~मोहन बन्जाडे~
सन्तान बामे सर्दै गर्दा हुरुक्क हुने बा
ताते ताते गराउंदै
औला समाएर हिड्न सिकाउने बा
कतै लडे
सुस्तरी लडेको भए
देखेको नदेखी गरी
लड्ने सन्तानलाई
आफै उठ्न सिकाउने पनि बा
अलि बेसरी लड्दा
हात थाप्ने पनि बा
काँध थाप्ने पनि बा
कर्म सिकाउने पनि बा
इमान धर्म सिकाउने पनि बा
पाठ सिकाउने पनि बा
आँट सिकाउने पनि बा
बित्थामा डराउँन पर्दैन भन्ने पनि बा
चुत्थासंग कराउन हुदैंन भन्ने पनि बा
कांधे कुरीमा राखेर
राम रमिता देखाउने बा
तीज तिहारमा
नाचगान र देउसीभैलोबाट
राति अबेर गरेर फर्कदा
दैलो कराएको थाहा पाएर पनि
एक चोटि खोकेर
निदिखुदी नपारी
चानुमानु लाग्ने बा
मानु र छानुको चिन्तामा
जिन्दगी सुम्पेर पनि
थप गर्न नपाएकोमा
उदास उदास देखिने बा
सन्तानका ससाना उपलब्धीमा
अरुका अगाडी सधै सधै
दंगदास देखिने बा
सन्ततिले उन्नति गरे
फुरुंग देखिने पनि बा
उनीहरुले कतै गल्ति गरे
लुरुंग देखिने पनि बा
आफ्ना खेत बारीका
आँठा चिनाउने बा
जिन्दगीका सबै
सुर्किने र गाँठा चिनाउने बा
दशैमा आयु द्रोण सुते वा
जयन्ति मंगलाकालीको आशीर्वाद
साँचो मनले दिने बा
मेला पर्वमा नाना किनी दिने बा
हुर्के बढे पनि साना ठानेर
बाटो देखाउने पनि बा
आफु जन्मेको ठाउँलाई
आफ्नै पुर्खाको छाला भन्दै
माटो चिनाउने पनि बा
बोल्दा के सुन्नु पर्ने हो भनी
डराउन पर्ने पनि बा
नबोल्दा किन नबोलेको होला भनी
धर्मराउन पर्ने पनि बा
कहिले काहिँ मन खोलेर कुरा गर्ने
मित्र जस्ता पनि बा
कहिले काहिँ दण्ड स्वरुप लागे पनि
मनका साँच्चै पवित्र बा
शास्त्रले समेत पितृ देवो भव भनेका
यथार्थमा देव्ररूप बा ||