~राइमाण्डु~
गाउँ त्यहा थ्यो ।
जहाँ म हास्थे अर्गानिक
जहाँ म सास फेर्थे अर्गानिक ।
खान्थे अर्गानिक ।
बस्थे अर्गानिक ।
बात गर्थे लाम्काने बाख्रा सङ्ग
अनि उस्को पाठो पाठी सङ्ग
खेल्थे ।
साथी थिए कलुवा, फुर्के गोरु
अनि लाल्मु र कोइली गाई ।
गाउँ त्यहा थ्यो ।
जहाँ हरेक चौतारी देउराली सङ्ग
दुख बाड्थे ।
पधेरो र कुवा सङ्ग रहर साट्थे ।
घाँस र दाउरा सङ्ग पौठेजोरी मार्थे ।
गाउँ त्यहा थ्यो ।
चरा को चिर्बिर मधुर सङ्गीत हुन्थ्यो ।
भाले को डाक घडी हुन्थ्यो ।
मिर्मिरे मा जातो को घुर् घुर कान मा गुन्जिन्थ्यो ।
गाउँ त्यहा थ्यो ।
खबर हरु डिल बाट कोप्चा सम्म गुन्जिन्थ्यो ।
शहर हरु एकादेश हुन्थ्यो ।
शहर, नुन अनि मट्टितेल एकैपटक मस्तिक म आउथ्यो ।
ढाकर, खकन, नाम्लो, टेकुवा अनि कटारी पनि सङ्गै ।
गाउँ त्यहा थ्यो ।
दशै कमेरो र रातो माटो अनि मुलबाटो ले लेउथ्यो ।
तिहार कोदोबारी डिल को सयपत्री ले लेउथ्यो ।
असार र मङ्सिर बेसिखेत ले लेउथ्यो ।
जाडो सुकेको मकैको ढोड ले
गर्मी खरबारी को सुकेको खर हरुले।
गाउँ त्यहा थ्यो ।
हो गाउँ त्यहा थ्यो ।
जुम्मै अर्गानिक ।
इत्तो पनि केमिकलाइज थिएन ।
अहिले त
जे छ गाउमा …
गाडिको पोप… पोप…
मलखाडी को सट्टा युरिया ।
खबर लाई मुबिल हातमा ।
घाँस दाउरा को कुरै छैन ।
बेसि खेत बाझै
अनि एता शहरिया प्याक चामल ।
कोदो को भकारी रित्तै
अनि शहरिया चेप्टे रम ।
कमेरो बिसाएको छ शहरिया चुना ले ।
सयपत्री र गोदावरी बिसाए गन्धहिन शहरिया फुल ले ।
आजकल चाड हरु पनि ।
शहरिया फुल जस्तै बास्नाहिन छ ।
सम्बन्ध हरु पनि त्यस्तै रङ्गहिन।
खै कहाँ छ त्यो मेरो गाउँ ।
खै कहाँ छ बालापन को अर्गानिक गाउँ ।
खै कहाँ छ मेरो त्यो अतृप्त सपना हरु बोकेर।
मलाइ घिसार्दै शहर सम्म ल्याउने गाउँ ।
26/Mar/2019
– राइमाण्डु
-ईटहरी
(स्रोत : रचनाकार स्वयंले ‘साहित्य सङ्ग्रहालय’को फेस्बुक पेजको मध्यमबाट पठाईएको । )
