कथा : गैरी खेत

~नविन काफ्ले अभि~

ए हरी त्यो बिउ फाल्त यता मेरो मेलो पछाडी परि सक्यो । ठुल दिदी माथिल्ला गडाबाट कराईन । जेठको २५ लागि सकेको थियो । बर्षाले त्यो वर्ष समयमै किसानहरुलाई उर्जा प्रदान गरिदिएको थियो । गाँउ भरिको मुल घर प्रधान ठुला बाको थियो त्यस पछि हाम्रै घर थियो । मेरा बा गाउका मुखीया थिए । मुखीयाको रोपाई भएर होला सायद त्यो बेलामा गाँउभरीका प्रत्येक घरबाट एक जनाका दरले रोप्नेरी पठाई दिने चलन थियो । रोपाईका गडाबाट म दौडिदै विउ गडामा गएर बिउका आँठाहरु रोपाई गडातिर हुर्राए । हाम्रो त्यो जमानामा गैरी खेतका नामले प्रचलित बुढापाकाले तौलीने पाथिको २० पाथि बिउ लाग्ने खोला खेत थियो । खोलाबाट नजिकै र कुलोको मुखमा भएर होला हाम्रो गैरी खेत सधै सधै जेठ महिनामै रोपिन्थ्यो ।

परम्परागत रोपाईको एउटा मान्यता छ पश्चिम नेपालका पहाडी जिल्ला तिर सबै रोपे पछि मात्रै अन्तिममा रोप्न पर्ने दाई हाल्ने गडा जुन गडाको आकार ठुलो हुन्छ फराकिलो हुन्छ । अन्तिममा पालो त्यही गडाको थियो । तल्ला गडामा आलीलाई थपथपाई रहको कमलदाई लाई साईली भाउजुले आएर हिलोमा चुम्लुङै डुबाईदिन ,कमल दाई पनि उठेर साईली भाउजुलाई हिलोले पोत्न थाले । त्यसपछि सबै साली भिनाजु, सोल्टी सोल्टीना देवर भाउजुको हिलो हाना हान चल्न थाल्यो । वेठीका बाजाहरु पनि मज्जैले घन्कीन थाले । म भने अलि सानै भएकोले वेठीहरुको नजिकै गएर हिलो खेलेको हेरी रहेको थिए । पछाडीबाट हिलोले जब जिउ चिसो बनाएको भान भयो तब पछाडी फर्किए त हात भरी हिलो समाएर मैतिर दौडिरहेकी मेरी बालसखा कल्पनालाई देखे लौ म त कराउदै भाग्न थाले “ए मुसी काँ मलाई हान्दै छेस् , हेर नचल है तँ मैले भन्देको छु नि फेरी राम्रो हुन्न नि” किन रोकीन्थी र मुसी हानी हाली मेरा कपडा भरी हिलो भयो । म पनि के कम र मुसीका हात समाएर रोपाई गडातिर ताने हलिले भरखरै बनाएको रोपाई गडामा मुसीलाई हिलोमा चुम्लुम्मै पछारे, मुसी हिलोले नचिनीने भई। सबै कराए ए हेर त यो हरि र मुसीको हिलो कति रमाईलो भन्दै सबै हामी तिरमात्रै हेर्न थाले । मुसी पनि लाजले जुरुक्क उठी र मलाई हिलोमा पछार्न लागि परि कसरी कसरी फेरी मुसी नै हिलोमा पछारी तर उसले मेरो हात समातिरहेकोले मलाई पनि सँगै तानीहाली ।

कस्तो अचम्म म उत्तानो परेको थिए त मेरो माथि मुसी थिई । सबैजना हास्दै हाँस्दै ताली बजाउन थाले । मुसी मलाई खाईस बल्ल खाईस हैन हर्र्याै भन्दै मेरो अनुहार पढिरहेकी थिई । मेरो पालो मुसीलाई तल फालेर हाल समाउदै भन्न थाले “ल खा त यै गडामा गाड्दिन्छु यै बसेर धान खा मुसी ।”

गाउका पाखाहरुबाट विस्तारै निश्रृप्त भई झरेका खहरे खोलाहरुले रोपाईका दृश्यहरु मजैले नियाली हरेका हुन्थे । रोपाईका गडाहरुबाट एकै लयमा घन्कीले रोपाईका गितहरुले मनमा बेग्लै आनन्दको अनुभुती दिलाईहरेको हुन्थ्यो । मायामा जोडिएका ढुकुरका जोडिहरु पारी भिरमा टुक्कुर टुर टुर गर्दै कराईहरेका हुन्थे । गोठाला गएका गोठालाहरुले वनै थरकिने गरि शान्त स्वरमा बजाएको मुरलीको मिठो सुरीलो धुनले मनका कुनाहरु शान्त पारेका हुन्थे ।

रोपाई सके पछि सबै जना उकालोमा जिस्कीदै गाउदै रमाउदै गाउ पुगिन्थ्यो । जिवनका ५० बर्ष यसै गरि बिताएका मेरा बा जस्ता धेरै बाहरु यो उकालो हामी भन्दा रमाएरै सक्काउथे । मेरा जेठाबाले उकालोको बस्ने ढुङ्गामा पुगेर मलाई ईशारा गर्दै भने हेर हरि तेरा बाले तेरी आमालाई त्यहि पारी न्याउलापुरबाट भगाएर यही उकालोमा दौडाएको थियो ,बावै कम्तीका दुःख दिएको हैन तेरा बाले हामीलाई । म जेठा बातिर हेरेर मुसुक्क मुस्कुराए ।

लगभग लगभग खोलाखेतका सबै रोपाईहरु सकिसकेका थिए । कुलोको पालो अनुसारको रोपाई र खेतमा पानी लगाउने चलन मेरा बाले गाउका सबै मानिसलाई बोलाएर नियम बनाईदिएका थिए । त्यसै अनुसार सबैले खेतमा पानि लगाउथे । हाम्रो खेत र कल्पनाको खेतमा पानी लगाउने पालो बुधबार बिहान साँझ थियो । पहिले पहिले त सँधै बा नै जानुहुन्थ्यो खेतमा पानी लगाउन तर पछि बाले नभ्याउने भए पछि म जान थाले । कल्पनाका घरमा भने उसका दाई नै आउथे । समयले कस्तो संन्जोक मिलाई दिदो रहेछ जिवनका पलेटीहरुमा । मेरा बाले जब खेत धाउने समय पाएनन् त्यहि समयमा कल्पनाको दाई पनि ईन्डिएन लाहुरे भर्ना भयो अब उसका घरबाट पनि उ मात्रै भई खेत धाउनेमा । उसका घरमा उ र उसको दाई मात्रै थिए सन्तानमा । उसका बा ठकुरी भएर होला उ जमानामा अङ्ग्रेजले सिधै आर्मीमा भर्ना गरेको थियो । अहिले पनि उका बा पल्टनमै छन् ।र अब दाई पनि भयो ।

कल्पना र मेरो लगभग लगभग नियमित जस्तै भयो खेतमा पानी लगाउन जाने काम । हामी सुरु सरुमा त एक्लाएक्लै गयौ । एक दिन मैले कल्पनालाई सँगै जाने कुरा पस्कीए उसले पनि स्विकार गरी । त्यस पछिका दिनहरुमा हामी गैरी खेत सँगसँगै धाउन थाल्यौ ।

प्रकृतीको हराभरा सौन्दर्यतालाई नियाल्दै नियाल्दै हामी उकाली र ओराली एक महिना सम्म गर्यौ । यस समयमा कल्पनाको म प्रतिको चाहा सोह्रै आना बढेको थियो । एक दिन उसले मेरो हात समाएर सुस्केरा हाल्दै भनी हरी त कति राम्रो छस् है मलाई नि त मन पर्न थालिसक्यो । कल्पनाको यो कुरा मैले खरासै चासो दिएर सुनीन । उ फेरी उकालीको बस्ने ढुङ्गामा थचक्क बसेर भन्न थाली हरी सुन न के मैले साच्चै भनेको हो तैले यत्तिकै नसोच न है उ अलि सिरीएस भएर भन्दै थिई । उसको यो सिरीयस पनले गर्दा म पनि साच्चीकै सिरीयस भए छु । उकालीको चुच्चे पिपलमा पुगेर मैले भने हेर मुसी मलाई पनि त मन नपरेको हैन मन पर्छ तर हाम्रो जात मिल्दैन घरकाले मान्दैनन् हामी मात्रै एक भएर के हुन्छ र भन त मेरो यो जवाफमा उ केही बोलीन मात्रै मायाले जितौला नि सिवाय ।

खाना खाएर ओछ्यानमा पल्टिए दिनमा मुसीले भनेका एक एक कुराहरु पालै पालो दोहोरीए र मानस पटलमा आई रहे । मान्छेले दैनिक गरेका कार्यहरुले उसको रात्रीकालीन स्वप्नील संसारमा पनि उत्तिकै प्रभाव पार्दो रहेछ । अनि फेरी माया भन्ने शब्द नि मलाई साह्रै अमुल्य लाग्छ ,त्यहि भएर त होला नि अमुल्य चिजको प्राप्तीमा मानिस जति खुसी हुन्छ त्यहि अमुल्य चिज गुमाउनु पर्दा त्यस भन्दा बढी दुखी भएको हुन्छ । मुसी साच्चीकै राम्री भएर आई । कागजका सेता टुक्राहरुमा वर्णन गरि नसक्नु कलिलो सुन्दरता थियो उसमा । हावामा लहराएका उसका काला केशहरु जब उसको मुख मण्डललाई पालै पालो छोप्न हतारिन्थे, तब लाग्थ्यो उसको सौन्दर्यता अतुलनिय छ । गोरो अनुहार माथिका उनका दुई वटा आँखी भौ का बिचमा घरी दाँया घरी बाँया गर्ने ति नयनहरु जसको म पुरै फ्यान थिए । हाईटमा पनि अब्वल, बोलाई त्यस्तै माधुर्यता, दाँत बिग्रीएर आएको जिमल दाह्रोले उसको मुस्कानको शोभालाई उच्च पारेको थियो । सुन्दरता, शहनशिलता, धैर्यता, साहस, बोली हिडाई सबै कुरामा मुसी युक्त र पोख्त लागि। रात भरी उसकै बारेमा सोच । रातीको १ बजे सम्मको एउटै निष्कर्ष निकाले । उसलाई हुन्छ जिवनका हरेक गोरेटोहरुमा सँगै हिड्ने सँगै खाने बस्ने अनि सँगै गैरी खेतको उकालो र ओरालो धाईरहने । एक अर्काको सामिप्यताले जिवन चलाउने । भोली पल्टनै उसलाई भन्ने निधो गरे ।

बिहानै बाले उठाएर मलाई लखनपुर फुपुको घरमा जाने उर्दी जारी गर्नु भयो । मैले बाको कुरा काट्नै सकिन । मान्छे हरेक पल हरेक क्षण दोधारमा हुन्छ भन्थे हो रहेछ म पनि दोधारमैै परे बाको भनेको मान्ने की, मुसीलाई भेटेर जिवनको निर्णय गर्ने । सोचे बाको कुरा आज सम्म नकारेको छैन कसरी नकारु बरु मुसीलाई भोली गैरी खेतमा भेटेर मजै भन्ने निधो गरेर फुपुको घर तिर लागे ।

बिचरी मुसी जिवनमा पहिलो पल्ट आएको मायाको उर्जावान् तरङ्लाई त्यहि रफ्तारमा हाक्ने सोचेर बसेकी हुदीहो । सबै कुरा आफुले सोच जस्तै कसैको नहुने रहेछ । उसले मलाई चुच्चे पिपल चौतारीमा त्यति भनेर घर गए पछि उसको मामाको छोरा दाई उसलाई सहर लिन भनी आएको थाहा पाईछ । उसले मलाई बोलाउन भनी आएकी पनि रहीछ मेरा बाले घर छैन भन्देछन् । उ गाँउभरी साँझ सम्म खोजिछे पनि । मेरा निष्ठुरीबाले घरमै भएको छोरालाई घरमा छैन भनेर उसको र मेरो जिवनकै विछोड गराईदिए ।

साँझ म घर आईपुगे । आमाले पानी दिदै भन्नुभयो लाहुरेकी छोरी कल्पना आएकी थिई भन्दै थिई बजै हरी आए पछि भन्दिनु होला कल्पनाले जिवन भरी नै जवाफको प्रतिक्षा गरेकी छ भनेर । आँखा भरी आँशु टिलबिल बनाएकी थिइ, बिचरी त लाई माया गर्दी रहिछ कति गाह्रो मानी मानी गाँउ छोडी । आमाको यो कुराले मेरो घाँटीको आदा सम्म पुगेको पानी थपक्क रोकीयो खोके पानी बाहिर आयो , हातहरु एका एक लुला भए, शरिरमा भएको उर्जा सबै आशुलाई बाहीर निकाल्न लागि परे । कल्पना सँग रमाएका हिजो सम्मका ति मिठा पलहरु आँखाभरी झझल्को बनेर झल्कीन थाले । आँखाबाट आँशुका लहरहरु पालै पालो निस्कीन थाले । आमाले आँशु पुछ्दै भन्नुभयो न रो किन रुन्छस् पोईलै गएको जस्तै गरी दशैमा त आईहाल्छे त किन पिर गर्छस् र बरु बालाई भनेर कुरा चलाउला । जात नमिले पनि केही हुन्न तँ खुसी भए भैगो बाबु हामीलाई । तेरा ७ दिदीहरु आफ्नै जातकोमा छन्, छोराले कुजातको ल्याए म केही भन्दिन । आमाको यो कुराले म मा केही उर्जा ल्यायो ।

साँझ खाना खान मन लागेन बालाई देखेर झनै रिस उठ्यो खानै नखाई ओछ्यानमा गए । आमाले दिउसको सबै कुराहरु बालाई भन्नुभएछ तर बाले जातकै केटी सँग कुरा चलाएको सुनाए आमा चुपचाप लागेर मेरो कोठामा आउनु भयो । बा को कुरा सुनाउदै मेरो टाउको मुसार्दै हुनुहुन्थ्यो । दिनभरीको थकाले होला सबै पिरलाई निन्द्राले जिते छ क्यार आमाकै काखमा निदाएछु ।

भोलीपल्ट मुसीको खुब याद आयो एक्लै गैरीखेत झरे , साह्रै न्यास्रो लाग्यो, जिवनबाट कोही हराए जस्तो अनुभुती भईरहयो । गैरीखेतमा एक छिन पनि टिक्न सकीन उकालो झनै गाह्रो भयो, दुई दिन अगाडी त्यही उकालोमा हाँस्दै गरेकी मुसी आज शहरका गल्लीको एक कोठाभित्र मलाई नै सम्झीरहेकी होली । चुच्चे पिपल चौतारामा पुगेपछि सोचे मुसीलाई जवाफ दिनै भए पनि म शहर जानु पर्छ । मुसीले बाध्यताले गाँउघर , गैरी खेत छाडी म मुसीको रहरले गैरी खेत गाँउ छाड्छु । निधो गरे । साँझ बालाई सबै भने पनि बाले पनि मान्नुभयो । म पनि शहर जाने पक्का पक्की भयो ।

आमाले झोला प्याक गरिदिनुभए पछि टिका ल्याएर अगेनोमा आउनु भयो बा पनि मलाई पुर्याउन भनी तयार भई सक्नुभएको थियो । टिकाटालो गरेपछि आमाका आँखाबाट आँशु रोकीएर बस्न सकेनन् , बा भने आमालाई हप्काउदै हुनुहुन्थ्यो । मलाई भने गैरी खेतको खुप मायालाग्यो र दौडिदै चुच्चे पिपल चौतारोमा पुगे जहाँबाट मेरो गैरी खेतको सौन्दर्यता धित पुुगुन्जेल लिन मिल्थ्यो । मन भरी गैरी खेतलाई राखे, गैरी खेतसँगै मुसीलाई राखे, उ सँगका हरेर पल, हरेक क्षण राखे, बाल्यकाल राखे, मुसीलाई ओरालोमा धकेलेर लागेको त्यो चोटलाई राखे, जिवनका १९ वसन्तलाई यादमा परिणत गरेर राखे । जति हेर्यो त्यति हेर्न मन लाग्ने मेरो गैरी खेतलाई छोड्न मन नलागी नलागी छाडे ।

मनका कुनाहरुमा सबै यादहरु च्यापेर बा को पछाडी लागे । भनीन्छ नि जिन्दगीमा मान्छेले गुमाएको अमुल्य चिज गुमाएपछि त्यसको प्राप्तीमा आई पर्ने हरेक चुनौतीलाई सहजै झेल्न सक्छ चाहे त्यो मृत्यु नै किन नहोस् । मलाई पनि कसरी मैले मेरी मुसीलाई मुसीको जवाफ फीर्ता गरेर जिवनका बाँकी वसन्तहरुलाई मुसीका साथ वितान सकु भन्ने सोच भएरै शहर पसेको थिए ।

शहरका कुनाहरुमा मैले मुसीलाई धेरै खोजे , गल्लीहरुमा उस्तै लाग्ने कति केटीहरुलाई त मैले कल्पना भन्दै कति पटक त बोलाए पनि तर ति सबै मेरी मुसी थिएन् । हरेक पार्क, गल्ली, बगैचाहरु तथा कलेज सबै धाए तर मैले मेरी मुसीलाई पाईन । म यस्तो भएको थिए नि काकाकुल जस्तै भौतारीएको थिए, बाघ जस्तै शिकार नपाएर भनभननिएको थिए , मरुभुमी जस्तै पानीको प्यासी भएको थिए मेरी मुसीको लागि । कहि कतै नभेटाए पछि सबै आश मारेर स्नातक प्रथम बर्षमा भर्ना भएको थिए मन नलाई नलाई ।

एक दिन आमाको खुब आद आयो , नजिकैको आवामा गएर सम्पर्क गरे, प्रधान ठुला बाको घरमा आवा थियो । आमा पनि त्यतै आउनु भएको रहेछ, आमासँग कुरा गर्न के थालेको थिए, आँखाहरुबाट अनायासै आँशुका डल्लाहरु विस्तारै विस्तारै ढल्कीदै ढल्कीदै खस्न थाले । आमाले झन् मुसीलाई भेटाईस् त भने पछि मन थाम्नै सकिन डाको छोडेरै रोईदिए, लाजै लागेन आमासँग रुनलाई , आमा सम्झाउदै हुुनुहुन्थ्यो न रो न अब के गर्ने त समय नै त्यस्तै भएर आयो त के गर्छस बा । केही समय पछि आमा म २, ३ दिन पछि कुरा गर्छु नि है भनेर फोन राखी दिए ।

आमाको आस्वासनले म सहर आए र पनि मुसीको जवाफ फीर्ता गर्न पाईन । त्यस पछि आमालाई नै महान् ठाने त्यो जमानामा अन्तरजातीको कुरालाई सहजै स्विाकारर्ने मेरी आमा मलाई महान् लाग्न थाल्नुभयो । त्यहि अन्तरजातियताको कुरालाई मेरा बाले पचाउन नसक्दा आज म यो गतीमा छु । निधो गरे आमाको एउटै बचनलाई कार्यान्वयन गर्छु भनेर । पढेर सरकारी जागीर खाने ।

समयले मलाई बालापनबाट किशोर अवस्थामा ल्याएयो र किशोर अवस्था पार गरेको १५ बर्ष पछि युवा अवस्थाको पारिवारीक मुडमा ल्याएर जिम्मेवार बनाएको छ । समयसँगै मनलाई सान्त्वना दिदै यतिका वर्ष पार गरे । अहिले म सँग जागिर छ, साथमा प्रविधिसँगै हुर्किएकी मेरी जिवन साथि छ, तर म सँग एउटै कुरा छैन मेरी मुसी । जिवनका धेरै वसन्तमा आउने हर्ष उल्लासका पर्वहरुलाई मैले गाउमा रमाएर विताएको थिईन । म शहरमा भएपनि मेरा यादहरु माया ममता गर्ने ति भिर पाखाहरु, भन्ञ्याङ चौतारी, उकाली ओराली अनि मेरो मुटुमा बस्ने मेरो गैरी खेत उतै थिए । दशै तिहार उतै मनाउने भनेर पारिवारीक सल्लाह भयो ।

द्धन्द्धकालले शिथिल बनाएको मेरो गाँउले शान्ति स्थापना पछि पहिलो पटक आफ्ना सन्तान पाएको थियो । गाउका सबै घरका साथिभाईहरु गाउ भित्री सकेका थिए । म पनि मेरो परिवार लिएर गाउ पुगीसकेको थिए ।

१५ बर्ष पछि आफ्नो जन्मभुमी देखेपछि मलाई स्वगै गए सरह भयो । मन उडेर पारी पारी पाखामा लामा लहरा छोडेर पखेरामा बसेर मेरो गाउलाई नियाल्ने मालुका लहरामा सँगै पिङ खेल्न थाल्यो । कति जङ्गल भएछ मेरो स्वर्ग । त्यति रमाईलो ठाँउ कति उजाड र उदासिन देखिएको । अजम्बरी झाडले जताततै भरीएको । साईला काका पनि फुलेर सेतै भएका , बिचरा काका आजभोली त राम्रो सँग हिडडुल पनि गर्न नसक्ने भए छन् । काकीको निधन पछि विरामी पर्न लागेका हुन् रे । प्रधान ठुलाबालाई पनि द्धन्द्धरत पक्षले कता लगेर वेपत्ता बनाएछन् । सँधै सँधै हाम्रो खेत पाखामा काम गर्ने हर्के दाईको पनि उ जमानाको जस्तो मुडे बल विलाएर गएछ ।

मेरो गैरी खेतलाई चुच्चे पिपल चौतारामा गएर नियाले । बिचरा मेरो गैरी खेत सहारा गुमाए छ सबैको । मेरा बा ले रोप्न छाडेकै १० वर्ष भएको थियो । उजाड मरुभुमी जस्तै लाग्यो । गैरी खेतलाई हेरेर मन भक्कानीयो । एक पटक त्यो बालापनको मेरो गैरी खेत सम्झिए । झन् बस्नै मन लागेन चुच्चे पिपल डाँडामा ।

दशैको दिन नजिकीदै थियो, गाँउमा पिङहाल्ने ठिटाहरुको रवाफ बढ्दो थियो । गाँउले पुरानै मुहार पाउदै थियो । जिवनका सबै पिडाहरुलाई बिर्सेर गाउ फर्केका युवाहरुले रमाईलो गर्ने क्रम जारी थियो ।

सुनधारामा नुहाएर म घर तर्फ लाग्दै थिए । आँखा अगाडि शहरीया लाग्ने एक नवयुवती हातमा गाग्रो लिएर अगाडि देखा परी । सुरुमा त चिन्नै सकेन जब उसका आँखाहरुमा नयनले चहारे तब मैले मेरी मुसीलाई पाए । हातबाट सानो गाग्रो फुत्कीयो , उसले उठाउन खोज्दै थिई, मैले नै पहिले हात पसारे । हे भगवान् यो कस्तो क्षणमा आएर मेरो मुसीलाई म सँग भेटायौ । शहरका त्यति धेरै गल्लीहरु चहार्दा पनि नभेटीएकी मेरी मुसी आज आएर यस्तो अवस्थामा भेटीदै थिई । उसलाई देखेर म नाजवाफ भए केही बोल्ने होसै आएन ।

उसैले बोली पहिला “के छ त हाकीम सापको खबर ”

मैले “ठिकै छ ” मात्रैले टारे

फेरी बोली कि उहि पुरानै नामले बोलाउनुपर्ने हो र हर्यौ साप उ मुुसुक्क मुस्कुराई

उसको यो रवाफले मलाई उहि बालापनमै पुर्यायो ।

मैले पनि जवाफ फर्काए “हो त क्यारे मुसी ”

उ त्यसै गरि ठुस्की मैले त्यसै गरी फकाए ।

मैले उसलाई चुच्चे पिपलको चौतारीमा भोलीपल्ट दिउसो बोलाए ।

मानौ कि नमानौ पुर्खाहरुले भनेको यो उखान “संसार गोलो छ कुनै न कुनै दिन फेरी भेट हुन्छ “म त्यो दिन त्यस्तै सोचीरहेको थिए मुसीलाई देखेर पहिलेका भन्दा कति राम्री भएकी मुसी । खाईलाग्दो ज्यान, लामो कपाललाई काटेर काँधसम्म आउने बनाएकी, आँखीभौ मिलाएकी , आँखामा मसिनो गाजल लगाएकी, हालमा सजाएर लगाएकी नङ पोलीस, भन्टा कलरको कुर्ता सुरुवालमा सजिएर चुच्चे पिपलमा म भन्दा अगाडि नै पुगेकी थिई उ ।

चुच्चे पिपलबाट तल खोलाका किनारमा रहेको हाम्रो गैरीखेतलाई नियाल्दै बस्यौ हामी । कुरा उसले नै सुरु गरि हरि हामीसँगै गैरीखेत पनि बुढो भएछ है । उ अलि भाबुक हुँदै भनी साँच्चिकै हरी म यु.के.मा तिमीे र यहि गैरी खेतको मायाले बाँचेको थिए । हरेक दिन हरेक साँझ तिम्रो र गैरी खेतको फोटो टोलाएर हेरे पछि मात्रै मलाई निन्द्रा पथ्र्यो ,जिन्दगीले हामीलाई यी उकाली आरालीबाट कता पुर्यायो पुरायो तर मन भने यही गैरी खेत र यीनै उकाली र आरालीमा अल्झीरहेको छ ।,

थाहा छ हरी त्यो साँझ दाईले शहर जाने कुरा गरे पछि म तिम्रो गएको थिए, तिम्रो बुवाले हामी सँगै हिडेको चाल पाएर तिमीलाई घरमा छ्रैन भनीदिनु भएको रहेछ मैले त पछि दशैमा आएर मात्रै थाहा पाए नि , तर तिमी दशैमा पनि घर आएनौ । म पनि तिमी शहर गएको कुरा थाहा पाए पछि दशै लगतै शहर गए धेरै तिर तिमीलाई पाउने आशले भौतारिए तर पाईन ,त्यस पछि बाबाले मलाई यु.के.मै बोलाउनु भयो म उतै गएर पढे तर तिमी के गरिरहेका छौ सबै थाहा पाई राखेको हुन्थ्थे । तिमीलाई पाउने आशाले नै जिवन चलाएको थिए त्यहाँ । जब तिमीले बिहे गरेको कुरा सुने, सबै आशाहरु एकै पटक ढले कहिल्यै पनि नउठ्ने गरी । त्यस पछि त्यहाँ बस्नै सकीन , सँधै सँधै एक्लो महशुुुस भईरहन थाल्यो त्यस पछि नेपाल फर्किएर काठमाडौँमा आमा र भाउजु सँगै बस्दै आएको छु । हरी जिवनमा तिमीलाई पाउने ठुलो आाशा राखेकी थिए तर त्यो सपना पुरा भएन ।

अब जिवनमा एउटै निर्णय लिएको छु, तिमी सँग बिताएका ति मीठा पलहरुलाई सँगालेर बस्ने । विवाह नगर्ने निर्णय गरेको छु । नेपाली जनताको स्वास्थ्य समस्याको समाधानमा रमाउने निर्णय गरेको छु । यति भन्दै उ आँखाका आँशुहरुलाई पन्छाउदै थिई ।

उसले यसो भनी राख्दै गर्दा म उ भन्दा पहिले नै रोईसको थिए । मलाई कसैको प्रवाह लागेन , मुसीलाई च्याप्प समातेर अगालो हाले, अगालोमा हामी धित मरुन्जेल रोयौ । एक छिन पछि उसका आँखाका आँशु पुछ्दै भने पिर नगर अब हामी शारिरीक रुपले एक हुन नसके पनि मानसीक र हृदयले एक भएका छौ । घरको दबावमा आएर मैले विहे गरे अब उसलाई पनि छाड्न सक्दैन म, उ पनि एक तिमी जस्तै नारी हो , तिमी बुझ्छौनी मुसी यो कुरा ।

उसले बुझ्छु भन्ने कुरालाई टाउको हल्लाएर भनी । मैले थपे थाहा छ मुसी त्यसको भोली पल्ट म चुच्चे पिपल चौतारीमा तिमीलाई भेटेर तिमी र मेरो जिवनलाई सँगै अगाडी बढाउन सल्लाह गर्ने निर्णय गरेको थिए तर त्यसो हुन दिएनन् हाम्रा अग्रज भनाउदा हरुले ।

मुसी खुब रोई मलाई पनि रुवाई । उसले गैरी खेत जाउ भनेर हात तानेर उठाई । दुवै गैरी खेत गयौ, उहि बालापनको हिलो, पानी घट्टको ढुङ्गामा बसेर सम्झीयौ । त्यहाँ हामीले पाईनौ ति गोठालाहरु, पाएनौ कालिज र चाखुराहरु कराएको , पाएनौ मुरलीका ति सुरीला मन छुने भाकाहरु पाएनौ गैरी खेत हरियो भएर हावाका झोकाहरुसँग लहराएको । गैरी खेत हाम्रो पहिलो मायाको उर्वर भुमी थियो, जसलाई हामीले जोगाएर सिँचाई गर्न सकेनौ ।

– नविन काफ्ले अभि
विरेन्द्रनगर ९ सुर्खेत

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.