विचार मन्थन : जीवनमा सफलताको रहस्य के हो ?

~आशिष थापा~

आध्यात्मिक मनोवैज्ञानिक ओशो आफ्नो प्रवचनमा विभिन्न आयाम मा कुरा गर्न रुचाउँथे, त्यस मध्ये एउटा रोचक प्रसङ्ग, जीवन र प्रेम को थियो। उनी भन्थे, एउटा समुन्द्र को जीवलाई सोध्न मिल्छ भने सोध्नु, जीवन के हो ? उसको उत्तर हुन सक्छ, चारै तिर पानी नै पानी छ, जीवन जल नै हो र जल नै जीवन हो। तब उसलाई भन्नु कि जीवन के हो, व्याख्या नगर, भन मात्रै, सायद त्यो क्षण केही असहज हुन सक्छ। वास्तवमा, उनको कुरा ठिक हो। सबै भन्दा प्यारो चिज जीवन को विवेचना गर्न सहज छैन किनकि जुन चिज सबै भन्दा प्यारो हुन्छ, उक्त चिज को व्याख्या गर्न प्राय सबै असमर्थ देखिन्छन्, यदि समर्थ छन् भने पनि त्यो अधुरो हुन जान्छ। खास गरी, जीवन जिउनु नै यसको उच्चतम व्याख्या हो। फेरी जीवन त मृत व्यक्तिको पनि हुन्छ, तर जीवित व्यक्तिलाई मात्रै आफ्नो जीवनको आभास हुने र प्यारो लाग्ने गर्छ

जीवन को परिभाषा समय, काल र परिस्थिति अनुसार फरक- फरक हुन जान्छ। जीवनमा मानिस को महत्त्व र प्राथमिकता मा अन्तर भएको कारण हामी विभिन्न भेष, भूषा, जाति, रित्ती, रिवाज, परम्परा, धर्म इत्यादि देख्न सक्छौ। साँच्चै नै भन्नु पर्दा यिनै जातीय तथा सांस्कृतिक विविधता ले जीवन मा जीवन को रङ्ग घोल्न अहम् भूमिका खेलेको हुन्छ।

जीवन पशु को पनि हुन्छ तर उसको ज्ञान र विवेक को दायरा/घेरा साँघुरो भएको कारण राम्रो खानु र बस्नु मात्रै उसको उपलब्धि हो। तब प्रश्न आउन सक्छ, मानिसको जीवन को लक्ष्य र सफलता के हो ? प्रश्न गम्भीर र सोच्न योग्य छ। व्यक्ति- व्यक्ति बिचको चाहना र प्राथमिकताको अन्तरले यसको लक्ष्य पनि फरक-फरक हुन सक्छ जसको फलस्वरूप लक्ष्यमा पुग्नु मात्रै सफलता हुन जान्छ। यसै सिलसिलामा महाकवि लक्ष्मी प्रसाद देवकोटा भन्नुहुन्छ ‘ लक्ष्य एकै राख्नु उडी छुनु चन्द्र एक ‘, विज्ञान र प्रविधिको सहाराले मानिस चन्द्रमा पुगिसक्यो, अब के लक्ष्य समाप्त भयो र मानिस सफल भयो त ? वास्तवमा लक्ष्यमा पुग्नु मात्रै पनि सफलता रहेनछ। तब स्वाभाविक प्रश्न उठ्छ, सफलता के हो त ?

संसार भरी एक आँधी-भेरी नै चलेको छ सफल हुन र यो विवादास्पद शब्द सफलताको व्याख्या गर्न। विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तिको सहारा लिएर उक्त शब्द को विश्लेषण गर्ने प्रयास गरिन्छ किनकि उक्त व्यक्तिले जीवनमा हासिल गरेको नाम र दामलाई सफलता हो भन्ने एक भ्रम पैदा भएको हुन्छ। यदि त्यो व्यक्ति सफल हो भने उसलाई सोध्नु तपाईँको जीवनमा समस्या छैन? त्यो क्षण तपाईँको प्रश्नको उत्तर दिन तपाईँ भन्दा तपाईँको विज्ञ र प्रिय व्यक्ति बढी आतुर हुन्छ र सायद तपाईँको भन्दा धेरै अनुभव र भोगाइको कारण समस्याको बुँदा उ सँग बढी नै हुन्छ। तब विज्ञता पनि सफलता रहेनछ। समस्या ज्यु का त्युँ नै छ। फेरी लग्न सक्छ टन्न धन कमाउने धनी व्यक्ति पो सफल छ कि ? त्यहाँ पनि त्यस्तै निराशा, धन जोगाउने उपाय पत्ता लगाउँदै गर्दा तपाईँ भन्दा पनि बढी तनावमा तपाईँको धनी व्यक्ति देखिन्छ।पुनः दोस्रो पटक पनि प्रश्न अन-उत्तरित नै हुन्छ। जीवन को अर्को अध्याय समाउँदै , तपाईँ भन्न सक्नु हुन्छ, सायद प्रख्यात हुनुमा पो सफलताको रहस्य लुकेको छ। कोही जगत् मा नाम कमाएका प्रख्यात व्यक्तिको जीवनी हेर्नुहुन्छ त झन् ठुलो समस्या देख्नुहुन्छ , मानिसको व्यक्तिगत स्वन्तन्त्रताको चाबी त अर्कै को हातमा पो रहेछ त। यसरी तेस्रो पटक पनि समस्या को भुमरीमा परि रहनुहुन्छ।

अब, अहिले सम्म को भोगाई र अनुभवको निचोड निकाल्दै, तपाईँ स्वस्थ र निरोगी व्यक्तिसँग जीवन को सफलताको परिभाषा माग्नुहुन्छ त, त्यहाँ पूर्ण स्वास्थ्य, तनाव रहित खुशी, निस्फिक्री हाँसो पाउनुहुन्छ, जुन केही हद सम्म सत्य हुनु सक्छ।आखिर मा लग्न सक्छ सफलता भन्ने शब्द त एउटा काल्पनिक शब्द रहेछ जुनको भौतिक अस्तित्व सँग कुनै साइनो रहेनछ। यो धारण धेरै हद सम्म सत्य हुन जान्छ। उक्त रहस्यको आभास हुन मानिसलाई जीवनको प्रौढ अवस्थासम्म कुर्नुपर्ने हुन सक्छ जब मानिस आफैमा शारीरिक तथा मानसिक रूप मा अशक्त भैसकेको हुन्छ।

अमेरिकी मनोवैज्ञानिक अब्राहम मास्लो ले भने जस्तै मानवीय आवश्यकता को अन्तिम अवस्थामा आउने चरम अनुभवलाई , मयुँरको प्वाँख खुशी को चरम बिन्दुमा मात्रै स्वतन्त्र रूपले फैलिएको सँग तुलना गर्न सकिन्छ। ठिक त्यसै गरी वृक्षको सारा श्रम त्यसैको फलमा, फुलको बोटको पनि उच्चतम उपलब्धि त्यसैको फुलमा हुन्छ। स्वाभाविक रूप ले भन्न सकिन्छ,मानिसको पनि एक चरम विन्दु हुन्छ। साहित्यकार को साहित्य, सङ्गीतकार को सङ्गीत, कविको कविता र लेखकको लेख मा नै चरम सन्तुष्टि लुकेको हुन्छ। त्यस कारण जीवनमा पर्याप्त सन्तुष्टि नै सफलता मापन गर्ने योग्य कारण हुन सक्छ। सबै भन्दा सफल व्यक्तिमा हुनुपर्ने गुण भनेको आफ्नो कामलाई लिएर पर्याप्त सन्तुष्टि र चरम आनन्द हो । अन्यथा सफल व्यक्तिको भौतिक सफलता पनि व्यर्थ हुन जान्छ।
समाजले धेरै समय अगाडी देखि नै नाम, धन र शोहरत लाई सफलता मापन तत्त्वको रूपमा स्वीकार गर्दै आएको छ। यो एक हिसाब ले ठिक पनि हो किनकि सबैलाई यी तीन चिज सहज प्राप्ति नहुन सक्छ तर त्यसो भन्दैमा प्राप्त भएका सबै मानिस सफलता देखि सन्तुष्ट छन् भन्न चाहिँ मिल्दैन। सन्तुष्टि प्राप्त गर्न त धैर्यता, विरह, परम-ज्ञान र विवेकको आवश्यकता पर्दछ। जुन आज भोलिका मानिसमा दुर्लभ छ।

भनिन्छ असन्तुष्टि विज्ञानको निम्ति वरदान हो। यस्ता धेरै खोज र अनुसन्धान छन्, जसको निम्ति विभिन्न वैज्ञानिकहरू धेरै अगाडी देखि नै असन्तुष्ट थिए जसको फल स्वरूप विज्ञान र प्रविधि को क्षेत्र अतुलनीय रूपमा अघि बढेको छ।यी वैज्ञानिकहरूमा पनि असन्तुष्टि आफ्नो कामलाई लिएर थियो, आफ्नो जीवन लाई लिएर होइन। यदि जीवनमा उपलब्धि र प्रगति हासिल गर्नु छ भने आफ्नो काम र कर्तव्यलाई लिएर चिन्ता हुन जरुरी हुन्छ। अनन्त:यस्ता व्यक्ति पछि गएर विज्ञान र प्रविधिको क्षेत्रमा नवीन खोज र सिदान्तको उजागर गर्न निपुण बन्दछन्।

मानिसको जीवन बुझ्न उसको बाल्यकाल हेर्न जरुरी हुन्छ किनकि बिउ जस्तो रोपिन्छ फल उस्तै हुने हो। सानो उमेरमा परेको छाप पछि गएर मूर्त रूप लिन्छ। खास गरी हामीहरूको शिक्षा र संस्कारमा नै कतै खोट हुनुपर्छ, जसले गर्दा मानिसलाई भौतिक तत्त्वको जस्तै भौतिक विद्या, धन, विलासिता ,मान- प्रतिष्ठा, यस, आराम बारेमा मात्रै पुरा-पुरा ज्ञान प्राप्त हुन्छ। जीवनमा अभौतिक तत्त्वको अभावले कठिन अवस्थामा हुने सामान्य उतार चढावलाई सन्तुलन मा राख्न नसकेर आफ्नो जीवन देखि हार मान्न पुग्छन्। जब देखि व्यक्तिलाई भौतिक भन्दा अभौतिक तत्त्वको कमी महसुस हुन थाल्छ सायद त्यो दिन जीवनमा सुनौलो प्रकाश पर्न सुरु हुन सक्छ।

एउटा पुरानो कथा छ , भगवान् र किसान बिचको। सधैँ भगवानलाई आफ्नो खेतको अन्नवाली राम्रो नहुनु मा दोष लगाउने किसान, एक दिन भगवान् स्वयम् प्रकट भएर आफ्नो खेती राम्रो बनाउन उसलाई दिव्य शक्ति प्रदान गर्दछन् र किसान आफूलाई प्राप्त दिव्य शक्ति को प्रयोग गर्दै आवश्यकता अनुसारको प्रकाश, जल, वायुको पुरा-पुरा व्यवस्था गर्छ।यसरी आफ्नो खेतमा धान तथा अन्नवाली राम्रो सँग हुर्केको देखेर भगवान् लाई पुकार गर्दै आफूलाई प्राप्त, दिव्य शक्तिको सदुपयोग गरेको दाबी गर्छ। तर दुर्भाग्यपूर्ण, हुर्केको धान र अन्नवाली भित्र दाना पाउँदैन र त्यो त सप्रेको एक हरियो घाँस सरह मात्रै पाउँछ। यस्तो हुनुमा भगवानलाई पुन:दोष दिँदै भन्छ यो कसरी सम्भव भयो, मैले त जल, प्रकाश, वायु को आवश्यक मात्रा पुर्‍याएको थिए तब भगवान् मुस्कुराउँदै भन्छन् तिम्रो अन्नवालीमा दाना पर्न जल,प्रकाश,वायु मात्रै नभई आवश्कता अनुसार अभाव र कठिन परिस्थिति जस्तै चम्किलो घाम, पानी को अभावमा हुने खडेरी, तेज वायुको कारण हुने विनाश, किरा तथा फट्याङ्ग्राको आक्रमण आदि को पनि सामना गर्नुपर्छ। तिमीलाई प्राप्त दिव्य शक्तिको कारण, तिम्रो अन्नवालीले त्यो कठिन अवस्थाको सामना गर्नु नपरेर, दाना परेन।

वास्तवमा, अभाव को सामना नगर्ने मानिसले जीवन बुझ्दैन। यस्ता व्यक्ति अभावमा आत्तिने र उपलब्धिमा मात्तिने खालका हुन्छन् जसले सफलतालाई भौतिक तत्त्व सँग मात्रै जोड्ने गर्छन्। उनीहरू उही काल्पनिक कथाको किसान पात्र जस्तै हुन्।अभाव को अवस्थामा आफू भित्र रहेको कोयला, हिरामा रूपान्तरण हुने मौका पाएको बुझ्न नसक्ने व्यक्ति पछि गएर आफ्नो जीवनको चुनौतीलाई अवसर र अवसरलाई उपलब्धिमा परिणत गर्न सक्दैन। आफूले अहिले सम्म प्राप्त गरेको उपलब्धि लाई मूल्याङ्कन गर्नु पनि सफलता हो।
सत्ता र शक्तिमा टिक्नु मात्रै सफलता हो भने यस संसारमा कोही पनि व्यक्ति सफल छैनन् किनकि एक पटक शक्तिको स्वाद चाखेको व्यक्ति, पछि शक्ति हीन तथा निवर्तमान हुनै पर्छ, यो प्रकृतिको नियम हो र जीवनको अर्को सत्य पनि। आफू शक्ति हीन हुनुपर्ने, मुकदर्शक बन्नुपर्ने, संसारको रङ्गमञ्च बाट टाढा बस्नुपर्ने यथार्थको बोध हुँदा पनि मानिस आफ्नो घमण्ड, वैमनस्यता , स्वार्थको त्याग गर्न सक्दैन। अनन्त:यस्ता व्यक्ति सफलताको अवमूल्यन गर्छन् र जीवन भर शिकायत मात्रै गर्छन्। यस कुरालाई समयमै सोच्ने कि ?

(लेखक पोखरा बिश्वबिध्यालय,व्यवस्थापन संकायमा उप-प्राध्यापक पदमा कार्यरत हुनुहुन्छ।)

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in विचार मन्थन|चिन्तन and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.