~चन्द्र मेघि गुरुङ्ग~
म तीन शब्द भित्र
धेरै कुरा भेट्छु
उ भाषण गर्छ
रासनको चारो फ्याक्छ
सट्टामा हामी
शासनको डण्डा सुम्पन्छौं
जब हामी रासन माग्दै भाषण गर्छौं
उ शासनको डण्डा हामी माथी बर्साउँछ
शासन गर्ने र भाषण सुन्ने
दुईटैको बिषय रासन हुन्छ
तर अर्थ फरक हुन्छ
हामी रासनको आशमा
भाषण सुन्छौं
उ शासनको लागि भाषण गर्छ
उ भाषण गरेर मोटाउछ
हामी भाषण सुनेर दुब्लाउछौं
शासन भित्र भाषण छ
म के जान्नु शासन गर्न भाषण गर्नु पर्छ कि ?
भाषण गरेर शासन हात पर्छ
भाषण भित्र रासन को कुरा छ
दुनियाँ सोच्लान् अब रासन मिल्छ
तर उनी रासनको कुरा फलाकेर
हामी माथी शासन गर्दै
मीठो मीठो भाषण मात्र गर्छन्
उनि शासन गरेर रासन कमाउँछन्
हामी रासन पाउन भाषण सुन्छौं
उनि हामिलाई रासन त किन दिन्थे र
सट्टामा हामिलाई शासन दिन्छन्
अनि भाषण सुनाउँछन्
भाषण ,रासन र शासन
गहिरो सम्बन्ध छ यी शब्द बिच
रासन को आशा नदेखाई
उनी शासन हात पार्न सक्तैनन्
उनी भाषण गर्छ्न् रासनको
हात लाग्छ शासन
उनी रासन कमाउन शासन गर्छन्
हामी रासन पाउन भाषण सुन्छौं
अन्त्यमा
हामी भाषण सुनेर शासन पाउछौं
उनी भाषण गरेर रासन कुम्ल्याउँछन्
उनको भागमा शासन हुन्छ
उनको अगाडी रासन हुन्छ
हाम्रो अगाडी केवल
भाषण हुन्छ
हामी त्यही सुन्छौं
आहा भन्छौ रित्तो पेट सुम्सुम्याउदै ।
चन्द्र मेघि गुरुङ्ग
विदेशी भूमिबाट ।
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )