कविता : रजस्वला नहुने हाम्रो घर

~अमृत सिङ थिङ~

मेरी आमाले चुलो बारेको दिन
भाउजूले पानी नसारेको दिन
दिदी बहिनीहरूले बाहिरै खाएको दिन
हाम्रो घरमा कहिल्यै आएको छैन
त्यसैले हाम्रो घरमा रजस्वला हुँदैन

पसिना तप तप बगाएर खन्न हुने
घाँस ,दाउरा गोठालो जान हुने
करेसामा फलेको फल छुन नहुने
सधैँ जाने पूजा कोठामा जान नहुने
दिनहरू हाम्रो घरमा कहिल्यै आउँदैन
त्यसैले हाम्रो घरमा रजस्वला हुँदैन

सबेरै ओछ्यानमै रहेको बाबाको गोडा
आमाको निधारले छोएको दिन
दाजु आउने बेला सम्म भाउजूले
भोकभोकै अमिलो थुक घुटुक्क निल्दै
न्याउरी मुख पारेर कुरेर बसेकी दिन
हाम्रो घरमा कहिल्यै आउँदैन
त्यसैले असमानता छैन हाम्रो घर

बाबाले खाएको जुठो थालमा
घिन मानी मानी आमाले खाएको
दाजुले मुछेर छोडेको भात
भाउजूले मीठो मानेर खानु पर्ने दिन
हाम्रो घरमा कहिल्यै हुँदैन
त्यसैले असमानता छैन हाम्रो घर

आफूले खाएको भाडा
आफैले पखाल्नु पर्ने
लिपपोत गर्दा पालैपालो गर्नुपर्ने
आफूले लगाएको वस्त्र
आफैले धुनु पर्ने
उहाँ जस्तै अरू पनि उस्तै हुनुपर्ने
हाम्रो हजुरबुबाको शासन चल्छ
त्यसैले असमानता चल्दैन हाम्रो घरमा

अधिकारको कुरा जान्दैनन्
पुरुषले हेपिएको ठान्दैनन्
बाबा ,आमा होस या
दाजु ,भाउजू होस
दाजु , बहिनी होस या
दिदी भाइ होस
सबै उस्तै
सबै बराबर
त्यसैले अन्यायमा चल्दैन हाम्रो घर ।

अन्यथा नठान्दिनु होला , हाम्रो तामाङ परिवारमा रजस्वला बार्ने चलन छैन । त्यसैले कसैप्रती चोट हुन पुगेमा क्षमा प्राथी छु ।

अमृत सिङ थिङ
महाभारत गाउँ पालीका ,
बनखु , काभ्रे

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.