समीक्षा : ताः र यसको महत्ता

~सुभाषराम~

आकार प्रकार सरल र सामान्य भएपनि ताःको महत्तामा गहनता देखिन्छ । नेवारहरुको सूर र ताल वाद्यहरु, भजन, स्तूति र वज्रयान चर्या गीतिमा यसले महत्वपूर्ण स्थान ओगट्दछ । भनिन्छ ताः नभएपछि ताल नैं बेताल हुन्छ । ताःले बाजाको ताल नियन्त्रण गर्छ, त्यसैले ताः ताल नियन्त्रक हो । यसलाई ताल वाद्यको रुपमा पनि प्रयोग गरिन्छ । यसको गुन्जनमय झंकारले सांगीतिक मात्र नभई मानसिक सन्तुलन पनि कायम राख्छ । हरेक किसिमका वाद्य यन्त्रहरुसित हुने यसको प्रयोगको व्यापकताले पनि यसको महत्व झल्काउंछ र आठौं शताव्दीका प्रश्तर मूर्तिहरुमा ताः बजाउ“दै गरेका मानिसका आकृति कुंदिएको भेटिनुले यसको प्राचीनता स्पष्ट पार्छ ।

ताः एक घन वाद्य हो । २ वा ३ देखि ६ ईञ्च जति व्यास ५देखि १० मिमि मोटाई र लगभग १ ईञ्च जति गहिराई हुने यो बाजामा बीचमा प्वाल पारी डोरी बांधेको हुन्छ । यहि डोरी समाती दुई वटा ताः जुधाई तिं र छु दुई वटा मात्र बोल निकाली ताः बजाइन्छ । ताःको बोली तिं र छु दुई वटा मैं सीमित छ । यी बोलीहरुले संगीतको ऊचा र निचापन दर्शाउंछ, भारतिय संगीतमा ताली र खाली भनेझैं । तिं र छु दुई बोलीहरुले नैं लयात्मक संगीतलाई ऊचा र निचापनको आधारमा विभिन्न मात्रा र भागमा बांडी विभिन्न तालको परिचय दिन्छ । बाजा बजाउने र गीत गाउने अवधि भर नैं ताःले लयलाई तालमा बांध्ने गर्छ । यसरी कुनै पनि बाजासंग ताः बजाउंदा बाजाको बोलीबाट नभई ताःको बोलीबाट त्यो कुन ताल हो भन्ने प्रष्टिन्छ । जस्तै च्वः तालको चार मात्रामा तिं छु बजाइन्छ, यसरी नैं जति तालमा सात मात्रामा तिं तिं छु बजाइन्छ , गरह तालमा चौध मात्रामा तिं छु तिं छु तिं तिं छु बजाइन्छ आदि । ताःको यिनै बोली तिं छु बाट धेरैले यो बाजालाई तिंछु भन्ने गरेको पाइन्छ ।

ताः अष्ट धातुबाट बनाईन्छ, तर आजभोली ताः विषेशतः कांसको पाईन्छ । ताः बनाउन जति धेरै धातुहरु मिसाइयो त्यति नैं ताःको स्वर पनि राम्रो हुन्छ भन्ने मान्यता छ । ताः बनाउंदा धातु मिश्रण नमिलेमा फुट्ने डर पनि त्यति नैं हुन्छ । ठिक मात्रामा मिलेको ताः बजारबाट ल्याइ सकेपछि ल्याउना साथ बजाउनु हुंदैन । तान्त्रिक विधिबाट ताःलाई साधनात्मक पूजा प्रतिष्ठा गरी गुरुको हातबाट चेलाहरुलाई हस्तान्तरण गरेपछि मात्र ताः बजाउन योग्य हुन्छ । यो विधि नअपनाएको ताःमा सिद्धि हुंदैन र स्वर पनि राम्रो आउंदैन भन्ने विश्वास गरिन्छ ।

कुनै पनि बाजा बजाउन अघि ताः तीन पटक तिं तिं तिं बजाइ सके पछि मात्र द्यःल्हायेगु भनी नासःद्यः(नृत्यनाथ) आव्हान गरिन्छ र द्यःल्हायेगु ताल बजाइ सकेपछि ताः बजाउने व्यक्तिले उठेर सबैलाई ताः दर्शन गराइ सकेपछि मात्र बाजा वा भजन शुरु हुन्छ । भजनको अन्तमा पनि आरति सकी सकेपछि ताः बजाउनेले एक हातले ताः र अर्को हातले आरति समाई देवतालाई नमस्कार गरी ताः सबैलाई दर्शन गराई सकेपछि मात्र भजन विसर्जन गरिन्छ । यसरी ताःलाइं सबै भन्दा प्रमुख बाजाको रुपमा लिइएको कुरा प्रष्ट हुन्छ । त्यस्तै कुनै पनि बाजा सिकाउनु अघि सबभन्दा पहिले ताः बजाउन सिकाइनुले पनि यसलाई सबै बाजाको गुरु बाजा मानिएको स्पष्ट हुन्छ । बाजा र भजन मण्डलीको भोजमा पनि गवैयाहरु भन्दा ताः बजाउने मान्छे अघि बसेर भोज खाने चलन छ ।

ताः एक जोर मात्र बजाएर पनि चर्या गीत गाउने र नृत्य गर्ने गरिन्छ । गाईजात्राको समयमा निकाल्ने लुसि प्याखं (लुसि नाच) मा पनि ताः मात्रै बजाएर नाचिन्छ । भक्तपुरको नवदुर्गा नाचमा खिंसंग ताः र बभू मात्र बजाईन्छ । यस्तै गुह्य पूजा, स्तुतीमा पनि ताः प्रयोग गरिन्छ भने अन्य बाजाहरु जस्तै पश्चिमा, दाफाखिं, क्वंचाखिं, धाः, नगरा, नाय्खिं (गुंला बाजाको रुपमा बजाउंदा), क्वताःखिं आदि बजाउन ताः नभई हुंदैन ।

ताःको पूर्व रुप ताल हो । नेपालभाषामा तालको ल अक्षर लोप गराई विसर्ग राखी ताः बनेको छ । ताण्डवको ता र लास्यको ल मिलेर ताल शव्द बनेको भनिन्छ । नृत्य र संगीतको ताण्डव र लास्य दुबैलाई ताःले तालमा तह लाउने काम गर्दछ ।

This entry was posted in समीक्षा, संस्कार - संस्कृति परिचय and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.