~मित्रदेव शर्मा~
दक्ष्यकन्या सती देवीको कुण्डमा दहेको देह शोक विरहोन्माद महादेवले बोकेर विश्व परिभ्रमण गर्दा शवदेहका गलित अङ्गहरू टुक्रिँदै पृथ्वीमा झर्नथाल्छन्। अङ्ग आभूषण स्खलन भएका स्थानहरू भारतका चारकुनामा चार शक्तिपीठ तथा धेरै अरू स्थान भैरव तीर्थ रूपमा श्रद्धालुहरूका आकर्षण केन्द्र बन्दछन्। पूर्वको कामाक्ष्या, दक्षिणको मीनाक्षी, पश्चिम क्षेत्रको हिङ्गलाज तथा उत्तर क्षेत्रको ज्वालामुखीको ख्याति तथा इतिहास, यही परिघटनासित गाँसिएका छन्। मातृ पूजाको आदि शक्तिपीठ हिङ्गलाज तीर्थ पाकिस्तानको बिलूचिस्थान प्रदेशको लालबेला क्षेत्रमा पर्छ। अरू तीन भारतवर्षमा छन्।
खृस्टीय षष्ट शताब्दीअघिका ऐतिहासिक दशी दुष्प्राप्य भए तापनि पौराणिक शिलालेख, चारण र हरबोला (मध्य पश्चिम भारतमा गीत रचेर गाइहिँडेने जनगोष्ठी) समाजमा मुखमुखै चलिआएका जनश्रुति र दन्त्यकथा नौ दुर्गा भवानीको देशका सबै कुनामा मातृ पूजा र आराधना गर्ने परम्परा आदिमकालदेखि नै भएको थाहा लाग्छ। नारी रूपमा सृष्टिकर्ताको आविर्भाव हुने कुरा समय समय विश्वास चारणहरूका गीत र पूर्वमा रचना गरेका साहित्यमा पाइन्छ। विश्वासअनुसार नौ लाख दुर्गाका अवतार भइसकेका छन्, नारी शक्तिकै माध्यमबाट। तीमध्ये 84 अवतार त चारण सम्प्रदायबाटै भएको उल्लेख र देवी भवानीका लीलाहरू तथा असाधारण महाशक्तिका वृतान्त पाइन्छन्।
देशका सबै कुनामा पाए जसरी उत्तर – पूर्वाञ्चलमा पनि शक्ति पूजा गरिने बिन्दु धेरै विकसित भएको इतिहास प्राचीनकालदेखि नै पाइन्छ। असममा सदिया भेकका कँसाइखाती गोखाँनी, तामेश्वरी (सदिया), देउपानी (कार्बि आङलाङ), महामाया (धुबुरी), भैरवी माइथान (तेजपुर), कल्याणी (गहपुर) जस्ता धेरै माताका प्राचीनकालदेखि विभिन्न नाउँले मातृ पूजा भइआएको इतिहास छ। काली, चन्द्रघण्टा, पिङ्ला, महामाया, बाघेश्वरी तथा अरू धेरै नाउँले माताको आराधना हुन्छ। पौराणिककालदेखि किराँत समाजमा चलिआएका पूजाहरूमा पनि माताकै प्राधान्य पाइन्थ्यो। नेपालीहरूका संसारी पूजा, नौला, बुडीबज्यू आदि मातृ पूजाकै प्रतीक हुन्।
राजकीय पृष्ठपोषकतामा मातृ पूजा शत्रु विनाश गर्न रावणले गरेको तथा अज्ञातवासको कालमा पञ्च पाण्डवले गरेको उल्लेख रामायण र महाभारतमा पाइन्छ। सरकार र राजकीय तत्वावधानमा जयपुर (राजस्थान) को जीनमाता तथा जैसलमेरको प्राचीन राजधानी लोघ्रपुरका दुवटा स्थानमा नियमित देवी भवानीको पूजा हुन्छ तथा शताब्दी अघिदेखि चलिआएको छ। राजस्थान राज्यको बीकानेरदेखि 30 किमिको दूरीमा देशनोकमा करणीमाता को 600 वर्ष पुरानो मन्दिर छ। मुसा (स्थानीय बोलीमा काँबा) को मन्दिर स्वचश्क्षु दर्शन गर्ने सौभाग्य 2006 मा यो पंक्तिकारलाई मिल्छ। यो मन्दिर र स्थानीय मानिस, साहित्य तथा संग्रहालयबाट प्राप्त तथ्य रोचक लागेकोले पाठकवृन्दको निमित्त उल्लेख गरें।
वि. सं. 1444 (सन् 1387) जोधपुर अञ्चलका सुवाप गाउँमा श्री मेहोजी र श्रीमती देवलबाईकी षष्ट कन्या भएर अलौकिक गुणयुक्ता रिद्धबाईको जन्म हुन्छ। देव हिङ्गलाजको पूजा आराधनाले जन्मेकी रिद्धबाई मातृगर्भमा सम्पूर्ण 21 महिना बस्छिन्। जन्मेको मुहूर्त्तदेखि नै अलौकिक कार्यसम्पन्न गरेको देखेर उनकी करणीमाताको नाउँ चारैतिर फैलिन्छ। चारणकन्या करणीको 27 वर्षको उमेरमा पितामाताले विवाह गरिदिने साथै सन्तान जन्माउने जैविक सुख दिन असमर्थ उनले आफ्नै बहिनीसित लोग्नेको विवाह गरी दिन्छन्। 140 वर्ष 6 महिना बाँचेकी करणीमाताका अलौकिक कार्यहरू सङ्ग्रहालयमा राखेका तथ्यचित्र र पुस्तकहरूमा पाइन्छन्। कुलदेवी मानेर भक्तिको साथ राजधरानाहरू उनको पूजा जीवनकालमै गर्न थाल्छन्।
1894 सालको दुर्गा पूजाको नवमीमा करणीमाताको देहावसान हुन्छ। डुल्न गएको कालमा जैसलमेर क्षेत्रमा एकजना ‘वन्नु खाती’ नाउँका विश्वकर्माले करणीमाताको प्रस्तरमूर्ति निर्माण गरेर वर्तमान स्थानमा करणीमाताको मृत्युको 4 दिनपछि स्थापना गर्छन्। खाती नेपाली हुरुक्क विश्वकर्मा समुदायमा पनि छन्। उनै राजस्थानी खाती बसाइँ सर्दै आएर नेपाली बनेका हुनसक्छन्। करणीमाताको मन्दिरमा गरेको भाकल पुग्छ भन्ने विश्वास रहेछ। यात्रीहरू दूध, अन्न आदि लगेर मुसालाई खान दिन्छन्। मुसाहरूका जुठा ल्याएर प्रसाद भनेर खान्छन्। सेता रङ्गका मुसा अति भाग्यवानले मात्र देख्छन् अरे। ( तर यो अभागीको नजरमा पनि परो) मन्दिरका बेरा, सिंडी, छाना, भुइँमा कालै मुसैमुसा देखिन्छन्। खुट्टा घिसारेर हिँड्नु पर्छ। कुल्चेर मुसो मरेकोमा मुसाकै वजन समानको चाँदीको मुसो बनाई दिने प्रायश्चितको विधि छ। देशविदेशका पर्यटकको आकर्षण स्थल देशनोकमा यति विशाल मुसा रहे तापनि मुसा कसैले देख्तैनन् तथा मुसाबाट हुने प्लेग आजसम्म त्यो भेकमा भएको नजिर छैन।
विभिन्न नाउँले भारतवर्षका विभिन्न स्थानमा दुर्गा भवानीको पूजा प्राचीनकालदेखि चलिआए तापनि मृण्मय प्रतिमा बनाएर पूजा गर्ने परम्परा बङ्गालीहरू तथा मैथिलीहरूमा देखिन्छ। नेपाली, असमियाहरूले परवर्ती कालमा मृण्मय प्रतिमापूजन थालेका हुन्। वर्षमा दुइखेप माताको पूजा हुन्छ। रामनवमीमा समाप्त गरिने पूजालाई वासन्ती पूजा भनेर पनि जानिन्छ। त्यही दिन नयाँ सालको शुरुआत मान्नेहरू पनि छन्। शरद् कालको दुर्गा पूजालाई शारदीय उत्सव, नवरात्र, बडा दशैं आदि स्थान विशेषमा भिन्नाभिन्नै नाउँले पूजा आराधना हुन्छ। अन्याय. अधर्म, दुराचार, हिंसा आदि अवगुण हृदयभित्रबाट जरैसित उखेलेर पन्साउन मातासँग सम्मिलित भएर प्रार्थना सबैले गर्छन्।
या देवी सर्वभूतेषु शक्तिरूपेण संस्थिता।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नम:।।
(नोभेम्बर 2010)