~डा. घनश्याम नेपाल~
अहिले म विशाल आर्य-युरोपेली (भारोपेली) परिवारमा जन्मेको यस्तो एउटा भाषाको माध्यमबाट लेख्न लागिरहेछु, जुन भाषालाई धेरै मानिसहरू माया गर्छन् तर यसलाई कसरी लेखे ठीक पर्ला वा यसको कल्याण होला भन्ने कुराबारे थोरै (साह्रै थोरै)-ले मात्र विचार गरिरहेका छन्।
यस्तो कुरा सम्झन लागेको बेलामा जहिले पनि म केही विद्वान् नेपाली लेखकहरूका नाउँ सम्झन पुग्छु र मेरो शिर आफै-आफ गहिरो श्रद्धाले उनीहरूसमक्ष निहुरिन पुग्छ – पारसमणि प्रधान, गोपाल पाँडे ‘असीम’, महानन्द सोपकोटा, पादरी गङ्गाप्रसाद प्रधान, चूड़ीमणि बन्धु, तारानाथ शर्मा – नेपाली भाषा प्रयोग गर्ने मात्र होइनन्, भाषाको स्वभाव र चाला-माला चिनेर प्रयोग गर्न खोज्ने ठूला मानिसका नाउँ हुन् यी। यहाँनेर म ‘टिपेका टिप्पणीहरू’- का इन्द्रबहादुर राई र आजसम्मका राजनारायण प्रधानलाई पनि पटक्कै बिर्सन सक्तिनँ।
आज हामी जुन भाषालाई ‘नेपाली’ भनेर लेख्तछौं – त्यो कतिसम्म नेपाली छ? हामीले वास्तविक जीवनमा (भन्नाले दैनिक व्यवहारमा) प्रयोग गर्ने नेपाली भाषासित यो कतिसम्म मिल्छ? यहाँ ‘दैनिक व्यवहार’-को कुरा गर्दा मेरा आँखाका अघाडि ती नेपाली भाषीहरू छन् जसले दार्जीलिङ, गान्तोक शहरहरूतिर बोलिने अपभ्रंश नेपाली बोल्दैनन्, जलको नेपाली यी शहरियाहरूको झैं भोट-बर्मेली परिवारका भाषा बोलीका ध्वनि र उच्चारणहरूले गाँजिएर बाटो हराई बिखलबन्दमा परेको छैन, जुन भाषामाथि हाम्रो व्याकरण अडिएको छ।
साँच्चै भनूँ भने, भाषा भनेको विभिन्न प्रकारका भाषिका र व्यक्तिबोलीहरूको गुच्छा हो। जसरी थुँगा-थुँगा मिलेर माला बन्दछ, उसरी नै भाषिका-भाषिका मिलेर भाषा बन्दछ। ढुङ्गाको ताल चिने पर्खाल लाए मात्र पर्खाल चिटिक्क परेको पनि हुन्छ, दिगो पनि हुन्।। धेरै यस्ता छौं हामीमध्ये जो भाषाको स्वरूपअनुसार नै लेख्छौं तर व्याकरणका नियमहरू (म्युनिसिप्यालिटीका घर बनाउने विषयका नियमजस्तै)-तिर हामी ध्यान दिँदैनौं। अनि अरू जो व्याकरण पहिल्याएर लेख्तछौं, हामी भाषाको अनुहार, ताल चिन्दैनौं। मलाई लाग्छ, जताबाट हेरे पनि हाम्रो देवल कच्चा बन्दैछ। भाषाका नियम, व्याकरणका नियमहरू मानेर लेख्ताखेरि कसैको पनि हानि हुँदैन, कोही पनि सानो हुँदैन। बरू ता साँचो भाषा-सेवी हामी त्यसबेला मात्र हुन्छौं जुन बेला हामी आफ्नो भाषाको मौलिक अनुहार चिन्न र त्यसअनुसार लेख्न-बोल्न बल गर्छौं।
हामी आफू व्याकरण पढ्दैनौं, भाषा जान्दैनौं, अनु जान्नेहरूले, पढ्नेहरूले शुद्ध तरिकासित लिङ्ग, वचनहरू छुट्याएर-खुट्याएर बोलेको सुन्दा हामीलाई हाँस उठ्छ, हामी खिसी गर्छौं। नजान्नुमा नै हाम्रो महानता छ, जान्न् खोज्नुमा नै विद्वता छ, लिँढेढिपीमा नै सैद्धान्तिक कट्टरता छ। सुँगुरले स्वर्ग मन नपराएको जस्तो छ हाम्रो आनीबानी। यदि फोहोर नै आधुनिकता हो भने, भैगो, हामीलाई आधुनिकता चाहिएन। हामी पुरानियाँ भएर बाँचौं। टि.एस. इलियटले कतै लेखेको सम्झन्छु – “असल कविता लेख्न चाहनेले, कमभन्दा कम, असल गद्य लेख्न जानेकै हुनुपर्छ। यो उसको निम्ति सबैभन्दा पहिलो र न्यूनतम आवश्यकता हो।” राम्रो गद्य त्यस बेलासम्म लेख्न सकिंदैन जबसम्म हामी आफ्नो भाषाको स्वरूप र त्यसको व्याकरणको अध्ययन राम्ररी गर्दैनौं। अनि, जबसम्म हामी राम्रो गद्य लेख्न सक्तैनौं जबसम्म हामी आफूले भन्न चाहेको कुरा कहिल्यै पनि ठिकसित, कुरो पुऱ्याएर भन्न सक्दैनौं।
(‘प्रतीक’, सम्पादन – सुवास दीपक, रबिन गुरुङ, जनवरी 1987-बाट साभार)
(स्रोत : रचनाकार डट कम)