कविता : देशको हाल

~शिशिर शर्मा~

यहाँ देश बनाउने नेताहरूबीच नै मेल छैन
फोहोरी राजनैतिक खेल छ
यहाँ अपराधी र भ्रष्टाचारीलाई जेल छैन
सत्ता र कुर्सीका लागि पेलापेल छ

यहाँ गरिबको घर दुई छाक भात छैन
जनताको आशमा तुषारापात छ
यहाँ “प्रभु” को विरुद्ध जाने आँट छैन
देशको स्वाभिमान आघात छ

यहाँ देशलाई हाँक्ने असल नीति छैन
पैसाको भरमा टिकेको राजनीति छ
संविधान पाउने निश्चित मिति नै छैन
जनतालाई पीडा शास्ती अति छ

यहाँ वीर सहिदलाई उचित सम्मान छैन
तर घुस्याहा नेताकै समाजमा शान छ
गरिबको दुःख पीडा सुन्ने कान छैन
जनताको भोटको अपमान छ

यहाँ शहर नै व्यवस्थित छैन,
तर त्यही सहरको ठूलो रहर छ
यहाँ बत्ति र खानेपानीको भर छैन
तर चर्को मूल्यवृद्धि, महङ्गीको डर छ ।

(स्रोत : हाँक विक्ली – वर्ष ३१, अङ्क ३५ – July 23, 2014 – २०७१ श्रावण ७ गते, बुधबार )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.