~अमृता बुढाथोकी~
चैत्रको महिना, दिउसोको त्यस्तै तीन बजेको हुँदो हो, टन्टलापुर घामले टाउँको खप्नै नसक्ने गरी पोलिरहेको थियो । ललितपुर ज्वागलकको युएन पार्कमा लगाइएका काइयो, मसाला, बकाइनो प्रजातिका वनस्पति एकले अर्कालाई गिज्याउँदै आआफ्ना नयाँ पालुवा फेर्नमै व्यस्त थिए । उनीहरुलाई आफ्नो नियमित प्रकृया अघि बढाउनै आतुर थियो ।
छेउमा लटरम्म फूलेको असारे फूलले आफ्नो काखैमा नयाँ पालुवा हाल्न नसकेर जिङ्ग्राई रहेको उन्युलाई खिज्याइरहेको आभाष हुन्थ्यो । हो त्यही बेला, अनिता आफूलाई उन्युमा समाहित गर्दै थिई ।
त्यहाँका हरेक वनस्पतिमा सजीवता थियो । सबै उर्वर थिए । उनी ३३ औँ वसन्तसम्म पनि उन्यु जस्तै थिइन् । कहिल्यै नफूल्ने । उनी आफू र उन्युमा समानता देखेर खिन्न हुन पुगिन् । उनलाई लाग्यो यो उन्यु पनि आफू जस्तै छ । कहिल्यै नपुल्ने, बन्जर । सायद यसैकारण अरुले यसलाई पनि माया गर्न छाडी सकेका छन् ।
उनलाई लागि रहेको थियो, पार्कका हरेक वनस्पतिले उन्युलाई हेय्को दृष्टिले हेरिरहेका छन् । र त यो कठिङ्ग्रिएको छ । म जस्तै । सबैले यसलाई पनि आफूलाई जस्तै अपमानित आँखाले हेरिरहेका छन् जस्तै अनुभूति गर्न पुगिन् ।
उनी प्रकृतिसँग मितेरी लगाएर आफ्ना बेदना साट्दै थिइन् । नत उनलाई आफ्नो छेवैमा पीडैपीडाले ग्रसित भई अमिलो मन लिएर बगेको बागमतीको नै वास्ता थियो । नत वैँशले अनमत्त भएका युवायुवती जस्तै अनमत्त भएर पालुवा फेरिरहेका वनस्पतिको नै प्रवाह थियो । युगल जोडीमा बसेको मानिसको पनि प्रवाह गरिनन् । उनी त केवल आफूमा उन्यु समाहित गर्नमै मस्त थिइन् । मानौँ उनी धेरै अघिदेखि उसैसँग आफ्नो पीडा पोख्दै थिइन् ।
त्यतिबेला उनलाई मानिसहरुका जोडाजोडीेको दृश्यले गिज्याइरहेको तितो अनुभूति भइरहेको थियो । तिनीहरुबाट उत्पादित कोलाहल र बागमतीको दुर्गन्धले उल्टै आफूलाई पीडा थोपरेको महसुस गर्दै थिइन् ।
पार्क वरिपरि चिस्यान थियो । तर अत्याधिक मानिसको चापले गर्दा झारपात पलाउन सकेको थिएन । चारैतिर गाडीको आवाज मात्र सुनिन्थ्यो । ती आवाजसँगै आफ्नो प्रिय उन्यु र आफूलाई क्षितिज पारीबाटै सबैले बाँझी भनिरहे झैँ प्रतीत हुन्थ्यो । यस्तो लाग्थ्यो यहाँ होइन, त्यहीँ कतै, दुरदुरबाट, अन्नतबाटै उनीहरुलाई सबैले एकै स्वरमा गिज्याइरहेका छन् । तानामारी रहेका छन् ।
मानौँ पार्कलाई किनारा बनाएर बगेको बागमती क्यान्सरले थलिइसकेको छ । मृत्यु शैयाबाट पीडैपीडामा छटपटाउँदै छ । रुँदै, कराउँदै वर्षैदेखि आफ्नो बेदनाको गीत गाउँदै छ । युगैदेखि कहिले सुसाउँदै, कहिले लोलाउँदै आफ्नै सुरमा कहिले मच्चिदै, कहिले थाकेर सुस्ताउँदै फरकफरक रफ्तारमा अविरल बगिरहेको छ । सायद उसको यो रोग अब कहिल्यै निको हुनेछैन । यति मात्र कहाँ हो र उसलाई अझै भयानक सामाजिक आतङ्कको शिकार हुन बाँकी नै छ ।
पूर्वबाट जोडले हावा चल्यो । तीव्र हावाको झोकाले सुक्न लागेको उन्युकोे पात फर्रर हल्लियो । यतिकैमा अनिताको आँखा छेवैमा खेलिरहेकी सानी बच्चीतिर तानिए । ती बच्ची कहिले रुन्थिन्, कहिले चिच्याँउथिन् । किन हो कुन्नी उनलाई अब जीवनको खालीपन भरिने छ जस्तो लागिरहेको थियो । वात्सल्यप्रेमका लागि छटपटाएको उनको छाती ममताले फूल्ने छ जस्तो आभाष भइरहेको थियो । विना कुनै परिवर्तन,अनन्त कालसम्म आफ्नो ममतामा अब कसैले सवाल उठाउने छैनन् जस्तो भान भइरहेको थियो ।
कल्पनाको गहिरो धरातलमा डुबुल्की मारिरहेकै बेला कसैले चर्को स्वरमा करायो नानी यस्ताको छेउछेऊ जानु हुँदैन । बन्जर भूमि बच्चाको लागि राम्रो मानिन्न । खुट्टा भुइमा बजार्दै उनले ती बच्चीलाई लिएर हतार हतार अलिपर गएर बसिन् ।
अनिताले धेरैबेरसम्म बागमतीको धमिलो पानीमा आफ्ना अश्रुधारा बगाइन् । निरर्थक उनका अश्रुले त्यो पानीको रंग भंग गर्नै सकेन । अहः कुनै परिवर्तन ल्याउनै सकेन । उनले आफ्नो छेवैमा रहेको उन्युतर्फ मुस्किलले नजर जुधाइन् । कताकता छटपटाए जस्तो कताकता मुर्झाए जस्तो देखियो उन्यु । उनलाई दैडेर त्यहीँ उन्युलाई अंगालो मर्रौ झै लाग्यो । सारा पीडा पोखैँ झैँ लागेर आयो । तर उनले सामाजिक डरका कारण त्यसो गर्न सकिनन् ।
यतिकैमा उनलाई पछाडिबाट कसैले ‘अनिता’ भनेर बोलायो । उनको बालसखी सरिताको पति रोहित रहेछ । हतारहतार सम्हालिँदै कामेको स्वरमा भिनाजु तपाईँ पनि यहाँ भन्न पुग्छिन् ।
‘दुख नमान है अनिता, सरिताले तिमीसँग हाम्री छोरीलाई खेल्न दिइँनन् ।’ ‘हेरन, हाम्रा पनि धेरै सन्तान खेर गएपछि यो छोरी बाँचेकी हो । त्यसैले सरिता हिजोआज अलि बढी शंकालु भएकिछन् । छोरीको छेउमा कसैलाई पर्न दिन्नन् ।’ उसले यति कुरा एकै स्वरमा भन्न भ्यायो ।
प्रसंग मोड्दै ‘यहाँ कति रमाइलो छ है भिनाजु, यी हरेक वनस्पतिले एकले अर्कालाई वास्ता गर्दैनन् तै पनि उनीहरुको जीवन छ । सजीव छन् । यहीँ उन्युलाई हेर्नुस् न यसका पनि अरु वंशज देखिँदैनन् तर असारे फूलको काखमा वर्षैदेखि हाँसी रहेको छ । तर मानिस ….।’ उनी अरु पनि धेरै भन्न खोज्छिन् । मुखबाट आवाज नै निस्कदैन ।
अनितालाई आज दुईबजे नै निद्राले छाडेको छ । झिसमिसे उज्यालो हुन लाग्दासम्म उनलाई निद्रा पर्न सकेन । बाहिर सडकमा फाट्फुट्ट मानिसको चहलपहल सुरु भएको छ । उनलाई आफ्नो कोठा नै अनौठो लागि रहेको छ । उनले तिनै पुराना रातहरु ओछ्यानमा पल्टेर सम्झन थालिन् । विगतमा जस्तै आज पनि उनै पुराना एकनासका कुरामा हराउन थालिन् । उनको आँखामा तिनै पुराना दृश्यहरु नाच्न थाले । उनलाई अनिलसँग आफूले बिताएका हरेक पलको याद आयो । अनिलले उनीसँग गरेका हरेक बाँचाको याद आयो । फेसबुकका भित्तामा एक अर्काले गरेका प्रेमिल पोष्टको याद आयो । सारा विगत आँखा अगाडि नाँची रहँे ।
एकैछिनमा हावाहुरी आएर उनको कल्पनाको महल भताभुङ पारी दियो । उनले आफ्नो वरिपरि चारैतिर अध्यारो देख्न पुगिन् । कोठाको चार दिवारभित्र आफ्नो जीवन कैद भएको महसुस गर्न थालिन् । चारैतिर निष्पट्ट अध्यारो भए झैँ लाग्यो । आफ्नो जीवननै औँसीको रात झैँ लाग्यो ।
बाहिर मानिसको चहल पहल बाक्लिन थालिसकेको थियो । झिसमिसे उज्यालोमा बिजुली बजार छेवैमा रहेको उनको घरैबाट त्यहीँ युएन पार्क देखिइरहेको थियो । पार्कमा फूलहरु टम्म फूलेका देखिन्थे । बकाइनाका रुखमा लटरम्म फलेका दानाले पार्क नै झाडीमय भए झैँ हुन्थ्यो । वाहिरको वातावरण झट्ट हेर्दा लाग्छ झाडीलाई बाक्लो कुहिरोले ढाकेको छ । मानौँ त्यो कुहिरोले त्यहाँको झाडीलाई खप्लकै निल्न खोजिरहेछ । फाट्टफुट्ट मसलाका रुखमा बसेर चराहरु आफ्नै विरहका गीत गाउँन थालेका छन् ।
उनमा बेचैनीको सतह बढ्दै थियो । बिहान झिसमिसे भइसकेको थियो । हजुरआमा मन्दिर जाने तरखर गर्दै थिइन् । अनितालाई पनि मन्दिर जाने मन लाग्यो । हजुर आमाको छेउमा गइन् ।
‘नकचरी, लाज लाग्दैन घरनबारकी बाँजी ! साइत बिर्गान फेरि आइस् अगाडि । मेरो सारा ब्रत नै खराब भो । अलच्छिनीको अनुहार दर्शन गर्नु पर्यो, साइत नै बिग्रियो रामराम !’
हजुर आमाको कुरा सुनेर अनिताको मन फाटेर आयो । अबोध बच्चाले जस्तै कुनै प्रतिक्रिया नै नदिई आफ्नै कोठामा गएर बसिन् ।
उनलाई एक मनले भनिरहेको थियो देह व्यापार गरेर भएपनि आमा बनुँ । दुनियाँलाई भनुँ म बाँजी होइन म उर्वर छु । तर एउटी नारीले आफ्नो दुनियाँ एउटा पुरुषलाई मानी सकेपछि अर्कोसँग बाडिन कहाँ सक्दा रहेछन् र ? उनमा त्यो हिम्मत थिएन ।
यतिकैमा नित्याले उनको ढोका ढक्कढक्याइन् । आफ्नी दिदीको रोएको अनुहार देखेर खिन्न हुँदै,‘दिदी तिमी हजुरआमाको कुराले दुखी भएकी हौँ ?’
दिदी अनुत्तरित भएको देखेर नित्या पुनः भन्छिन्,‘दिदी तिमी यस्तो निस्सार जीवन किन बाँची रहेकी छौँ ? तिम्रो कारण तिमी यो हालतमा पुगेककी होइनौँ । हेर दिदी अहिले त विज्ञानले ठुलो चमत्कार गरिसकेको छ । आइभिएफमार्फत बच्चा जन्माउन सकिन्छ । यति मात्र कहाँ हो र सेरोगेसीमार्फत् कति निसन्तान दम्पतिका सन्तान भएका छन् ।’
उनको कुरा सकिन नपाउँदै ‘हेर, नानी मलाई यी सबै कुरा थाहा छ । यसका लागि तेरो भिनाजु मान्नु हुन्न ।’
किन ? बुझ्दिनौं दिदी यो स्वार्थी मानिसको मन । यसले तिमीलाई आफ्नो हवसको शिकार मात्र बनाइ रहेको छ । तिम्रो खुसीको वास्तै गर्दैन । उसको घरमा श्रीमती छोराछोरी सबै छन् । आखिर किन तिमी कान्छी बनेर बसिरहेकी छौँ ? भनेको मान दिदी छाडिदेउ यो पुरुषको मोहलाई । तिमी आफैँ सक्षम छौँ, आफ्नो खुट्टामा उभिएर बाच्न सक्छौँ । बरु अर्को उपयुक्त विकल्प रोज ।’
अनिताले नित्यालाई पार्कतिर देखाउँदै ‘हेर नानी, ती रुखका पातलाई, रुखमा छउन्जेल कति राम्रा छन् । वरिपरिको वातावरणलाई नै शोभायमान बनाइरहेका छन् । हावाको झोकासँगै फर्रफराइ रहेका छन् । तर भुइँमा झेरपछि हेर त, कस्तो रङ्ग उडेको देखिएको छ । यिनीहरुले अब कसैलाई शोभा दिँदैनन् । यिनीहरु सजीव पनि होइनन् । पतकर बनिसकेका छन् । बोझ भइसकेका छन् । हो त्यस्तै हो नानी छोरीको जीवन । एकपटक झरेपछि पुनः जोड्नै नसकिने । पाउको धुलो शिरमा सुहाउँदैन । बोझ मात्र हुन्छ । कसरी विकल्प रोजुँ नानी !’
होइन, दिदी सबै मान्छे एउटै हुँदैनन् । राम्रो विचार भएका मानिस पनि हुन्छन् । उनीहरुसँग नयाँ जीवनको सुरुआत गर ।
‘हेर नानी तरो भिनाजुले मलाई माया गर्नुहुन्छ । म कसरी छाडुँ ?’
‘दिदी तिमी यसलाई माया भन्छौँ ? यो माया होइन, बासना मात्र हो । मायामा त एकले अर्काको हाँसो, खुसी खोजिन्छ । एउटाको कमीलाई पूर्ति गरेर जीवनलाई अगाडि बढाइन्छ । तिमीलाई यस्तो अपमानित बनाउने यो कस्तो माया हो ? जे सुकै भन दिदी भिनाजुलाई तिम्रो वास्ता छैन । ’
उनको घर कस्तो छ ? त्यो सम्म त तिमीलाई थाहा छैन । फेसबुकमा माया गर्यौ । भर पर्यौ । विवाह गर्यौ । तर उसले तिमीलाई कहिल्यै श्रीमतीको रुपमा हेरेको छैन । यदी उसलाई तिम्रो माया हुने हो भने तिमीलाई रातोदिन गाली गलौज गर्दैन । जाड खाएर कुट्दैन ।
हेर, दिदी यो पुरुषले हाम्रै आँखा अगाडि तिमीलाई कुट्छ । अनि कसरी तिमी माया गर्छ भन्न सक्छौँ ? मायामा त एकले अर्काको सम्मान गरिन्छ । आत्मासम्मान गुमाइँदैन दिदी । घरमा श्रीमती, छोराछोरी भएका मानिसले तिमीलाई कहिल्यै माया गर्न सक्दैन । जीवन लामो छ दिदी खेर नफाल । फेरी कानुनले पनि दोस्रो विवाहलाई मान्यता दिँदैन ।’
‘त्यो त हो नानी तर एउटी नारीको खुसी एउटा पुरुषबाट सुरु भएर उसैसँग सिद्धिदो रहेछ । अर्को पुरुषलाई अंगाल्नुभन्दा मृत्युको ढोका ढक्ढक्याउनु उत्तम लाग्छ मलाइ ।’
यस्ता कुरा नगर दिदी, अब त सन्तान जन्माउन बाबु नै चाहिन्छ भन्ने पुरानो कानुनी मान्यता हटिसकेको छ । त्यसैले विज्ञानको नियमलाई अनुसरण गर बच्चा जन्माउ । छाडी देउ यो पुरुषलाई । फेरी नि दिदी, हरेक नारीलाई प्रजनन अधिकारको व्यवस्था हाम्रो संविधानले नै गरिदिएको छ । त्यसको उपभोग गर ।
मैले जानेर खोसेको होइन नानी अर्काको खुसी । मलाइ थाहा थिएन सबै कुरा । मैले त माया गरे । मायामा विश्वास हुँदो रहेछ । त्यही विश्वासले मलाई धोका दियो म के गरुँ । अब मलाई पुरुष चाहिँदैन । पूर्ण नारी हुनका लागि सन्तान मात्र चाहिएको हो । अब म उसलाई अंगाल्दिन बैनी ।
आकाशमा कालो बादल मडारिएको थियो । बादल फाट्ने छेकछन्दै थिएन । एकतमासले दिउसैदेखि मेघ गर्जिरहेको थियो । असिना पानी पर्ला झै गरी मौसमले आफ्नो लक्षण देखाइ रहेको थियो । चारैतिर अध्यारो देखिन्थ्यो ।
साझको त्यस्तै सात बजेको हुँदो हो ।सधैँ झैँ अनिल घर आयो । उसको बोली सधैँभन्दा रुखो थियो । व्यवहार अत्यन्तै कठोर । अनिताले नम्र हुँदै खाना खान आग्रह गरिन् । धेरै कर गरेपछि बल्ल ऊ खाना खान उठ्यो । बीचैमा यस्तो खाना त कुकुरले पनि खाँदैन ला तै खा भन्दै खानाको थाल भुइमा पछारिदियो । उनीहरु बीच अबेरसम्म झगडा भइरह्यो ।
भोलीपल्ट कोठामा अनिल देखिएन । उसका लुगाफाटो डकुमेन्ट केही राखिएको ठाउँमा थिएनन् । उसको परिचय दिनसक्ने कुनै कानुनी प्रमाण कोेटिएन ।
समय आफ्नै गतिमा हिडिरह्यो । दिन बिते, हप्ता बित्यो, महिना बिते तर अनिल आएन । उसको खोजी गर्नका लागि अनितासँग कुनै कानुन आधार थिएन । उसको पर्खाइमा रुँदै कराउँदै धेरै वसन्त बिताइन् तर ऊ फर्किएर कहिल्यै आएन । मानौँ पानी परेपछिको आकाशलाई कालो बादलले छाडे जस्तै गरी उनलाई छाडेर गयो ।
अनायसै आज उनलाई त्यही उन्युको याद आयो । पुनः त्यही ठाउँ गइन् । उन्युको कुनै अवशेष देख्न सकिनन् । सायद, खडेरीमा कठिङ्ग्रिएर उन्युको प्रजाति नै त्यहाँबाट लोप भइसकेछ । कतै देखिएन । तर, त्यहाँका सबै वनस्पतिले आकार फेरेर बडेमानका भइसकेका रहेछन् । बागमतीको घाउ पाकेर गनाउने पिप बगिरहेको रहेछ । तै पनि उनलाई त्यहाँको वातावरण केही शान्त लाग्यो । केही रमाइलो लाग्यो ।
पार्कको बीचमा बसेर कल्पनाको उडान भरिरहेकी उनको कानमा अनिता एक्लै के गरेको भन्ने आवाज गुञ्जिन पुग्छ ।
उनले आवाज आएतिरै आफ्नो अनुहार फर्काएर हेर्छिन् । एउटा अर्धैवँैसे मानिस आफ्नो अगाडि ठिङ्ग उभिएको देख्छिन् । उसको नाम अशोक रहेछ । घर त्यतै गुल्मीतिर । उनी वैदेशिक रोजगारीमा गएका बेला उनकी श्रीमती अर्कैसँग पोइला गएकी रहेछिन् । व्यथा उस्तै कथा फरक ।
‘हेर, अनिता ! जीवनलाई बहुमुखी ऐनाद्वारा हेरिनुपर्छ । मानिसले आफ्नो चेतनामा जीवनलाई सरल तत्वमा विभाजित गर्न सक्नुपर्छ । मानिसको जीवनमा इन्द्रेणीका रङ्गहरु जस्तै अनेक रङ्गहरु देखा पर्छन् । ती रङ्गहरुले जीवनलाई हस्तक्षेप गर्न दिनु हुन्न । तिनीहरुलाई आफ्नो आवश्यकताअनुसार सदुपयोग गरेर जीवनलाई अघि बढाउनु पर्छ । जीवनलाई निरस नबनाउ । तिम्रो जीवन मलाई देउ र मेरो तिमी लेउ । विगतलाई भुलेर एक नयाँ सुरुआत गरौँ ।’ भन्छ अशोक ।
अनिता असमजस्यमा पर्छिन् । विगतको घाउँमा खाटा बसिसक्यो । अब फेरी नयाँ घाउँ ? भन्दै झस्कन्छिन् ।
‘अनिता, नारीपुरुषलाई एक रथका दुई पाङ्ग्रा भनिन्छ । हो पनि । रथ चलाउनलाई दुवैको जरुरत पर्छ । मसँग तिमीलाई दिने त्यस्तो अमूल्य सम्पत्ति त केही छैन । तर तिम्रो सारा पीडालाई भुल्ने गरी मायाले छोपी दिन्छु । ससम्मान म तिमीलाई अपनाउँछु । मेरो मायालाई स्वीकार गरिदेउ अनिता ।’
‘तिमीलाई मेरो अतित र मेरो जात केही थाहा छैन । कसरी अपनाउँछौँ । झुटको बुनियादमा जोडेको सम्बन्ध टिक्दैन अशोक ।’
‘तिम्रो घर गुल्मी वामी टक्कसार । रत्ने दर्जीकी कान्छी छोरी । बिजुली बजारमा बस्छौँ परिवारसँग । म त्यहीँ गाउँको राम खनाल ब्राह्मणको छोरो । सबै थाहा छ । तिमी हुन्छ मात्र भनन । दुनियाँलाई जवाफ दिन्छु म ।’
‘तर अशोक,म अर्काको जुठो । कसैले छाडेकी त्यो पनि दर्जीकी छोरीसँग कसरी विवाह गर्छौँ । हामी सामाजिक नजरबाट लोटिन्छ नि ।’
‘जातपात मानिसले कामका आधारमा निर्माण गरेको हो । मेरो विचारमा मानिसका जात दुइओटा मात्र छन् । महिला र पुरुष । अनिता ! नारी भोग्या वस्तु होइनन् । मानिसको भैतिक शरीर केही पनि होइन । मलाई तिम्रो शरीर होइन । तिम्रा साथ चाहिएको हो । मलाई यस्तो लाग्छ मेरो बाँकी जीवन तिमीविना अधुरो छ । फेरी नि अनिता ! नारी पुरुष एकाकार हुनु त विज्ञानको नियम हो । यसलाई उलङ्घन गर्न कसैले सक्दैन ।’
‘हुन त हो अशोक ! तर म कसैलाई विश्वास नै गर्न सक्तिन ।’
‘विश्वास गरेर हेर, अनिता म तिमीलाई आकाशको तारा नै खसालेर दिन्छु त भन्न सक्तिन । तर, तिम्रो सारा पीडालाई भुलाउने माया दिन्छु । सुख दुखको सहयात्री बनुलाँ । म आजै तिमीलाई मेरो घर लिएर जान्छु ।’
साझ परिसकेको थियो । पार्क सुनसान देखिन्थ्योे । दायाबाँयाका सडकमा गाडीहरु बाक्लै गुडीरहेका थिए । फाट्टफुट्ट चराचुरुङ्गीले आफ्नो गीत गाउन थालेका थिए । कति बेला हो कुन्नी ती युगल जोडी कहिल्यै नछुटिने गरी प्रेमको बन्धनमा बाधिइसकेका थिए । एकले अर्कालाई आफ्नो अंगालोमा जकडिसकेका थिए । मानौँ यो दुनियाँमा उनीहरुलाई कसैले देखेकै छैन । बिना कुनै छलकपट निस्वार्थ प्रेमको सागरमा डुबी सकेका थिए ।
उनीहरुको प्रेमको साँची पुनः त्यही उन्यु बनेको थियो । वनस्पतिले सुस्तरी आफ्ना पात हल्लायो । चारैतिर शीतल बतास चल्यो । त्यही शीतलतामा उनीहरुले कहिल्यै नरोकिने गरी आफ्नो नयाँ यात्राको सुरुआत गरिसकेका थिए । त्यही बेला धरतीको छाती फोडेर उन्युले आफ्नो भ्रुण टुस्ट देखायो । खिलखिलाउँदो त्यो भ्रुणलाई आफ्नो पहिचान बनाउन हतार थियो । विहानीको सूर्यको लालीकिरण पर्खननै कठिन थियो ।
-अमृता बुढाथोकी
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )