कविता : सेल्फिले नखिचेको जिन्दगी

~राजु स्याङतान~

आज देशकै खास मान्छे मरेछ
सिङ्गारिएको छ आर्यघाट
गरिबको विवाह मण्डपभन्दा धेरै ।

लाम लागेका छन् मलामीहरू
भावविह्वल छन् आफन्तजन
साइरन बजाउँदै आइपुग्यो
देशकै अर्को ठूलो मान्छे
ओढाइदियो झन्डा
अग्लो भुँडी छोपिनेगरी ।

सबैले खिचे मृत मान्छेको अन्तिम फोटो
सिपाहीले सलामी टक्œयो नीर्जिव मान्छेलाई
सल्किन थाल्यो दनदनी आगो
काफी हुँदोरहेछ एक फिलिङ्गो आगो नै
ठूलो मान्छे खरानी हुन पनि ।

जल्न थालेपछि मृत मान्छेको शरीर
देशकै ठूलो मान्छे उक्लियो पुलमाथि
पृष्ठभूमीमा पारेर गरिब पोल्ने घाटहरू
खिच्न थाल्यो सेल्फि खिचिक … खिचिक …

सेल्फिसँगै खिचियो
अलि पर पल्टिरहेको रित्तो कफिन
चितामाथि अस्ताएको एउटा विवश जिन्दगी
जीवनको अन्तिम सपना जलेको साक्षी बन्न
चिता छेउमा टुक्रुक्क बसेकी बूढी आमा
आँसु रित्तिएर थरथर काप्दै गरेकी
२२ वर्षीया युवती
र, आगोतिर वामे सर्दै गरेको बेवारिसे एक बालक ।

सेल्फि खिचिसकेपछि
देशकै ठूलो मान्छे
सरासर हुइँकियो सदनतिर ।

उता कफिनभित्र मरिरहेछ देश
यता कफिनमाथि माइक्रोफोन राखेर
रुलिङ गरिरहेछ सभामुख
कफिनमाथि नै जगधम्म बसेर
वहस गरिरहेछन् सभासद्हरू

भन्दै छन् उनीहरू–
गठन हुनपर्छ एउटा छानबिन समिति
मृत फेला परेको छ
उहाँको मृत्युलगत्तै
एउटा कुकुर पनि ।

००

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.