कविता : सम्झना

~श्रीपुरुष ढकाल~

सम्झना छ अझै ताजा
वालापनको खेलवाड
हाँस्दै खेल्दै मनाएको
रमाइलो चाडबाड ।

काफल टिप्न रूख चढ्थ्यौँ
गाई चराउन जाँदा हामी
ऐँसेलु टिप्दै खान्थ्यौँ
काँडेदार हाँगा तानी
गर्मी हुँदा पौडी खेल्थ्यौँ
जाडोमा धुनी बाल्थ्यौँ
खोला पुग्दा बल्छी हाल्दै
माछा पोली खान्थ्यौँ ।

कपर्दी र डण्डीबियो
खेल्ने गथ्र्यौ हामी
कहिलेकाहीँ रिसाएर
कुस्ती लड्थ्यौँ हामी
रिसाएको एकैछिनमा
भेटी हालौँ लाग्थो
अँगालेर आपसमा
बोली हालौँ लाग्थ्यो ।

असार पन्ध्र हिलो खेल्दै
दहीचिउरा खान्थ्यौँ हामी
साउने सङ्क्रान्तिमा
लुतो फाल्ने गर्थ्यौ हामी
दसैँ तिहारमा पिङ खेल्थ्यौँँ
टीका पनि लाउँथ्यौ
पुसको पन्ध्र घिउखुट्टे
माघमा खिच्रो खान्थ्यौँ
सम्झना छ अझै ताजा
वालापनको खेलवाड
हाँस्दै खेल्दै मनाएको
रमाइलो चाडबाड ।

श्रीपुरूष ढकाल
सानेपा, ललितपूर

(स्रोत : मधुपर्क २०६६ असोज)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.