~दुर्गा विनय~
शब्दहरू तिनै हुन् । तर पनि कति छिटो छुन्छ । भन्ने तरिकाले सबैलाई असर पार्दोरहेछ । त्यही शब्द कतिखेर कुत्कुताउने भइदिन्छ । त्यही शब्द कतिखेर शुल बनिदिन्छ । कस्तो अचम्मका हुँदा रहेछन् यी शब्दहरू । शब्दले शब्दलाई लात हान्छ, छुरी हान्छ, म्वाइ खान्छ, अँगालो मार्छ, बोकेरै हिंडुला जस्तो गर्छ । ठ्याक्कै मान्छेको बानी छ यसमा । शब्द शब्दहरूको द्वन्द्वबाट निस्केको परिणामलाई अर्थ बुझ्छ मान्छे ।
“आज ठूलो पानी पर्छ जस्तो छ” झ्यालबाट देखिने कालो बादलतिर हेरेर उसले अड्कल काटेकी हो ।
“जाडो महिना लागिसक्यो अझै के पानी परिरहेको होला ।” सब्जीलाई चुलेंसीमा रेट्दै उसकी साथी बोलेकी छ ।
“समयले पनि घाउमा नून हाल्न सिकेको छ ।” आकाशतिरै हेरिराखेर ऊ बोली ।
“भो अब कुरा नगर ।” साथीले सब्जी काट्दै बोली ।
पानी उसका आँखाबाट खसे । ऊ चुपचाप आकाशतिर हेरिरहेकी थिई । आकाश कालो हुँदै गयो । “ठूलो पानी पर्छ होला ।” उसले फेरि भनी ।
“पानी त पर्नैपर्छ जाडो बोलाउनलाई ।” साथीले सब्जी काटिसकेकी रहिछ ।
“विपत्ति बोलाउनलाई लडाईं भएजस्तै ।”
“के अत्तो न पत्तोको कुरा गरेको ।” साथी सब्जी पखाल्न लागिसकेकी थिई ।
“शब्द भेटेकी छैन ठीक–ठीक । भाव भनुँ कसरी, आएन भन्नलाई । मनमा भ’को दुःख भन्न नआएर निस्केका यी फजुल शब्दलाई बोलेको हुँ कसरी, तिमी कसरी बुझ्न सक्छौ ?” उसले बिस्तारै भनी । उसकी साथीले सुनिन होला भन्ने मेरो अनुमान छ ।
“तिम्रो त जाँच आउन आँटेको छ होला हैन ? कहिलेदेखि हो ?” सब्जी पखाल्दै उसले साथीले सोधी ।
“यही महिनापछि हो ।” मन नलागी–नलागी उसले उत्तर दिई । “अब हरेक दिन पानी पर्नुपर्छ, हरेक दिन झरी हुनुपर्छ, घाम हरेक दिन लाग्नुपर्छ ।” धेरैबेर के–के सोचेर ऊ बोली । तर के बोली मलाई थाहा भएन । बुझिनँ मैले । बुझ्न सकिनँ मैले । उसको साथी सब्जी पखालेर भित्र आइसकेकी थिइन् । स्टोभ बाल्ने तरखर गर्दैथिन् ।
“हैन के भएको छ आज तिमीलाई, के अर्थ न बर्थको कुरा गरेको ।”
“केही भएको छैन ।”
केही भएको छैन भनिदिंदैमा के नै पो हुन्छ र ? भएको कुरा कसले महसुस गरिदिन्छ र ? भएको कुरा भन्दैमा पनि के हुन्छ र ? उही हो सान्त्वना मात्र पाइने हो । सान्त्वनाले दुःख, पीर कम हुने हैन । खानाको कुरा गर्दा अघाइने भए मान्छेले परिश्रम नै किन गर्नु पथ्र्यो र ?
“जाडो मज्जाले शुरू भएछ । पानी पनि कत्ति चिसो छ हगी ।” स्टोभ बाल्न खोज्दै उसकी साथीले भनी ।
“हँ !”
“जाडो मज्जाले शुरू भएछ भनेको क्या !” उसकी साथीले फेरि भनी ।
“अँ ।”
हरेक शब्दको अर्थ लाग्छ । अर्थ हुन्छ नै हरेक शब्दको । कुनै कुनै बेला बेकारमा बोल्दा अर्थको अनर्थ लाग्न सक्छ । “बेकारमा बोल्दा” भन्नुको अर्थ त्यस्सै कामै नभई बोल्नु वा त्यस्तै केही हो । शब्दले आपूmमा सिंचित गरेर राखेको अर्थलाई मुखबाट त्यस्सै फुत्त फाल्नु गलत होला, हुन्छ नै । त्यही भएर घरिघरि कम बोल्दै छे ऊ । घरिघरि बहकिएर धेरै पनि पो वा कतै “बेकारमा” त बोल्दै छैन ।
“चन्द्रमा हरेक दिन, हरेक रात झुल्केको हुन्छ । ती त घाम र बादल हुन्, जसले चन्द्रमालाई ओझेलमा पार्छन् । आफ्नो तेजिलो प्रकाश फ्यालेर चन्द्रमालाई फिस्स हराइदिन्छ घाम दिनमा । बादलहरूले छेकेर निस्तेज पारिदिन्छ त्यसलाई रातमा ।”
“के अरे ?”
“क्यै हैन ।”
“के पढेको ?”
“क्यै हैन ।”
“के भनेको त ?”
“……….”
साथीले सब्जी ओइरिसकेकी रहिछ । त्यसको आवाजले झसङ्ग भई ऊ । अहिलेसम्म पनि ऊ झ्यालबाट बाहिर नै हेरिरहेकी रहिछ ।
प्रश्नको उत्तर नआउँदा साथीले फर्केर हेरेकी थिई । ऊ अझै बाहिर नै हेरिरहेकी थिई ।
“बाहिर के हेरेको ?”
“क्यै हैन, तेसै हेरेको ।”
“पहिलो दिन के छ ?”
“नेपाली ।”
“आज तिमी किन छिटो उठेको ? पढ्नलाई हो ?”
“रात लामा–लामा ऐठन लाग्ने भए । बाहिरको अँध्यारो मनभित्र आएर बस्यो । अँध्यारोले तर्सायो । झसङ्ग बनायो । म आरामले निदाउन सकिनँ ।”
“ऐठन भयो ?”
“हैन समय ऐठन भयो ।”
“किन ?”
“रात अँध्यारो भएर । यादहरू अँध्यारा भएर । इतिहास, वर्तमान सबै अँध्यारो भएर ।”
“आज कविता लेख्यौ ?”
“छैन ।” लामो सुस्केरा तानेर ऊ फेरि बोल्न थाली– “ती वाक्यहरू अहिले पनि कानमा छन् । ती आवाजहरू अहिले पनि कानैमा छन् । बज्छन् घरिघरि ।”
“ए ।” साथीले बुझे झैं गरेर ‘ए’ भनी, तर बुझे जस्तो लागेन ।
“मान्छे मन लागेकै बेला किन मर्न सक्दैन ? किन उसले जबरजस्ती बाँच्नुपर्ने ?”
“चाहेकै बेला मर्नका लागि मेटासिट, डोरी, मुसा मार्ने दबाई थुप्रै चिज छन् ।”
“नखाई भ्वाक्कै मर्न सकिंदैन ।”
“सकिन्छ, काल आयो भने ।”
धेरैबेरको मौनतापछि साथी फेरि बोली । “तिमीलाई पक्कै केही भएको छ ? मलाई पनि भन्दिनौं ।”
“केही भएकै छैन ?”
“म मान्दिनँ ।”
“नमाने म के गर्न सक्छु, तिम्रो इच्छा हो ।”
“ला ! सब्जी डढ्यो कि क्या हो ।” साथी हतार हतार सब्जी चलाउन गई ।
“मलाई जतासुकै जेसुकै खाएर हिडौं जस्तो भएको छ । विक्षिप्त हुन मन लागेको छ ।”
“मलाई अलिकति पानी ल्याइदेउ न ।” साथीले सब्जी चलाउँदा चलाउँदै हात पैmलाएर पानी मागेकी थिई । आँखा भने सब्जीतिरै अडेको थियो ।
“चामल हेर्दै गर है ।” पानीको जग समात्दै साथीले उसलाई भनी ।
“ठूलो ढुंगा आएर बजारिएको छ । अब केही पनि शद्धी रहने छैन ।”
“के अरे ।”
“सबै चिजको भगनावशेष मात्र रहने छ ।”
“के भयो ?”
“गाउँबाट चिी आएको छ ।” कागजलाई औंलाहरूले चेपेर साथीतिर लम्काउँदै उसले दिई । यतिखेरमात्र साथीले ध्यान दिएकी थिई उसको अनुहारमा । आँशु सुकेर कट्कटिएको रहेछ । नपुछेका आँशुका दाग, लेघ्राहरू थिए गालाभरि ।
कागज पक्डदै साथी चिी पढ्न थाली । आँशु झरेर कागजमा परे । अक्षर धमिला हुँदै गए ।
“ठूलो पानी पर्नुपर्ने ।” आकाश झन् कालो भएको रहेछ । सब्जी डढेको गन्ध पनि आउँदै थियो ।
दुर्गा विनय / झापा
(स्रोत : रचनाकारको ब्लगबाट सभार )