~डा. हरेराम पाठक~
अनुवाद : खडगराज गिरी
मानव सभ्यताको इतिहास जति नै पुरानो छ अनुवादको इतिहास, यसको रेङ्खाकन 3000 ई. पू. भनेर विद्ववानहरूले गरेका छन्, मिस्रको प्राचीन राजधानीस्थित सम्बद्ध अलीफेंटाइना नामक द्वीपमा दुई भिन्न भाषामा खोपिएका शिलालेख यसका साक्षी हुन्, यी सिला लगभग 3000 ई.पू. का मानिएका छन्। निचोरमा भन्न सकिन्छ कि यस संसारमा जहिलेबाट भाषा – साहित्यको विकास हुन थाल्यो, तहिलेबाटै अनुवाद परम्पराको तालनी हुँदै आएको हो। वर्तमान शताब्दीमा विश्व साहित्यको विकसित अवधारणाका लागि अनुवादको विशिष्ट महत्व छ, त्यसैले बीसौं शताब्दीलाई अनुवादको युग भनिएको होला। पाल एन्जिलले भनेका छन् – As the world shrinks, the need for translation expands, it seems likely that, for the rest of the twentieth century each country will have, not one but two literatures, the one produced by its own writers, and the other translated from the world’s languages. अर्थात् जसैजसै विभिन्न मानव समुदायहरूमाझको फाँट सांघुरिंदैछ तसैसतै अनुवादको आवश्यकतामा विकास सिर्जन भइरहेछ। यस्तो लाग्दछ निकट भविष्यमा प्रत्येक राष्ट्रमा दुई प्रकार को साहित्य रहने छ – एक त भयो मूल साहित्य, जो त्यसै राष्ट्रका रचनाकारहरूद्वारा सिर्जना गरिनेछ, र अर्को चाहिँ भयो विश्वका अन्यान्य भाषाबाट अनूदित साहित्य। त्यसर्थ, पाल एन्जिलको उपरोक्त भनाइमा यथार्थ भेटिन्छ।
तापनि अनुवाद एउटा कष्टमय कार्य हो, साँच्चै भन्नु हो भने त सिर्जनात्मक साहित्यको अनुवादमा झनै अप्ठ्याराहरू छन्, ती अफ्ठ्याराहरूमध्ये स्रोत भाषाका सांस्कृतिक सन्दर्भहरूको लक्ष्य भाषामा अनुवाद गर्नु मूल हो। विचार र अवधारणाहरूको अनुवाद गर्न त सजिलो छ, तर ती विचार – अवधारणा वा भावानुभूतिहरूसित सम्बद्ध सांस्कृतिक सन्दर्भहरूको अनुवाद एउटा जटिल समस्या हो। असल गुदो कुरो के भने प्रत्येक भाषा र साहित्यमा आफ्ना यस्ता शब्दहरू छन् जसलाई व्यवहार गर्दा उनीहरूको संस्कृति, पर्यावरण, भौगोलिक प्रतिबद्धता, लोक – जीवनका आचार – व्यवहार, परम्परा आदि प्रतिबिम्बित हुन्छन्। ती शब्दहरू लोक – वैभव हुन्, त्यसैले लोकमै रचेर स्थायित्व लिएका छन्। यस्ता शब्दहरूको अनुवाद लक्ष्य भाषामा गर्न पर्दा साह्रै अप्ठ्यारो पर्न आउँछ। हिन्दीका केही शब्द जस्तै घरौंदा, बसेरा, झुग्गी, दही – बड़ा, चपाती आदिको अङ्ग्रेजी अनुवाद साह्रो छ। ठीक त्यसरी नै अङ्ग्रेजीका कति शब्दहरूका उपयुक्त हिन्दी – नेपाली शब्द भेटिन्नन्। यस्तो स्थितिमा अनुवादकले ती शब्दहरूको भावानुवाद गर्न पर्ने हुन्छ। भावानुवाद पनि गर्न नसकिने स्थितिमा अनुवादकले पाद – टिप्पणी दिएर त्यस शब्दको स्पष्ट अर्थ लेखेर स्रोत भाषाको शब्दलाई दुरुस्तै लक्ष्य भाषामा लिखिदिँदा हुन्छ।
समस्या आइपरेपछि समाधानको उपाय पक्कै निस्कन्छ। त्यसेले अनुवादजनित समस्याहरूबाट पार पाउनका लागि अनुवादको दुवै भाषामा गहिरो ज्ञान हुन अति आवश्यक छ। अर्थात् साहित्यिक कृति अनुवाद गर्न पर्दा कुनै एक भाषाको मात्र जानकारी नभएर दुवै भाषाका संस्कृति, परम्परा, आचार – विचार, परिवेश, तकनीकी विकास आदिबारे पनि पर्याप्त जानकारी हुनुपर्दछ – यसो भएनछ भने अनुवाद स्वादिलो हुंदैन।
कता, उपन्यास, नाटक आदिमा कथा – वस्तु र त्यसका पात्र भावनाप्रधान हुने पर्छन्, त्यसैले प्रत्येक पात्रको चरित्रलाई जीवन्त पार्दै अनुवाद गर्नुपर्छ, यस किसिमको अनुवाद कार्यमा अनुवादले भावना र आफ्नो अनुभूतिलाई जाग्रत पारेर मात्रै अनुवाद गर्नुपर्ने हुन्छ।
अनुवाद कार्यलाई सांस्कृतिक – सेतुको कार्य हो भनिएको छ। साँच्चै भन्नु हो भने टाड्टाडा सिमानाहरूमा बाँडिएको मानव जातिलाई एउटै मालामा गुँथ्ने सम्पूर्ण श्रेय जान्छ अनुवाद साहित्यलाई। रोमनले ग्रीक र अरबीले भारतीय ग्रन्थहरूको अनुवाद गरेर एक अर्काको सांस्कृतिक हकलाई जोड्ने बौद्धिक प्रचेष्टा चलाएको साक्षी त इतिहास छँदैछ। यसरी नै त वसुधैव कुटुम्बकमको धारणा साकार भएको हो।
आज अनुवाद कार्यलाई प्रयोजनमूलक भाषा रूपमा लिइँदैछ। अनुवाद माध्यमबाट हामी एकार्काको साहित्य एवम् संस्कृतिको चिन्हारी लिन सकौं भनेरै आजभन्दा केही वर्षअघि अनुवाद कार्यलाई प्रश्रय दिइएको थियो। आज अवस्था भिन्दै छ। आज यसको उद्देश्यलाई जागिरसित साइनो लाइएको छ। बैंक, रेल विभाग, सरकारी – अर्धसरकारी कार्यालय, कम्पनी र सरकारी संस्थानहरूमा अनुवादकका लागि जागिरको औसर खुलेको छ।
जसरी प्रयोजनमूलक हिन्दीको क्षेत्रविशेषद्वारा जागिरका औसर प्रदान गर्ने कार्य भइरहेछ, ठिक त्यसरी नै नेपाली, बङ्गला, असमीया, उडिया तथा अन्य भारतीय भाषाहरूमा पनि यस्ता प्रचेष्टामूलक अनुवाद – कार्यको विकास तीव्र गतिले हुने सम्भावना देखिन्छ। त्यसैले अब अनुवादकले कुनै एउटा भाषामा मात्रै आबद्ध नभएर अन्यान्य भाषाको छानो व्यापक पार्ने प्रचेष्टा गरेको उचित होला।
(मूल हिन्दी लेखको खडगराज गिरीद्वारा नेपालीमा अनुवाद। साहित्यिक परिचर्चाका केही बुँदाहरू, बोधकुमारी स्मृति प्रकाशन, डिगबोई, असम, 2010 – बाट साभार)