~राजु अधिकारी~
गा.वि.स. परिसरमा लागेको तीन दिने स्थायी बध्याकरण शिविरमा बन्ध्याकरण गर्न भनेर जुठीले पनि धेरै पहिले नाम लेखाएकी थिई । कसैलाई सोधेर या कुनै आमा समुहले कर गरेर लगेर होइन ऊ आफै गएर स्वतस्फूर्त नाम लेखाएकी थिई । शिविर शुरु भएको पहिलो दिन मै आफ्नो पालो कुर्न ऊ बिजौरी स्कुलतिर लागी । पहिले जस्तो बन्ध्याकरण गर्न खोजीखोजी मान्छे ल्याउने आवश्यकता अहिले थिएन परिवारको रहर पुगेका महिलाहरु आफै नै खोज्दै शिबिर जान्थे । त्यसैले त्यो तिन दिने शिविरमा पनि मनग्य महिलाहरु सहभागि थिए । सबैजसो आफ्ना परिवारका सदस्यहरु सँग आएका थिए । तर जुठी एक्लै आएकी थिई, ऊ सँग आउने पनि कोही थिएनन् । साहिँला बाजेको छोरो कुमार स्वयंसेवक भएर त्यहाँ आएका चिक्त्साकर्मीहरुलाई सघाइरहेको थियो । बन्ध्याकरण गर्ने कोठा भित्र जानु अगाडि कुमारले नै सबै विवरण जाँच गरेर पठाउँथ्यो । भित्र गएपछि कोही एक घण्टा पछि कोही डेढ घण्टा पछि पेट समातेर निकै दुखेको जस्तो गर्दै निस्कन्थे । अनि उनीहरुलाई उनीहरुका परिवारले डोर्याएर लान्थे । तर जुठीलाई डर थिएन, डोर्याएर लाने कोही नभए आफै पनि जान सक्छु भन्ने हिम्मतका साथ ऊ त्यहाँ आएकी थिई ।
चौरमा राखेको बेन्चमा बसेर जुठीले आफ्नो पालो कुर्दै थिई । कोठाभित्र आउने जाने क्रम जारि थियो । ऊ कसैसँग पनि नबोलेर चुपचाप बसेकी थिई, ऊ सँग पनि कोही बोल्न आउँदैनथे । उसलाई कसैको मतलब पनि थिएन । उसलाई थाहा थियो, बन्ध्याकरण गर्न गराउन आएका अन्य आइमाईहरुले उसलाई नै हेर्दै उसकै कुरा काटिरहेका थिए भन्ने । तर के गरोस् ऊ ? कति सहेर बस्ने ? कति पटक गर्भ पतन गर्ने ? कति आफ्नो शरीरलाई सास्ती दिने ? त्यसैले कुरा काट्ने समाजको परवाह नगरी लाजै पचाएर ऊ स्थायी बन्ध्याकरण गर्ने संकल्प लिएर त्यहाँ गएकी थिई ।
द्वन्द्वको बेला थियो, भर्खर संकटकालको घोषणा भएको थियो । त्यो शिविरमा क्रान्तिकारीहरुले आक्रमण गर्लान भन्ने डरले सैनिकहरु पनि शिविरको सुरक्षार्थ खटिएका थिए । हुन त त्यो शिविर राम्रै कामको लागि आयोजना गरिएको थियो तर पनि क्रान्तिकारीहरुमा पुरानो सत्ताले गरेका र गर्न लागेका राम्रो नराम्रो जस्ता कुरा भए पनि हरेक कुराहरु बिगार्नै पर्छ भन्ने मानसिकता थियो । त्यसैले आफू जत्रै अग्ला बन्दुकहरु बोकेर सैनिकहरु यताउता घुमिरहेका थिए ।
ती सैनिकहरु मध्य अधिकांशलाई उसले चिनेकी थिई । तिनै मध्यको एउटा सैनिक नजिकै आएर उसलाई घोरिएर हेर्यो मानौ कि उसले जुठीलाई चिनेको छैन । जुठी नै हो भन्ने एकिन भए पछि अचम्म मान्दै सोध्यो, “जुठी तैले पनि अप्रेसन गर्ने ?”
जुठी केही बोलिन अनि आफू आफूमै हाँस्दै उसले “के जमाना आयो यस्तो ?” भन्दै अर्को तिर लाग्यो ।
जुठीलाई अप्रेसन गराउन बाध्य बनाउने मध्यको त्यो सैनिक पनि एक हो । तर उसले उल्टै निर्धक्क र निर्लज्जरुपमा जुठीको खिल्ली उडाउँदै थियो । तर ऊ निरिह थिई, न त ऊ केही गर्न सक्थी न केही बोल्न नै । उसले बोले पनि कसैले सुन्नेवाला थिएन । उसले बोलिहाले पनि समाजले उसलाई नै दोषी देखेर उल्टै उसलाई नै गाली गर्नेछ भन्ने उसलाई थाहा थियो । त्यसैले त्यो सैनिकको खिल्लीलाई सुने पनि नसुने झैँ गरी ऊ बेन्चमा पर्खिरही ।
उसले सोचेकी पनि थिइन होला जीवनले एक पछि अर्को हण्डर र ठक्कर खुवाउदै तिन चार बर्षको अन्तरालमै त्यस्तो स्थितिमा पुर्याउला भन्ने । १६—१७ बर्षमा भर्खर जवानी चढ्दा पुरै संसार मेरै हो जस्तो गर्थी ऊ । गाउँमा उसको जवानीमा मस्त भएर उसलाई एक पटक चुन पाए स्वर्ग पुगिन्थ्यो जस्तो गर्थे केटाहरु । हुन त अहिले भर्खर २०-२२ बर्षकी भई तर उसको जवानी पुरै गैसकेको छ, ४० काटेकी जस्ती देखिन्थी । कुनै दिन पाकेका स्याउ जस्ता लाग्ने रसिला अनि लाली चढेका उसका गालाहरु अहिले ख्याउटे अनि र रंगहिन बनिसकेका थिए । कुनै दिन केटाहरुलाई लट्ठ पार्ने ती चंचल जादुमयी नयनहरु अहिले रात दीन आसुमा डुबेर परेला भिजेका र लत्रेका थिए अनि कुनै दिन कसिला अनि युवाका आकर्षणका केन्द्रबिन्दु बनेका उसका नितम्ब र बक्षस्थलहरु लत्रिएर बिकर्षणका लायक भएका थिए । तर त्यसरी उसको जवानी कुरुपमा परिणत भैसक्दा पनि सित्तैमा उसको मासु लुछ्न पल्केका लाछी गिद्धहरुले अझै पनि उसलाई दुख दिन छोडेका थिएनन् । अझै पनि उसले तिनै भोका गिद्धहरुको भोक आफ्नो शरीर मार्फत मेटाएर समाजमा जिउनु परेको थियो, ती गिद्धहरुलाई तृप्त नपारे उसको जीवन नै चल्दैनथ्यो । तर के गर्नु ऊ मर्न पनि सकेकी थिइन, एउटा झिनो आशामा— एकदिन कुलवीर फर्केर आउला कि भनेर ।
सायद कुलवीर भएको भए आज उसको संसार अर्कै हुन्थ्यो । जुठीको जवानीको उन्माद चढेको बेला उसको पछि लाग्ने सबैलाई उछिनेर कुलवीरले जुठीको मन जित्न सफल भएको थियो । अनि जुठीको मायामा चुर्लुम्म डुबेर कुलवीरले एकदिन जुठीलाई “उडाएर” लगेको थियो । कुलवीरसँग बिहे गरेपछि उसलाई लागेको थियो अब सारा जिन्दगी उसको न्यानो काखमा बित्नेछ, जस्तो सुकै दुख र कठिनाइ झेल्नु परे पनि कुलवीरको काधले त्यो कठिनाइ थाम्ने छ अनि सानो झुप्रो मै भए पनि, खोले नै खाएर भए पनि उनीहरुको सानो संसार सुखमा र खुशीमा बित्नेछ । तर बिहे भएको केही महिनामै उसको र कुलवीरको त्यो खुशी र सुखको सानो संसारमा देशमा चर्किएको द्वन्द्वको नजर लाग्यो । एकदिन राति आएर सोधपुछ गर्ने भनेर कुलवीरलाई सैनिकले पकडेर लगे । किन लगे, कहाँ लागे आज सम्म जुठीलाई थाहा छैन । तर सोधपुछ गर्न भनेर लगेका उनीहरुको त्यो सोधपुछ तिन वर्ष बितिसक्दा पनि अझै सकिएको छैन, कुलवीर अझै घर फर्केको छैन ।
कुलवीरलाई सैनिकले लगेपछि अर्कोदिन बिहानै जुठी सहयोगको याचना गर्दै साहिँला बाजेका छोरा कुमारलाई गुहार्न पुगेकी थिई । गाउँमा अलि जाने बुझेका अनि सबैले मानेका व्यक्ति थिए साहिँला बाजे । बाबुको त्यही नामको उपयोग गरेर कुमारले पनि गाउँमा धेरै कुरामा फाइदा उठाएको थियो । उसको क्रान्तिकारीहरु र सैनिकहरु दुवैसँग राम्रो सम्बन्ध थियो । नाम कुमार भए पनि उसले गाउँका सोझासाझा कति अबोध युवतीहरुको कुमारीत्वसँग खेलिसकेको थियो ।
समयको चक्र यस्तै छ— कसैको विपद कसैलाई वरदान बनेर आउँदो रहेछ । जवानीको रंग चढेर मातेको कुमारलाई आफ्नो जवानीको प्यास बुझाउने वरदान बनेर आएको थियो जुठीलाई आइपरेको विपद । जुठीको त्यो जवानीले भरिएको शरीर हेर्दै त्यसमा आफू खेलेको कल्पनामा डुब्दै “हुन्छ म कुरो बुझौला, चिन्ता नगर जुठी,” भनेर कुमारले जुठीलाई घर पठायो ।
त्यही दिन साँझ कुमार जुठीको झुपडीमा गएर कुलवीरलाई छुटाउने सर्तमा ऊसँग एउटा सौदा गर्यो ।
कुलवीरलाई फिर्ता पाउने आशामा मुटु माथि काँडा रोपेर आँसुले भिजेका नयनहरु चिम्लेर जुठीले कुमारलाई आफ्नो शरीर सुम्पीई । भोकाएको गिद्ध जस्तै कुमारले जुठीको शरीरलाई लुछाचुडी गर्यो, त्यसैमा खेल्यो अनि आफ्नो यौवनको तृष्णा मेटायो । कहिले के बहानामा कहिले के बहानामा त्यो लुछाचुँडी धेरै दिन सम्म चलिरह्यो तर कुलवीरको बारेमा केही थाहा भएन ।
आफू तृप्त भए पछि जुठीलाई “सैनिकहरुको ‘सेवा’ गरेपछि मात्र कुलवीर फर्केर आउँछ” भन्ने बिश्वाश दिलाएर उसले आफ्ना सैनिक साथीहरुलाई उनीहरुको प्यास मेटाउन जुठीलाई उनीहरुको लागि सुम्पिदियो । एउटा मात्रै होइन तिन चार जना सैनिक हरु केहि दिन बिराउँदै पालै पालो आएर उसको शरीरमा रमाउँथे । उसको शरीर उनीहरुको लागि एउटा निर्जीव खेलौना जस्तै थियो । आउँथे, खेलाउँथे अनि तिर्खा मेटाएर जान्थे । निरिह जुठी बिरोध गर्न सक्दैनथी । कहिले के बहानामा, कहिले के बहानामा उनीहरुले उसलाई लुटिरहे । कहिलेकाहीँ कुनै कुनैले माया गरे जस्तो गरेर लुगा, खाने कुरा, चुराहरु पनि ल्याइदिन्थे । कुनै कुनैले दश बिस रुपैयाँ पनि हातमा हालिदिन्थे ।
तर महिनौ बित्यो सैनिकहरुले न त कुलवीरको खबर दिए न त जुठीको शरीरमा लुछाचुँडी गर्न नै छोडे । जुठीले बिरोध गर्न थाले पछि उनीहरुले कुलवीरलाई मारिदिने धम्की दिन्थे अनि बिचरी जुठी फेरि निर्वस्त्र सैनिकहरुका अगाडि पल्टिएर आफूलाई उनीहरु सामु सुम्पन्थी ।
जुठीको पेट बढ्न शुरु गर्थ्यो, उनीहरुले ल्याएर के औषधि खान दिन्थे, उसको खुन बग्थ्यो अनि दुईचार दिनमा ठिक हुन्थी अनि फेरि उनीहरुले मजा लुट्थे । ती लाछी दानवहरुलाई न त उसको गर्भपतनको पिडाको वास्ता थियो न त मनको पिडा । उनीहरु त सित्तैमा मजा लुट्न पाएकोमा जति सक्यो धेरै मजा लुट्न चाहन्थे ।
जब मन लाग्थ्यो उनीहरुहरु आउँथे अनि निस्फिक्री आफ्नो यौवनको उन्माद जुठीका अवयवहरुबाट पिएर तृप्त भएर जान्थे ।
गाउँलेहरुले थाहा पाएपछि यौन पिपाशु दैत्यहरुबाट बचाउनुको साटो उल्टै जुठीलाई बेश्याको उपाधि दिए, धन्दा गरेको आरोप लगाएर घृणाको दृष्टिले हेर्न थाले । तर उसलाई जवर्जस्ती शरीर समर्पण गर्न बाध्य बनाउने न त कुमार दोषी थियो न त सैनिकहरु नै दोषी थिए समाजको लागि ।
त्यही क्रम चली रह्यो, उसको रगत एक पछि अर्को गर्भपतन गर्दै त्यसैगरी सकिन थाल्यो । शरीर दुब्लाएर धाइरोको रुख जस्तो भयो, मुहार ख्याउटे भयो, ओठहरु कलेटी परे, अनि आँखाहरु भित्र पसेर भर्खर २०-२२ बसन्त पार गरेकी जुठी जिउँदो कंकाल जस्तो देखिन थाली तर पनि सित्तैमा खान पल्केका उनीहरुको भोक मरेको थिएन।
तर त्यति गर्दा पनि न त कुलवीरको समाचार आयो न त जुठीको लुटिएको इज्जत अनि यौवन फर्किएर आयो । कुलवीर वास्तवमा कहाँ छ, जिउदो छ कि मरिसक्यो सायद तिनै सैनिकहरुलाई पनि थाहा थिएन, उनीहरुलाई थाहा पाउनु पनि परेको थिएन । सैनिकहरुले जुठीमार्फत आफ्नो शारीरिक प्यास मेटाउनको लागि मात्रै कुलवीरलाई जिउदो राखेको अभिनय गरेका थिए ।
तर बिचरी के गरोस् एकदिन कुलवीर आउला भन्ने झिनो आशा राखेर उसले शारीरिक र मानसिक पिडा सहेर भए पनि आफ्नो शरीर उनीहरुलाई समर्पण गरिरही । ती गिद्धहरुले सायद नमर्दा सम्म उसलाई छोड्ने छैनन् भन्ने जुठीलाई लागिसकेको थियो त्यसैले मर्नु भन्दा बहुलाउनु निको भनेर उसले लाजै नमानी स्थायी बन्ध्याकरण गर्ने निर्णय लिएकी थिई ।
बेन्चमा बसेर कुलवीरको बारेमा सोचेर टोलाउँदै थिई, कुमारले उसको नाम बोलायो । बेन्चबाट उठेर उसले आफ्नो नाम लेखेको कागतको टुक्रा कुमारलाई दिई ।
कुमारले त्यो कागतको टुक्रो समात्यो र टाउको उठाएर हेर्यो अनि हाँस्दै भन्यो, “ए जुठी तँ पनी अपरेसन गर्न ? पोइ नभएकीले पनि के को अपरेसन ? हरे दैव के कलियुग आयो ?”
“ल जा भित्र” भन्दै उसले त्यो कागतको टुक्रोमा सहि गरेर जुठीलाई दियो । कागतको टुक्रो लिएर जुठी भित्र गई ।
बन्दुक समातेर उभिइरहेको सैनिक कुमारलाई हेरेर मुसुमुसु हाँस्दै थियो ।
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )