~शम्भु प्रसाद ढकाल~
मेची महाविद्यालय भद्रपुरमा नेपाली विषयको पहिलो प्राध्यापक (त्यतिखेर प्राध्यापक नै भनिन्थ्यो)मा नियुक्त भएर २०२१ सालको असोज महिनामा भद्रपुर आएपछि भद्रपुरबाट युगज्ञान साप्ताहिक (२०२६ असोज)मा प्रकाशित गर्नु पूर्व साहित्यकार तथा प्राध्यापक चूडामणि रेग्मीले नेपाली साहित्य परिषद्, झापाको —मोती‘ नामको पत्रिका सामयिक सङ्कलन निकाले। झापाबाट निस्किएका सङ्कलनमा धेरै महत्वपूर्ण छ —मोती‘। यसका २०२३ र २०२४ मा चूडामणि रेग्मीका सम्पादनमा २ अङ्क निस्किए। पछि २०३० मा द्रोणाचार्य छेत्रीको सम्पादनमा १ अङ्क निस्कियो। —मोती‘ पछि मेची महाविद्यालयबाट २०२४ मा —धारा‘ नामको सङ्कलन निस्कियो। यसको सम्पादक मण्डलमा चूडामणि रेग्मी पनि थिए। यसै गरी, भद्रपुरमा —कस्तुरी‘ परिवार नाम दिएर त्यसबाट निस्किएका ३ सुगन्ध मध्ये २ सुगन्धको सम्पादक मण्डलको सदस्य भएर रेग्मीले काम गरे। यी वर्षभित्र रेग्मीले काठमाण्डौँका —रत्न श्री‘ र —अरुणोदय‘ पत्रिकामा केही कथा पनि प्रकाशित गरे। झापा आएपछि २०२१ फागुनमा निस्किएको —युवक‘ साप्ताहिकको विशेषाङ्कमा निवन्ध पनि छपाए। यो निवन्ध (धुलो र सीतका गीत) नै उनको पहिलो निवन्ध देखिन्छ। यसरी सम्पादन र लेखन गरेका रेग्मीले विराटनगरबाट प्रकाशित भएको —जनवार्ता‘को जनदूत भई समाचार पठाउनका साथै केही रचनाहरु नाम-उपनाममा छपाए। जनवार्तामा प्रकाशित भएका उनका रचनाहरुको विवरण यस प्रकार छ।
चूडामणि रेग्मीका नाउँमा
- व्यङ्ग्य (निवन्ध) १२-३१-०२६ जेठ ६
- हृदय चन्द्रका केही कथाहरु (समालोचना) १२-३७, २०२६ जेठ १४
- मेरो विचरामा वेलाइततिर वरालिंदा (समालोचना) १२-४६, २०२६ जेठ ३०
कौशिक उपनाममा
पुस्तक परिचय
- मायाविनी सर्सी ११-१०९, २०२५ भदौ ४
- कस्तुरी (३) ११-१८१, २०२५ मार्ग
- साझा निवन्ध: एक परिचय ११-१९८, २०२५ पौष १
- सीता हरण काव्य ११-१९९, २०२५ पौष २
- रत्नश्री (द्वैमासिक) १२-४०, २०२६ जेठ १७
- मुना (१) १२-६१-२०२६ असार
- कटक काव्य १२-९३-२०२६ श्रावण
यति मात्र उद्धरण जनवार्ताका २५ र २६ सालका फायलबाट लिइएको हो। कोषराजका भाइ भएकोले चूडामणि रेग्मीले जनवार्ताको अघिका र पछिका अङ्कमा धेरै लेखेका छन् भनेर सहजै अनुमान गर्न सकिन्छ। २०२० साल तिर त केही काल जनवार्ताको सम्पादक भएका थिए।
माथि उल्लिखित रचनाहरूमा व्यङ्ग्य निवन्ध हो। समालोचनामा सबै पुस्तक परिचय हुन्। तर पनि वेलाइततिर वरालिंदामा कडा ढङ्गको आलोचना भएकाले तारानाथ शर्माले पनि पोखरातिरको एक पत्रिकामा यो आलोचनाको कडा प्रतिवाद गरेका थिए। प्रगतिशील दृष्टिका चूडामणिले —वेलायततिर वरालिंदा‘मा तारानाथ वरालिएको कुरा लेखेका छन्।
महाकविका कृति —सीताहरण‘, —कटक‘को राम्ररी अध्ययन गरी सम्क्षिप्त परिचय दिएका छन्। हृदयचन्द्रका कथाहरुको अध्ययन पनि राम्ररी गरेका छन्। यी लेखबाट कथाकार र हृदयचन्द्रलाई राम्ररी चिन्न सकिन्छ।
मुना, कस्तुरी र रत्नश्री तिनवटै पत्रिका हुन्। तिन मध्ये दुईवटा झापाबाट प्रकाशित पत्रिका हुन्। पञ्चायती तानासाही बढ्दै गरेको झापामा वसी संयमित झापामा प्रगतिशील दृष्टिले यी २ पत्रिकाको परिचय दिइएको छ।
काठमाडौंबाट प्रकाशित रत्नश्री द्वैमासिकको निवन्ध दार्जीलिङको निवन्ध अङ्कको परिचय दिएका छन्। यस परिचयमा दार्जिलिङका केही साहित्यकारहरु रकेही राम्रा कृतिहरुको नाम उल्लेख गर्दै यो अङ्कमा राखिएका निवन्धकारको नाम दिएका छन्। यस अनुसार गङ्गा प्रसाद प्रधान, रूप नारायण सिंह, पारस मणि प्रधान, राम कृष्ण शर्मा, गणेश लाल सुब्बा, इन्द्र बहादुर राई, नारायण तामाङ्ग, अच्छा राई, डा.कमला साङ्कृत्यायन, ईश्वर बल्लभ, गुमान सिंह चामलिङ, राज नारायण प्रधान, कुमार प्रधान, लख्खी देवी सुन्दास, आदि रहेका छन्। यस अङ्कको विषयमा दुई कुरा रेग्मीले भनेका छन्।
- निवन्धको ऐतिहासिक रूपमा अध्ययन यस अङ्कबाट पाइन्छ।
- सम्पादकज्यूले एउटा कमजोरी भन्छु- दार्जिलिङ्को निवन्धको इतिहास भएको एउटा लेख यस अङ्कमा दिनु पर्ने हो —जस्तो लाग्छ‘। यी निवन्ध समालोचना परिचय पढ्दा रेग्मीमा सिर्जनशीलताका साथै अध्ययनशीलता पाइन्छ। यसका साथै झर्रो शैली र प्रगतिशील विचार पनि रहेको देखिन्छ।
आत्माराम भद्रपुर नाममा उनैले लेखेको —सम्पादकलाई चिठी‘मा उनको झर्रो शैलीको नमुना हेरौं-
—नेपाली पुस्तकालयलाई —मार्केट‘ सम्झी पुस्तक संसार जति फुरुक्किएको छ, एकदिन लुरुक्किनु पर्ने छ। पुस्तक संसार कि पैसा संसार (२०२५ भदौ २१) यसमा —फुरुक्किए‘को र —लुरुक्किनु‘ पर्ने विशेष रूपमा झर्रोको प्रयोग भएको छ। यसरी नै चूडामणि रेग्मीले क्रमश झापामा झर्रो नेपाली आन्दोलनलाई बढाएको देखिन्छ।
(अनुसन्धान र टिप्पणी २०६८ बाट)
-शम्भु प्रसाद ढकाल
(उपप्राध्यापक- नेपाली शिक्षण विभाग)
मेची बहुमुखी क्याम्पस, भद्रपुर
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )