । उसको कोठामा पस्नेबित्तिकै मैले सोधें, “परी ! तिमीले चुरोट पिउन कहाँबाट सिक्यौ ?”
“तपाईंसँग !” उसले दिएको जवाफ मेरो चेतनामा नराम्रोसँग ठोक्कियो । मैले चुरोट खान शुरु गर्दा म पनि शायद उसैको उमेरको थिएँ । ममीले थाहा पाउँदा खुब पिटाइ खाएको थिएँ । पहिले लुकाएर पिउँथें तर ममीको पिटाइपछि मैले लुकाउन छोडिदिएँ । घरमा लुकाए पनि बाहिर खुलेआम धूवाँ छोड्दै हिँड्थें । साँच्चै कमजोर थिएँ म । लड्न पटक्कै सक्थिनँ, त्यसैले पलायनकै सजिलो बाटो खोज्थें । अरूसँग मात्रै होइन, आफैंसँग भागिरहन्थें र यस्तै–यस्तै कुरा गरेर आफ्नो आक्रोश पोख्थें । तर, परीले मलाई कमजोर सोचोस् या मबाट कुनै गलत कुरा सिकोस्— म कहिल्यै चाहन्नथें । म फरक्क फर्किएँ ।
“सौरभ,” ऊ डौडिएर मेरो हात थाम्न आई ।
“सरी परी !” मेरो स्वर अवरुद्ध भयो, “मैले कहिल्यै चाहिनँ– तिमी मबाट कुनै गलत कुरा सिक ।”
“कम’न,” उसले मेरो हात तानी, “कुरा निस्किएपछि खुलेर कुरा गरेर जानुस् ।”
“परी ! यो ठीक होइन,” मैले भनें ।
“किन ?” उसले मेरो हात छोडेर तिखो स्वरमा भनी, “तपाईंले गर्दा ठीक भएको कुरा मैले गर्दा किन ठीक हुन्न ? म केटी मान्छे हुँ, त्यसैले ?”
मैले फर्केर उसको तम्तमाएको अनुहार हेरें अनि उदास स्वरमा भनें, “तिमीलाई थाहा छ परी— म केटा र केटीमा भेदभाव गर्ने मान्छे होइन । यसकारण भन्दै छु— यो हेल्थको लागि ठीक हुँदैन ।”
“त्यसो भए तपाईं किन पिउनुहुन्छ ? मेरो हेल्थको लागि ठीक नभएको कुरा तपाईंको हेल्थको लागि पनि पक्कै ठीक हुन्न होला,” उसले भनी ।
“मेरो त आदत भैसक्यो,” मैले बिस्तारै भनें ।
“त्यसो भए तपाईंले यो कुरालाई लिएर मलाई नसम्झाएकै बेस् । गलत हो भन्ने जान्दाजान्दै गल्ती गरिरहनेले अर्कालाई त्यही गल्ती नगर्न भनेर कसरी सम्झाउन सक्छ, भन्नुस् त ?” उसको स्वरमा गुनासो थियो, “केही छैन, तपाईंलाई जस्तै मलाई पनि बानी पर्छ एकदिन ।”
म निराश भावले उसको कोठाबाट निस्किएँ । उसले मलाई रोक्दा पनि रोकिन । मेरो मन नराम्रोसँग दुख्यो । मैले फर्किएर उसको कोठामा हेरें । ऊ कोठाको मध्यमा हात बाँधेर, टाउको झुकाएर उभिएकी थिई । उसको अनुहारमा गहिरो उदासी थियो ।
“मैले छोडें भने तिमी पनि छोड्छ्यौ त ?” मैले सानो स्वरमा ढोकैबाट सोधें । उसले झट्ट टाउको उठाएर मलाई हेरी ।
“भन त ?” मैले फेरि सोधें ।
“छोड्छु,” उसले दृढ स्वरमा भनी ।
“म कसरी पत्याऊँ ?” मैले भनें ।
ऊ हतार–हतार मेरो छेउमा आई र मेरो टाउकोमा हात राखेर भनी, “तपाईंको कसम !”
उसले टाउको उठाएर मतिर हेरी । उसका ठूला–ठूला आँखा सजल थिए, “सौरभ ! म तपाईंको झुटो कसम कहिल्यै खान्नँ किनकि यो संसारमा तपाईंजति आफ्नो मेरो अर्को कोही छैन !”
मानौं— कुनै पहरा फोर्न राखेको बम बिस्फोट भयो मभित्र र मेरो सिंगै अस्तित्वलाई धूलोपीठो बनाइदियो । मैले हेर्दाहेर्दै उसका सुन्दर आँखाबाट झरेका आँसु गालामा गुल्टिए र त्यो आँसुसँगै म पनि गुल्टिएँ । सधैंझैं उसको आँसु पुछ्न म त्यहाँ अडिइनँ ।
त्यसपछि परीले चुरोटलाई हात लगाइन । मलाई भने दोहोरो मार परेको थियो । यतिबेला मलाई चुरोटको सबैभन्दा बढी तलतल लागिरहेको थियो अनि यतिबेलै म चुरोट छोड्न बाध्य थिएँ । परी कुन्नि कता–कताबाट निकोटिन प्याच, थरीथरीका फ्लेवरवाला चुइँगम खोजेर मैले बोक्ने ब्यागमा, मेरो कोठामा राखिदिन्थी । केही सजिलो हुन्थ्यो मलाई । चार महिनाको अथक प्रयत्नपछि मैले चुरोट छोडें तर अर्को अम्मल समातें ।
परीले मेरो टाउकोमा हात राखेर मलाई ‘आफ्नो’ भनेको दिनदेखि मेरो परीलाई हेर्ने नजरिया फेरिएको थियो । बिनाहिचकिचाहट उसको घर जाने, उसको हात थाम्ने, उसलाई छुने म, अब उसलाई हेर्न हिच्किचाउन थालेको थिएँ । डर लाग्थ्यो— मेरो फरक हेराइ कसैले चिन्ने पो हो कि ? सबैभन्दा ठूलो डर मलाई परीको लाग्थ्यो— के हुन्थ्यो यदि मेरो मनको चोरलाई उसले पक्रिई भने ? सोचेरै थर्थराउँथें तर सोच्न छोड्थिनँ । उसको र मेरोबीचको १५ वर्ष उमेरको फरक मेट्ने इरेजरको आविष्कार अहिलेसम्म नभएकोमा थक्थकाउँथें । ऊभन्दा त्यतिका वर्ष अगाडि जन्मिएकोमा पछुताउँथें ।
मेरो बिहे गर्ने उमेर घर्किंदो थियो शायद, त्यसैले यसपटक ममी आफ्नो स्ट्यान्डर्डबाट तल झरेर मेरो लागि केटी हेर्न तयार हुनुभयो तर अब म तयार थिइनँ । एकपटक फेरि झैझगडा मच्चियो । ममी रिसाएर माइत गई बस्नुभयो । मेरो बिहेको प्रसंग केही समयको लागि टर्यो ।
परीले मेडिकल कलेज ज्वाइन गरी । तर, त्योभन्दा पहिले उसले आफूसँगै पढ्ने केटालाई पिटेर घाइते बनाइदिई । पुलिस केस बन्नबाट बडो मुस्किलले बाँची ।
“किन परी ?” मैले सोधें, “किन गर्छ्यौ तिमी यस्ता उटपट्याङ कुराहरू ?”
“म गर्छु उटपट्याङ कुरा ?” उसको स्वरमा आक्रोश मिसियो, “त्यसलाई गएर सोध्नुस् त, किन हात हाल्यो त्यसले मलाई ?”
“हात हाल्यो ?” म कहालिएँ, “साँच्चै भन त…”
“सस्तोमा उम्कियो बास्टर्ड, बडो लभ गर्ने भएको !”
“ह्वाट ?” म जिल्लिएँ ।
“स्कुलदेखि पछि परेको छ । भनें त ‘आम् नट इन्ट्रेस्टेड’ भनेर तर पनि सधैं बाटो छेक्याछ, सधैं डेट जाऊँ भन्या छ, अँगालो हाल्नै आ’को छ ! डेट, माइ फुट ! खपिनसक्नु भएपछि बजाइदिएँ मैले पनि,” उसको आक्रोश पोखियो । मेरो मुटु नराम्ररी हल्लियो ।
“मन पराउनु, माया गर्नु नराम्रो कुरा त होइन नि परी,” मैले बिस्तारै भनें ।
“नहोला, तर कसैले आफूलाई जबर्जस्ती अर्कामा थोपर्नु पनि त राम्रो कुरा होइन,” उसले भनी, “मेरो मर्जी नै छैन भने त्यसले माया गरेर के ? त्यसमाथि यो डेट र सेट टाइपको माया मेरो रोजाइमा पर्दैन ।” उसले नाक खुम्च्याई ।
मलाई सोध्न त मन थियो, “तिमीलाई कस्तो किसिमको माया मन पर्छ त ?” तर, हिम्मत गर्न सकिनँ ।
“एउटा कुरा भन्नुस् त सौरभ,” मैले सोध्न चाहेको प्रश्न उसले अलि अर्कै तरिकाले मलाई नै सोधी, “तपाईंको सोचाइमा के हो माया ?”
“माया ?” केहीबेर सोचेर म स्वप्नील स्वरमा बड्बडाएँ, “एक–अर्काको लागि स्याक्रिफाइस…”
“सरी टु इन्टरअप्ट,” उसले मलाई रोकी, “श्यामश्वेत पिरियडको मायाबाट शुरु नगर्नुस न क्या ! अलि पछाडि, हाम्रो जेनेरेसनतिरको मायाको बारेमा सोधेको मैले !”
मेरो अनुहार रातो भयो । तुरुन्तै मलाई उसको र मेरोबीचको उमेर अन्तर याद आयो । मेरो मन चिसो भयो ।
“तिम्रो र मेरो जेनेरेसन पनि त फरक छ,” मैले उदास स्वरमा भनें ।
“छ्या, हौ ! कत्रो न ४०–५० वर्षको फरक भएजस्तै !”
“फरक त छ नि,” मैले मानौं आफैंसँग भनें ।
“हामी सँगै हिँड्दा झन्डै–झन्डै उस्तै उमेरका त देखिन्छौं नि,” उसले भनी । मेरो मनले पनि झन्डै–झन्डै खुशी हुन खोज्यो तर यो खुशी आफ्नै छायालाई अँगाल्नुजस्तै थियो । म टोलाइरहें ।
“खै त मेरो प्रश्नको जवाफ ?” उसले मलाई झस्काई ।
“तिम्रो प्रश्नको जवाफ ? ओह !” मैले लामो सास फेरेर भनें, “पहिले तिमी नै भन, तिम्रो सोचाइमा के हो माया ?”
“मेरो सोचाइमा माया ताकत हो,” उसले गम्भीर स्वरमा भनी, “प्रेरणा हो । एकसाथ लडेर विषम परिस्थितिलाई जित्नु माया हो । कुनै पनि हालतमा एक–अर्काको साथ नछोड्नु माया हो । एउटालाई चोट लाग्दा अर्काको आँखामा आँसु आउनु माया हो । माया त्यो हो, जसले एउटा कमजोर मान्छेलाई यति ताकतवर बनाओस्— उसले कमजोर छु भन्ने बिर्सियोस् ।”
त्यसपछि उसले वितृष्णापूर्वक जोडी, “तर, यो आजभोलिको माया ! आज डेट गयो, भोलि चेट । चंगाभन्दा हलुका, सस्तो र कमजोर ! यस्तो माया पनि के माया ?”
“तर, अचेलको माया यस्तै–यस्तै हुन्छ,” मैले ठट्टा गरेझैं गरें ।
“त्यसो भए मलाई यो जेनेरेसनका मान्छेहरूसँग माया गर्नु नै छैन,” उसले पुलुक्क मलाई हेरी, “अलि अगाडिको जेनेरेसनको मान्छे रोज्नुपर्ला माया गर्नको लागि ।” उसले पनि ठट्टालु पारामा भनी । मेरो मुटु जोडसँग हल्लियो ।
“मन पराउनु र माया गर्नुमा समाजले तोकेको क्राइटेरिया…” म केही भन्दै थिएँ, उसले कुरा काटेर भनी, “सौरभ, समाजभन्दा ठूलो स्व हुँदैन र ? आफ्नो स्वलाई समाजको नाउँमा मारेर बाँच्नु माया त हुँदै होइन, अझ म त भन्छु अपराध हो ।”
म वाल्ल परेर उसलाई हेरिरहें ।
परीको एमबीबीएस सकिनेबित्तिकै लन्डनको कुनै नामी अस्पतालमा काम गरिरहेको डक्टरको कुरा आयो । उसको परिवार खुशीले गदगद भयो तर परीलाई कसैले मनाउन सकेन । यसपटक पनि काकीले मलाई गुहार्नुभयो, “कोही मन परेको छ भने भन, उसैसँग बिहे गरिदिन्छौं भन्दा पनि ‘छैन’ भन्छे । यो केटासँग पनि बिहे गर्दिनँ भन्छे । सरु ! यत्तिको केटा अर्को पाइनेछैन । तिमी सम्झाइदेऊ न त्यो पागललाई । तिम्रो कुरा सुन्छे । मान्छे ।”
म मुटुमाथि ढुंगा राखेर उसलाई सम्झाउन गएँ । परीको लागि बेस्ट त म पनि चाहन्थें ।
“म अहिले बिहे गर्दिनँ,” उसले पटाक्षेप गर्दै भनी ।
“किन ? २५ वर्षकी भयौ । उमेर पनि त भयो तिम्रो बिहे गर्ने । केटा पनि…”
“मेरो उमेरको त बडो हिसाबकिताब गरेर राख्नुभा रै’छ ! आफ्नो नि आफ्नो ?” उसले मेरो कुरा काट्दै भनी, “आफूले किन बिहे नगरेको नि अहिलेसम्म ?”
एकैछिन मैले बोल्ने कुनै शब्द भेटिनँ । के भनौं यो मूर्खलाई ? उतिबेला नभए पनि यतिबेला मैले बिहे नगर्नुको कारण छ । तर, म त्यो कारण भन्न सक्दिनँ ।
“परी,” मैले लाचार स्वरमा भनें, “सबैलाई लाग्छ— मैले सम्झाएपछि तिमी मान्छ्यौ । बुझ्छ्यौ । त्यसैले मेरो बोलीको मान राख । प्लिज बिहे गर ।” मैले उसको सामुन्ने दुबै हात जोड्दै भनें । उसले झटपट मेरो हात थामेर आफ्नो निधारमा जोडी । एक्कैछिन मलाई लाग्यो— ऊ डाँको छोडेर रोइदिनेछे । तर, ऊ रोइन । टाउको उठाई तर मेरो हात छोडिन ।
“मैले बिहे गरें भने तपाईं खुशी हुनुहुन्छ सौरभ ?” उसले सोधी ।
“अफकोर्स,” मैले मुस्कुराउने कोसिस गरें तर लाग्यो— म त्यो कोसिसमा विकृत देखिएँ ।
“ठीकै छ त्यसो भए,” उसले मेरो हात छोडी, “तर मेरा दुइटा शर्त छन् ।”
म केही बोल्न सकिनँ । लाग्यो— परीले यसपटक मेरो कुरा नमानिदिएको भए कति जाती हुन्थ्यो !
“पहिलो शर्त— बिहे शुरु भएदेखि म अन्मिएर नजाँदासम्म तपाईं मेरो आँखावरिपरि हुनुपर्नेछ । दोस्रो— म मेरो इन्टर्न नसकिएसम्म लन्डन जान्नँ । यी दुई शर्त मञ्जुर भए म बिहे गर्न राजी छु । सबैलाई सुनाइदिनुस् ।”
त्यसपछि ऊ उठेर बाथरुम छिरी र ढ्यामढुम ढोका बन्द गरी । म त्यो जुवाडीजस्तै तल ओर्लिएँ, जसले आफ्नो जीवनभरको पुँजी जुवामा हारेको थियो ।
टीकाको दिन साधारण समारोहमा परीको इन्गेजमेन्ट भयो । मंसिरमा बिहे छिनियो । त्यही रात परिवारका सबैले एकसाथ बसेर खाना खाइसकेपछि मैले सबैसामु आफूहरू बुवाले भर्खरै किन्नुभएको सानेपाको अपार्टमेन्टमा सर्ने अनुमति मागें । बुवाले अविश्वासपूर्वक मलाई हेर्नुभयो । ममी दंग पर्नुभयो ।
हजुरआमाको मृत्युपछि परिवार यसै पनि साँघुरिसकेको थियो । दाइहरू विदेशमा थिए । दिदी–बहिनीहरू बिहेवारी गरेर आ–आफ्नो घरबारमा व्यस्त थिए । ठूलाबुवा, ठूलीआमाहरू पनि यतिबेला छोराहरूसँग अमेरिका र क्यानडातिरै थिए । विशेष अस्ट्रेलियामा सफ्टवेयर इन्जिनियरिङ पढ्दै थियो । खेतबारीमा कंक्रिटको शहर बसिसकेको थियो । दुईजना काका र काकीहरू हुनुहुन्थ्यो, जो मेरो कुरा सुनेरै रुन थाल्नुभएको थियो । ठूलो काका–काकीका सन्तान हुँदै भएनन् । त्यसैले पनि काका–काकीलाई मबाट ठूलो अपेक्षा थियो । तर, यतिबेला म केही देखिरहेको थिइनँ । केही सुनिरहेको थिइनँ । एकपटक यो विषम परिस्थितिबाट चुपचाप गुज्रिन सकौं, त्यसपछि देखाजाला ।
पूर्णिमाको दिन सबैलाई रूवाउँदै हामी चुपचाप सानेपा स¥यौं ।
० ० ०
एक–डेढ महिना परी र मबीच फोनमा हल्काफुल्का कुरामात्रै भयो । ऊ जन्मेदेखि यो पहिलोपटक थियो, जब हामीले यति लामो समय एक–अर्कालाई भेटेका थिएनौं । मलाई यी सबै दिनहरूमा हरेक क्षण, हरेक पल ऊ याद आइरही । सास फेरेजस्तै गरी ।
कसरी ऊ स्कुल, कलेजबाट आएर मलाई जबर्जस्ती तान्दै बाहिर लैजान्थी । पीरो पानीपुरी उसको कमजोरी थियो । म पीरो खानै नसक्ने ! तर, पनि ऊ जबर्जस्ती मलाई पीरो न पीरो पानीपुरी ख्वाउँथी । मैले ¥याल सिँगान चुहाउँदै, नाक–कान रातो पारेर पानीपुरी खाएको देख्दा परी र विशेष मरीमरी हाँस्थे । त्यसपछि ऊ मलाई आइसक्रिम ख्वाउँथी । मेरो कोठा मिलाउँथी । लुगाहरूमा आइरन लगाएर, जुत्ता पुछपाछ गरेर राखिदिन्थी । मेरो खल्तीबाट मनपरी वालेट झिकी सय–पचास रुपैयाँ झिक्थी र हजार–दुई हजारको सामान किनेर चुपचाप मेरो कोठामा राखिदिन्थी । ती दिनहरू याद भएका थिए अब ।
परीले एकाधफेर भेट्न आग्रह गरे पनि मैले बहाना बनाएर टारें । परीसँग अलग्गिनु मेरो लागि शरीरको अंग काटेर अलग्याउनुजस्तै थियो तर अर्को विकल्प के थियो ?
बिहेको केही दिनअघि परी मेरो अफिसमा आई र बडो अधिकारपूर्वक ५० हजार मागी । मैले एक शब्द नबोली एटीएमबाट झिकेर उसको हातमा राखिदिएँ । यो अन्तिम पटक थियो शायद, उसले मसँग यति अधिकारपूर्वक केही माग्ने र मैले दिने ।
हामीले सँगै बसेर कफी पियौं । छुट्टिनुअघि उसले मेरो आँखाबाट चश्मा थुती, त्यसलाई मुखले फुकी र आफ्नो सलको फेरले पुछेर मेरो आँखामा टिकाउँदै भनी, “अब त चश्मा पुछेर लगाउने आदत बनाउनुस् । कसले पुछिदिन्छ तपाईंको चश्मा म नभएपछि ?”
मलाई भन्न मन थियो, “परी ! अब त सारा जीवन सबै कुरा धमिलो देख्नेछु मैले । चश्मा पुछेर के गरूँ— दृष्टिले साथ छोडेपछि ?”
त्यसपछि उसले मलाई आफ्नो शर्त सम्झाई र मसँग बिदा भई । मैले कति चाहें, उसलाई अन्तिम एकफेर अँगाल्न तर सकिनँ । कायर म ।
बिहेको अघिल्लो दिन बिहान काकी झोला–झ्याम्टा बोकेर सानेपा आइपुग्नुभयो । ममी घरमा हुनुहुन्थेन । उहाँले ती झोलाहरू मलाई सुम्पिँदै भन्नुभयो, “उहाँ बिहेघरमा कत्ति काम बितेको छ तर यो परीसँग कसको के लाग्नू ? घर आएर तिम्रो एकजोर सुट र जुत्ता बोकेर गएकी थिई, आज यो सबै लिएर आई र ‘सानेपा पु¥याएर आउनुस् अहिल्यै’ भनेर जिद्दी गरी ।” एकछिन रोकिएर काकीले भन्नुभयो, “तिमी पनि मसँग आजै जान मिल्दैन सरु ?”
“भोलि आउँछु काकी,” मैले बिस्तारै भनें ।
“सरु, तिमी पत्याउन्नौ होला तर तिम्रो अनुपस्थितिमा बल्ल मलाई लाग्यो— मेरो कोख बाँझो छ,” काकीले मेरो टाउको मुसार्दै रुँघिएको स्वरमा भन्नुभयो ।
मैले उहाँलाई अँगालेर भनें, “त्यसो नभन्नुस् काकी ! म सधैंको लागि आएको होइन यहाँ । ममीको रहर पुगोस्, त्यसपछि घरै आउँछु म ।”
काकीलाई सम्झाई–बुझाई बिदा गरेपछि मैले ती झोलाहरू खोलेर हेरें । मलाई मन पर्ने कलरको नयाँ सुट, टाई, जुत्ता र मोजा थिए । मेरो चश्मामा फेरि तुँवालो लाग्यो । मैले सुटसँगै भएको परीको चिट पढें, “यही सुट लगाएर आउनुहोला । तपाईंलाई त आफ्नो ख्याल कहिल्यै हुँदैन । सोचें— जाँदाजाँदै अन्तिमपटक तपाईंको ख्याल मै राखिदिऊँ ! तपाईंकी परी ।”
बिहेको लगन रातिको थियो । काकीले बिहानैदेखि दशफेर फोन गरिसक्नुभएको थियो । मचाहिँ आउँदै छौं, आउँछौं भनेर टारिरहेको थिएँ । बुवा कामविशेषले विराटनगर जानुभएको थियो । ममी मलाई तयार हुन किचकिच गरिरहनुभएको थियो तर परीको बिहेमा जाने मेरो कुनै उद्देश्य थिएन ।
२ बजेतिर परीको फोन आयो । मैले उठाइनँ । ४ जेतिर उसको म्यासेज आयो, “६ बजे स्वयम्बरको लगन छ । त्यसपछि कन्यादान । तपाईंले त्यसभन्दा पहिल्यै यहाँ आइपुग्न आवश्यक छ नत्र म ज्यानकाटे यो बिहे गर्दिनँ । सौरभ, तपाईंलाई थाहै छ, म आफ्नो बोलीको कति पक्का छु भनेर !”
के गरौं ईश्वर ! कहाँ भागौं ? कता जाऊँ ? म छट्पटाएँ । साढे ४ बजेपछि मैले त्यो छटपटी झेल्न सकिनँ र बुवाको कोठाबाट भ्याट सिक्स्टीनाइनको बोतल ल्याएर लगभग आधा बोतल निट घुट्क्याएँ र आफ्नै अपार्मेन्टको बाल्कोनीबाट हामफालें ।
रातिको १ बजे आँखा खुल्दा म अस्पतालमा थिएँ । आँखा खुल्नेबित्तिकै सबैभन्दा पहिले मेरो दिमागमा परी झुल्किई । अब त बिहे सकिन लाग्यो होला । मेरो आँखामा आँसु आयो । कति कमजोर म ! यत्रा वर्ष मेरो जीवनमा मात्र होइन, मन र आत्मामा बसेकी परीलाई मैले हाँसेर बिदा गर्न पनि सकिनँ । मैले कसेर आँखा बन्द गरें ।
कसैले मेरो बन्द आँखाको कापबाट गुल्टिएको आँसु पुछिदियो । ममी ! मैले आँखा खोलें ।
परी ! होइन । म सपना देख्दै छु । या शायद औषधिको असरमा छु । मैले फेरि आँखा बन्द गरें ।
“तपाईंले यस्सै गर्नुहुन्छ भन्ने मलाई थाहा थियो !”
मैले हड्बडाएर आँखा खोलें । उही थिई । साक्षात् । बेहुलीजस्तै सजिएकी । अपूर्व, अनिध्य सुन्दरी ! परी !
“तिमी ?” म हड्बडाएर उठ्न खोजें, “तिम्रो त बिहे…”
“क्यान्सिल,” उसले भनी ।
“तर परी…”
“मैले भनेकै थिएँ— तपाईं अघिल्तिर नभए म बिहे गर्दिनँ भनेर । कसले भन्याथ्यो बाल्कोनीबाट हाम्फाल्नू भनेर ? कस्ले भन्याथ्यो हातखुट्टा भाँच्नू भनेर ? तपाईंको बोलीको मान राखेर मैले त बिहे गर्छु भनेकै हो । अब त्याँ मलाई दोषमात्रै दिनुस् त—बाँकी बचेको सग्लो खुट्टा म भाँचिदिन्छु र जीवनभर ह्विलचेयरमा राखेर धकाल्छु तपाईंलाई ।”
ऊ रोई ।
“सरी परी,” मैले अपराधबोधले छट्पटाउँदै भनें ।
“जीवनभरि सरीमात्रै भनेर बस्नुहुन्छ ? छाती ठोकेर ‘मेरी परी म कसैलाई दिन्नँ’ भन्न सक्नुहुन्न ? बाल्कोनीबाट हाम्फलेर हातखुट्टा भाँच्न सक्नुहुन्छ तर ‘परी ! म तँलाई माया गर्छु’ भन्न सक्नुहुन्न ? कायर,” उसले मेहेन्दीका बुट्टा सजिएका हात मुठ्ठी पारेर मेरो छातीमा हानी ।
“सरी परी,” मैले उसको हात थाम्न खोज्दै भनें । ऊ रुँदै मेरो छातीमा टाँसिई । र, बिस्तारै भनी, “कायर !”
“यो कायरको लागि आफूलाई दुःख नदेऊ परी !” उसले मेरो मुखमा हात राखिदिई ।
“परी !” म रोएँ, “हाम्रो परिवार… समाज… ममी…”
उसले मेरो छातीबाट टाउको उठाई । पहिले मेरो, त्यसपछि आफ्नो आँसु पुछी । अनि बिस्तारै भनी, “तपाईंले ममी भनेपछि याद आयो । ममी र फुपूको हालत हेरिनसक्नु छ । तपाईंले बाल्कोनीबाट उड्ने पुरुषार्थ गरेपछि ममीले अत्तालिएर बुवालाई कन्ट्याक्ट गर्न खोज्नुभएछ तर हुन सकेनछ । त्यसपछि उहाँले फुपूलाई फोन गर्दा म उहाँकै छेउमा थिएँ । सुन्नेबित्तिकै हामी फूपू–भदै सबै कुरा यत्तिकै छोडेर यता हान्नियौं । ममी र फूपूलाई सम्हाल्न तपाईंलाई सम्हाल्न भन्दा गाह्रो भयो मलाई । अप्रेसन सकेर, डक्टरहरूले ‘सबै ठीक छ’ भनेपछि पनि दुबै जनाले यहाँबाट हल्लिन मानेका थिएनन् । केहीबेर अघिमात्रै मैले दुबैलाई जर्बजस्ती घर पठाएकी छु ।”
ऊ केहीबेर अडिई र भनी, “बाँकी तपाईंले अरू कसैको चिन्ता गर्नु पर्दैन । आखिर यो सबैको जिम्मेवार मेरो परिवार नै त हो ! ‘सौरभ यो’, ‘सौरभ ऊ’, ‘सौरभ इज द बेस्ट’ भनी–भनी आफ्नो सजिलोको लागि मलाई तपाईंको साथ लगाइदिए । आज जब बडो मेहनत गरेर मैले आफूलाई तपाईंको ‘बेस्ट’ भनिएको व्यक्तित्वअनुरूप बनाउन सफल भएँ, तब यिनीहरूलाई किन आवश्यक छ मेरो लागी अर्को कोही ‘बेस्ट’ खोज्न ? यिन्का फुलो परेका आँखा ! अब भोगून् न !”
“तर परी…”
“एउटा नामसुद्ध त तपाईंले दिएको छ मसँग, भन्नुस् त अरू के छ मसँग ?” उसले रुन्चे स्वरमा भनी, “तपाईंको साथ र प्रोत्साहन नभएको भए म आजको म हुनै सक्थिनँ । यो किन बुझ्न चाहेन मेरो परिवारले ? अनि म आजको म नभएको भए यिनीहरू कहाँ खोज्न जान्थे मेरो लागि बेस्ट ?”
“तर परी ! यसरि भावनामा भिजेर मात्रै जीवन चल्दैन…”
यसपटक उसले बोलेर होइन, आफ्नो ओठले मेरो मुख थुनिदिई ।
(स्रोत : बाह्रखरी डट कम)
hello saanu sarma ji. malai yo kathha ati nai utkrista lagyo. ma yeslai video ma bachan garna chahanchhu, k anumati xa hola ???
Sure.