~सन्जु बजगाईं~
“मिस्टर मोरिस…मिस्टर मोरिस…!” म ओछ्यानबाटै चिच्याएँ।
“के भयो ? टेबल ल्याम्प ननिभाई सुत्नुपथ्र्यो नि !” ऊ मेरो कोठासँगै जोडिएको कोठाबाट बोल्दै निस्कियो र मेरो कोठाको बत्ती बालिदियो।
मेरो निधार पसिनाले भिजेको थियो। हातहरू चिसा थिए। सास फेर्न असजिलो भइरहेको थियो। यस्तो पहिलोपटक भएको होइन। मोरिसले मलाई यस्तै अवस्थामा धेरैपटक पाइसकेको छ।
“आज औषधी समयमा लिन बिर्सियौ कि ?” उसले मेरो निधारको पसिना पुछिदिँदै सोध्यो।
“औषधी त मैले समयमा नै खाएकी थिएँ,” मैले जनाउ“ दिएँ।
“उसो भए पक्कै पनि तिमीले कुनै समाचार पढेको हुनुपर्छ !” मोरिस अलि रिसाएर बोल्यो। मैले केवल उसको कुरा सुनिरहेँ। उसको शंकामा सत्यता थियो, जुन कुरा मलाई राम्रोसँग थाहा थियो। हरेक बिहान इन्टरनेटमा चहारेका मेरै माटोको समाचारका पीडाहरू मगजमा बोकेर हिँड्ने दैनिकी नै भइसकेको छ मलाई। त्यसैको धङधङीले दिनभर सताउँछ अनि रातमा ऐठन गराउँछ।
“यसलाई हेर्ने गर ! यसैलाई सुन्ने गर !” झोक्किँदै भित्तामा अड्याएको प्लाज्मा टीभीमा म्युजिक च्यानल अन गर्दै बोल्यो ऊ।
मलाई डाक्टरले नै म्युजिक सुनिरहन सल्लाह दिएको छ। कारण यही हो, मोरिसले एमपी थ्री किनेर ल्याइदिएको। घन्टौँ लगाएर मेरा मन परेका कयौँ गीतहरू उसैको ल्यापटपबाट डाउनलोड गरििदएको छ। तैपनि, ऐठन हुनबाट छुटकारा पाएकी छैन मैले।
“मिस्टर मोरिस यो सायद अन्तिमपटक हो।” म आफूलाई दोषी महसुस गर्दै अर्कोपटक यस्तो हुने छैन भन्ने विश्वासका साथ बोल्छु। ऊ मेरो बेडछेउको कुर्सीमा मसामुन्ने भएर बस्यो। माफी माग्दै मेरा हातका तन्तुहरूले उसका हातहरूलाई छोइदिएँ। उसको अलिकति बढेको रीस मेरो स्पर्शले स्वाट्ट हराएर गयो। त्यो मैले उसको अनुहारमा पढेँ।
मोरिसले सयौँ माइल टाढाबाट मलाई यहाँसम्म ल्याइपुर्याएको छ। ‘जमुनाकुमारी’बाट ‘जेनी’ बनाइदिएको छ। स्याहार-सुसार गरेर नयाँ जीवन दिएको छ। काम पनि दिलाइदिएको छ। साथीभाइहरू खोजिदिएको छ। ट्रेन स्टेसनको टिकट काउन्टरमा काम गर्ने मिस्टर मार्क अनि बिहानको सेक्युरटिीमा खटिएको पुलिस अफिसर मिस्टर एलेक्स, सबै मोरिसले चिनजान गराइदिएकाहरू त हुन् ! यिनको आत्मीयताको बयान गरिसाध्य छैन। उनीहरू जान्दछन्, म उनीहरूकै वर्णकी जुलियाना होइन। म क्यारोलिन पनि हुन सक्दिनँ। मेरा आँखाको, छालाको रंगले केही अर्थ राख्दैन यिनका माझ। तैपनि, यिनीहरू असाध्यै शिष्ट र दयालु छन्। मेरो मन अशान्त हुनुपर्ने केही छैन यहाँ। जता फर्कियो, उतै शान्ति छ। दिल दुखाइदिने या दिल दुख्ने केही त्यस्तो वस्तु भेट्दिनँ यद्यपि अशान्त छु म। त्यसैले एक सातादेखि एउटै प्रश्न उसलाई सोधिरहेकी छु, “मिस्टर मोरिस तिमीले मलाई नै किन रुचायौ ?”
मेरो जवाफका लागि पृष्ठभूमि तयार गर्दै मैले सोध्दा मेरो छेवैमा बसेर टीभीमा बि्रट्नी स्पेयरको गीत दंग परेर हेरिरहेको थियो ऊ।
“तिम्रो लामो र तिखो नाक देखेर,” गीतमा झुम्मिरहेको उसले मलाई हेर्दै थेत्तरो पाराको जवाफ दियो। वास्तवमा मेरो सिंगो देश नै घाइते भएर थलिएका बेला मोरिस मलाई मात्र जाँच्न पक्कै गएको थिएन। मेरोजस्तै व्यथा भोगिरहेकाहरूका बीचबाट किन उसले मलाई नै आफ्नो साथ लिएर आयो ? म शंकैशंकामा बेरएिकी छु।
उसले मलाई असाध्यै माया गर्छ। बोल्दा उस्तै प्रेमले बोल्छ। तर, मप्रति यसरी दयालु हुनुको कारण कहिल्यै खोल्न चाहँदैन। जत्तिपटक प्रश्न गरे पनि अनर्थको जवाफ दिन्छ र पन्छिन्छ। म चाहन्छु मलाई देखाएको स्नेह र समर्पणको कारण पनि केही हदसम्म खोलिदेओस्।
“मिस्टर मोरिस तिमी दुःखी मान्छेहरू सबैलाई यसरी नै प्रेम गर्छौ, हो ?”
केही सत्य बोलिहाल्छ कि भनी अर्को प्रश्न अघि सार्छु म, “दुःखीभन्दा बढी पीडा भोगेकाहरूलाई प्रेम गर्छु म।” सेतै फुलेका आँखीभौँ उचाल्दै छोटो जवाफमै पूर्णविराम लगाउँछ ऊ।
“मिस्टर मोरिस ! प्लिज केही त अरू बोल। मेरो विगत र वर्तमानको अस्तित्वका बारेमा,” म हात जोडेर आग्रह गर्छु।
“तिमी पीडामा छट्पटाइरहेकी थियौ मैले भेट्दा। असाध्यै पीडामा ! मानसिक पीडा झेलिरहेकी तिमीलाई असह्य देख्दा म द्रविभूत भएँ। मेरो पेसा अनुसार तिमीलाई जाँचे, औषधी लेखिदिएँ तैपनि तिमी ठीक भइनौ। तिमीलाई छोड्न मनले दिएन। यहाँ उपचारको सम्भावना थियो, त्यसैले लिएर आएँ।”
ऊ बेलिविस्तार लगाउँछ। तर, अझ पनि म आफूले खोजेको जवाफ पाउँदिनँ।
मध्यरात भइसकेको छ भित्ताको घडीमा। एकपटकको निन्द्रा बिथोलिएपछि कैयौँ घन्टासम्म अनिदो बस्ने बानी छ उसको। उसको यही अनिदो समयमा मनभित्रको सत्य ओकलिदिए शान्त हुने थिएँ म। एक हातका औँलाका संख्या बराबर वर्षहरू बितिसके बेबारसिेझैँ भएर। म मेरी आमा बिर्सन सक्दिनँ। मेरो घर बिर्सन सकिरहेकी छैन। मलाई मेरो माटोको गन्ध सुँघ्न मन लागेको छ। आफैँ कस्तूरी भएर बास्नाका लागि भौँतारिरहेकी छु।
“मेरो पीडा देख्न नसकेर मलाई लिएर आयौ। अब त्यो बिसेक भइसक्यो मलाई फिर्ता पठाइदेऊ न त !” मेरो धैर्यको बाँधमा भावनाका भँगालाहरू मिसिन थालिसकेकाले मैले कुराको सुरुवात र अन्त्य एकैपटकमा बोलिदिएँ।
“फिर्ता…फिर्ता कसरी ?” उसलाई मेरा शब्दहरूको अर्थ अँध्यारो, भयावह कालो अन्त्यहीन सुरुङ समान भो। उसले आफ्नो बूढो गर्धनलाई दायाँबायाँ घुमाइ मात्र रह्यो। अगाडि अरू केही बोलेन। हामी दुईबीचको शून्यतालाई चिर्ने भित्तामा टाँसिएको टेलिभिजनमा बजिरहेको संगीत मात्र थियो तर हाम्रो संवादलाई जोडिदिने अर्को कुनै साधन थिएन त्यहाँ।
“मिस्टर मोरिस अब मलाई फिर्ता पठाउनु पर्छ तिमीले।” सर्सर्ती हेर्दा म स्वार्थ बोलिरहेकी थिएँ। विगतको समयले आफ्नो, आफ्ना र आफन्तहरूसँगबाट किनारा लगाएर तातो पोल्ने बलौटे धारमा छोडिदियो। लाचार भई सहन बाध्य थिएँ। लुटिएको अस्मिताको आलो घाउ छातीमा टाँसेर घर र्फकनुभन्दा अनाथ भई बाँच्नु ठीक ठानें। भोग्न गाह्रो थियो। विस्तारै मानसिक रोगी भएँ। मेरो त्यस्तो अवस्थाबाट उठाएर आजको यस स्थितिमा ल्याइपुर्याएको मिस्टर मोरिसले नै हो। यो सब बिर्सिएर फर्काइदेऊ भन्नु स्वार्थबाहेक के हुन सक्थ्यो र ? तर, अर्कोतिर मोरिसले बोल्ने ठोस कुरा थाहा नपाई उसकै आडमा जिन्दगीलाई परसम्म तन्काउने आधार के त ? मलाई थाहा थिएन।
“मिस्टर मोरिस केही त बोल ! म को हुन सक्छु तिम्रा लागि ? अनि, मेरो उपस्थितिले के महत्त्व राख्छ तिम्रो जीवनमा ?” मेरो सामुन्ने बसेको उसलाई उद्देश्य खोल्न दबाब दिइरहन्छु। उसका नीला आँखाका नानीहरू मेरो चौडा निधारमा नाचिरहन्छन् नतमस्तक भएर। ऊ भाग्न खोजिरहेको थियो मेरा प्रश्नहरूबाट। हात बढाएर मेरो तकियामाथिको किताब समाउन पुग्यो।
“यो नपढ तिमी। आराम गर अब।” मैले पढ्दै गरेको ओथिली बेलेको लाफा दा ल प्लाकार्ड भन्ने किताबलाई सिरानीमाथिबाट हटाइदियो उसले। मेरो बदलिँदो सोचाइको कारक मानेको हुनुपर्छ उसले त्यस किताबलाई।
हुन पनि एकतर्फी विश्लेषणमा म आफूलाई त्यही किताबको जीवन्त पात्र ‘जा’जस्तै पाउँथेँ। त्यो सानो बच्चो ‘जा’ ओछ्यानमा पिसाब गरेको सानो गल्तीका कारण घन्टा, दिन हुँदै महिनौँसम्म कालो, सुनसान र डरलाग्दो दराजभित्र थुनिएर बाँच्न बाध्य थियो। म सुन्दर युवती ! देशभरि परविर्तनको ढोङ पिटेर छद्मभेषी भई सलबलाएका अमानवहरूको पन्जामा परेर आफ्नो अस्मिता गुमाउनुको कारण आज अर्काको बिरानो मुलुकमा विवश बाँचिरहेकी छु। मेरो राष्ट्रिय पहिचान के त ?
“मिस्टर मोरिस आखिर के फरक छ र त्यो जा र मैले भोगेको सिलसिलामा ?” म किताब फर्काउन बिन्ती गर्छु।
“फरक छ। घर, परविार सबैले तिरस्कार गरेर फ्याँकिएकी तिमीलाई मैले तिम्रो अस्तित्व स्वतन्त्र अनुभव गर्न दिएको छु।” ऊ आफ्नो देशको माटोमा जन्मिएर आफ्नै देशको हावामा श्वास लिएर बूढो भएको मान्छे पर्यो। मातृभूमि र आफन्त गुमाउनुको पीडा के थाहा उसलाई। उसले मेरो भित्री दुखाइ देख्न सकिरहेको थिएन।
“तिम्रो देश मेरो निम्ति जाले थुनिएको अँध्यारो दराजजस्तै छ। बाहिरको उज्यालोले केही खुसी दिएको छैन मलाई। मेरो माटोमा खुल्ने उज्यालो चाहियो मलाई। या त तिमीले तिम्रै देशमा राख्न चाहनुको कारण देऊ मलाई।”
मैले अति जिद्धि गरिसकेकी थिएँ। मैले फर्किने चाहना स्पष्ट राखेपछि मोरिसले बोल्न बाध्य भएको हुनुपर्छ। हातमा बोकेको किताबलाई फ्यात्त फ्याँकिदियो मेरो काखमा र मेरै छेउमा आएर बस्यो। विस्तारै केही भन्नलाई आँखा भित्ताहरूमा नचाउन थाल्यो। “भित्तामा झुन्डिएको यस तस्बिरको रंगले मेरा आँखाका नानीहरू पोतिएका थिए, त्यसबेला। त्यो रंगले आँसु भएर पोखिनु थियो। तिमीलाई देख्दा मनको ताल फुट्यो र रंग छताछुल्ल भो। त्यसैले टपक्क टिपेर तिमीलाई लिएर आएँ। सायद यो मेरो स्वार्थ थियो। मैले लुकाएको यथार्थ यत्ति हो।” उसले भित्ताको तस्बिरलाई सुम्सुम्याउँदै अमूर्त भाषा बोल्यो।
“मिस्टर मोरिस यो तस्बिरको रंगसँग मेरो के सम्बन्ध ? म चाहन्छु, प्लिज अब मलाई मेरै देशको हावामा श्वास फेर्न पठाइदेऊ।” उसको अमूर्त उत्तरमा रुमलिँदै मेरै माटोमा फर्काउदेऊ भनी जिद्धि गरिरहेँ।
“मेरी छोरीको यस फोटोमा तिम्रो प्रतिवम्ब देख्छु म।” उसले मलीन तर भावुक स्वरमा कार दुर्घटनामा मृत्यु भएकी आफ्नी छोरीको स्थानमा मलाई राखिदियो र भन्यो, “मलाई मेरो बुढ्यौलीको एक्लोपनसँग डर लाग्न थालेको छ। त्यसैले तिमीसँगको बिनानाताको सम्बन्धमा लोभिइरहेको छु।” यत्ति बोल्दै बसिरहेको ठाउँबाट धर्मराउँदै उठ्यो र लाग्यो सुत्ने कोठातिर।
मोरिसको अन्तिम वाक्यांश मेरो मस्तिष्कमा घुमिरह्यो। मलाई धेरैबेरसम्म निद्रा परेन। एकातिर मेरी जन्म दिने आमा, मेरो माटोको गन्ध, हावा र पानीको मीठो स्पर्श, कोदो र फापरका फूल, मेरो श्वेत सगरमाथाको उचाइ, अर्कोतिर मिस्टर मोरिसले ममाथि लगाएको गुन र उसले खोलेको अन्तिम यथार्थ सबैलाई अस्वीकार गर्ने हिम्मत भेटिरहेकी थिइनँ मैले। मोरिसको जवाफबाट आफूलाई एकैपटक क्रसरोडमा पाएँ। अर्को डोज औषधी खाने समय भइसकेको थियो। टेबलमाथिको ह्यान्ड ब्याग खोलेर डिप्रेसनको गोली खाएँ। कुन बाटो जाने हो अनििर्णत म पुनः बिस्तरामा फर्किएँ।
-ब्रसेल्स, बेल्जियम
(स्रोत : नेपाल साप्ताहिक ४२२)