निबन्ध : ‘पहिचान’को शब्दार्थ: एक जिकिर

~विक्रम सुब्बा~

१। (हिन्दु भनिने) सनातनी सभ्यतावालाहरूले आफ्नो पहिचान (जरा वा Root) खोज्दा‘गोत्र’लाई आधारका रुपमा लिन्छन् । सँस्कृतमा ‘गोत्र’ शब्दको अर्थ ‘गाईको बगाल वा झून्ड’ हुन्छ । जसलाई ‘कुनै एक पूर्खाका शाखा-सन्तानहरूको बगाल या झूण्ड वा गण’ भन्ने अर्थमा ‘गोत्र’ शब्दको प्रयोग गरिएको छ । अर्थात, कुन पूर्खा (ऋषि) को सन्तान हो? भनेर प्रष्ट छुट्याउँन आफ्ना पूर्खाको नाम (ऋषि) सँग आफ्नो पहिचान जोड्छन् । जस्तै: अत्री गोत्री (अत्री नामक पूर्खाका सन्तान), कस्यप गोत्री (कस्यप नामक पूर्खाका सन्तान), गौतम गोत्री (गौतम नामक पूर्खाका सन्तान), जमदग्नि गोत्री (जमदग्नि नामक पूर्खाका सन्तान), भारद्वाज गोत्री (भारद्वाज नामक पूर्खाका सन्तान), आदि आदि ।

२। (हिन्दु भनिने सनातनी सभ्यतावालाहरूका) यी पूर्खाहरू कहाँ थिए? उल्लेखित पूर्खाहरू हालको पाकिस्तानमा पर्ने ‘सिन्धु घाटी’ भन्ने (सिन्धु नदीको किनारमा खास गरेर मोहेन्जोदारो, हरप्पा र घागर नदी क्षेत्रमा) ठाउँमा विकास भएको सभ्यताका मानिस थिए । जसका सन्तानहरू नै सिन्धुघाटी छोडेर बसैँ सर्दै छरिँदै भारत हुँदै नेपालमा (थप सैयौँ नयाँ गोत्र सृजना गर्दै ल्याए । जस्तै: अगस्त्य गोत्री, आत्रेय गोत्री, गर्ग गोत्री, अंगीरस गोत्री, कपील गोत्री, कत्यायन गोत्री, कौडिन्य गोत्री, मुगदल गोत्री, आदि आदि । ) समेत आईपुगेको देखिन्छ । तर, आफ्नो पूर्खा केलाउन परे (विशेष गरेर विवाहको निम्ति केटा र केटीको नाता पर्छ कि? विवाह गर्न वर्जित हो वा स्वीकार्य हो?’ भनेर छुट्याउँन) ‘गोत्र’ केलाउँछन् र निर्णय गर्छन् । जस्तै: केटा र केटी दुबै एकै गोत्री भए विवाह गर्न बर्जित हुन्छ ।

३। यही प्रसंगमा ‘थर’को कुरा पनि थप — अनेक जातका मानिसको “थर”हरू धेरै पछि ‘नविन पहिचान’को (आफुलाई के भनेर चिन्ने? भन्ने सवाललाई संवोधन गर्न) रुपमा राखेको हो । ती प्राय स्थान विशेषमा आधारित लगायत अनेक आधारमा राखिए । जस्तै: स्थानमा आधारित — सिन्जाबाट आएकोले सिन्जाली, अर्जेबाट आएकाले अर्याल, वाग्लाबाट आएकाले वाग्ले, ग्यावाबाट आएकाले ग्यावाली, थलाजुङबाट आएकोले थलाजुङे, वनेनेबाट आएकोले वनेम, आदि थर राखे । कर्ममा आधारित – कारवारि काम गरेकोले कार्की, राजाको प्रशासन हेर्ने गरेकोले अधिकारी, राजाको भण्डार हेर्ने गरेकोले भँडारी/भण्डारी, आदि । जन्मको आधारमा – जेठो भएर जन्मिएकोलै तुम्बापो, भाले बास्ने बेलामा जन्मेकोले ईङवाबा, आदि ।

‘थर’बाट आफ्नो मूल (Root) खोज्दै जाँदा ‘जात’मा पुगिन्छ । ‘थर’ हराउँछ ।‘जात’बाट मुल (Root) खोज्दै जाँदा ‘गोत्र’मा पुगिन्छ । ‘जात’ हराउँछ । वैज्ञानिकहरूले रक्त समुह (O, A, B, AB) मा मानव समुहहरूलाई वर्गिकरण गरेर पहिचान स्थापित गरे । जस अनुसार एकै रक्त समुहको मानिसले मात्र कुनै विरामी मानिसलाई रगत दिन सक्छ । अर्को रक्त समुहको रगत दिँदा विरामीको शरिरले ग्रहण गर्दैन, मर्न पनि सक्छ । यही हो रगतको साईनो भनेको । एकै रक्त समुहका मानिसलाई उस्तै उस्तै रोग लाग्ने, स्वभाव उस्तै उस्तै हुने, सवल पक्ष र दुर्वल पक्ष उस्तै उस्तै हुने देखियो । अझ पछिल्लो समयमा त वैज्ञानिकहरूले मानव समुहलाई DNA (1. Y-line DNA , 2. Mitochondrial DNA , 3. Autosomal DNA , 4. The X Chromosome) भित्रको पनि Gene (पूर्खाहरूको शारिरिक स्वरुप तथा अन्य पुस्तौँ पुस्ता सर्दै आएका पूर्खाका विशेषताहरूको जानकारी दिने तत्व) जाँचेर Genetically कुनकुन मानव समुह नजिकका हुन र को को टाढाका हुन्? भनि छुट्याउँनको निम्ती Gene लाई नै‘पहिचान’को आधार मान्न थालिसके । यही आधारमा भारतमा डा. स्वामी सुब्रमन्ययनले भारतका (हिन्दु भनिने) सनातनी मानव समुह र मुस्लीम समुहकोGenetic test गर्दा भारतका मुस्लीमहरूको Gene र सनातनीहरुको Gene सँग मिल्यो । जसको आधारमा भारतका मुस्लीमहरू मौलिक रुपमा (हिन्दु भनिने) सनातनी सभ्यताका मानब समुहकै सन्तान हुन् भन्ने प्रमाणित भयो । जसबाट भारतमा धेरै पछि सनातनी मानव सहुमलाई नै मुस्लीम घर्ममा Conversion गरिएका मात्र हुन्’ भनेर पनि प्रमाणित भयो । यसरी भारतका ‘हिन्दु भनिने र मुस्लीम भनिने मानव समुह हामी एकै हौँ’ भन्ने नयाँ तर्कसंगत Theory विकास गर्न खोजिरहेछन् । Gene विज्ञानले “थर”, “जात”, ‘गोत्र’लाई ‘पहिचान’ मान्ने कुरालाई ‘मीथ’ वा ‘किंवदन्ती’ मा परिणत गरिदिईसकेकोछ । ईतिहासमा यस्तो हुन्छ । नयाँ नयाँ कुरा अनुसन्धानबाट पत्ता लाग्दै गएपछि पुराना कतिपय धारणाहरू तथा ज्ञान-गुन ठानेका मान्यताहरू भत्किन्छन् । क्रान्ति भनेको यही हो ।

४। अहिले सम्म चलिरहेको ‘गोत्र’लाई नै ‘पहिचान’को रुपमा स्वीकर गर्ने मानव समुह (हिन्दु भनिने) सनातनी सभ्यतावालाहरूले पहिचानको अर्थ ‘आफ्नो मूल (Root)’ हो भनेर मानेको बुझिन्छ । उनीहरूको निम्ती भाषा, सँस्कृति, धर्म, जल, जमीन, (पूर्खाहरूको राजनैतिक) ईतिहास पहिचानको विषय भए पनि यी पहिचानका स्थाई आधार होइनन् । यी तरल र कमजोर किसिमको पहिचानका अस्थाई आधार मात्र हुन् । यसको अर्थ – भाषा त जहाँ जहाँ पुगिन्छ त्यहीँको सिकिन्छ र फेरि त्यो देश छोडेर अर्को भाषा बोलिने देशमा पुगे त्यहीँको भाषा (जस्तै: अहिले बेलायत पुगेकाले अंग्रेजी सिके भने कोरिया, जापान, रुस, भारत गएकाले त्यँहीको भाषा सिकेर Survive गर्ने Tool को रुपमा भाषालाई उपयोग गरिरहेछन्) सिकिन्छ । ठीक तेस्तै, सँस्कृति पनि जहाँ पुग्यो त्यहीँको सिकिन्छ (जस्तै: काठमाण्डुमा जोशी बाहुन र झा बाहुन, राजबंशी पनि बाहिरबाट आएर यहाँ धेरै पहिले देखि बसोबास गरिरहेछन् जसलेSurvival strategy का रुपमा नेवारी भाषा र सँस्कृति अबलम्बन गरेकाछन् ।) र फेरि अर्को देश वा क्षेत्रमा पुगे त्यहिँको सँस्कृति सिकिन्छ र अबलम्बन गरिन्छ । तेस्तै, धर्म पनि जुन जुन देशमा पुगिन्छ त्यहाँ बाँच्न सजिलो होस् भनेर आफ्नो मौलिक धर्म छोड्दै त्यही देशको धर्म ग्रहण गरिन्छ या आफ्नो पुरानो धर्मलाई नै नयाँ रुप दिईन्छ । फेरि अर्को धर्म मान्ने मुलुकमा पुगे फेरि नयाँ धर्म अबलम्बन गरिन्छ । तेस्तै, जमीन भन्ने त झन यस्तो प्राकृतिक स्रोत हो जुन नयाँ ठाउँमा पुग्ना साथ टेक्न परिहाल्छ । र्थात, जहाँ जहाँ पुगिन्छ त्यहाँ उभिन, हिँड्न, बस्न वा बसोबास गर्नको निम्ती चाहिने हो जुन कुनै देशको भनिने जमीनलाई कुनैपनि बेला छोड्न सकिन्छ र अर्को मुलुकमा पुगेमा फेरि हासिल गर्नै पर्छ ।

अब ईतिहासको कुरा गरौँ – हिजोको (आफ्ना पूर्खाले शासन गरेको) ईतिहास पनि विगतको सन्दर्भ बुझ्न मात्र हो । नयाँ नयाँ युगमा त नयाँ नयाँ ईतिहास लेख्दै जाने हो । अर्थात, भाषा, सँस्कृति, धर्म, जमीन र ईतिहास भन्ने कुराहरू बाच्नको निम्ती चाहिने औजार (Survival Tools) बढी हुन् । ती ‘पहिचान’का बलिया आधार होइनन या तरल, अस्थाई तथा कमजोर आधार हुन् । बलियो आधार भनेको ‘गोत्र’ हो भन्ने अवधारणाका आधारमा सनातनी सभ्यतावाला समुदायले पूर्खाका नाममा आधारित (Genealogy/Ancestry based identity) पहिचान स्थापित गरेर प्रचलनमा ल्याएको बुझिन्छ । अहिले त जीनका आधारमा चिनिने (Genetics based identity) पहिचान सबैभन्दा वैज्ञानिक विधी (Method) हो भन्ने युगै आईसक्यो ।

५। यहाँ कुरा बझाउँन सजिलोको निम्ती (उदाहरण मात्र) केही लिम्बु समाजमा चलेको‘पहिचान’को मौलिक २ शब्दहरू लिउँ । लिम्बु समाजमा ‘माङगेन्ना’ लगायत कतिपय अनुष्ठान सम्पादन गर्दा ‘ल्हास गोत्र’ हौ कि ‘काशी गोत्र’ हौ? भनी (केही थरी लिम्बुहरुका पूर्ख्येली केलाउँदा) सोधेर पूर्खा (Root) पहिचान गर्न २ शब्द प्रयोग गरेर पुर्ख्यौली पहिचान गर्ने काम गरिन्छ । ‘काशी’ तिब्बतको एउटा ठाउँको नाम हो । यसलाई खसगर पनि भनिन्छ । यो भारतको काशीसँग संबन्धित छैन । काशी भन्ने ठाउँलाई मानचित्र (Map)मा हेर्न गुगलको एशियाको म्याप डाउनलोड गरेर Kashi, Tibet China टइप गरेर हेर्न सकिन्छ । यो काशी (जसलाई ‘खसघर’ पनि भनिन्छ) भन्ने ठाउँ पश्चिम तिब्बत (पाकिस्तानको उत्तरी सिमा नजिक) पर्छ । आर्थात, सो काशी भन्ने ठाउँबाट बसैँ सर्दै लिम्बुवान क्षेत्रमा आईपुगेको मानव समुहले आफ्नो पहिचान ‘काशी गोत्र’ भनेर राखे । भारत र नेपालमा आफ्नो मूल (Root) सँग ‘गोत्र’ जोडेर ‘पहिचान’ जनाउँने चलन भएकोले ‘काशी’ सँग ‘गोत्र’ जोडेर ‘काशी गोत्र’ (काशीबाट बसैँ सरेर आउँनेका शाखा-सन्तान भनि जनाउँन) भनेको हुनु पर्दछ । ठीक तेस्तै‘ल्हास गोत्र’ भन्ने शब्दको पनि अर्थ ‘ल्हासा’ भन्ने (तिब्बतको एउटा स्थान) ठाउँबाट बसैँ सर्दै हालको लिम्बुवान क्षेत्रमा आईपुगेको कुनै झूण्ड या गणलाई संकेत गर्ने वा पहिचान जनाउँन ‘ल्हासा गोत्र’ (ल्हासाबाट बसैँ सरेर आउँनेका शाखा-सन्तान भनि जनाउँन) राखेको हुनुपर्छ । यसरी लिम्बुहरूले जमीनमा आधारित (Land/Place based identity) पहिचान स्थापित गरेको बुझिन्छ ।

६। माथि उल्लेखित तथ्यहरूको आधारमा सनातनी सभ्यतावालाले आफ्ना पूर्खाहरूको“नाम”लाई ‘गोत्र’ राखेर (Genealogy/Ancestry based identity) आफ्नो पहिचान स्थापित गरेर प्रचलनमा ल्याएको बुझिन्छ भने लिम्बुहरूले आफ्नो ‘जमीन’ या‘गाउँठाउँ’ वा ‘देश’ (जस्तै: पूर्खाले बसोबास गरेको काशी वा ल्हासा, आदि) लाई आफ्नो पूर्ख्यौली (Root) मानेर त्यसै आधारमा (Land/Place based identity) पहिचान स्थापित गरेको बुझिन्छ ।

७। माथि छलफल गरेको आधारमा ‘पहिचान’को अर्थ (Semantics मा) सनातनी सभ्यतावालाहरूको निम्ती आफ्ना ‘पूर्खा’ या ‘गोत्र’सँग जोडेर (Genealogy/Ancestry based identity) चिनिनु हो भन्ने अर्थ लगाएको र सोही अनुसार बुझेको देखियो । जब कि लिम्बुहरूको निम्ती त्यही ‘पहिचान’ शब्दको अर्थ ‘आफ्नो जमीनसँग जोडेर (Land/Place based identity) चिनिनु’ भन्ने लगाएको देखियो ।

८। शब्दको अर्थ भनेको के हो? — कुनै शब्द सुन्दा आफ्नो दिमागमा जुन तस्विर उत्रिन्छ त्यही नै अर्थ हो । जस्तै: “धर्म” भन्ने शब्द सुन्दा दिमागमा ‘मन्दिर’ ‘गीता’ ‘पुजा गर्ने कर्मकाण्डी बाहुन’ ‘पुजाका सामग्रीहरू’ ‘कल्याणकारी काम गर्न वरपीपल रोपेको’ ‘पुल पाटी कुवा-धारा बनाएको’ आदिको तस्विरहरु हाजिर हुन्छन् र त्यही नै अर्थ हो । तेस्तै Religion भन्ने शब्द सुन्दा दिमागमा ‘बाइबल’ ‘चर्च’ ‘पादरी’को तस्विर हाजिर हुन्छ र त्यही हो अर्थ ।

नेपालमा चलेको ‘पहिचान’को आन्दोलनमा ‘पहिचान’ भन्ने शब्द सुन्दा सनातनीहरूको दिमागमा आफ्ना ऋषि-मुनी (गोत्र वा Root) र तिनका सन्तानको तस्विर उत्रिन्छ । लिम्बुले ‘पहिचान’ भन्ने शब्द सुन्दा दिमागमा आफ्नो ‘गाउँ-ठाउँ’हरूको चित्र दिमागमा उत्रन्छ । अर्थात, ‘पहिचान’ शब्दको (नेपालका) फरक फरक सभ्यताका मानिसहरूले फरक फरक अर्थ (Meaning) बुझ्दै आएकोले ‘पहिचान’ बारे बुझाईमै समानता नभएकोले बेस्सरी गोलमाल भएको देखिन्छ । गोलमाल भएपछि धमिलो पानीमा बाठो-छट्टुहरूले दाउ पार्ने त भईहाले ।

अन्य मुलुकको पहिचानको परिभाषा:

१। भारत: भारतको पहिचान ‘हिन्दुत्व’ हो । ‘हिन्दु’लाई मुस्लीम, ख्रिश्चियन र जोरष्ट्रियन बाहेक भारतमा बसोबास गर्ने सबै मानिसहरू हिन्दु हुन्’ भनेर परिभित गरेर भारतमा ८०% भन्दा बढी हिन्धु छन् भनेर Claim गरे ।

२। अमेरिकाको राष्ट्रिय पहिचान – पहिले, Country of immigrants (बसैँ सरेर आएकहरूले बनेको देश) भन्ने गर्दै आएका थिए । Samuel Huntington नामक राजनीतिशास्त्रीले अमेरिकाको पहिचानलाई नियाँ किसिमले (Who Are We? मा) परिभाषित गरेर लेखे – ‘गेरा, एङ्गलो सेक्शन, प्रोटेष्टेण्ट धर्म मान्ने र अंग्रेजी बोल्ने मानिस अमेरिकन पहिचान हो । यी बाहेक अरु पनि मानिस अमेरिकामा बस्छन् तरती ‘अमेरिकका नागरिक’ मात्र हुन् अमेरिकाको पहिचानकै तत्व होइनन् ।

३। चीनले आफ्नो पहिचानला: ‘जुनसुकै देशको नागरिक भए पनि चिनीया भाषा बोल्ने मानिस नै हाम्रो पहिचान ।‘ भनेर परिभाषित गरेकोछ ।

४। बेलयातले आफ्नो पहिचान – ‘अंग्रेजी भाषा बोल्ने र ख्रश्चियन मानिस बृटिश हो’ भनेर परिभाषित गरेको छ ।

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in निबन्ध and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.