~अमृत सिङ थिङ~
मेरो स्वरहरू तिम्रो जस्तै छ
मैले देख्ने ,तिमीले देख्ने
दृश्यहरू सबै उस्तै छ
आऊँ हेर , पानीलाई छोऊँ
तिमीले छुँदा साङ्लोको साङ्लै
मैले छुँदा धमिलो भाको छ र ?
अनि ! म कसरी दलित ?
तिम्रो जस्तै मेरो आफ्नै संस्कार छ
मेरो आफ्नै धर्म छ
देख्नमा फरक होला
तिम्रो जस्तै मेरो आफ्नै कर्म छ
तिमीले फुल टिप्यौ , मैले पनि
मन्दिरमा चढायौ , मैले पनि
तिमीले मागेको वर पायौँ होला
मैले मागेको मैले पाएँ
मन्दिरको भगवानले तिमी सँग बोलेन
म सँग पनि बोलेन
बोल्यो त केवल तिम्रो मन
अनि मेरो मन
सुन्यौँ त तिमीले सुन्यौँ
अनि मैले पनि
मन्दिर ढलेन , मूर्ती पनि
अनि ! म कसरी दलित ?
हामी एउटै पाठशालामा पढ्यौ
पाठ्यक्रम पनि एउटै , हरफ पनि
हाम्रो गुरु ऐउटै गुरु आमा पनि
दुबैलाई उस्तै सिकाउने
त्यो कालोपाटी ऐउटै
त्यो लेख्ने खरी ऐउटै
तिमीले लेख्यौ सेतो अक्षर
मैले लेखेँ उस्तै सेतो
हाम्रो माता भनौँ या ज्ञान दाता
प्राङ्गणमै छिन् , सानो मन्दिरमा
तिमी जाऊँ प्रार्थना गर
म पनि जान्छु प्रार्थना गर्छु
तिम्रो मनले बोल्यो मेरो पनि
तिमीले आँखा चिम्ल्यौ , मैले पनि
खै त ! हाम्रो माता बोल्नु भएन ?
अनि ! म कसरी दलित ?
बयर खाएका याद होला
अमला खाएका याद होला
अनि काफल, ऐसेलु अरू थुप्रै
बयरको काँडाले मलाई जस्तै
तिमीलाई पनि घोच्यो
ऐसेलुको काँडाले मलाई जस्तै
तिमीलाई पनि बिझ्यो
अमला , काफलको बोटमा
तिमी जस्तै म पनि चढेँ
खै त ! हाँगा भाँचेको ?
तिमीलाई पनि बोक्यो
मलाई पनि बोक्यो
अनि म कसरी दलित ?
ऐ !! ऐ !! सुन !!सुन !! सुनेर जाऊँ
मैले के के भन्यो भनेर नरिसाऊँ
यो तिम्रो दोष हैन , मेरो पनि
यो त पुर्खाले बनाएका
पुर्खाले थालेका
हामी पुर्खा हैनौ नि !
हामी नयाँ युगका
अझ भनौँ , नयाँ जमानाका ।
अमृत सिङ थिङ
महाभारत गाउँ पालीका ,
बनखु , काभ्रे
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )