कथा : शिर्षक दिन नचाहेको एउटा कथा

~आन्विका गिरी~Anbika Giri

“तँ पढेलेखेको बुझेको मान्छे होस्, तँलाई हामीले केही भनिरहनु पर्दैन। हेर देश अहिले सामन्तवादको दलदलमा भासिएको छ। देशलाई मुक्ति दिन हामी जस्ता युवाले ज्यानको माया गर्नुहुन्न। खराब तत्वलाई अहिले नै जरैदेखि उखेल्नुपर्छ। यो तव मात्र सम्भव छ जव सशक्त युद्ध हुन्छ। हामीले आफूलाई यसका लागि तयार गरिसक्यौं। हामीलाई पूरा विश्वास छ तँ पनि तयार हुन्छेस्” मेरो बालसखाहरुका यी कुरा सुनेर म अवाक भए।

जीवन, शेखर र म, हामी तीनजनाको समुह सानैदेखि एउटै थालमा भात खाएर हुर्कियौं। शेखर र मसँगै पढ्थ्यौं, जीवन माथिल्लो कक्षामा पढ्थ्यो। ऊ हामी भन्दा उमेरमा केही जेठो पनि थियो। जीवन पातलो जीउडालको, गोरोवर्ण भएको, कम बोल्ने गम्भिर स्वभावको थियो। सानैदेखि जे कुराको पनि सोचेर मात्र जवाफ दिन्थ्यो। हल्ला-खल्ला, भिडभाडदेखि पर शान्त वातावरणमा रहन मन पराउँथ्यो। शेखर, धेरै बोल्ने, कालो, मोटे थियो। हामी कहिल्यै तीनबाट चार भएनौं र तीनमै यति रमाएका थियौं कि अरु कसैको आवश्यकता नै परेन। खुब खेल्थ्यौं, कुद्थ्यौं, उफ्रन्थ्यौं। हाम्रो अलग्गै संसार थियो। कहिलेकाँही नाटकीय खेल खेल्थ्यौ। त्यो अवश्य पनि सिनेमाको प्रभाव थियो।

“डाक्टर र बिरामीको खेल खेल्ने, म त ठूलो भएर धेरै पढेपछि डाक्टर बन्छु, सबै बिरामीलाई निको पार्छु, पैसा नि लिन्न। म त क्यान्सरको पनि दवाइ बनाउँछु” शेखरको प्रस्तावमा म र जीवन पनि सहमत हुन्थ्यौं। बिरामीको बन्ने भन्ने कुरामा कहिल्यै बिवाद भएन किनभने जीवन पातलो थियो र ऊ राजी पनि हुन्थ्यो। झाडा-पखाला लागेको बिरामी जीवनलाई जाँच्ने डाक्टरको बन्ने भन्ने कुरामा शेखर र म बीच चैं झगडै हुन्थ्यो।

“तँ त पछि साँच्चिकै डाक्टर भइहाल्छस् नि, अहिले म डाक्टर बन्छु क्या” म डाक्टर बन्न यस्तो तर्क दिन्थें।

“त्यै त नि पछि डाक्टर बन्न के-के गर्नुपर्छ भनेर मैले अहिले सिक्नु पर्दैन कि क्या हो!” शेखर पनि आफ्नो तर्क दिन्थ्यो।

“नाँई के नाँई हुँदैन” धेरै बेरसम्म बिवाद भएपछि, “ल तँ डाक्टर हैन नर्स बन्, केटीहरु नर्स त हुन्छन् नि है जीवन!” शेखर जीवनतिर हेरेर जीवनले साथ देला कि भनेर निकै लेग्रो पसारेर भन्थ्यो। म पनि के कम जीवन बोल्नुभन्दा अगाडि नै भन्थें, “इस्, अस्तिनको फिल्ममा हेरिनस् हिरोइन डाक्टरनी भा’को। फेरी डाक्टर हुन त गोरो पो हुनुपर्छ त, तँ त काले, यसलाई त डाक्टर भा’को नि सुहाउँदैन है जीवन। म त फेरि क्लास फस्ट, क्लास फस्ट त डाक्टर नै हुनुपर्छ सरले भन्नु भा’को। तँ त यति धेरै बोल्छस् कि तैंले बोलेको सुनेर सब बिरामी भाग्छन् तेरो त जिब्रो काटिदिनु पर्ने। म नै हुन्छु डाक्टर !”

शेखरलाई काले भने पुग्थ्यो तर हामी त्यो शब्द बिरलै प्रयोग गर्थ्यौं। शेखरलाई पछि गएर कालो मान्छेले काली केटीसँगै बिवाह गर्नुपर्छ भन्ने पीर पनि थियो। सिनेमामा सँधै गोरो अनुहारका डाक्टर देखेका हामी डाक्टर हुन गोरो नै हुनुपर्छ भन्ने सोच्थ्यौं र केटी डाक्टरलाई डाकटरनी भन्थ्यौं। शेखरको पढाइ राम्रो थियो, त्यसैले ऊ डाक्टर बन्छु भन्थ्यो तर मेरो सोचाइ डाक्टर बन्ने थिएन। के थियो? केहि पनि थिएन।

“हो शिखा नै डाक्टर बन्छे, शिखालाई सुहाउँछ” जीवनको यो बोलीले हाम्रो बिवाद समाप्त हुन्थ्यो र हाम्रो खेल शुरु हुन्थ्यो। म डाक्टर, जीवन झाडापखाला लागेको बिरामी, शेखर बिरामीको मान्छे।

“ल तँपाइलाई त झाडापखाला लागेको रहेछ, यस्तोमा जीवनजल खानुपर्छ। जीवनजल बनाउन आउँछ?” प्रश्न बिरामीलाई सोधे पनि उसको उत्तरको प्रतीक्षा नगरी म आँफै बोल्थें, “५ गिलाँस पानीमा” मेरो बोलीलाई काट्दै, “इस् ६ चिया ग्लास भन् न, यसलाई त आउँदा पनि आउँदैन, कत्ति न डाक्टरनी भा’की” शेखर आफू डाक्टर हुननपाएको रिस पोख्थ्यो।

“ला बिर्सिहालें, फेरी भन्छु, फेरी शुरुदेखि खेल्ने ल” म पटक-पटक गल्ती भन्थें र फेरि दोहर्याउँथे तर जीवन हरेकपल्ट बिवाद नगरी चुपचाप बिरामी बनेर पल्टिरहन्थ्यो। यो खेल हामीले थुप्रै पटक खेल्यौं। स्वरुप कहिल्यै पनि परिवर्तन भएन। म जहिले पनि डाक्टर, जीवन बिरामी र शेखर बिरामीको कुरुवा।

कहिलेकाँही चोर-पुलिस खेल्ने सुर कस्थ्यौं। तर यो खेलमा चोर र पुलिस बन्न शेखर र जीवनको खुब लडाइ हुन्थ्यो। “तँ काले छस् हेर्दा पनि चोर जस्तै देखिन्छस्, तँ नै चोर बन्” झगडा धेरै बढेपछि म भन्थे। “ए धेरै काले नभन है, कालो भए भनेर हेपेकी तैंले मलाई, तैं गोरी, हेर है अबदेखि काले भनिस् भने दाँत झारेर तँलाइ थोती बनाइदिन्छु” शेखर रिसाउँदै भन्थ्यो। कहिलेकाँही धेरै रिसाउँथ्यो शेखर यो ‘काले’ को निहुँमा।

“ल त झार् त दाँत कागज हो कि क्या हो?” म पनि कम थिइन। अघिसम्म जीवन र शेखर लडिरहेका हुन्थे तर एकैछिनमा म र शेखर बिच निकै चर्काचर्की चल्थ्यो। हात हालाहालको स्थितिमा पुग्न तयार हुन्थयौं। त्यति नै बेला जीवनले जुक्ति निकाल्थ्यो “ल आज तँ चोर बन्, भोली म चोर बन्छु, पालैपालो ल” शेखर राजी हुन्थ्यो, “चोर त यसलाई पो बनाउनुपर्ने” उसको चोरी औंलाले झण्डै मेरो नाक छुन्थ्यो यसो भन्दा।

“इस् केटी मान्छे त कहिल्यै चोर हुँदैनन्, म त पुलिस है जीवन” यस पटक म लेग्रो तान्थे। शेखर जीवनभन्दा पहिला बोल्थ्यो जसरी म डाक्टर बिरामीको खेलमा डाक्टर हुन बोल्थें “केटी मान्छे भएर पनि पुलिस हुने, पुलिस हुन त बन्दुक चलाउन आउनुपर्छ, बलियो पो हुनुपर्छ त”।

“ए मलाई नि बन्दुक चलाउन आउँछ, ढिच्याउँ, ढिचयाउँ” काठको टुक्रालाई बन्दुक बनाएर शेखरतिर तेर्सयाउँदै नक्कल पार्थें।

“देखिस्, बच्चु, म त केटाजस्तै पो छु त हेर त मेरो कपाल सानो छ, म कट्टु (हाफ पाइन्ट) र गन्जी लगाउँछु। म त तँ जस्ता दुईजनालाई पछार्न सक्छु, के ठानेको तैंले मलाई। म पुलिस नै हुन्छु” म चर्केर बोल्थें।

“तर घर मालिक को हुने नि? शिखा तँ घर मालिक बन् है” जीवन शान्त भएर समस्या सुल्झाउने कोशिश गर्थ्यो।

“नाँइ, एकैचोटी चोर भागेर पुलिसले खेद्दाको मात्र खेल्ने ल! म पुलिस नै बन्छु नभए खेल्दिन” म आफ्नो अन्तिम तर अचुक बाण हान्थे। यति भनी सकेपछि त शेखर पनि मलाई पुलिस बनाउन तयार हुन्थ्यो। त्यसपछि हातमा साना-साना काठका टुक्रालाई बन्दुक बनाएर। शेखर अघि कुद्थ्यो। म र जीवन शेखरको पछिपछि भाग्थ्यौं। शेखरलाई पक्डिन खासै गार्हो पर्दैनथ्यो, पक्डेपछि म उसलाई मार्न बन्दुक तेर्स्याउँथे। तर जीवन रोक्दै भन्थ्यो “नाँइ मार्नुहुन्न”।

“अबुई, चोरलाई नमार्ने रे, फेरी चोरीहाल्छ नि यसले”। उत्तानो परेर लडेको शेखरको कन्चटबाट म बन्दुक तल झार्न मान्दिनथें।

“शिखा, चोर पनि मान्छे नै हो, चोरलाई पनि माया गर्यो भने सप्रिहाल्छ नि, मान्छे भएर मान्छेलाई माया पो गर्नुपर्छ त, मार्नुहुन्न है”। जीवनको उमेर भन्दा यो कुरा ठूलो थियो।

“जीवनले गर्दा तू बचगया” बन्दुक फ्याँकेर म यो अर्ध नेपाली र अर्ध हिन्दी संवाद बोल्थें। शेखर जुरुक्क उठ्थ्यो, “भोली चाँहि म पुलिस है” तर त्यो भोली कहिल्यै आएन जुन भोलीमा शेखरको पुलिस बन्ने पालो आएकोहोस्। पुलिस सँधै म र जीवन नै अनि चोर सँधै शेखर नै।

क्रमश: हामी ठूला हुँदैगयौं, हाम्रो मित्रता पनि झाङ्गिदै गयो। धेरै कुराहरु बद्लिए। चोर पुलिस, बिरामी-डाक्टरका खेलहरु पनि बन्द भए। हाम्रो मित्रता इर्श्यागर्न लायकको थियो। कहिल्यै झगडा गरेनौं। बिवाद नै भएपनि म र शेखर बीच हुन्थ्यो जुन जीवनको एक शब्दले रोकिन्थ्यो। मानौ जीवन हाम्रो न्यायाधिश थियो। हामी तीनैजना प्रगतिशिल बिचारका थियौं। सामाजिक काममा रुचि लिन्थ्यौं। एक पटक म मामाघर गएको थिएँ। विद्यालयका सबै विद्यार्थी अखिल क्रान्तिकारीको कार्यक्रम हेर्नगएका रहेछन्। तिनलाई पुलिसले कार्यक्रम स्थल पुग्नु अगावै बाटोमा रोकेर हिरासतमा लिई यातना दिएछन्। गम्भिर स्वभावको जीवन यो घटना पछि बद्लियो र शेखरले पनि डाक्टर बन्ने लक्ष्य खै कँहा बिसायो। दुवै बद्लिए, धेरै सोच्ने, धेरै जुझारु बने।

“पुरानो सत्ता,” “सामन्तवाद” “जन सरकार” उनीहरुका शब्दावली पनि अप्ठेरा हुनथाले। हामी SLC पास गरेर क्याम्पस पढ्न थाल्यौं। म उनीहरूको बारेमा अरुबाट सुन्थें तर सोध्दा उनीहरु मौन रहन्थे। पछि एक्कासी उनीहरू बेपत्ता भए र आज झण्डै छ महिनापछि मेरो यो सानो कोठामा उनीहरुको उपस्थिति भयो। तर कस्तो भयावह प्रयोजनका लागि।

“के भयो बोल न” शेखरले घचघचाएपछि म झसङ्ग भएँ। सायद म आफ्नो बितेका दिनमा अलि बढि नै हराएँछु क्यार। म खाटबाट जुरुक्क उठेँ, मन भारी थियो तर के थियो मनमा म व्यक्तगर्न सक्तिन। मैले केही सोच्न चाहिँन। म विचारशुन्य थिएँ र खै कुन कस्तो त्राशले घेरिएकी थिएँ। मैले मुस्काउने प्रयासगर्दै भनेँ, “जीवन तैँले नै सिकाएको हैन मलाई, मान्छे भएर मान्छेलाई माया गर्नुपर्छ, चोर पनि मान्छे नै हो, उसलाई पनि माया गरेर सपार्न सकिन्छ। मान्छेलाई मार्नुहुन्न, आज फेरि तँ नै मान्छे मार्न तयार भइस्” म शेखर तिर फर्कें, उसका आँखामा परिवर्तनको भाव झल्किएको थियो।

“शेखर डाक्टर बन्छु भन्थिस्, रोगीको सेवागर्छु भन्थिस्, मान्छेलाई बचाउँछु भन्थिस् नि, तिमीहरुले बिर्सेउ होला तर तिमीहरुले नै मेरो मन भित्र रोपेका ती कुराहरुलाई म बिर्सन सक्तिन।” मेरो कुरा सुनेर जीवनले सम्झाउने पारामा भन्यो, “शिखा, जिन्दगी खेल हैन, देशको अवश्था हेर त कोही महलमा बस्छन् कसैलाई झुप्राको बास पनि छैन। कसैका पाल्तु कुकुरहरु मासु भात खान्छन् तर मान्छेहरु दुई छाक खान पाउँदैनन्। तँ त सब समान हुनुपर्छ भन्थिस् नि, के तैँले चाँही झुठ बोलेकी थिइस्”।

“हैन म अझ पनि त्यही चाहन्छु, म तेरो विचारको कदर गर्छु; तर युद्ध गरेर, मान्छे मारेर परिवर्तन हुन्छ भन्ने कुरामा म सहमत छैन। के हामी शान्तिपूर्ण तरिकावाट समस्या समाधानगर्न सक्तैनौं? म वैचारिक क्रान्ति गर्छु। तिमीहरु पनि यो बाटो नरोज, युद्धले विनाश बाहेक केही ल्याउँदैन।” मैले आफ्नो निर्णय दिएँ। सायद जीवनले मबाट यस्तो आशा गरेको थिएन, त्यसैले ऊ चर्कियो, “शान्तिपूर्ण तरिका? के हामी बन्दुक बोकेर गएका थियौं त त्यतिबेला? के हामी प्रजातन्त्र भएको मूलुकमा अलग्गै राजनितिक विचार पनि राख्न नपाउने? किन थुनियो हामीलाई? शान्तिपूर्ण तरिका? बाह्र वर्ष नाघिसक्यो शान्तिपूर्ण तरिका भनेको तर खै के सुधार भएको छ? हाम्रो देश त एउटा फोहोर नाली भएको छ जसमा केवल किटाणुहरु मात्र सास फेर्न सक्छन्। नेपाली भनेर भन्न लाजमर्दो पारिसके, भिखारी बनाइसके हामीलाई। थाहा छ तँलाई जुन किसान वर्षैभरी खेतमा गोरु झैं जोतिन्छ, उसैको घरमा अन्न हुँदैन। तर तँलाई के मतलब, तैँले पाएकै छस् नि ठूलो घरमा बस्न, दुईछाक सुतिसुति खान यति भनेर मेरो अनुहार पनि नहेरी कोठाबाट गयो। मेरो आँखावाट तररर आँसु झरे “शेखर मारकाट ठिक होइन, please सम्हाल आफूलाई, बेला अझै छ। आफ्ना आफ्ना त मिल्नुपर्छ न कि झगडा गर्ने, शेखर म तिमीहरुलाई गुमाउन चाहन्न। योवाटो ठिक होइन।” म रुदै भन्दै थिएँ।

“हामीले सोचेका थियौँ तँ पहिलाको जस्तै छेस्, हामी काँडाघारी गए पनि सँगै जाने, फूलबारी गए पनि सँगै जाने तर तँ त्यस्ति रहिनछस्। हामी सारा सर्वहाराका लागि लड्दैछौ। सोचेका थियौ तँलाई बुझाउनु पर्दैन तर तँ हाम्रो साथी नै होइन नत्र तैँले हामीलाई रित्तो फर्काउने थिइनस्” मैले शेखरको हात समाएर रोक्न खोज्दा खोज्दै ऊ पनि गयो।

मैले आँखा खोल्दा आफूलाई अस्पतालमा पाएँ। अगाडी नर्स थिइन्। म वाल्ल परिरहेको थिएँ।

“How are you feeling now?” नर्सले म वयुँझेको देखेर सोधिन्।

“म यँहा——-‍-” वाक्य फुट्न अप्ठेरो परिरहेको थियो मेरो।

“तँपाइलाई आज आठ दिनपछि होश आएको वाहिर वुवा आमा हुनुहुन्छ म वोलाउँछु” नर्सले मेरो अन्यौलता समाप्त पारिन् र वाहिर गइन्। जीवन र शेखर गएपछि म त वेहोश पो भएछु! हुनु पनि त्यो त्यति सजिलो विछोड थिएन जसलाई मैले सजिलै सहन सकुँ। मेरा दुवै साथी जो विना म अपाङ्ग थिएँ, जो मलाई प्राण प्रिय थिए सानोमा त सव विचार मिल्थ्यो, तर आज विचार मिलेन, मन मिलेन, मलाई एक्लै पारेर हिंडे। त्यसपछि प्राय म ढोका थुनेर कोठामा नै वस्न थाले। संकटकाल लाग्यो। शुरु शुरुमा त कर्फ्यु पनि लाग्यो। साँझ परेपछि हिंड्न नपाइने भयो। मान्छेहरु चित्त नवुझेका कुराहरु कानेखुशि गर्न थाले। थुप्रै आक्रमणका घटनाहरु भए। गाउँ गाउँमा राती राती टर्चहरु वालेर सर्चहरु थालिए। दिन दिनै मान्छे मरेका घटनाहरु सुनिन्थे। म हरदम त्रासित रहन्थे। प्रत्येक पल्टको समाचार सुन्थें अनि मात्र म ढुक्क हुन खोज्थें। त्यस्तैमा एकदिन मलाई प्रहरीले पक्रेर लिएर गए। धेरै केरकार गरियो। जीवन र शेखरका वारेमा धेरै सोधियो। तर मवाट कुनै जानकारी नपाएपछि छाडियो। यो घटनाले त म अझैं चिन्तित वने।

विहान घाम राम्ररी नै लागिसकेको थियो। मैले झ्याल खोलें। झ्यालवाट अगाडी भएको साइँला वाजेको घरतिर हेरें। साँइला वाजेको घर त निकै ठूलो छ तर वँहा एक्लै वस्नुहुन्छ। जीवन, शेखर र मलाई सन्तान झैं माया गर्नुहुन्छ। वँहालाई गाउँभरीका सवले साँइला वाजे नै भन्छन् र म पनि साइँला वाजे नै भन्छु। जीवन र शेखर गएपछि वँहाले मलाई निकै सम्झाउनु भयो।

“मेरो लाश वोक्लान भनेको…” वँहाले यो वाक्य यत्तिकै अधुरो छाड्नुहुन्थ्यो। वँहा पनि आज भोली मौन रहनुहुन्थ्यो। वँहाको एउटा विशेषता थियो, रेडियो चर्को आवाज सुन्ने। वँहाले रेडियो खोले पछि जाउँमा अरु रेडियो खोल्नु पर्दैनथ्यो, अझ मेरो घर त टाँसिएकै थियो। सात वज्न लागि सकेको थियो। मैले त्यँहावरपर साँइला वाजेलाई देखिन, सायद भित्र हुनुहुन्थ्यो कि! समाचार शुरु भयो। मैले कानहरु रेडियोतिर नै फर्काएको थिँए।

“सुरक्षा फौजको कारवाहमा पाँच जना आतङ्ककारीको मृत्यु भएको छ। मर्नेहरुमा जीवन…” समाचारले यो भन्दा अगाडी के भन्यो मैले थाहा पाइन। त्यसपछि कतिदिन सम्म मैले खाना खाइन, कति दिनसम्म सुर्यको प्रकाश हेरिनँ मलाई होश छैन। प्रत्यक रात रेडियोको चर्को आवाजलाई पनि चिर्ने गरेर म कराउँथे, “जीवन म स्वार्थि हैन” वुवा आमा यो आवाज सुनेर कुद्दै मेरो कोठामा आउनुहुन्थ्यो। मैले सव सम्झें। चोर-पुलिस खेलेको, विरामी-डाक्टर खेलेको सव सम्झे। जीवनलाई म आफ्नाहरेक समस्याहरु भन्थे, मानौ उसंग सव कुरा सुल्झाउने चमत्कारिक शक्ति छ। विद्यालयमा कसैले केहि भन्यो भने म जीवन भन्दै कराउँथे, उ आउँथ्यो र हप्काउँथ्यो। म जसको आडमा स-सानो ‘दादागिरी’ गर्थें। उसले मलाई जहिले पनि असल वन्न प्रेरित गर्यो। अरुवाट अलग राखेर हल्लाखल्ला, भिडभाड, अशान्तिसंग सम्वन्ध राख्न दिएन। मैले कुनै कुरा नाँइ भनेपछि जवर्जस्ति गर्दैनथ्यो, सायद त्यसैले पछिल्लो पटक पनि जवर्जस्ति गरेन। हामीले सँगै खिचाएका तस्विरहरु म मध्यरातमा टर्चको सहायताले हेर्थें र धेरै वेरसम्म रुन्थे। कोहि केटाले मलाई जिस्काउन खोजेमा जीवन र शेखरले…। ओहो शेखर, ऊ त जीवित छ, तर कँहा छ, मैले उसलाई फर्काउनै पर्छ। म एकाएक खुसी भएँ र तयार भएँ उसलाई खोज्न तर घडिमा त रातीको बाह्र बजेको रहेछ। मेरो सानो कोठामा घरि वल्लो छेउ त कहिले पल्लो छेउ गएर म धेरै छट्पटाएँ। वडो मुश्किलसंग पाँच वज्यो। म लगभग कुदेकै शैलिमा उनिहरुको एउटा साथी रविनलाई भेट्न गएँ।

“शेखर कँहा छ?” मैले एकदम चर्को स्वरमा हप्काएको पारामा सोधें।

“म भन्न सक्दिन तर जँहा हुनुहुन्छ ठिक हुनुहुन्छ” रविनले भन्यो।

“मलाइ भन्नै पर्छ शेखर कँहा छ, मलाई शेखर चाहियो” मैले कराएर भने। यस्तरी भने की मानौ रविनले शेखरलाई लुकाएको छ र शेखर मेरो निजी सम्पती हो जसमा केवल मेरो मात्र हक छ। पछि मेरो मानसिक विचलनको अवश्था देखेर उसले भन्यो, “म तपाइँलाई शेखरजी भएको ठाउँमा त पुर्याउन सक्दिन तर शेखरजी तपाइँ भएको ठाउँमा आउन सक्नुहुन्छ”। म चुपचाप त्यँहावाट फर्कें। मसंग यो भन्दा अर्को उपाय पनि त थिएन। मैले ढोका नै वन्द नगरी केवल ढोकातिर नै हेरेर दुइदिन विताएँ र तेस्रो दिन शेखर ढोकामा उभियो। दुइवटा पुरा गाला, चीउँडो सव ढाकिनेगरी दार्ही पालेको, फोहोरी, मैलो लुगा लगाएको, पातलो, शेखर भनेर चिनिने उसको निधारको खतमात्र जस्ताको त्यस्तै थियो, वाँकी सव वद्लिएका थिए। म खाटवाट जुरुक्क उठें। कमजोरीले होला मलाई रिंगटा लागिरहेको थियो तर पनि म जसो तसो सम्हालिदैं उसको उेउमा पुगें। मेरो आँखावाट निरन्तर आँशु आइरहेको थियो। मैले उसलाई अंकमाल गरें र निधारमा चुमे। उ चुपचाप ढोकामा यसरी उभिएको थियो कि मानौ उ एउटा निर्जिव खम्वा थियो। म भने के गरौं, के नगरौं वा आझ के के गरौ भनेर सोध्न सकिरहेको थिइन। म खुशिले पागल भएकी थिएँ।

“आइज न खाटमा वस” मैले उसको हात समातेर खाटमा वसाले।

“जीवन…” म रुनथालें।

“हो जीवन शहिद’ भयो। ऊ जनताको लागि मर्यो। मलाई उसप्रति गर्व छ” उसको आवाजमा कठोर द्रिढता थियो। उसको आँखामा कठोरता झल्किएको थियो।

“ए त्यसो भए जीवन तेरो लागि शहिद भयो। मेरो साथी थियो जीवन। मैले जीवनलाई सधैंको लागि गुमाएँ। ए! जीवन हेर त यसले मलाई पिट्दैछ भनेर म चिच्याएँ भने के मलाई वचाउ गर्न जीवन आउँछ? आउँदैन। कति सजिलो सहिद भयो? अँह म मान्दिन।” मैले पनि आवाजमा वल दिएर भने।

“तँ आफ्नोमात्र सोच्छेस्, जीवन तेरो मात्र साथी थिएन ऊ त जनताको साथी थियो” शेखरले मेरो भनाइलाई स्वार्थपनको संज्ञा दियो।

“जनता भनेका को हुन्? तेरो सिद्धान्तलाई समर्थन गर्ने मात्र जनता अरु चाँहि को? तिमीहरुद्वारा नै मारिएका शिक्षक रामप्रसाद को थिए? कि जनता हुन तिमीहरुको परिक्षामा पास हुनुपर्ने? के कसैले वेग्लै राजनैतिक विचार राख्न नपाउने?” मैले यसपल्ट रिसाएर भने।

“जेहोस म तँसंग तर्क गर्न चाहन्न। तँ अव कँहि जाँदैनस्। म तँलाइ पनि गुमाउन चाहन्न। जीवनले मानेन तर तैँले मान्नै पर्छ। सक्छस् भने शान्तिपूर्ण तरिकाले मान्छेलाई सम्झा न। म पनि साथ दिन्छु। यो युद्धले हरेकपल्ट जीवनजस्ता मर्छन, कहिन्छन् र दुर्गन्धमात्र फैलाउँछन्, अरु केहि हुँदैन” मेरो यो कुरा सुनेपछि शेखरको आँखामा मप्रति घृणाको भाव देखियो।

“सोचेको थिएँ जीवन मरेपछि जीवनको मृत्युले तँ वढ्लिन्छेस्। उसको अधुरो सपना साकार पार्न चाहन्छेस त्यसैले मलाई वोलाएकी होस तर तैँले मलाई पनि मेरो साथीको सपना पुरा गर्नवाट रोक लाउन खोजिस्। तँलाई जीवनको मतलव नहोला तर मलाई छ। अव हाम्रो भेट नहुदा नै राम्रो होला” शेखर गयो। गयो ऊ, कँहा कुन भिडमा हराउन गयो। म आखिरमा एक्लै भए। यसपाली म रोइन केवल मौन रहे। मलाई मान्छेले पागल भने तर म चुपचाप ति यादहरुलाई सम्झन्थे जसमा म एक्लै थिइन। रेडियो, पत्रपत्रिका, टि.भी। म यी कुराहरुबाट टाढा रहन्थे अनि बेकम्मा र रुचि नभएको प्रेमका उपन्यासहरु पढ्थें। रविन ढोकामा उभिएको थियो। मैले उसलाई एकोहोरो हेरिरहें। शेखरजी एकजना वद्माशलाऐ सफायागर्न जानु भएको थियो, खै कुन्नि कसले सेनालाई खबर गरिदिएछ, वँहा मारिनु भएछ” यति भनेर रविन कतिखेर गयो मैले थाहा पाइन।

“ओहो तीन दिन अगाडी मैले तपाइँलाई यसरी नै छाडेको थिएँ, शेखरजी जीउँदो हुनुहुन्छ, अस्पतालमा हुनुहुन्छ वँहाको टाउकोमा गम्भिर चोट लागेको छ” रविनको यो वाक्यले म चलमलाए। यस्तो लाग्यो कि अस्ति रविनले मेरो प्राण लिएर गएको थियो त्यसैले म चुपचाप थिएँ र अहिले ऊ मेरो प्राण लिएर आएको छ र म चलमलाउँदैछु। शेखर कुन अस्पतालमा छ, पत्ता त लगाएँ तर भेट्न सकिन। म मानसिक रुपमा क्षत-विक्षत भइसकेको थिएँ। मेरो यो अवस्था एउटा मात्र सन्तान हने बाबु आमाको लागि असह्य थियो। त्यसैले मलाई लिएर आमा मामाघर जानुभयो।

कालो, पातलो, पुरानो लुगा लगाएको, कपाल सानो पारेर काटेको शेखरलाई मैले परबाट नै चिनें। म हत्त न पत्त उसको छेउमा पुगें। मेरो आँखाको डिलवाट एकाएक थुप्रै आँशु झरे जुन आँशु शेखरसंगको पछिल्लो भेटपछि आँखामा नै अडिएको थियो।

“शेखर” मैले नै बोलाएँ किनकी पछिल्लो पटक उ मसंग रिसाएर छुट्टिएको थियो तर शेखर केही बोलेन, केवल मुसकुरायो।

“तँ मसंग रिसाएको हो?” उ नवोलेपछि मैले सोधें। टाउको हल्लाएर हैन भन्ने संकेत गर्यो उसले तर बोलेन। म फेरी केहि सोध्न तयार भइसकेको थिएँ तर अचानक उसले मेरो हात पकड्यो र हत्केलामा कलमले लेख्यो, “शिखा मेरो जिव्रो काटिएको छ, म बोल्न सक्दिन” म त मरे तुल्य भएँ। मैले उसका आँखामा हेरें, उ पनि रोइरहेको थियो। मैले झट्ट आफूलाई सम्हालें। ऊ फर्किएको छ भनेर पनि होला मैले चित्त बुझाएँ। हामी घरतिर आयौं।

“मैले थुप्रै कुटाइ खाएँ, पछि म होशमा आउँदा मेरो जीव्रो काटिइसकेको थियो। म बोल्न सक्दिन शरीर पनि बिरामी छ भनेर उनीहरुले मलाई छाडिदिए। तँ भएको ठाउँमा आउने हिम्मतगर्न सकिनँ” केही दिनपछि यी कुराहरु शेखरले एउटा कागजमा लेखेर मलाई दियो। एकदिन हुलाकबाट एउटा पार्सल आयो। खोलेर हेर्दा एउटा सानो चिटमा लेखिएको थियो:

“शिखाजी जीवनजीले यो डायरी तपाइँलाई दिनु भनि छाड्नु भएको थियो। आफै आउन सकिन, त्यसैले हुलाकबाट पठाएको हुँ”
– आकाश

त्यो चिट आफूले पढिसकेपछि मैले शेखरलाई दिएँ। डायरी खोलेर म र शेखर दुवै पढ्न वस्यौं। हामीसंग विताएका रमाइला पलको वारेमा लेखिएको त्यो डायरीको अन्तिम पेजमा लेखिएको थियो, “शिखा र शेखर म तिमीहरुलाई केवल प्रेम गर्छु, अथाह प्रेम, त्यो भन्दा अरु मेरो मनमा तिमीहरुप्रति द्वेष छैन” यसपाली म एक्लै रोइन, शेखर पनि सँगै थियो। त्यो दिन मेरो मन हलुका थियो किनकी जीवनले मलाई द्वेष मुक्त गरेको थियो।

आज भोली शेखर साँइला वाजेको घरमा बस्छ। साँइला बाजे पनि खुसी हुनुहुन्छ। म बोल्छु, शेखर सुन्छ। ऊ लेख्छ म पढ्छु। तर पनि कता कता खल्लो झैं , शेखरका आँखाहरुमा असन्तोष र छट्पटीहरु देख्दा।

*समाप्त*

(स्रोत: तन्नेरी डट कम – Issue 11 – Kartik, 2062)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.