~कालूसिंह रनपहेंली~
मदिराका प्यालाहरू छचल्किरहेका मेनुकाहरूले
आँखा बन्द गरिदिन्छन् सज्जनहरूको!
तै पनि त्यो डोरीमा सेरिएर मर्न
तयार छन् ती लतका गुलामहरू।
कति कति गिलासहरू झरेर फुट्छन् हातबाट
टेबलमा कति कति मदिराहरू नग्न पोखिन्छन्।
तै पनि एउटा सोचको क्षितिजबाट
झुल्कन सकेको छैन त्यो समझको घाम।
तुवाँलोका सर्पहरूले डस्दैछन् नीलोलाई
बादल भनेर झुक्किनेका आँखाहरू भ्रमित छन्।
घरको एउटा परिभाषा च्यात्दै
फ्याँक्छन् मदिराका दासहरू
भट्टी पसल कारागारको भित्र बाहिर।
आदर्शलाई पूजा गर्ने हातहरूमा
मदिराको असर सञ्चार भएपछि
च्यात्न तम्सिन तिनलाई नै निर्मम।
रित्तो गिलासमा खोज्दै हुन्छन्
भरिएको फाथी जति खुशीहरू
ती मदका चाकरहरू सेवक हातहरूले।
घर बर्बाद गरेर मदिराले मान्छेलाई
खसाइरहेछ तल…तल…तल…।
विष पिउन तर
ती ओठहरू किन त्यसरी लालायित छन्?