~अमृता बुढाथोकी~
हेरेर चित्र तिम्रो
मन्द मुस्कान भर्दै जुनेलीमा
सजाएछु सपनीमा तिमीलाई
बरु मेरै धरातल भुलेर कल्पनामा ।
उजागर गरेछु मेरा मृत इच्छा आकाङ्क्षाहरू
फन्को मार्दै सम्झनाका तरेलीमा
बचाएर राख्न सकिन आफ्नै अस्मिता
अङ्गाल भनूँ म कसरी तिमीलाई ।
चिथोरेर रगताम्मे मेरो जीवन
निरर्थक निरर्थक भइसकेको छ
सार्थक सार्थक बनाऊँ भनूँ म कसरी
किनकि
मेरो जीवन खोट र चोटले आक्रान्त छ ।
पर्खिरहेछु हर गोधुलीमा आफ्नै अन्तिम यात्राको
हतार छ मलाई मृत्यु पत्रमा हस्ताक्षर गर्न
साथ किन चाहियो र तिम्रो मलाई
मर्नु अन्तिम विकल्प भइसकेको छ ।
मानवरुपी दानवहरूले
मेरो खुसी भत्काइसकेका छन्
तिम्रो निम्ति सजाउनु पर्ने जोडी सगरमाथा
हजारौँ पटक कोठी र चोटीहरुमा चिथोरी सकिएको छ ।
कठिङ्ग्रिएर उर्वर भूमि
मरुभूमि तुल्य भइसकेछ
निस्किएपछि दोबाटोमा छुटिनु नै पर्दो रैछ
कुर्दाकुर्दै तिमीलाई मेरो जीवन त पुरै गइसकेछ ।
जीउनै गारो हुँदो रैछ
मुटु पत्थर भएपछि
मायाले नि धिक्कार्दो रहेछ
धेरै धोका खाएपछि ।
जिन्दगीको हर यात्रा सुरु नभै अन्त्य भयो
जंगार जति तरेँ पनि यात्रा सधैँ अधुरै रह्यो
आधिहुरी एकसाथ चल्यो
झरि पर्यो
उर्लिएर खहरेले जिन्दगी मेरो बगाइ लग्यो ।
थकाइ लाग्यो जिन्दगी देखि
छाडे अब मैले लड्न
हारी सके जिन्दगीदेखि नै
तिमीलाई जित्नु किन पर्यो ?
-अमृता बुढाथोकी
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )